यसैया ३६:१-२२

  • सनहेरिब यहुदालाई कब्जा गर्छन्‌ (१-३)

  • रबसाकेले यहोवालाई हाँक दिन्छ (४-२२)

३६  राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+ २  त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना+ यरुसलेममा राजा हिजकियाहकहाँ पठाए।+ तिनीहरू माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए,+ जुन धोबीको चौर जाने मूलबाटोको छेउमा थियो।+ ३  तब हिल्कियाहका छोरा एलियाकिम,+ जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्ना+ अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरू रबसाकेलाई भेट्‌न आए। ४  रबसाकेले तिनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्‍नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+ ५  तिमी भन्छौ, ‘युद्ध लड्‌न मसित रणनीति र शक्‍ति छ’ तर यी सब खोक्रा कुरा हुन्‌। कोमाथि भरोसा गरेर तिमीले मेरो विद्रोह गर्ने आँट गऱ्‍यौ?+ ६  हेर, तिमीले भरोसा गरेको मिश्र त भाँचिएको नर्कट हो। जसले त्यसमा आड लिन्छ, त्यसले उसैको हात छेड्‌छ। हो, ज-जसले मिश्रका फारोमाथि भरोसा गर्छन्‌, तिनीहरू सबैको हालत यस्तै हुन्छ।+ ७  यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्‍वर यहोवामा भरोसा गर्छौँ’ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्‍वर होइन, जसका अग्ला थानहरू* अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यो वेदीसामु निहुरिनू’ भन्दै छन्‌?”’+ ८  त्यसैले आऊ, मेरा मालिक अस्सेरियाका राजासित यस्तो बाजी थाप:+ यदि तिमीले २ हजार घोडाको लागि घोडचढी खोजेर ल्याउन सक्यौ भने म तिमीलाई ती सबै घोडा दिनेछु। ९  यदि तिमी रथ र घोडचढीको लागि त मिश्रको मुख ताक्छौ भने हामीसित कसरी लड्‌ने आँट गर्छौ? तिमीले त मेरा मालिकको सबैभन्दा सानो सेवक, एक जना राज्यपाललाई समेत यहाँबाट धपाउन सक्दैनौ। १०  अनि तिमीलाई के लाग्छ? के म यहोवाको अनुमति नलिईकनै यस देशलाई नाश गर्न आएको हुँ? यहोवा आफैले मलाई यसो भनेको छ, ‘गएर त्यस देशलाई नाश गर्‌।’” ११  तब एलियाकिम, सेब्ना+ र योआले रबसाकेलाई यसो भने:+ “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा कुरा गर्नुहोस्‌।+ हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस्‌ किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्‌।”+ १२  तर रबसाकेले यसो भने: “के मेरा मालिकले तिमीहरू अनि तिमीहरूको मालिकलाई मात्र यो कुरा भन्‍न मलाई पठाउनुभएको हो? यो कुरा पर्खालमा भएका मानिसहरूले पनि सुन्‍नुपर्छ किनकि तिनीहरूले पनि तिमीहरूसँगै आफ्नो दिसा-पिसाब खानुपर्नेछ।” १३  त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने:+ “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+ १४  राजा यसो भन्‍नुहुन्छ, ‘हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌, उसले तिमीहरूलाई बचाउन सक्दैन।+ १५  अनि हिजकियाहको यो कुरा पत्याएर तिमीहरू यहोवामा भर नपर:+ “यहोवाले हामीलाई पक्कै बचाउनुहुनेछ। उहाँले यस सहरलाई अस्सेरियाका राजाको हातमा पर्न दिनुहुनेछैन।” १६  हिजकियाहको कुरा नसुन किनकि अस्सेरियाका राजा यसो भन्‍नुहुन्छ: “आत्मसमर्पण गर र मसित मिलाप गर। त्यसो गऱ्‍यौ भने तिमीहरू हरेकले आफ्नै अङ्‌गुर बगानबाट र आफ्नै अन्जिरको बोटबाट फल खान पाउनेछौ अनि आफ्नै कुवाको पानी पिउन पाउनेछौ। १७  अनि म आएर तिमीहरूलाई प्रशस्तै अन्‍न, नयाँ मद्य, रोटी र अङ्‌गुर बगान भएको तिमीहरूको जस्तै देशमा लैजानेछु।+ १८  हिजकियाहले यसो भनेर तिमीहरूलाई भ्रममा नपारोस्‌, ‘यहोवाले हामीलाई बचाउनुहुनेछ।’ के अहिलेसम्म कुनै जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन सकेको छ?+ १९  हमाथ र अर्पादका देवताहरू कहाँ गए?+ सेफर्बेमका देवताहरू कहाँ छन्‌?+ के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?+ २०  यीमध्ये कुनै पनि जातिका ईश्‍वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन्‌ भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+ २१  तर तिनीहरू चुपचाप बसे र एक शब्द बोलेनन्‌। किनकि राजा हिजकियाहले यस्तो आज्ञा दिएका थिए, “तिमीहरूले तिनलाई केही जवाफ नदिनू।”+ २२  तर हिल्कियाहका छोरा एलियाकिम, जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्ना+ अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरूले आ-आफ्नो लुगा च्याते र हिजकियाहकहाँ गएर रबसाकेले भनेका कुरा तिनलाई सुनाए।

फुटनोटहरू

वा “मद्य टक्य्राउने मुख्य सेवक।”
शब्दावली हेर्नुहोस्‌।
वा “सिरियाली।”