मर्कुसका अनुसार ६:१-५६

  • येसुलाई उहाँकै गृहनगरमा तिरस्कार गरिन्छ (१-६)

  • बाह्र चेलालाई प्रचारसम्बन्धी निर्देशन दिइन्छ (७-१३)

  • बप्तिस्मा गराउने युहन्‍नाको मृत्यु (१४-२९)

  • येसु ५ हजारलाई खुवाउनुहुन्छ (३०-४४)

  • येसु पानीमा हिँड्‌नुहुन्छ (४५-५२)

  • गनेसरेतमा बिरामीहरूलाई निको पारिन्छ (५३-५६)

 अनि उहाँ त्यो ठाउँ छोडेर आफ्नो गृहनगर पुग्नुभयो+ र उहाँका चेलाहरू पनि उहाँको पछि लागे। २  जब विश्रामदिन* आयो, तब उहाँले सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुन्‍नेहरूमध्ये धेरै जना छक्क परे र यसो भने: “यस मानिसले यस्तो कुरा कहाँबाट सिक्यो?+ यस मानिसले यस्तो बुद्धि कसरी पायो? यसलाई यस्तो शक्‍तिशाली कामहरू गर्ने क्षमता कसले दियो?+ ३  के यो त्यही सिकर्मी होइन?+ के यो मरियमको छोरा+ अनि याकुब,+ युसुफ, यहुदा र सिमोनको दाइ होइन र?+ अनि के यसका बहिनीहरू यहाँ हामीमाझ नै छैनन्‌ र?” त्यसैले तिनीहरूले उहाँमाथि विश्‍वास गर्न चाहेनन्‌। ४  तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “भविष्यवक्‍ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाकामा, आफ्नै नातागोताको बीचमा र आफ्नै घरमा भने पाउँदैन।”+ ५  त्यसैले उहाँले त्यहाँ केही बिरामीहरूमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नेबाहेक अरू कुनै शक्‍तिशाली काम गर्नुभएन। ६  हो, तिनीहरूले विश्‍वास नगरेको देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँले वरपरका गाउँहरूमा गएर सिकाउनुभयो।+ ७  तब उहाँले ती १२ जनालाई बोलाउनुभयो र तिनीहरूलाई दुई-दुई जना गरी पठाउन सुरु गर्नुभयो+ अनि प्रेतहरूलाई* धपाउने अख्तियार पनि दिनुभयो।+ ८  साथै उहाँले तिनीहरूलाई यात्राको लागि लौरोबाहेक अरू केही नबोक्न आज्ञा दिनुभयो; न रोटी, न झोला, न त आफ्नो पटुकामा पैसा।*+ ९  उहाँले जुत्ता लगाउनू तर दुईसरो लुगा भने नलगाउनू पनि भन्‍नुभयो। १०  साथै उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जुन घरमा तिमीहरू पसौला, त्यो ठाउँ नछोडुन्जेल त्यसै घरमा बस।+ ११  अनि जुन ठाउँमा मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्‌ वा तिमीहरूको कुरा सुन्दैनन्‌, त्यहाँबाट निस्कँदा तिनीहरूलाई साक्षीको निम्ति आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”*+ १२  तब तिनीहरू गए र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।+ १३  अनि तिनीहरूले धेरै प्रेतलाई धपाए+ र थुप्रै बिरामी मानिसलाई तेल घसेर निको पारे। १४  यो कुरा राजा हेरोदको कानमा पुग्यो किनकि येसुको नाम जताततै फैलिएको थियो र मानिसहरू यसो भन्थे: “बप्तिस्मा गराउने युहन्‍ना मृत्युबाट ब्युँतेछन्‌। त्यसैले त तिनले शक्‍तिशाली कामहरू गरिरहेका छन्‌।”+ १५  तर अरूचाहिँ यसो भन्थे: “यिनी एलिया हुन्‌।” अनि कोहीचाहिँ यसो भन्थे: “यिनी उहिले-उहिलेका भविष्यवक्‍ताहरूजस्तै एक जना हुन्‌।”+ १६  जब हेरोदले यो कुरा सुने, तब तिनले यसो भने: “मैले जुन युहन्‍नाको टाउको काट्‌न लगाएको थिएँ, त्यो ब्युँतिएछ।” १७  हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका थिए। त्यसैकारण हेरोद आफैले मानिसहरू पठाएर युहन्‍नालाई पक्रेका थिए अनि बाँधेर झ्यालखानामा हालेका थिए।