यसैया २८:१-२९
२८ एप्रैमका जँड्याहाहरूको+ देखावटी* मुकुटलाई* धिक्कार छ!ओइलाउँदै गरेको त्यसको सुन्दर फूललाई धिक्कार छ!जुन रक्सीले लट्ठिएका मानिसहरू बस्ने मलिलो बेँसीको शिरमा सजिएको छ।
२ हेर! यहोवाले एक बलियो र शक्तिशाली जन पठाउनुहुनेछ।गर्जनसहित पर्ने असिना र विनाशकारी आँधीले जस्तै,उर्लँदो बाढीले ल्याउने डरलाग्दो तुफानले जस्तैतिनले त्यसलाई पृथ्वीमा हुर्ऱ्याइदिनेछन्।
३ एप्रैमका जँड्याहाहरूका देखावटी* मुकुटहरूलाईखुट्टाले कुल्चीमिल्ची गरिनेछ।+
४ अनि ओइलाउँदै गरेको त्यसको सुन्दर फूल,जुन मलिलो बेँसीको शिरमा सजिएको छ,त्यो ग्रीष्म ऋतु आउनुअघि नै पाकेको अन्जिरझैँ हुनेछ,जसलाई कसैले देख्नेबित्तिकै हत्केलामा लिएर क्वाप्प खाइहाल्छ।
५ त्यस दिन सेनाहरूका यहोवा बाँकी रहेका आफ्ना मानिसहरूका लागि शानदार मुकुट र सुन्दर फूलमाला बन्नुहुनेछ।+
६ अनि उहाँले न्यायासनमा बस्नेहरूलाई इन्साफ गर्ने समझ* दिनुहुनेछ। मूलढोकामा शत्रुहरूसित लड्नेहरूका लागि उहाँ शक्तिको स्रोत बन्नुहुनेछ।+
७ पुजारी र भविष्यवक्ताहरू पनि रक्सीले बहकिएका छन्।मात लागेर तिनीहरू लर्खराउँछन्।रक्सी खाएर तिनीहरू बहकिएका छन्।रक्सीले गर्दा तिनीहरू अलमलमा पर्छन्।नशा चढेकोले तिनीहरू लर्खराउँछन्।तिनीहरूले देखेको दर्शनले* तिनीहरूलाई बहकाउँछर तिनीहरू सही न्याय गर्न सक्दैनन्।+
८ किनकि तिनीहरूका टेबुलहरू घिनलाग्दो बान्तै बान्ताले भरिएका छन्।तिनीहरूले बान्ता नगरेको ठाउँ कुनै छैन।
९ तिनीहरू भन्छन्, “ऊ कसलाई ज्ञान दिन खोज्दै छ?कसलाई आफ्नो सन्देश सुनाउन खोज्दै छ?के हामी भर्खरै दूध छोडेका बालकहरू हौँ?भर्खरै आमाको स्तनबाट अलग गरिएका बच्चाहरू हौँ?
१० किनकि ऊ घरीघरी यसो भन्छ, ‘आदेशमाथि आदेश, आदेशमाथि आदेश!नियममाथि नियम,* नियममाथि नियम!+अलिकता यहाँ, अलिकता त्यहाँ।’”*
११ त्यसैले उहाँ भकभके र विदेशी भाषा बोल्ने मानिसहरूमार्फत यिनीहरूसित कुरा गर्नुहुनेछ।+
१२ एकपटक उहाँले तिनीहरूलाई यसो भन्नुभएको थियो: “यो विश्राम गर्ने ठाउँ हो। थाकेकाहरू यहाँ आएर आराम गरून्। यो स्फूर्ति दिने ठाउँ हो।” तर तिनीहरूले सुन्दै सुनेनन्।+
१३ त्यसैले यहोवाले तिनीहरूलाई यसो भन्नुहुनेछ:
“आदेशमाथि आदेश, आदेशमाथि आदेश!नियममाथि नियम,* नियममाथि नियम!+अलिकता यहाँ, अलिकता त्यहाँ।”तर तिनीहरूले सुन्नेछैनन्।त्यसैले तिनीहरू ठक्कर खाएर लड्नेछन् र तिनीहरूको पिठिउँ बजारिनेछ।तिनीहरू घाइते हुनेछन्, पासोमा पर्नेछन् र पक्राउ पर्नेछन्।+
१४ त्यसैले ए धाक लगाउनेहरू हो, ए यरुसलेमका बासिन्दाहरूमाथि शासन गर्नेहरू हो!यहोवाको वचन सुन!
