मर्कुसका अनुसार ५:१-४३

  • येसु प्रेतहरूलाई सुँगुरहरूमा पठाउनुहुन्छ (१-२०)

  • याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन्‌ (२१-४३)

 तब उहाँहरू समुद्रको पारिपट्टि गेरासिनीहरूको इलाकामा पुग्नुभयो।+ २  येसु डुङ्‌गाबाट ओर्लनुहुनेबित्तिकै प्रेतको* वशमा परेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो। ३  त्यो मानिस चिहानहरूमा भौँतारिरहन्थ्यो। त्यतिबेलासम्म कसैले पनि उसलाई बाँध्न सकेको थिएन, यहाँसम्म कि मानिसहरूले उसलाई साङ्‌लाले समेत बाँध्न सकेका थिएनन्‌। ४  उसलाई धेरै पटक नेल र साङ्‌लाले बाँधिएको थियो। तर उसले साङ्‌ला चुँडाल्थ्यो र नेललाई टुक्राटुक्रा पार्थ्यो अनि कसैसित उसलाई काबूमा राख्ने तागत थिएन। ५  ऊ चिहानहरू र पहाडहरूमा रातदिन कराइरहन्थ्यो अनि आफ्नो जीउमा ढुङ्‌गाले काटेर चोटैचोट बनाउँथ्यो। ६  तर टाढाबाट येसुलाई देख्नेबित्तिकै ऊ दौडेर आयो र उहाँलाई दण्डवत्‌ गऱ्‍यो।+ ७  अनि उसले ठूलो स्वरले कराउँदै यसो भन्यो: “हे सर्वोच्च परमेश्‍वरका छोरा येसु, तपाईँको मसित के सरोकार?* मलाई नसताउनुहोस्‌ भनेर म तपाईँलाई परमेश्‍वरको कसम खान लाउँछु।”+ ८  उहाँले “ए प्रेत, त्यस मानिसबाट निक्लेर आइज” भनिरहनुभएकोले ऊ यसरी चिच्याएको थियो।+ ९  अनि उहाँले उसलाई सोध्नुभयो: “तेरो नाम के हो?” उसले उहाँलाई जवाफ दियो: “मेरो नाम पल्टन हो किनभने हामी धेरै छौँ।” १०  अनि उसले आफूलाई त्यस इलाकाबाट बाहिर नपठाउन उहाँलाई बारम्बार बिन्ती गऱ्‍यो।+ ११  त्यतिखेर सुँगुरको+ एउटा ठूलो बथान त्यो पहाडमा चरिरहेको थियो।+ १२  त्यसैले ती प्रेतहरूले उहाँलाई यसो भन्दै बिन्ती गरे: “हामीलाई ती सुँगुरहरूकहाँ पठाउनुहोस्‌ र तिनीहरूभित्र पस्न दिनुहोस्‌।” १३  अनि उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। तब ती प्रेतहरू त्यस मानिसबाट बाहिर निस्केर सुँगुरहरूभित्र पसे अनि सुँगुरको बथान भीरतिर हुत्तिँदै समुद्रमा खस्यो। यसरी झन्डै २ हजारजति सुँगुर समुद्रमा खसेर डुबे। १४  तब गोठालाहरू भागे अनि सहर र गाउँमा गएर यसबारे सबैलाई सुनाए। अनि के भएको रहेछ भनी हेर्न मानिसहरू त्यहाँ आए।+ १५  तिनीहरू येसुकहाँ आए अनि प्रेत बास गरेको त्यस मानिसलाई लुगा लगाएर बसेको र सद्दे भएको तिनीहरूले देखे। यो त्यही मानिस थियो, जसमा पल्टन बास गर्थ्यो। यो सब देखेर तिनीहरू डराए। १६  साथै प्रेतले सताएको त्यो मानिस कसरी सद्दे भयो अनि सुँगुरहरूलाई के भयो भनी प्रत्यक्षदर्शीहरूले तिनीहरूलाई बताइदिए। १७  त्यसैले तिनीहरूले येसुलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गर्न थाले।+ १८  उहाँ डुङ्‌गा चढ्‌दै गर्नुहुँदा पहिला प्रेत बास गरेको त्यस मानिसले आफू पनि सँगै जान पाऊँ भनी उहाँलाई बिन्ती गऱ्‍यो।+ १९  तर उहाँले उसलाई सँगै आउन दिनुभएन बरु यसो भन्‍नुभयो: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवा* परमेश्‍वरले तिम्रो लागि गर्नुभएका सबै कुरा अनि तिमीमाथि देखाउनुभएको कृपाबारे तिनीहरूलाई बताइदेऊ।” २०  अनि ऊ गयो र येसुले उसको लागि गर्नुभएका सबै कुरा डेकापोलिसमा* बताउन थाल्यो अनि सबै मानिस आश्‍चर्यचकित भए। २१  येसु डुङ्‌गा चढेर फेरि पारिपट्टि जानुभयो। त्यहाँ एउटा ठूलो जमात भेला भयो र उहाँ समुद्रको किनारामै हुनुहुन्थ्यो।