यसैया ३९:१-८

  • बेबिलोनबाट आएका दूतहरू (१-८)

३९  त्यसबेला बेबिलोनका राजा मरोदक-बलदान, जो बलदानका छोरा थिए, तिनले हिजकियाह बिरामी परेका थिए र अहिले निको भएका छन्‌ भनेर सुने।+ त्यसैले तिनले आफ्ना दूतहरूको हातमा हिजकियाहकहाँ चिठी र उपहार पठाए।+ २  हिजकियाहले खुसी हुँदै उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन। ३  त्यसपछि भविष्यवक्‍ता यसैया राजा हिजकियाहकहाँ आए र तिनलाई सोधे: “यी मानिसहरूले के भने र यिनीहरू कहाँबाट आएका हुन्‌?” हिजकियाहले यस्तो जवाफ दिए: “यिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन्‌।”+ ४  यसैयाले फेरि सोधे: “तिनीहरूले तपाईँको महलमा के-के देखे?” हिजकियाहले भने: “तिनीहरूले मेरो महलमा भएका सबै कुरा देखे। मेरो भण्डारमा मैले तिनीहरूलाई नदेखाएको कुरा केही थिएन।” ५  तब यसैयाले हिजकियाहलाई यसो भने: “सेनाहरूका यहोवाको वचन सुन्‍नुहोस्‌। ६  यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोनमा लगिनेछ। केही बाँकी छोडिनेछैन।+ ७  अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ र तिनीहरू बेबिलोनका राजाको दरबारमा अफिसर हुनेछन्‌।’”+ ८  तब हिजकियाहले यसैयालाई यसो भने: “तपाईँले सुनाउनुभएको यहोवा परमेश्‍वरको वचन न्यायोचित छ।” तिनले यसो पनि भने: “किनकि मेरो जीवनकालमा शान्ति र सुरक्षा छाउनेछ।”+

फुटनोटहरू

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।