यसैया २०:१-६

  • मिश्र र इथियोपियाविरुद्ध चिन्ह (१-६)

२०  अस्सेरियाका राजा सार्गोनले तर्तानलाई* अस्दोदमा पठाएकै वर्ष तर्तानले अस्दोदमा+ आक्रमण गरेर त्यसलाई कब्जा गरे।+ २  त्यसबेला यहोवाको यो वचन आमोजका छोरा यसैयाकहाँ+ आयो: “जाऊ, कम्मरको भाङ्‌ग्रा फुकाल र खुट्टाको जुत्ता खोल।” अनि तिनले त्यसै गरे। तिनी नाङ्‌गै* अनि खाली खुट्टा हिँडे। ३  तब यहोवाले यसो भन्‍नुभयो: “जसरी मेरो सेवक यसैया मिश्र+ र इथियोपियाको+ लागि सङ्‌केत र जनाउस्वरूप+ तीन वर्षसम्म नाङ्‌गै अनि खाली खुट्टा हिँड्यो, ४  त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्‌। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्‌गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्‌। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन। ५  अनि आफूले भरोसा गरेको इथियोपिया र गर्व गरेको मिश्रको हालत देखेर* तिनीहरू डराउनेछन्‌ र लाजमा पर्नेछन्‌। ६  अनि तटवर्ती इलाकामा बस्नेहरूले त्यस दिन यसो भन्‍नेछन्‌: ‘हेर त! हाम्रो आशा चकनाचुर भयो। हामी त अस्सेरियाको राजाबाट बच्न अनि तिनको हातबाट उम्कन त्यहाँ भागेर गएका थियौँ। अब हामी कहाँ भाग्ने?’”

फुटनोटहरू

वा “सेनापति।”
वा “भित्री लुगा मात्र लगाएर।”
वा “र जुन मिश्रको सौन्दर्य देखेर तिनीहरू दङ्‌ग पर्थे, त्यसको हालत देखेर।”