+ २२  त्यहाँ याइरस नाम गरेका सभाघरको पदाधिकारी आए र उहाँलाई देख्नेबित्तिकै तिनी उहाँको पाउ परे।+ २३  तिनले यसो भन्दै उहाँलाई धेरै पटक बिन्ती गरे: “मेरी सानी छोरी साह्रै बिरामी छे।* बिन्ती छ, तपाईँ आउनुहोस्‌ अनि ऊमाथि आफ्नो हात राख्नुहोस्‌+ र ऊ निको होस्‌ र बाँचोस्‌।” २४  तिनको कुरा सुनेर उहाँ तिनीसित जानुभयो। अनि एउटा ठूलो जमात पनि ठेलमठेल गर्दै उहाँको पछि लाग्यो। २५  रगत बग्ने बेथाले सताएको १२ वर्ष भइसकेको एउटी स्त्री+ पनि त्यही भीडमा थिई।+ २६  उसले थुप्रै वैद्यबाट* उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई। अनि आफ्नो सारा सम्पत्ति खर्च गर्दा पनि उसको अवस्था सुध्रिनुको सट्टा झनै नाजुक हुँदै गइरहेको थियो। २७  जब उसले येसुको विषयमा सुनी, तब भीडमा उहाँको पछिल्तिर गएर उहाँको लुगा छोई।+ २८  किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”+ २९  अनि उसको रगत बग्न बन्द भइहाल्यो र आफू त्यस पीडादायी रोगबाट मुक्‍त भएको उसले महसुस गरी। ३०  उत्तिखेरै येसुले पनि आफूभित्रबाट शक्‍ति निस्केर बाहिर गएको+ चाल पाउनुभयो र भीडतिर फनक्क फर्केर सोध्नुभयो: “मेरो लुगा कसले छोयो?”+ ३१  तर चेलाहरूले उहाँलाई भने: “यत्रो भीडले तपाईँलाई ठेलिरहेको देख्नुभएकै छ तैपनि तपाईँ ‘मलाई कसले छोयो’ भनी सोध्नुहुन्छ?” ३२  उहाँ भने आफूलाई छुने को हो भनेर खोजिरहनुभएको थियो। ३३  तब आफू निको भएको चाल पाएपछि त्यो स्त्री डरले थरथर काम्दै उहाँसामु आई र घुँडा टेकेर एक-एक गरी सबै सत्य कुरा बताई। ३४  उहाँले उसलाई भन्‍नुभयो: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ,+ तिमीलाई दुःख दिइरहेको यो रोग निको भयो।”+ ३५  उहाँ बोल्दै गर्नुहुँदा सभाघरको पदाधिकारीको घरबाट केही मानिस आए र तिनलाई भने: “तपाईँकी छोरी मरिसकी! अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?”+ ३६  तर तिनीहरू कुरा गर्दै गरेको सुनेर येसुले सभाघरको त्यस पदाधिकारीलाई भन्‍नुभयो: “चिन्ता नगर,* केवल विश्‍वास गर।”+ ३७  तब उहाँले पत्रुस, याकुब र तिनका भाइ युहन्‍नाबाहेक अरू कसैलाई आफूसित आउन दिनुभएन।+ ३८  अनि उहाँहरू सभाघरको पदाधिकारीको घरमा पुग्नुभयो। त्यहाँ पुग्दा उहाँले खैलाबैला मच्चिरहेको देख्नुभयो। मानिसहरू रुवाबासी र अलापविलाप गर्दै थिए।+ ३९  भित्र पसेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन खैलाबैला र रुवाबासी गरिरहेका छौ? सानी केटी मरेकी छैन तर निदाइरहेकी छे।”+ ४०  यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। तर तिनीहरू सबैलाई बाहिर पठाएपछि उहाँ त्यस केटीको बुबा-आमालाई अनि आफूसित आएकाहरूलाई लिएर भित्र त्यो केटी भएको ठाउँमा जानुभयो। ४१  अनि उहाँले त्यो सानी केटीको हात समातेर उसलाई यसो भन्‍नुभयो: “तालिता कूमी,” जसको अनुवाद गर्दा अर्थ यस्तो हुन्छ: “ए नानी, म तिमीलाई भन्छु, उठ!”+ ४२  तब त्यो केटी उत्तिखेरै जुरुक्क उठी र हिँडडुल गर्न थाली। (ऊ १२ वर्षकी थिई।) यो देखेर तिनीहरूको खुसीको सीमा रहेन। ४३  तर यसबारे कसैलाई थाह नदिनू भनी उहाँले तिनीहरूलाई पटक-पटक* आदेश दिनुभयो+ र त्यस केटीलाई केही खानेकुरा दिन भन्‍नुभयो।

फुटनोटहरू

वा “दुष्ट स्वर्गदूतको।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “दस वटा सहरको इलाकामा।”
वा “मर्नै लागेकी छे।”
वा “चिकित्सकबाट।”
वा “नडराऊ।”
वा “कडा।”