रुथ २:१-२३
२ नाओमीका पति एलिमेलेकका एक जना नातेदार थिए, जसको नाम बोअज थियो।+ तिनी असाध्यै धनी थिए र तिनी एलिमेलेककै घरानाका थिए।
२ एकदिन मोआबी रुथले नाओमीलाई भनिन्: “तपाईँ मलाई अनुमति दिनुहुन्छ भने म खेतमा सिलाबाला बटुल्न जान्छु।+ जसले मलाई दया देखाउँछ, म उसैको पछिपछि गएर सिलाबाला बटुल्छु।” यो सुनेपछि नाओमीले रुथलाई भनिन्: “हुन्छ छोरी, जाऊ।”
३ अनि रुथ खेतमा गइन् र बाली काटिरहेकाहरूको पछिपछि गएर सिलाबाला बटुल्न थालिन्। संयोगले उनी एलिमेलेककै घरानाका+ बोअजको खेतमा पुगिन्।+
४ त्यति नै खेर बोअज बेतलेहेमबाट त्यहाँ आइपुगे अनि तिनले खेतालाहरूलाई यसरी अभिवादन गरे: “यहोवा परमेश्वर तिमीहरूको साथमा होऊन्!” अनि तिनीहरूले पनि भने: “यहोवा परमेश्वरले तपाईँलाई आशिष् देऊन्!”
५ त्यसपछि बोअजले खेतालाहरूलाई अराउपराउ गर्न खटाइएको व्यक्तिलाई सोधे: “यी युवती को हुन्? उनी कुन कुलकी हुन्?”
६ ती व्यक्तिले जवाफ दिए: “उनी मोआबी हुन्।+ उनी मोआबबाट नाओमीसित आएकी हुन्।+
७ ‘खेतमा सिलाबाला टिप्न अनि खेतालाहरूले छोडेको अन्नको बाला बटुल्न दिनुहोस्’* भनेर उनले मलाई बिन्ती गरिन्।+ उनले बिहानदेखि अहिलेसम्म काम गरिरहेकी छिन्, भर्खरै मात्र छाप्रोमा एकछिन थकाइ मार्न बसेकी हुन्।”
८ त्यसपछि बोअजले रुथलाई भने: “नानी सुन त, सिलाबाला बटुल्न अरूको खेतमा नजाऊ। मेरा दासीहरूसितै बस; यताउता कतै नजाऊ।+
९ तिनीहरू कतातिर अन्न बटुल्न जान्छन्, त्यो हेर्दै गर अनि तिनीहरूसितै जाऊ। तिमीलाई दुःख नदिनू* भनेर मैले मेरा कामदारहरूलाई भनिसकेँ। तिमीलाई तिर्खा लाग्यो भने गएर पानी पिऊ; मेरा कामदारहरूले भाँडाहरूमा पानी भरेर राखेका हुन्छन्।”
१० यो सुनेपछि रुथले घुँडा टेकेर भुईँमा घोप्टो पर्दै बोअजलाई भनिन्: “म विदेशी हुँ भनेर थाह हुँदाहुँदै तपाईँले मलाई किन दया देखाउनुभयो र मलाई ध्यान दिनुभयो?”+
११ तब बोअजले भने: “तिमीले आफ्नो पतिको मृत्युपछि आफ्नी सासूको निम्ति के कति गऱ्यौ, त्यो मैले सुनेको छु। अनि तिमी आफ्ना आमाबुबा, जन्मभूमि र नातागोता सबै छोडेर आफूले कहिल्यै नचिनेका मानिसहरूसित बस्न आयौ भनेर पनि मैले थाह पाइसकेँ।+
१२ तिमीले जे-जति गऱ्यौ, त्यसको लागि यहोवा परमेश्वरले तिमीलाई इनाम देऊन्।+ तिमीलाई इस्राएलका परमेश्वर यहोवाले पूरापूर प्रतिफल देऊन्, जसको छत्रछायामुनि तिमी शरण लिन आएकी छ्यौ।”+
