यर्मिया ३०:१-२४

  • निको पार्ने र स्वस्थ बनाउने प्रतिज्ञा (१-२४)

३०  यहोवाको यो वचन यर्मियाकहाँ आयो: २  “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘मैले तिमीलाई बताएका सबै कुरा एउटा पुस्तकमा लेख। ३  किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “अब यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाबाट कैदमा लगिएका मेरा मानिसहरूलाई जम्मा गर्नेछु।”+ यहोवा भन्‍नुहुन्छ, “अनि मैले तिनीहरूका पितापुर्खालाई दिएको देशमा म तिनीहरूलाई फिर्ता ल्याउनेछु र तिनीहरूले त्यो फेरि अधिकार गर्नेछन्‌।”’”+ ४  यहोवाले इस्राएल र यहुदालाई भन्‍नुभएका कुराहरू यी नै हुन्‌।  ५  यहोवा यसो भन्‍नुहुन्छ: “मानिसहरू आत्तिएर कराएको आवाज सुनिएको छ;जताततै आतङ्‌क मच्चिएको छ; शान्ति कतै छैन।  ६  गएर सोध, ‘के कुनै पुरुषले बच्चा जन्माउन सक्छ?’ किनकि बलिया-बलिया पुरुषहरूजति सबैले बेथा लागेकी स्त्रीले जस्तै आफ्नो हात पेटमा* राखेको म देख्छु।+ किन तिनीहरू सबैको अनुहारको रङ्‌ग उडेको छ?  ७  हाय! त्यो अत्यन्तै भयानक दिन हुनेछ।+ त्योजस्तो भयानक दिन अरू छँदै छैन। त्यो दिन याकुबलाई साह्रै कष्ट हुनेछ। तर म तिनलाई जोगाउनेछु।” ८  सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म त्यो दिन तिनीहरूको गर्दनको जुवा भाँचिदिनेछु र जोतारो* चुँडालिदिनेछु। त्यस उपरान्त विदेशीहरूले तिनीहरूलाई आफ्नो दास बनाउनेछैनन्‌। ९  तिनीहरूले आफ्ना परमेश्‍वर यहोवाको र मैले तिनीहरूमाझ खडा गरेको राजा दाउदको सेवा गर्नेछन्‌।”+ १०  यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ए मेरो दास याकुब, नडराऊ; अनि ए इस्राएल, भयभीत नहोऊ+ किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु र तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+ याकुब आफ्नो भूमिमा फर्केर शान्तिपूर्वक बस्नेछ र कसैले पनि उसलाई तर्साउनेछैन।”+ ११  यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु। तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+ तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+ ठीक मात्रामा अनुशासन दिनेछु।* तिमी सजाय नपाई उम्कनेछैनौ।”+ १२  किनकि यहोवा यसो भन्‍नुहुन्छ: “तिम्रो चोट निको नहुने खालको छ।+ तिमी निको नै नहुनेगरि घाइते भएका छौ। १३  तिम्रो पक्षमा खडा हुने कोही छैन। तिम्रो घाउ कहिल्यै पुरिँदैन। तिम्रो लागि कुनै उपचार छैन। १४  तिम्रा कामुक प्रेमीहरूले तिमीलाई धोका दिएका छन्‌।+ तिनीहरूले तिमीलाई बिर्से। किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+ मैले तिमीलाई शत्रुले झैँ प्रहार गरेको छु+ र क्रूर व्यक्‍तिले झैँ तिमीलाई सजाय दिएको छु। १५  चोट खाएकोमा तिमी किन बिलौना गर्छौ? तिम्रो चोट निको हुँदैन। किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+ मैले नै तिमीलाई सजाय दिएको हुँ। १६  त्यसैले तिमीलाई निल्न खोज्नेहरूलाई म निल्नेछु+ तिम्रा सबै शत्रुहरू कैदमा पर्नेछन्‌।+ तिमीलाई लुट्‌नेहरू उल्टै लुटिनेछन्‌। तिमीलाई नाङ्‌गेझार पार्नेहरू उल्टै नाङ्‌गेझार हुनेछन्‌।”+ १७  “‘कसैले पनि सियोनको वास्ता गर्दैन’ भन्दै तिम्रा शत्रुहरूले तिमीलाई हेला गरे।+ तर म तिम्रो घाउ निको पारेर तिमीलाई स्वस्थ बनाउनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ। १८  यहोवा यसो भन्‍नुहुन्छ: “याकुबको पालमा बस्नेहरू, जो कैदमा परेका छन्‌, तिनीहरूलाई म जम्मा गर्नेछु,+ तिनको वासस्थानलाई* म दया गर्नेछु। डाँडाको सहर फेरि त्यहीँ बसालिनेछ+ र त्यसका बलिया किल्लाहरू पहिलेकै ठाउँमा खडा गरिनेछन्‌। १९  तिनीहरूले धन्यवाद चढाउनेछन्‌ र तिनीहरूको हाँसो गुन्जिनेछ।+ म तिनीहरूको सङ्‌ख्या बढाउनेछु,+ तिनीहरू बढेर अनगिन्ती हुनेछन्‌* र कसैले तिनीहरूलाई हेप्नेछैन।+ २०  तिनीहरूका सन्तान पहिलाजस्तै फल्नेछन्‌, फुल्नेछन्‌। तिनीहरूलाई म शक्‍तिशाली जाति बनाउनेछु।+ तिनीहरूलाई दुःख दिनेजति सबैलाई म तह लगाउनेछु।+ २१  तिनीहरूका अगुवा तिनीहरूकै माझबाट आउनेछन्‌। तिनीहरूका शासक तिनीहरूकै बीचबाट निस्कनेछन्‌। म उसलाई मेरो नजिक ल्याउनेछु र ऊ मकहाँ आउनेछ।” “नत्र त कसले मेरो नजिक आउने आँट गर्न सक्छ र?” यहोवा घोषणा गर्नुहुन्छ। २२  “तिमीहरू मेरा मानिसहरू हुनेछौ+ र म तिमीहरूका परमेश्‍वर हुनेछु।”+ २३  हेर! यहोवाको आँधी चल्नेछ, उहाँको क्रोध भयानक आँधीबेहरीझैँ चल्नेछ;+ भयङ्‌कर तुफानझैँ त्यो शत्रुहरूको टाउकोमा बजारिनेछ! २४  आफूले मनमा ठानेको कुरा पूरा नगरेसम्म यहोवाको दन्केको रिस मर्नेछैन।+ आखिरी समयमा तिमीहरूले यो कुरा बुझ्नेछौ।+

फुटनोटहरू

वा “कम्मरमा।”
जुवामा बाँध्ने डोरी।
वा “सुधार्नेछु।”
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवत: “तिनीहरू सम्मानित हुनेछन्‌।”