मलाकि १:१-१४
१ एउटा घोषणा:
मलाकिमार्फत* इस्राएललाई यहोवाको वचन:
२ यहोवा भन्नुहुन्छ, “मैले तिमीहरूलाई प्रेम गरेको छु।”+
तर तिमीहरू भन्छौ: “तपाईँले हामीलाई कसरी प्रेम गर्नुभएको छ?”
यहोवा घोषणा गर्नुहुन्छ, “के एसाव याकुबको दाइ थिएन र?+ तर मैले याकुबलाई प्रेम गरेँ
३ अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+
४ “एदोमले* यसो भनेको छ, ‘हामी चकनाचुर भएका छौँ तर हामी फर्कनेछौँ र भत्केका कुराहरूलाई फेरि बनाउनेछौँ।’ तर सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘तिनीहरूले बनाउनेछन् तर म भत्काइदिनेछु। अनि तिनीहरू “दुष्टहरूको इलाका” र “यहोवा परमेश्वरले कहिल्यै नमेटिने सराप दिनुभएको जाति” भनेर चिनिनेछन्।+
५ यो तिमीहरूले आफ्नै आँखाले देख्नेछौ र यसो भन्नेछौ: “इस्राएलमा यहोवाको महिमा होस्।”’”
६ “उहाँको नामको अपमान गर्ने पुजारीहरूलाई सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘छोराले आफ्नो बुबाको आदर गर्छ+ र दासले आफ्नो मालिकको आदर गर्छ। म बुबा हुँ भने+ मेरो आदर गरेको खोइ?+ म मालिक हुँ भने मेरो डर* मानेको खोइ?’+
“‘तर तिमीहरू भन्छौ: “हामीले कसरी तपाईँको नामको अपमान गरेका छौँ र?”’
७ “‘मेरो वेदीमा दूषित खाना* चढाएर।’
“‘अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी दूषित बनाएका छौँ र?”’
“‘“यहोवाको टेबुल+ घिनलाग्दो छ” भनेर।
८ तिमीहरू अन्धो पशु बलि चढाउन ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।” लङ्गडो वा रोगी पशु ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।”’”+
“त्यस्तो पशु तिमीहरूका राज्यपाललाई एक चोटि दिई हेर त। के तिनी तिमीहरूसँग खुसी हुनेछन् वा तिमीहरूलाई निगाह देखाउनेछन्?” सेनाहरूका यहोवा भन्नुहुन्छ।
९ “अब, परमेश्वरलाई बिन्ती गरेर उहाँलाई मनाई हेर। उहाँले तिमीहरूको हातबाट त्यस्ता भेटीहरू ग्रहण गरेर तिमीहरूमाथि अनुग्रह देखाउनुहोला र?” सेनाहरूका यहोवा भन्नुहुन्छ।
१० “अनि तिमीहरूमध्ये को ढोका* बन्द गर्न राजी छौ?+ किनकि तिमीहरू त दाम नलिई मेरो वेदीमा आगोसमेत बाल्दैनौ।+ म तिमीहरूसित पटक्कै खुसी छैनँ। अनि तिमीहरूले चढाएको भेटीदेखि म प्रसन्न छैनँ।”+
११ “पूर्वदेखि पश्चिमसम्म* जातिजातिमाझ मेरो नाम महान् हुनेछ।+ सबै ठाउँमा मानिसहरूले मेरो नाम लिएर निष्खोट भेटीहरू चढाउनेछन् अनि माथिसम्म धुवाँ उठ्नेगरि तिनीहरूले बलि चढाउनेछन्। किनकि जातिजातिमाझ मेरो नाम महान् हुनेछ,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।
१२ “तर तिमीहरूले यसो भनेर यसको* अपमान गरिरहेका छौ,+ ‘यहोवाको टेबुल दूषित छ अनि यसमा भएका फल, खानेकुरा घिनलाग्दा छन्।’+
१३ अनि तिमीहरू नाकको पोरा फुलाउँदै खिसी गर्छौ र यसो भन्छौ, ‘उफ! कत्ति थकाइलाग्दो!’” सेनाहरूका यहोवा भन्नुहुन्छ। “अनि तिमीहरू चोरेको, लङ्गडो र रोगी पशुहरू ल्याउँछौ। हो, तिमीहरू त्यस्ता पशुहरू भेटी चढाउन ल्याउँछौ! के म ती ग्रहण गरूँ?”+ यहोवा भन्नुहुन्छ।
१४ “आफ्नो बगालमा खोटरहित पशु* हुँदाहुँदै आफ्नो भाकल पूरा गर्न खोट भएको पशु यहोवालाई चढाउने धूर्त मानिस श्रापित होस्। किनकि म महान् राजा हुँ+ र जातिजातिमाझ मेरो नामले आश्चर्य र भय जगाउनेछ,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।
फुटनोटहरू
^ यसको अर्थ हो, “मेरो सन्देशवाहक।”
^ एसावको अर्को नाम। शब्दावलीमा “एदोम” हेर्नुहोस्।
^ वा “आदर।”
^ शा., “रोटी।”
^ यसले मन्दिरभित्र उपासनासम्बन्धी काम गर्दा ढोका बन्द गर्नुपर्ने जिम्मेवारीलाई जनाएको हुनुपर्छ।
^ वा “सूर्योदयदेखि सूर्यास्तसम्म।”
^ वा सम्भवतः “मेरो।”
^ शा., “भाले पशु।”