यर्मिया १८:१-२३

  • कुमालेको हातको माटो (१-१२)

  • यहोवा इस्राएलीहरूतर्फ पीठ फर्काउनुहुन्छ (१३-१७)

  • यर्मियाविरुद्ध षड्‌यन्त्र; तिनको आग्रह (१८-२३)

१८  यहोवाको यो वचन यर्मियाकहाँ आयो: २  “उठ र कुमालेको घरमा जाऊ।+ त्यहाँ म तिमीलाई आफ्नो सन्देश सुनाउनेछु।” ३  त्यसैले म कुमालेको घरमा गएँ। त्यहाँ तिनी चक्कामा माटोको भाँडो बनाउँदै थिए। ४  तर त्यो भाँडो बनाउँदा बनाउँदै तिनको हातैमा बिग्रियो। अनि तिनले त्यसलाई फेरि मुछे र आफूले चाहेअनुसार अर्को भाँडो बनाए। ५  त्यसपछि यहोवाको यो वचन मकहाँ आयो: ६  “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘ए इस्राएलको घराना! के म तिमीहरूलाई यो कुमालेले गरेजस्तै गर्न सक्दिनँ र? हेर, तिमीहरू मेरो लागि कुमालेको हातको माटोजस्तै छौ।+ ७  यदि मैले कुनै जाति वा राष्ट्रको विषयमा ‘म त्यसलाई उखेल्नेछु, भत्काउनेछु र विनाश गर्नेछु’ भनेँ+ ८  तर त्यस राष्ट्रले आफ्नो दुष्ट मार्ग त्याग्यो भने म आफ्नो मन बदल्नेछु* र त्यसमाथि जुन विपत्ति ल्याउने विचार गरेको थिएँ, त्यो ल्याउनेछैनँ।+ ९  अथवा मैले कुनै जाति वा राष्ट्रको विषयमा ‘म त्यसलाई निर्माण गर्नेछु र रोप्नेछु’ भनेँ १०  तर त्यस राष्ट्रले मेरो नजरमा जे खराब छ, त्यही गऱ्‍यो र मेरो आज्ञा मानेन भने म आफ्नो मन बदल्नेछु र त्यसलाई जे आशिष्‌ दिने विचार गरेको थिएँ, त्यो दिनेछैनँ।’ ११  “अब यहुदा र यरुसलेमका बासिन्दाहरूलाई यसो भन, ‘यहोवा यसो भन्‍नुहुन्छ, “म तिमीहरूमाथि विपत्ति ल्याउने तयारी गर्दै छु; तिमीहरूविरुद्ध मैले एउटा युक्‍ति रचेको छु।” त्यसैले उहाँ यस्तो आग्रह गर्नुहुन्छ, “गलत मार्ग त्याग र आफ्नो तौरतरिका अनि चालचलन सुधार।”’”+ १२  तर तिनीहरूले यसो भने: “अहँ! हामी त्यसो गर्नेछैनौँ!+ हामी सबै आफ्नै सोचाइअनुसार चल्नेछौँ; हामी हठी नै हुनेछौँ र आफ्नो दुष्ट हृदयले जे भन्छ, त्यही गर्नेछौँ।”+ १३  त्यसैले यहोवा यस्तो आग्रह गर्नुहुन्छ: “तिमीहरू आफै गएर अरू राष्ट्रहरूलाई सोध। के अहिलेसम्म कसैले यस्तो कुरा सुनेको छ? कुमारी इस्राएलले साह्रै घिनलाग्दो काम गरेकी छे।+ १४  के लेबनानको भिरालो ठाउँका चट्टानहरूमा भएको हिउँ कहिल्यै पग्लन्छ र? अथवा टाढाबाट बगेर आउने चिसो पानी कहिल्यै सुक्छ र? १५  तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्‌।+ तिनीहरू व्यर्थ कुराहरूको निम्ति बलि चढाउँछन्‌।+ तिनीहरू मानिसहरूलाई ठेस पुऱ्‍याएर पुरानो बाटोबाट तर्काउँछन्‌+ अनि खाल्टाखुल्टी परेको गोरेटोमा हिँड्‌न लगाउँछन्‌। १६  त्यसैले तिनीहरूको देशको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+ यस देशलाई हेरेर मानिसहरूले सधैँ खिसी गर्दै सिटी बजाउनेछन्‌।+ अनि यस देशबाट भएर जाने सबै जना यसको हालत देखेर डरले हेरेको हेऱ्‍यै हुनेछन्‌ र मुन्टो हल्लाउनेछन्‌।+ १७  पूर्वीय बतासले धुलो यताउता उडाएझैँ म तिनीहरूलाई शत्रुसामु तितरबितर पारिदिनेछु। विनाशको दिनमा म तिनीहरूतिर आफ्नो अनुहार होइन, पीठ फर्काउनेछु।”+ १८  अनि तिनीहरूले यसो भने: “आओ, यर्मियाविरुद्ध षड्‌यन्त्र रचौँ।+ त्यसविरुद्ध आवाज उठाऔँ र त्यसले भनेको कुनै पनि कुरालाई वास्ता नगरौँ। किनकि हामीलाई हाम्रै पुजारीहरूले व्यवस्था* सिकाउनेछन्‌, हाम्रै बुद्धिमान्‌ मानिसहरूले सल्लाह दिनेछन्‌ र हाम्रै भविष्यवक्‍ताहरूले परमेश्‍वरको वचन सुनाउनेछन्‌।” १९  हे यहोवा, मेरो कुरा सुन्‍नुहोस्‌। मेरा विरोधीहरूले के भनिरहेका छन्‌, ध्यान दिनुहोस्‌। २०  के भलाइको बदलामा खराबी गर्नु उचित हो? किनकि तिनीहरूले मलाई मार्न खाडल खनेका छन्‌।+ हे परमेश्‍वर सम्झनुहोस्‌, तिनीहरूविरुद्ध तपाईँको क्रोध हटोस्‌ भनेर तिनीहरूको पक्षमा असल कुरा भन्‍न म कत्ति पटक तपाईँसामु खडा भएँ! २१  त्यसैले तिनीहरूका छोराहरूलाई अनिकालको सिकार बनाइदिनुहोस्‌। तिनीहरू तरबारले मारिऊन्‌।+ तिनीहरूका पत्नीहरूले छोराछोरीको वियोग सहनुपरोस्‌ र विधवा हुनुपरोस्‌।+ तिनीहरूका पुरुषहरू घातक महामारीले मरून्‌। तिनीहरूका तन्‍नेरीहरू युद्धमा तरबारले काटिऊन्‌।+ २२  तिनीहरूकहाँ लुटेराहरू पठाइदिनुहोस्‌ र तिनीहरूको घरबाट रुवाबासीको आवाज सुनियोस्‌। किनकि मलाई पासोमा पार्न तिनीहरूले खाडल खनेका छन्‌ र मैले टेक्ने ठाउँमा पासो थापेका छन्‌।+ २३  तर हे यहोवा, तिनीहरूले मेरो हत्या गर्न रचेका एक-एक षड्‌यन्त्र तपाईँलाई थाह छ।+ तिनीहरूको गल्ती ढाकछोप नगर्नुहोस्‌ अनि तिनीहरूको पाप नपखाल्नुहोस्‌। आफ्नो रिसमा तिनीहरूलाई सजाय दिनुहुँदा+ तिनीहरूले तपाईँसामु ठक्कर खाऊन्‌।+

फुटनोटहरू

वा “म पछुतो मान्‍नेछु।”
वा “निर्देशन।”