रुथ ४:१-२२

  • बोअज मोल तिरेर छुटाउने व्यक्‍तिको भूमिका पूरा गर्छन्‌ (१-१२)

  • बोअज र रुथले ओबेदलाई जन्माउँछन्‌ (१३-१७)

  • दाउदको वंशावली (१८-२२)

 बोअज सहरको मूलढोकामा गए+ अनि त्यहाँ बसे। बोअजले रुथलाई बताएका ती नजिकका नातेदार*+ त्यति नै बेला त्यही बाटो भएर जाँदै थिए। बोअजले ती मानिसलाई* भने: “यहाँ आएर बस्नुहोस्‌।” त्यसपछि ती मानिस त्यहाँ गएर बसे। २  अनि बोअजले सहरका दस जना नाइकेलाई बोलाएर भने:+ “यहाँ बस्नुहोस्‌।” त्यसैले तिनीहरू त्यहाँ बसे। ३  तब बोअजले मोल तिरेर छुटाउने ती मानिसलाई भने:+ “मोआबीहरूको इलाकाबाट नाओमी फर्केर आएकी छिन्‌+ र तिनी हाम्रा नातेदार एलिमेलेकको जमिन बेच्न बाध्य छिन्‌।+ ४  म सबैको अगाडि तपाईँलाई यो कुरा भन्‍न चाहन्छु, ‘सहरका मानिसहरू र नाइकेहरूको अगाडि यो जमिन किन्‍नुहोस्‌।+ यसको पहिलो हकवाला तपाईँ हुनुहुन्छ। त्यसैले तपाईँ किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्‌। तर किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्‌। किनकि तपाईँपछिको हकवाला म नै हुँ।’” यो सुनेपछि ती मानिसले भने: “म किन्‍न तयार छु।”+ ५  त्यसपछि बोअजले भने: “तर यो कुरा मनमा राख्नुहोस्‌, त्यस जमिनमाथि नाओमीको मात्र होइन, मोआबी रुथको पनि हक लाग्छ, जसका पति मरिसकेका छन्‌। त्यसैले तपाईँले उनीहरू दुवैबाट त्यो जमिन किन्‍नुपर्छ। यसो गर्दा त्यो सम्पत्ति मरिसकेका ती मानिसकै सन्तानको नाममा रहनेछ।”+ ६  तब ती नजिकका नातेदारले भने: “म त्यो जमिन किन्‍न सक्दिनँ। त्यो किनेँ भने मेरो आफ्नै पैतृक सम्पत्ति गुम्न सक्छ। मोल तिरेर छुटाउने मेरो हक म तपाईँलाई दिन्छु। त्यो जमिन तपाईँ नै किन्‍नुहोस्‌। म त्यो किन्‍न सक्दिनँ।” ७  मोल तिरेर छुटाउने अधिकार भएको व्यक्‍तिले आफ्नो अधिकार अर्को व्यक्‍तिलाई दिँदा पहिला-पहिला इस्राएलमा यसो गर्नुपर्ने चलन थियो: ती व्यक्‍तिले आफ्नो जुत्ता फुकालेर अर्को पक्षलाई दिनुपर्थ्यो।+ इस्राएलमा यस्तो मामिलालाई यसरी नै कानुनी मान्यता दिइन्थ्यो। ८  त्यसकारण मोल तिरेर छुटाउने अधिकार भएका ती नजिकका नातेदारले बोअजलाई “त्यो जमिन तपाईँ नै किन्‍नुहोस्‌” भनेपछि तिनले आफ्नो जुत्ता फुकाले। ९  त्यसपछि बोअजले सहरका नाइकेहरू र त्यहाँ भएका सबै मानिसलाई भने: “आज म एलिमेलेकको अधिकारमा भएको अनि किल्योन र महलोनको अधिकारमा भएको सबै कुरा नाओमीबाट किन्दै छु र यसको साक्षी तपाईँहरू हुनुहुन्छ।