१३ तब रुथले भनिन्: “हे मेरा प्रभु, मैले तपाईँको निगाह पाउन सकूँ। तपाईँले मलाई ढाडस दिनुभयो र तपाईँले भन्नुभएको कुराले मैले साँच्चै सान्त्वना पाएँ। म तपाईँकी दासी नभए तापनि तपाईँले मलाई दया देखाउनुभयो।”
१४ खाना खाने बेला बोअजले रुथलाई भने: “आऊ, यहाँ बसेर रोटी खाऊ। अमिलो मद्यमा रोटी चोपेर खाऊ।” त्यसैले उनी खेतालाहरूसँगै बसिन्। अनि बोअजले रुथलाई भुटेको अन्न दिए। रुथले पेटभरि खाइन् र केही अन्न उब्रियो।
१५ त्यसपछि उनी सिलाबाला बटुल्न उठिन्।+ तब बोअजले आफ्ना कामदारहरूलाई यस्तो आदेश दिए: “तिमीहरूले उनलाई सिलाबाला बटुल्न दिनू;* उनलाई दुःख नदिनू।+
१६ अनि अन्नको बिटाबाट केही बाला निकालेर उनको लागि छोडिदिनू र उनले त्यसबाट अन्न बटुलून्; उनलाई नरोक्नू।”
१७ त्यसैले उनले साँझसम्मै सिलाबाला बटुलिन्।+ उनले त्यो अन्न चुटिन् र त्यसबाट एक एपा* जौ निस्कियो।
१८ त्यो जौ बोकेर रुथ सहरमा फर्किन् र आफूले बटुलेको अन्न सासूलाई देखाइन्। खेतमा काम गर्दा आफूले खाएर उब्रिएको खानेकुरा पनि उनले सासूलाई दिइन्।+
१९ अनि उनकी सासूले सोधिन्: “आज कहाँ सिलाबाला बटुल्यौ? तिमीले कसको खेतमा काम गऱ्यौ? तिमीलाई दया देखाउने व्यक्तिको भलो होस्।”+ रुथले जवाफ दिइन्: “मैले आज बोअज नाम गरेका मानिसको खेतमा काम गरेँ।”
२० यो सुनेपछि नाओमीले बुहारीलाई भनिन्: “तिनलाई यहोवा परमेश्वरले आशिष् देऊन्; परमेश्वर जीवित र मरेकाहरूप्रति आफ्नो अटल प्रेम देखाउन कहिल्यै चुक्नुहुन्न।”+ नाओमीले अझै भनिन्: “तिनी हाम्रा नातेदार हुन्।+ हामीलाई मोल तिरेर छुटाउने व्यक्तिहरूमध्ये एक जना हुन्।”+
२१ त्यसपछि मोआबी रुथले भनिन्: “उहाँले मलाई यसो पनि भन्नुभयो, ‘पूरै बाली काट्न नसिद्धिउन्जेल मेरा दासीहरूसितै बस।’”+
२२ नाओमीले आफ्नी बुहारी रुथलाई भनिन्: “छोरी, तिमी तिनकै खेतमा काम गर्न गएको बेस। अरूको खेतमा गयौ भने मानिसहरूले तिमीलाई दुःख दिन सक्छन्।”
२३ त्यसैले उनले बोअजका दासीहरूसँगै काम गरिन्; जौ र गहुँ काट्न नसिद्धिउन्जेल उनले सिलाबाला बटुलिन्।+ उनले आफ्नी सासूको साथ छोडिनन्।+
फुटनोटहरू
^ वा सम्भवतः “खेतालाहरूले छोडेको अन्नका बिटाहरूबीच सिलाबाला बटुल्न दिनुहोस्।”
^ शा., “कसैले पनि नछुनू।”
^ वा सम्भवतः “अन्नका बिटाहरूबीच सिलाबाला बटुल्न दिनू।”
^ लगभग २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।

