युहन्नाका अनुसार १२:१-५०
१२ निस्तार चाड* सुरु हुनुभन्दा छ दिनअघि येसु बेथानी आइपुग्नुभयो। येसुले मृत्युबाट ब्युँताउनुभएका लाजरस यहीँका थिए।+
२ त्यसैले तिनीहरूले त्यहाँ उहाँको लागि साँझको भोज तयार पारे। मार्था उहाँहरूको सेवा गरिरहेकी थिइन्।+ अनि उहाँसित खान बसिरहेका मानिसहरूमा लाजरस पनि थिए।
३ तब मरियमले आधा लिटरजति* असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल ल्याएर येसुको पाउमा खन्याइन् र आफ्नो केशले उहाँको पाउ पुछिन्। अनि पूरै घर सुगन्धित तेलको मगमग बास्नाले भरियो।+
४ तर उहाँका चेलाहरूमध्ये एक जना, यहुदा इस्करियोत,+ जसले उहाँलाई धोका दिन आँटेका थिए, तिनले भने:
५ “यो सुगन्धित तेल ३०० दिनारमा* बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई किन दिइएन?”
६ वास्तवमा तिनले गरिबहरूको चिन्ता गरेर यसो भनेका थिएनन् तर तिनी चोर थिए। तिनले कन्तुर बोक्ने गर्थे र त्यसमा राखिएको पैसा चोर्ने गर्थे।
७ तब येसुले भन्नुभयो: “भैगो, उनलाई नरोक। मेरो लास गाड्ने दिनको तयारीस्वरूप उनले यसो गरेकी छिन्।+
८ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्+ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।”+
९ उहाँ त्यहाँ हुनुहुन्छ भनेर यहुदीहरूको ठूलो जमातले थाह पायो अनि तिनीहरू येसुलाई मात्र होइन तर उहाँले मृत्युबाट ब्युँताउनुभएका लाजरसलाई पनि हेर्न आए।+
१० त्यसैले मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे
११ किनभने तिनकै कारणले गर्दा यहुदीहरूमध्ये धेरै जना त्यहाँ गएका थिए अनि तिनीहरूले येसुमाथि विश्वास गर्न थालेका थिए।+
१२ यसको भोलिपल्ट, चाडको लागि आएको ठूलो जमातले येसु यरुसलेम आउँदै हुनुहुन्छ भन्ने सुन्यो।
१३ त्यसैले तिनीहरू खजुरका हाँगाहरू लिएर उहाँलाई भेट्न गए। त्यसपछि तिनीहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हे परमेश्वर, उहाँको रक्षा गर्नुहोस्! यहोवा* परमेश्वरको नाममा आउने इस्राएलका राजा धन्यका हुन्!”+
१४ अनि येसुले गधाको एउटा बछेडो भेट्टाउनुभयो र उहाँ त्यसमाथि बस्नुभयो,+ जस्तो लेखिएको छ:
१५ “हे सियोनकी छोरी, नडराऊ! हेर, तिम्रा राजा गधाको बछेडोमाथि सवार भएर आउँदै छन्।”+
१६ सुरुमा त उहाँका चेलाहरूले यी कुराहरू बुझेनन् तर जब येसु महिमित हुनुभयो,+ तब उहाँको विषयमा लेखिएका यी कुराहरू चेलाहरूले सम्झे र यसैकारण भीडले उहाँलाई त्यसो गरेको रहेछ भनी बुझे।+
१७ येसुले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुभएको+ र तिनलाई मृत्युबाट ब्युँताउनुभएको देखेका मानिसहरूले यस विषयमा साक्षी दिइरहे।+
१८ उहाँले गर्नुभएको यो चमत्कारबारे सुनेकोले पनि मानिसहरूको जमात उहाँलाई भेट्न आएको थियो।
१९ तब फरिसीहरूले* आपसमा भन्न थाले: “देख्यौ, तिमीहरूले केही गर्न सकेनौ। हेर त, सारा संसार उसको पछि लागिसक्यो!”+
२० अब चाडको बेला उपासना गर्न आउनेहरूमध्ये केही ग्रीक पनि थिए।
२१ त्यसैले यिनीहरू फिलिपकहाँ आए,+ जो गालिलको बेथसेदाका थिए र उनीहरूले तिनलाई यसो भन्दै बिन्ती गर्न थाले: “हजुर, हामी येसुलाई भेट्न चाहन्छौँ।”
२२ तब फिलिपले गएर अन्द्रियासलाई भने। त्यसपछि अन्द्रियास र फिलिप गए अनि येसुलाई भने।
२३ तर येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “मानिसको छोरा महिमित हुने बेला आइपुगेको छ।+
२४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जमिनमा खसेर नमरुन्जेल गहुँको एउटा गेडा एउटै मात्र रहन्छ तर त्यो मऱ्यो भने+ त्यसले धेरै फल फलाउँछ।
२५ जसले आफ्नो ज्यानलाई प्यारो ठान्छ, उसले त्यो नाश गर्छ तर जसले यस संसारमा आफ्नो ज्यानलाई घृणा गर्छ,+ उसले अनन्त जीवनको लागि त्यसको रक्षा गर्नेछ।+
२६ यदि कोही मेरो सेवा गर्न चाहन्छ भने ऊ मेरो पछि लागोस् अनि म जहाँ हुन्छु, मेरो सेवक पनि त्यहीँ हुनेछ।+ यदि कोही मेरो सेवा गर्न चाहन्छ भने मेरो बुबाले उसको आदर गर्नुहुनेछ।
२७ अब म व्याकुल भएको छु,+ त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्।+ तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।
२८ हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्।” तब आकाशबाट एउटा आवाज आयो:+ “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”+
२९ जब वरपर उभिरहेको भीडले यो आवाज सुन्यो, तब तिनीहरूले मेघ गर्जिएको हो भन्न थाले। अरूले चाहिँ यसो भने: “स्वर्गदूतले उहाँसित कुरा गरेको हो।”
३० येसुले भन्नुभयो: “यो आवाज मेरो लागि होइन तर तिमीहरूका लागि आएको हो।
३१ अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक+ बाहिर फ्याँकिनेछ।+
३२ तर जहाँसम्म मेरो कुरा छ, जब म पृथ्वीबाट माथि उचालिन्छु,+ तब हरकिसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नेछु।”
३३ आफूले कस्तो प्रकारको मृत्यु भोग्न लागेको छु भनी देखाउन+ उहाँले वास्तवमा यी कुराहरू भनिरहनुभएको थियो।
३४ तब भीडले उहाँलाई जवाफ दियो: “ख्रिष्ट सधैँभरि रहिरहनुहुन्छ+ भनेर हामीले मोसाको व्यवस्थाबाट सुनेका थियौँ। तर तपाईँचाहिँ मानिसको छोरा टाँगिनुपर्छ* भनेर कसरी भन्नुहुन्छ?+ यो मानिसको छोरा को हो?”