+ १८  किनकि युहन्‍ना हेरोदलाई यसो भन्‍ने गर्थे: “तपाईँले आफ्नी भाउजूलाई आफ्नी पत्नी बनाउनु ठीक होइन।”+ १९  त्यसैले हेरोदियासले मनमा ईख पालिराखेकी थिइन्‌ र उनी युहन्‍नालाई मार्न चाहन्थिन्‌ तर सकेकी थिइनन्‌। २०  युहन्‍ना धर्मी र पवित्र मानिस हुन्‌ भनेर थाह भएकोले हेरोद तिनीसँग डराउँथे+ र तिनलाई जोगाइराखेका थिए। तिनको कुरा सुनेपछि हेरोद के गरूँ भनेर अन्योलमा पर्थे तैपनि तिनको कुरा खुसीसाथ सुन्‍ने गर्थे। २१  तर हेरोदले आफ्नो जन्मदिनको अवसरमा आफ्ना उच्च पदाधिकारीहरू, सेनापतिहरू र गालिलका गण्यमान्यहरूका लागि रात्रिभोज आयोजना गर्दा हेरोदियासले युहन्‍नासित बदला लिने राम्रो मौका पाइन्‌।+ २२  यिनै हेरोदियासकी छोरी भित्र आइन्‌ अनि नाचेर हेरोद र तिनीसँगै खान बसिरहेकाहरूलाई खुसी बनाइन्‌। त्यसैले राजाले त्यस ठिटीलाई भने: “तिमीलाई जे इच्छा लाग्छ, मसित माग र त्यो म तिमीलाई दिनेछु।” २३  हो, तिनले कसम खाएर यसो भने: “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु, मेरो आधा राज्यसमेत।” २४  त्यसैले उनी बाहिर गइन्‌ र आफ्नी आमालाई सोधिन्‌: “म के मागूँ?” तिनले भनिन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको।” २५  उनी हतारहतार राजाकहाँ गइन्‌ र यस्तो बिन्ती चढाइन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको किस्तीमा राखेर मलाई अहिल्यै दिनुहोस्‌।”+ २६  यो सुनेर राजालाई असाध्यै दुःख लाग्यो तर आफूसित खान बसिरहेका पाहुनाहरूको अगाडि कसम खाइसकेको हुनाले तिनले उनको अनुरोध इन्कार गर्न सकेनन्‌। २७  त्यसैले राजाले तुरुन्तै एक जना अङ्‌गरक्षकलाई पठाए र युहन्‍नाको टाउको ल्याउने हुकुम दिए। अनि झ्यालखानामा गएर उसले युहन्‍नाको टाउको काट्‌यो २८  र तिनको टाउको एउटा किस्तीमा राखेर ल्यायो अनि त्यस ठिटीलाई दियो। अनि ठिटीले त्यो टाउको आफ्नी आमालाई दिइन्‌। २९  जब युहन्‍नाका चेलाहरूले यो खबर सुने, तब तिनीहरू आए अनि तिनको लास लगेर चिहानमा राखे। ३०  प्रेषितहरू येसुकहाँ आए र आफूले गरेका सबै काम र आफूले सिकाएका सबै कुराको विषयमा उहाँलाई बताए।+ ३१  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र केहीबेर आराम गर।”+ आउने-जानेहरू धेरै भएकाले उहाँहरूले खाने फुर्सतसमेत पाउनुभएको थिएन। ३२  त्यसैले डुङ्‌गा चढेर उहाँहरू एकान्त ठाउँमा जानुभयो।+ ३३  तर मानिसहरूले उहाँहरू जाँदै गरेको देखे र धेरै जनाले यो कुरा थाह पाए। अनि सबै सहरबाट आएका मानिसहरू दौडँदै उहाँहरूभन्दा अघि नै त्यस ठाउँमा पुगे। ३४  डुङ्‌गाबाट ओर्लेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।+ अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।+ ३५  यतिबेलासम्म दिन ढल्न लागिसकेको थियो। त्यसैले चेलाहरू उहाँकहाँ आएर यसो भने: “यो ठाउँ अनकन्टार छ र दिन पनि निकै ढलिसक्यो।+ ३६  त्यसैले उनीहरूलाई पठाइदिनुहोस्‌ र नजिकैका गाउँबस्तीमा गएर उनीहरूले आफ्नो निम्ति केही खानेकुरा किनून्‌।”+ ३७  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” यो सुनेर तिनीहरूले उहाँलाई भने: “के हामी गएर २०० दिनारको* रोटी किनेर यी मानिसहरूलाई खान देऔँ?”