यसैया २३:१-१८

  • टायरविरुद्ध घोषणा (१-१८)

२३  टायरबारे घोषणा:+ ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+ किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन। कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।  २  ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, चुप लाग। सिदोनबाट+ समुद्र तरेर आएका व्यापारीहरूले तिमीहरूलाई मालामाल बनाइदिएका छन्‌।  ३  सिहोरको*+ अन्‍न समुद्री मार्ग हुँदै लगियो,नाइल नदीको बाली बेचेर तिनीहरूले मुनाफा कमाए+अनि देश-देशबाट धनसम्पत्ति बटुले।  ४  ए समुद्रको गढ सिदोन, तँ लज्जित हो।किनकि समुद्रले यसो भनेको छ: “मैले सुत्केरी बेथा भोगेकी छैनँ, बच्चा पनि जन्माएकी छैनँ।मैले न छोराहरू हुर्काएकी छु न त छोरीहरू।”+  ५  मिश्रको हालत सुनेर तिनीहरूलाई बेचैनी भएझैँ+टायरको खबर सुनेर पनि तिनीहरूलाई बेचैनी हुनेछ।+  ६  पारि तर्सिसमा जाओ! ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, विलाप गर!  ७  के तिमीहरूको सहर यही हो? धेरै पहिलेदेखि, हो, सुरुदेखि नै गौरवले भरिएको तिमीहरूको सहर के यही हो? त्यो आफ्नो खुट्टाले टेकेर टाढा-टाढाका देशमा बास बस्न जान्थ्यो।  ८  मुकुट पहिराउने सहर टायर,जसका व्यापारीहरू शासक थिए,जसका किनबेच गर्नेहरूलाई सारा पृथ्वीले मान गर्थ्यो,त्यसविरुद्ध कसले यस्तो निर्णय गऱ्‍यो?+  ९  सेनाहरूका यहोवा स्वयम्‌ले यस्तो निर्णय गर्नुभएको हो।त्यसले आफ्नो सौन्दर्यमाथि गर्ने घमन्डलाई चूरचूर पार्नअनि सारा पृथ्वीमा ज-जसले सम्मान पाएका थिए, तिनीहरू सबैको अपमान गर्न उहाँले यो निर्णय गर्नुभएको हो।+ १०  ए तर्सिसकी छोरी, नाइल नदीझैँ आफ्नो देशमा फैली! किनकि जहाजको लागि कुनै ठाउँ* बाँकी रहेन।+ ११  उहाँले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ।उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ। यहोवाले फोनिसियाका किल्लाहरूलाई+ ध्वस्त पार्ने आदेश दिनुभएको छ। १२  उहाँ यसो भन्‍नुहुन्छ: “ए शोषणमा परेकी सिदोनकी कुमारी छोरी!अबदेखि तैँले रमाहट गर्नेछैनस्‌।+ उठ्‌, पारि कित्तिममा जा!+ तर त्यहाँ गए पनि तैँले विश्राम पाउनेछैनस्‌।” १३  कल्दियालीहरूको+ देशलाई हेर!अस्सेरियाले+ होइन,कल्दियालीहरूले त्यसलाई मरुभूमिका जनावरहरूको अखडा बनाइदिए।त्यसलाई घेरा हाल्न तिनीहरूले मचानहरू खडा गरे।अनि त्यसका बलिया-बलिया गढहरू ढालिदिए।+तिनीहरूले त्यसलाई टुक्राटुक्रा पारेर नाश गरे। १४  ए तर्सिसका जहाजहरू हो! धुरुधुरु रोओ!किनकि तिमीहरूको किल्ला ध्वस्त भएको छ!+ १५  त्यस दिनदेखि ७० वर्षसम्म टायरलाई कसैले सम्झनेछैन;+ त्यति नै वर्षसम्म, जति वर्षसम्म एक जना राजाले शासन गर्छ। अनि ७० वर्षको अन्तमा टायरको हालत वेश्‍याको यो गीतमा बताइएझैँ हुनेछ: १६  “ए सबैले बिर्सेको वेश्‍या!एउटा वीणा ली र सहरलाई एक फन्को मार्‌।राम्ररी वीणा बजा अनि धेरै गीत गार तिनीहरूले तँलाई फेरि सम्झिऊन्‌।” १७  यहोवाले ७० वर्षपछि टायरमाथि फेरि दृष्टि लगाउनुहुनेछ। त्यो आफ्नो पेसामा फर्किनेछे र त्यसले पृथ्वीका सबै राज्यसित वेश्‍यावृत्ति गर्नेछे। १८  तर त्यसको मुनाफा र आम्दानी यहोवाको लागि पवित्र ठहरिनेछ। त्यो कमाइ न थुपारिनेछ न त जम्मा गरिनेछ किनकि त्यो यहोवाको जनहरूका लागि हुनेछ। त्यस कमाइले तिनीहरूले पेटभरि खानेछन्‌ र शानदार पोसाक लगाउनेछन्‌।+

फुटनोटहरू

यो नाइल नदीको शाखा हो।
वा सम्भवतः “बन्दरगाह।”