+ १०  साथै मोआबी रुथलाई म आफ्नी पत्नी बनाउँदै छु, जसका पति महलोन मरिसकेका छन्‌। यसो गर्दा महलोनको सम्पत्ति तिनकै सन्तानको नाममा रहनेछ+ अनि तिनका दाजुभाइ र यस सहरका मानिसहरूको बीचबाट* तिनको नाम मेटिएर जानेछैन। तपाईँहरू यसको पनि साक्षी हुनुहुन्छ।”+ ११  तब सहरको मूलढोकामा भएका सबै मानिस र नाइकेहरूले भने: “हामी साक्षी छौँ। आज जसलाई तपाईँ आफ्नी पत्नी बनाउँदै हुनुहुन्छ, तिनलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌। तिनी राहेल र लेआजस्तै होऊन्‌, जुन स्त्रीहरूबाट इस्राएल राष्ट्रको जन्म भयो।+ एप्रातामा तपाईँको फलिफाप होस्‌+ र बेतलेहेममा तपाईँले राम्रो नाम कमाउन सक्नुहोस्‌।+ १२  यस जवान स्त्रीबाट जन्मने तपाईँको सन्तानलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌;+ त्यस सन्तानले तपाईँको घरानालाई पेरेजको घरानाजस्तै+ बनाओस्‌, जो तामार र यहुदाका छोरा थिए।” १३  तब बोअजले रुथलाई आफ्नी पत्नी बनाए। बोअजले तिनीसित सम्बन्ध राखे र यहोवाको आशिष्‌ले गर्दा रुथ गर्भवती भइन्‌। अनि तिनले छोरा जन्माइन्‌। १४  तब स्त्रीहरूले नाओमीलाई भने: “यहोवा परमेश्‍वरको जय होस्‌! उहाँले आज तपाईँलाई बेसहारा छोड्‌नुभएन बरु तपाईँको लागि मोल तिरेर छुटाउने व्यक्‍ति पठाउनुभयो। इस्राएलमा यस बालकले ठूलो नाम कमाओस्‌। १५  उसले* तपाईँलाई नयाँ जीवन दिएको छ। ऊ तपाईँको बुढेसकालको सहारा हुनेछ। किनकि तपाईँलाई असाध्यै माया गर्ने बुहारीले उसलाई जन्म दिएकी हुन्‌+ र तिनी तपाईँको लागि सात जना छोराभन्दा पनि उत्तम छिन्‌।” १६  नाओमीले त्यस बालकलाई आफ्नो काखमा राखिन्‌। उनले नै उसको स्याहारसुसार गरिन्‌।* १७  अनि छरछिमेकका स्त्रीहरूले यसो भन्‍न थाले: “नाओमीको एउटा छोरा भएको छ।” तिनीहरूले त्यस बालकको नाम ओबेद राखिदिए।+ ओबेद यिसैका बुबा र दाउदका हजुरबुबा हुन्‌।+ १८  पेरेजको वंशावली* यही हो:+ पेरेजबाट हेस्रोन जन्मिए;+ १९  हेस्रोनबाट राम जन्मिए; रामबाट अम्मिनादाब जन्मिए;+ २०  अम्मिनादाबबाट+ नहसोन जन्मिए; नहसोनबाट साल्मोन जन्मिए; २१  साल्मोनबाट बोअज जन्मिए; बोअजबाट ओबेद जन्मिए; २२  ओबेदबाट यिसै जन्मिए+ र यिसैबाट दाउद जन्मिए।+

फुटनोटहरू

शा., “मोल तिरेर छुटाउने व्यक्‍ति।”
ती मानिसको नाम उल्लेख गरिएको छैन।
शा., “तिनको सहरको मूलढोकाबाट।”
अर्थात्‌, नाओमीको नातिले।
वा “उनी नै उसको धाईआमा भइन्‌।”
शा., “पुस्ता।”