+ ३८  उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरूसित कति वटा रोटी छ? गएर हेर त!” कति वटा छ भनेर थाह पाएपछि तिनीहरूले भने: “पाँच वटा। अनि दुई वटा माछा पनि रहेछ।”+ ३९  अनि उहाँले सबै मानिसलाई हरियो घाँसमा समूह-समूह बनाएर बस्न अह्राउनुभयो।+ ४०  अनि तिनीहरू १००-१०० र ५०-५० को समूह बनाएर बसे। ४१  त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि मानिसहरूलाई बाँड्‌नको लागि रोटी भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो र दुई वटा माछा पनि सबैका लागि भाग लगाउनुभयो। ४२  तिनीहरू सबैले पेटभरि खाए। ४३  अनि तिनीहरूले उब्रेको टुक्राटाक्री बटुल्दा १२ डाला भरिए र यसबाहेक माछा पनि उब्रेको थियो।+ ४४  रोटी खानेहरूमा ५ हजार पुरुष थिए। ४५  अनि उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्‌गा चढेर उहाँभन्दा अघि पारिपट्टि बेथसेदा जान लगाउनुभयो र उहाँले भने भीडलाई बिदा गर्नुभयो।+ ४६  मानिसहरूलाई बिदाबारी गरिसकेपछि उहाँ प्रार्थना गर्न एउटा डाँडा चढ्‌नुभयो।+ ४७  साँझ परिसकेको थियो र डुङ्‌गा समुद्रको बीचमा थियो तर उहाँ भने डाँडामा एक्लै हुनुहुन्थ्यो।+ ४८  विपरीत दिशाबाट चलिरहेको बतासले गर्दा चेलाहरूलाई डुङ्‌गा खियाउन गाह्रो भइरहेको उहाँले देख्नुभयो। त्यसैले रातको चौथो प्रहरतिर* उहाँ समुद्रमा हिँड्‌दै तिनीहरू भएतिर जानुभयो। तर उहाँ तिनीहरूलाई उछिनेर जान चाहनुहुन्थ्यो* जस्तो देखिन्थ्यो। ४९  उहाँ समुद्रमा हिँडिरहनुभएको देखेपछि चेलाहरू यसो भन्दै कराए: “लौ! हामी यो के देख्दै छौँ?” ५०  किनकि उहाँलाई देखेर तिनीहरू सबै आत्तिएका थिए। तर येसु तिनीहरूसित तुरुन्तै बोल्नुभयो र भन्‍नुभयो: “साहस गर, मै हुँ, नडराओ।”+ ५१  अनि उहाँ तिनीहरूकै डुङ्‌गामा चढ्‌नुभयो र बतास थामियो। यो देखेर तिनीहरूले साह्रै अचम्म माने। ५२  किनकि रोटीको चमत्कार देखेर पनि तिनीहरूले त्यसबाट पाठ सिक्न सकेका थिएनन्‌; तिनीहरूको हृदय अझै बोधो थियो। ५३  तब उहाँहरू पारिपट्टि गनेसरेतमा पुग्नुभयो अनि डुङ्‌गालाई बाँध्नुभयो।+ ५४  उहाँहरू डुङ्‌गाबाट ओर्लनुहुनेबित्तिकै मानिसहरूले येसुलाई चिनिहाले ५५  र तिनीहरू त्यस इलाकाको चारैतिर दौडादौड गरे। अनि उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनेर तिनीहरूले सुने, त्यहाँ-त्यहाँ तिनीहरूले बिरामीहरूलाई खाटैसमेत ल्याउन थाले। ५६  अनि उहाँ जुन-जुन सहर, गाउँ वा बस्तीमा पस्नुहुन्थ्यो, त्यहाँ तिनीहरूले बिरामीहरूलाई बजारमा राखिदिन्थे र उनीहरूले उहाँको लुगाको किनारा मात्रै भए पनि छुन पाऊँ भनेर बिन्ती गर्थे।+ अनि ज-जसले छुन्थे, उनीहरू सबै निको हुन्थे।

फुटनोटहरू

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “दुष्ट स्वर्गदूतहरूलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
शा., “तामा।”
पैतालाको धुलो टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्‍त भएको कुरालाई सङ्‌केत गर्छ।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अर्थात्‌, बिहान लगभग ३ बजेदेखि लगभग ६ बजेसम्म।
वा “उहाँले तिनीहरूलाई उछिन्‍नै लाग्नुभयो।”