१५ किनकि तिमीहरू यसो भन्छौ:“हामीले मृत्युसित करार बाँधेका छौँ।+चिहानसित* सम्झौता गरेका छौँ।*अचानक बाढी उर्लेर आए तापनित्यसले हामीलाई भेट्टाउनेछैन।किनकि हामीले झूटलाई आफ्नो शरणस्थान बनाएका छौँर छलकपटको आडमा हामी लुकेका छौँ।”+
१६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्गा हाल्दै छु,+त्यो कुनाको अनमोल ढुङ्गा,+ जसले जगलाई बलियो बनाउनेछ।+अनि त्यसमाथि विश्वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+
१७ अनि म न्यायलाई नाप्ने डोरी बनाउनेछु+र न्यायोचित कामलाई साहुल* बनाउनेछु।+तिनीहरूको झूटको शरणस्थानलाई असिनाले सखाप पारिदिनेछअनि लुक्ने ठाउँलाई बाढीले बगाइदिनेछ।
१८ मृत्युसित तिमीहरूले गरेको करार रद्द हुनेछ।अनि चिहानसित* तिमीहरूले गरेको सम्झौता टिक्नेछैन।+अचानक बाढी उर्लेर आउँदात्यसले तिमीहरूलाई तहसनहस पार्नेछ।
१९ जब-जब त्यो बाढी उर्लन्छ,तब-तब त्यसले तिमीहरूलाई बगाएर लग्नेछ।+त्यो हरेक बिहान उर्लनेछ;दिउँसो अनि राती पनि उर्लनेछ।त्रासले छोपेपछि मात्र आफूले सुनेको सन्देश तिनीहरूले बुझ्नेछन्।”*
२० किनकि लम्पसार पर्नलाई ओछ्यान अति सानो छअनि ओढ्नलाई कम्बल निकै छोटो छ।
२१ जसरी पेराजिम डाँडामा यहोवा उठ्नुभएको थियो, त्यसरी नै उहाँ फेरि उठ्नुहुनेछ।जसरी गिबोन नजिकैको बेँसीमा उहाँ खडा हुनुभएको थियो,+ त्यसरी नै उहाँ फेरि खडा हुनुहुनेछ।आफ्नो अनौठो काम पूरा गर्नलाई,हो, आफ्नो असाधारण काम पूरा गर्नलाई उहाँ उठ्नुहुनेछ।+
२२ खिसी नगर+नत्र त तिमीहरूको बन्धन अझ कसिनेछ।किनकि पूरै पृथ्वीलाई नाश गर्ने निधो भएको छ+ भनेरमैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवाबाट सुनेको छु।
२३ कान थापेर मेरो कुरा सुन।म जे भन्छु, त्यो ध्यान दिएर सुन।
२४ के हलो जोत्नेले बिउ नछरी दिनभरि जोत्छ र?के उसले खन्ने र डल्ला फोर्ने काम मात्रै गरिरहन्छ र?+
२५ जमिनलाई सम्याइसकेपछिके उसले जीरा र कालो जीरा छर्दैन र?के उसले गहुँ, कोदो र जौ रोप्दैन र?अनि खेतको डिलमा कठिया गहुँ*+ रोप्दैन र?
२६ किनकि उहाँले उसलाई सही बाटो देखाउनुहुन्छ।*उसको परमेश्वरले उसलाई निर्देशन दिनुहुन्छ।+
२७ कालो जीरालाई दाँदे लगाएर मसिनो धुलो पारिँदैन+र जीरालाई गाडाको पाङ्ग्राले पेलिँदैन।बरु कालो जीरालाई लौरोलेअनि जीरालाई लट्ठीले चुटिन्छ।
२८ के कसैले रोटी बनाउने पीठो तयार पार्न अन्नलाई दाइँ गरेको गऱ्यै गर्छ र?अहँ! कसैले पनि अन्नलाई दाइँ गरेको गऱ्यै गर्दैन।+अनि अन्न धुलोपिठो हुनेगरिघोडा-गाडा त्यसमाथि चलाउँदैन।+
२९ यो पनि सेनाहरूका यहोवाबाटै आएको हो,जसका सल्लाहहरू* उदेकका छन्र जो आफूले गर्ने हर काममा सफल हुनुहुन्छ।*+
फुटनोटहरू
^ यसले राजधानी सामरियालाई जनाउँछ जस्तो देखिन्छ।
^ वा “घमन्डी।”
^ वा “घमन्डी।”
^ वा “मनोभाव।”
^ शा., “नाप्ने डोरी।”
^ धर्मगुरुहरूलाई यसैयाको सन्देश केटाकेटीलाई एउटै कुरा दोहोऱ्याई-तेहेऱ्याई भनेझैँ लागेको थियो।
^ शा., “नाप्ने डोरी।”
^ वा सम्भवतः “दर्शन देखेका छौँ।”
^ डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।
^ वा सम्भवतः “आफूले सुनेको सन्देश बुझेपछि तिनीहरू त्रसित हुनेछन्।”
^ एक किसिमको कमसल गहुँ।
^ वा “अनुशासन दिनुहुन्छ; सुधार्नुहुन्छ।”
^ वा “उद्देश्य।”
^ वा “जसको व्यावहारिक बुद्धि अपार छ।”

