लुकाका अनुसार २०:१-४७
२० एकदिन उहाँ मन्दिरमा मानिसहरूलाई सिकाउँदै र सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। त्यसैबेला धर्मगुरुहरूका साथमा मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँकहाँ आए।
२ तिनीहरूले उहाँलाई सोधे: “हामीलाई भन्नुहोस्, तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई कसले यस्तो अख्तियार दियो?”+
३ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। तिमीहरू मलाई भन:
४ युहन्नाले बप्तिस्मा गराउने अख्तियार परमेश्वरबाट* पाए कि मानिसहरूबाट?”
५ तब तिनीहरूले आपसमा यस्तो तर्क गरे: “‘परमेश्वरबाट’ भनौँ भने ‘तिमीहरूले किन ऊमाथि विश्वास गरेनौ त’ भनेर उसले सोध्नेछ।
६ तर ‘मानिसहरूबाट’ भनौँ भने सबका सब मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन् किनकि तिनीहरू युहन्नालाई भविष्यवक्ता मान्छन्।”+
७ त्यसैले तिनीहरूले ‘थाह छैन’ भने।
८ अनि येसुले तिनीहरूलाई यसो भन्नुभयो: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।”
९ तब उहाँले मानिसहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: “एक जना मानिसले अङ्गुर बगान+ लगायो अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ लामो समयको लागि विदेशतिर लाग्यो।+
१० फल टिप्ने बेला भएपछि उसले अङ्गुर बगानको कुत उठाउन* आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। तर मोहीहरूले उसलाई कुटेर रित्तो हात फर्काइदिए।+
११ उसले तिनीहरूकहाँ फेरि अर्को दासलाई पठायो। तर त्यसलाई पनि तिनीहरूले कुटे र बेइज्जत गरेर रित्तो हात फर्काइदिए।
१२ उसले तेस्रो दासलाई पनि पठायो। त्यसलाई पनि तिनीहरूले घाइते बनाएर बाहिर फालिदिए।
१३ त्यसपछि अङ्गुर बगानको मालिकले भन्यो: ‘म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु।+ तिनीहरूले उसलाई त आदर गर्लान् नि।’
१४ उसलाई देखेपछि मोहीहरूले आपसमा यस्तो मतो गरे: ‘यो त हकवाला हो। यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’
१५ त्यसपछि तिनीहरूले उसलाई अङ्गुर बगानबाहिर लगेर मारे।+ अङ्गुर बगानको मालिकले अब तिनीहरूलाई के गर्नेछ?
१६ ऊ आएर ती मोहीहरूलाई मार्नेछ र अङ्गुर बगानचाहिँ अरूलाई जिम्मा दिनेछ।”
यो सुनेर तिनीहरूले भने: “त्यस्तो त कहिल्यै नहोस्!”
१७ तर उहाँले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “त्यसोभए यस्तो लेखिनुको अर्थ के हो त: ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ’?+
१८ जो यस ढुङ्गोमाथि बजारिन्छ, त्यो चकनाचुर हुनेछ+ र जसमाथि यो ढुङ्गो खस्छ, त्यो धुलोपिठो हुनेछ।”
१९ शास्त्रीहरू र मुख्य पुजारीहरूले उहाँलाई त्यतिबेलै पक्रन खोजे। किनकि यो उदाहरण उहाँले तिनीहरूकै विषयमा भन्नुभएको हो भनेर तिनीहरूले बुझे तर तिनीहरू मानिसहरूसित डराए।+
२० त्यसैले उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाएर+ सरकारको र राज्यपालको हातमा सुम्पन तिनीहरूले उहाँको चियो गरे। त्यसपछि तिनीहरूले भाडाका केही मानिसलाई उहाँकहाँ पठाए र उनीहरूलाई धर्मी मानिस भइटोपल्न लगाए।
२१ अनि ती मानिसहरूले उहाँलाई सोधे: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ ठीकठीक बोल्नुहुन्छ र सिकाउनुहुन्छ अनि कसैको पक्षपात गर्नुहुन्न बरु परमेश्वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ।
२२ हामीले सिजरलाई* कर तिर्नु उचित हो कि होइन?”
