यहोसु १७:१-१८
१७ त्यसपछि युसुफका पहिलो सन्तान+ मनस्सेको कुललाई+ गोला हालेर+ जमिन दिइयो। माकिर+ मनस्सेका पहिलो सन्तान र गिलादका बुबा थिए र तिनी वीर योद्धा थिए। त्यसैले तिनले गिलाद र बासान पाए।+
२ अनि मनस्सेको कुलका बाँकी सन्तानलाई पनि गोला हालेर तिनीहरूको घरानाअनुसार जमिन दिइयो। तिनीहरू यी थिए: अबिएजेरका सन्तान,+ हेलेकका सन्तान, अस्रिएलका सन्तान, सकेमका सन्तान, हेपेरका सन्तान र सेमिदाका सन्तान। यिनीहरू मनस्सेका सन्तानबाट आएका घरानाका पुरुषहरू थिए।+
३ मनस्सेका खनाति, माकिरका पनाति, गिलादका नाति र हेपेरका छोरा सलोफादका+ छोरीहरू मात्र थिए, छोरा थिएनन्। सलोफादका छोरीहरू महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थिए।
४ तिनीहरूले पुजारी एलियाजार,+ नुनका छोरा यहोसु र इस्राएलका कुलनायकहरूकहाँ गएर यसो भने: “हामीलाई पनि अरू इस्राएलीहरूसँगै पैतृक सम्पत्तिको रूपमा जमिन दिनू भनेर यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएको थियो।”+ त्यसैले यहोवा परमेश्वरको आज्ञाअनुसार तिनीहरूले आफ्नो बुबाका दाजुभाइसरह पैतृक सम्पत्ति पाए।+
५ मनस्सेको कुलले यर्दनको पारिपट्टि* पर्ने गिलाद र बासान पाएको थियो। त्यसबाहेक तिनीहरूले अर्को १० टुक्रा जमिन पनि पाए।+
६ किनभने मनस्सेको कुलका छोरीहरूले पनि छोराहरूसँगै पैतृक सम्पत्ति पाएका थिए। अनि गिलादचाहिँ मनस्सेका बाँकी सन्तानको सम्पत्ति भयो।
७ मनस्सेको सिमाना असेरदेखि सकेमनजिकै+ पर्ने मिक्मेथाथसम्म पुगेको थियो+ अनि यो सिमाना दक्षिणतिर* एन-तप्पुहका बासिन्दाहरूको इलाकासम्मै फैलिएको थियो।
८ तप्पुहको इलाका+ मनस्सेका सन्तानको भागमा पऱ्यो तर मनस्सेको इलाकाको सिमानामा पर्ने तप्पुह सहर भने एप्रैमका सन्तानको भागमा पऱ्यो।
९ यो सिमाना दक्षिणमा कानाह वादीसम्म* पुगेको थियो। मनस्सेको कुलका सहरहरूमाझ एप्रैमको कुलका सहरहरू थिए+ अनि मनस्सेको कुलको सिमाना बेँसीको उत्तर हुँदै महासागरसम्म* पुगेको थियो।+
१० दक्षिणपट्टिको इलाका एप्रैमको अनि उत्तरपट्टिको इलाका मनस्सेको थियो; महासागरचाहिँ मनस्सेको इलाकाको सिमाना थियो।+ तिनीहरूको* सिमाना उत्तरमा असेरको कुलको इलाकासम्म अनि पूर्वमा इस्साकारको कुलको इलाकासम्म पुगेको थियो।
११ मनस्सेलाई इस्साकार र असेरको इलाकामा यी सहरहरू, वरपरका गाउँहरू र त्यहाँका बासिन्दाहरू पनि दिइयो: बेथ-सेन, इब्लाम,+ दोर,+ एन-दोर,+ तानक+ र मगिद्दो। यीमध्ये तीन वटा सहर पहाडी इलाकामा बसालिएका थिए।
१२ तर मनस्सेका सन्तानले यी सहरहरूलाई आफ्नो कब्जामा लिन सकेनन् किनभने कनानीहरूले त्यो ठाउँ छोड्दै छोडेनन्।+
१३ इस्राएलीहरू शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+ तर तिनीहरूले कनानीहरूलाई एक जना पनि बाँकी नरहनेगरि भने धपाएनन्।+
१४ युसुफका सन्तानले यहोसुलाई भने: “यहोवा परमेश्वरले हामीलाई अहिलेसम्म आशिष् दिइरहनुभएकोले हामी धेरै छौँ।+ हाम्रो कुल यति ठूलो भए तापनि तपाईँले हामीलाई पैतृक सम्पत्तिको रूपमा किन एउटा इलाका मात्र+ दिनुभयो?”*
१५ यहोसुले तिनीहरूलाई भने: “यदि तिमीहरू सङ्ख्यामा त्यति धेरै छौ र तिमीहरूलाई एप्रैमको पहाडी इलाकामा+ ठाउँ पुगेन भने जाऊ अनि परिज्जी+ र रेफाईहरूको+ जङ्गल फाँडेर त्यहीँ बसोबास गर।”
१६ तब युसुफका सन्तानले भने: “हो, पहाडी इलाकामा हामीलाई ठाउँ पुग्दैन। तर बेँसीका कनानीहरू, जो बेथ-सेन+ र वरपरका गाउँहरूमा अनि यिज्रेल बेँसीमा+ बसोबास गर्छन्, तिनीहरू सबैसित युद्धका रथहरू छन्,+ जसका पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका छन्।”*
१७ यो सुनेपछि यहोसुले युसुफका छोराहरू एप्रैम र मनस्सेका सन्तानलाई भने: “तिमीहरू धेरै र शक्तिशाली पनि छौ। त्यसैले तिमीहरूले एउटा इलाका मात्र होइन,+
१८ पूरै पहाडी इलाका पाउनेछौ।+ हुनत त्यहाँ जङ्गल छ तर तिमीहरूले जङ्गल फाँडेर पल्लो छेउसम्म आफ्नो सीमा बढाउनू। कनानीहरू शक्तिशाली भए पनि र तिनीहरूसित पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका रथहरू भए पनि तिमीहरूले तिनीहरूलाई खेद्नेछौ।”+
फुटनोटहरू
^ अर्थात्, पूर्वपट्टि।
^ शा., “दायाँतिर।”
^ वा “बेँसीसम्म।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ अर्थात्, भूमध्यसागरसम्म।
^ अर्थात्, मनस्सेको कुलका मानिसहरू वा तिनीहरूको इलाकाको।
^ शा., “किन गोला हालेर अनि नापेर जमिनको एक भाग मात्र दिनुभयो?”
^ शा., “तिनीहरू सबैसित फलामका रथहरू छन्।”