मर्कुसका अनुसार २:१-२८

  • येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१-१२)

  • येसु लेविलाई बोलाउनुहुन्छ (१३-१७)

  • उपवाससम्बन्धी प्रश्‍न (१८-२२)

  • येसु, ‘विश्रामदिनको प्रभु’ (२३-२८)

२  तर केही दिनपछि उहाँ फेरि कफर्नहुम पस्नुभयो र उहाँ घरमै हुनुहुन्छ भन्‍ने खबर फैलियो।+ २  अनि थुप्रै मानिस भेला भए, यहाँसम्म कि ढोकाभित्र छिर्न समेत नमिल्नेगरि मानिसहरूले घर खचाखच भरियो अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन सुनाउन थाल्नुभयो।+ ३  तब पक्षाघात भएको एक जना मानिसलाई चार जनाले बोकेर उहाँकहाँ ल्याए।+ ४  तर भीडले गर्दा तिनीहरूले उसलाई येसुको नजिक पुऱ्‍याउन सकेनन्‌। त्यसैले उहाँ बसिरहनुभएको ठाउँमाथिको छाना उघारेर तिनीहरूले पक्षाघात भएको त्यस मानिसलाई खाटसहितै त्यहाँबाट तल ओराले। ५  तिनीहरूको विश्‍वास देखेर येसुले+ पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “बाबु, तिम्रो पाप क्षमा भयो।”+ ६  त्यहाँ बसिरहेका केही शास्त्रीहरू मनमनै यस्तो तर्क गर्दै थिए:+ ७  “यस मानिसले किन यसरी कुरा गर्दै छ? यसले त परमेश्‍वरको निन्दा गर्दै छ। परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?”+ ८  तर तिनीहरू मनमनै त्यसरी तर्क गर्दै छन्‌ भनेर येसुले तुरुन्तै चाल पाउनुभयो। त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो तर्क गर्दै छौ?+ ९  पक्षाघात भएको मानिसलाई के भन्‍न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्‍न कि ‘उठ अनि तिम्रो खाट बोकेर जाऊ’ भन्‍न? १०  तैपनि मानिसको छोरासित+ पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . . ”+ उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: ११  “म तिमीलाई भन्छु, उठ, तिम्रो खाट बोक अनि घर जाऊ।” १२  तब ऊ उठ्‌यो अनि तुरुन्तै आफ्नो खाट बोक्यो र सबैले देख्ने गरी त्यहाँबाट हिँडेर बाहिर निस्क्यो। यो देखेर तिनीहरू सबै चकित भए र परमेश्‍वरको महिमा गर्दै भन्‍न थाले: “यस्तो त हामीले कहिल्यै देखेका थिएनौँ।”+ १३  उहाँ फेरि समुद्रको छेउमा जानुभयो अनि भीडका भीड मानिसहरू उहाँकहाँ ओइरिन थाले र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। १४  अनि हिँड्‌दै गर्दा उहाँले अल्फयसका छोरा लेविलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+ १५  केही समयपछिको कुरा हो, उहाँ तिनको घरमा खान बसिरहनुभएको थियो र कर उठाउने थुप्रै मानिस अनि थुप्रै पापी पनि त्यहाँ येसु र उहाँका चेलाहरूसित खान बसिरहेका थिए। तिनीहरू धेरै थिए र तिनीहरूमध्ये धेरै जना उहाँको चेला बनेका थिए।+ १६  उहाँले पापीहरूसित अनि कर उठाउने मानिसहरूसित खाइरहनुभएको देखेर केही शास्त्रीहरू, जो फरिसी* थिए, तिनीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “के उहाँ कर उठाउने र पापी मानिसहरूसित बसेर खानुहुन्छ?” १७  यो सुनेर येसुले तिनीहरूलाई भन्‍नुभयो: “बलियाहरूलाई वैद्य* चाहिँदैन तर बिरामीहरूलाई चाहिन्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”+ १८  युहन्‍नाका चेलाहरू अनि फरिसीहरू उपवास बस्ने गर्थे। त्यसैले तिनीहरूले उहाँकहाँ आएर सोधे: “युहन्‍नाका चेलाहरू अनि फरिसीहरूका चेलाहरू उपवास बस्ने गर्छन्‌ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?”+ १९  येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा+ आफूसँग होउन्जेल तिनका साथीहरू उपवास बस्नुपर्ने कुनै कारण छ र? जबसम्म दुलहा तिनीहरूसँगै हुन्छन्‌, तबसम्म तिनीहरू उपवास बस्दैनन्‌। २०  तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ अनि त्यसबेला तिनीहरू उपवास बस्नेछन्‌। २१  कसैले पनि पुरानो लुगा फाट्‌दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन किनकि त्यसो गऱ्‍यो भने नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+ २२  त्यसैगरि कसैले पनि नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैन किनकि त्यसो गऱ्‍यो भने दाखमद्यले गर्दा मशक च्यातिन्छ अनि मशक र दाखमद्य दुवै खेर जान्छ। नयाँ दाखमद्य नयाँ मशकमै राखिन्छ।” २३  एकचोटिको कुरा हो, उहाँ विश्रामदिनमा* गहुँ खेत हुँदै गइरहनुभएको बेला उहाँका चेलाहरू गहुँका बालाहरू टिप्दै हिँड्‌न थाले।+ २४  यो देखेर फरिसीहरूले उहाँलाई यसो भने: “यहाँ हेर्नुहोस्‌, तिनीहरू किन विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्‌घन गर्दै छन्‌?” २५  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा अनि खानेकुरा केही नहुँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ २६  के तिमीहरूले मुख्य पुजारी अबियातारको+ विवरण पढेका छैनौ कि कसरी दाउद परमेश्‍वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि परमेश्‍वरलाई चढाइएका रोटीहरू* खाए+ अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?” २७  उहाँले तिनीहरूलाई अझै यसो भन्‍नुभयो: “परमेश्‍वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्‍नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८  त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “चिकित्सक।”
अङ्‌गुरबाट बनेको रक्सी।
जनावरको छालाबाट बनेको थैलो।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
वा “भेटीका रोटीहरू।” शब्दावली “भेटीको रोटी” हेर्नुहोस्‌।