२३ तर तिनीहरूको धुर्त्याइँ थाह पाएर उहाँले यसो भन्नुभयो:
२४ “मलाई एक दिनारको* सिक्का देखाओ। यसमा कसको चित्र र नाम छ?” तिनीहरूले जवाफ दिए: “सिजरको।”
२५ तब उहाँले तिनीहरूलाई भन्नुभयो: “त्यसैले हरहालतमा, जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+
२६ उहाँले बोल्नुभएको कुरामा तिनीहरूले उहाँलाई मानिसहरूसामु फसाउन सकेनन् बरु उहाँको जवाफ सुनेर तिनीहरू छक्क परे अनि चुप लागे।
२७ केही सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन् भन्छन्,+ तिनीहरू उहाँकहाँ आए र सोधे:+
२८ “गुरुज्यू, मोसाले हाम्रो लागि लेखेका छन्: ‘यदि कुनै मानिस निस्सन्तान मऱ्यो तर उसकी पत्नी जिउँदै छे भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ।’+
२९ एउटा परिवारमा सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र निस्सन्तान मऱ्यो।
३० त्यसैगरि माइलो
३१ र साइँलोले पनि त्यस स्त्रीसित विवाह गरे। यसरी सातै जनाले त्यस स्त्रीसित विवाह गरे र निस्सन्तान मरे।
३२ अन्तमा त्यो स्त्री पनि मरी।
३३ त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।”
३४ येसुले तिनीहरूलाई भन्नुभयो: “यस युगका* मानिसहरूले विवाहवारी गर्छन्।
३५ तर फेरि जीवित हुन र आउँदै गरेको युगमा जीवन पाउन योग्य ठहरिएकाहरूले विवाहवारी गर्नेछैनन्।+
३६ वास्तवमा तिनीहरू फेरि कहिल्यै मर्नेछैनन् किनकि तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन् र फेरि जीवित भएको हुनाले तिनीहरू परमेश्वरका छोराछोरी बन्नेछन्।
३७ तर मरेकाहरू ब्युँतनेछन् भनेर मोसाले पनि झाडीसम्बन्धी विवरणमा बताए। त्यस विवरणमा तिनले यहोवालाई* ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर’ भनेका छन्।+
३८ उहाँ मरेकाहरूका होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ किनकि उहाँको लागि* तिनीहरू सबै जीवित छन्।”+
३९ यो सुनेर केही शास्त्रीहरूले उहाँलाई भने: “गुरुज्यू, तपाईँले ठीक भन्नुभयो।”
४० त्यसपछि तिनीहरूले उहाँलाई एउटै प्रश्न सोध्ने आँट गरेनन्।
४१ फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो: “ख्रिष्ट दाउदको छोरा हुन् भनी तिनीहरूले कसरी भन्न सके?+
४२ किनकि दाउद आफै भजनको पुस्तकमा यसो भन्छन्: ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हाततिर बस,
४३ जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”’+
४४ यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन्छ?”
४५ त्यसपछि सबै मानिसले सुनिरहेको बेला उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो:
४६ “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्, बजारहरूमा विशेष अभिवादन चाहन्छन्, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्, रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्,+
४७ विधवाहरूको घर* हडप्छन् र अरूलाई देखाउन लामो प्रार्थना गर्छन्। तिनीहरूले अझै चर्को दण्ड भोग्नेछन्।”
फुटनोटहरू
^ शा., “स्वर्गबाट।”
^ वा “केही फल लिन।”
^ अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “उहाँको नजरमा।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “सबैभन्दा राम्रो आसनमा।”
^ वा “सम्पत्ति।”