३५ तब येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूमाझ अब अलिक बेरसम्म ज्योति रहनेछ। ज्योति छउन्जेल तिमीहरू त्यसैमा हिँड ताकि अन्धकारले तिमीहरूलाई नछोपोस्; जो अन्धकारमा हिँड्छ, उसलाई आफू कहाँ जाँदै छु भनेर थाह हुँदैन।+
३६ तिमीहरूसित ज्योति छँदै ज्योतिमा विश्वास गर अनि तिमीहरू ज्योतिका सन्तान बन्न सक्नेछौ।”+
यी कुराहरू भनेपछि येसु जानुभयो र तिनीहरूबाट लुक्नुभयो।
३७ उहाँले तिनीहरूको अगाडि धेरै चमत्कार गर्नुभएको थियो तैपनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्।
३८ यसरी भविष्यवक्ता यसैयाको यो वचन पूरा भयो: “हे यहोवा,* हाम्रो कुरा* कसले विश्वास गर्छ?+ कसलाई यहोवाले* आफ्नो शक्ति* प्रकट गर्नुभएको छ?”+
३९ तिनीहरूले विश्वास गर्न नसक्नुको कारणबारे यसैयाले फेरि भने:
४० “उहाँले तिनीहरूको आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूको हृदय कठोर बनाइदिनुभएको छ ताकि तिनीहरूले आफ्नो आँखाले नदेखून् र आफ्नो हृदयले नबुझून् अनि मकहाँ फर्केर नआऊन् र मैले तिनीहरूलाई निको पार्न नपरोस्।”+
४१ यसैयाले यी कुराहरू भने किनकि तिनले ख्रिष्टको महिमा देखेका थिए अनि उहाँको विषयमा बताएका थिए।+
४२ वास्तवमा शासकहरूमध्ये* धेरै जनाले उहाँमाथि विश्वास गर्थे+ तर सभाघरबाट निष्कासित हुन नपरोस् भनेर फरिसीहरूको डरले गर्दा उहाँलाई खुलेआम स्विकार्दैनथे+
४३ किनकि तिनीहरू परमेश्वरबाट पाउने महिमाभन्दा मानिसहरूबाट पाउने महिमा बढी मन पराउँथे।+
४४ तर येसुले ठूलो स्वरमा भन्नुभयो: “जसले ममाथि विश्वास गर्छ, उसले ममाथि मात्र होइन तर मलाई पठाउनुहुनेमाथि पनि विश्वास गर्छ।+
४५ अनि जसले मलाई देख्छ, उसले मलाई पठाउनुहुनेलाई पनि देख्छ।+
४६ म यस संसारमा ज्योति बनेर आएको छु+ ताकि ज-जसले ममाथि विश्वास गर्छन्, तिनीहरू अन्धकारमा रहिरहन नपरोस्।+
४७ तर यदि कसैले मेरो वचन सुन्छ तर पालन गर्दैन भने म उसको न्याय गर्दिनँ किनकि म संसारको न्याय गर्न होइन तर संसारको उद्धार गर्न आएको हुँ।+
४८ जसले मलाई इन्कार गर्छ अनि मेरो वचन स्विकार्दैन, उसलाई न्याय गर्ने अरू नै कोही छ। मैले बोलेको वचनले नै अन्तको दिनमा उसको न्याय गर्नेछ।
४९ किनभने मैले आफ्नै तर्फबाट बोलेको छैनँ तर मेरो बुबा, जसले मलाई पठाउनुभयो, उहाँले नै के भन्ने र के सिकाउने भनी मलाई आज्ञा दिनुभएको छ।+
५० साथै मलाई थाह छ, उहाँको आज्ञाको अर्थ अनन्त जीवन हो।+ त्यसैले म जे बोल्छु, बुबाले मलाई भन्नुभएअनुसारै बोल्छु।”+
फुटनोटहरू
^ शा., “एक पाउन्ड।” अर्थात्, रोमी पाउन्ड। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ शा., “माथि उचालिनुपर्छ।”
^ शा., “पाखुरा।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “हाम्रो खबर।”
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “यहुदी न्यायपरिषद्का सदस्यहरूमध्ये।”

