प्रेषितहरूका कार्य २६:१-३२

  • अग्रिपासामु पावलको प्रतिवाद (१-११)

  • आफू कसरी ख्रिष्टियन बनेँ भनी पावल बताउँछन्‌ (१२-२३)

  • फेस्तस र अग्रिपाको प्रतिक्रिया (२४-३२)

२६  तब अग्रिपाले+ पावललाई भने: “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” त्यसपछि आफ्नो हात पसारेर पावलले यसरी आफ्नो प्रतिवाद गर्न थाले: २  “हे राजा अग्रिपा, यहुदीहरूले ममाथि लगाएका सबै आरोपको विषयमा+ आज हजुरसमक्ष आफ्नो प्रतिवाद प्रस्तुत गर्न पाएकोमा म खुसी छु ३  किनभने हजुरसित यहुदीहरूका सबै रीतिथितिका साथै विवादहरूको राम्रो ज्ञान छ। त्यसैले मेरो कुरा धैर्य गरी सुनिदिनुहुन म हजुरलाई बिन्ती गर्छु। ४  “युवावस्थादेखि मैले आफ्नो जातिबीच अनि यरुसलेममा जुन किसिमको जीवन बिताएँ, त्यसबारे ती सबै यहुदीलाई राम्ररी थाह छ,+ ५  जसले मलाई पहिल्यैदेखि चिन्थे। यदि तिनीहरू चाहन्छन्‌ भने हाम्रो धर्मको सबैभन्दा कट्टर गुटमा लागेर+ मैले कसरी फरिसीको जीवन बिताएको थिएँ + भनेर मेरो पक्षमा साक्षी दिन सक्छन्‌। ६  तर परमेश्‍वरले हाम्रा पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञामाथि आशा राखेकै कारण+ अहिले मेरो पुर्पक्ष हुँदै छ। ७  यही प्रतिज्ञा पूरा भएको हेर्ने आशा गर्दै हाम्रा १२ कुल तल्लीन भएर दिनरात उहाँलाई पवित्र सेवा चढाउँदै छन्‌। हे राजा, यही आशा राखेको हुनाले यहुदीहरूले मलाई दोष लगाएका हुन्‌।+ ८  “मरिसकेको मानिसलाई परमेश्‍वरले ब्युँताउनुहुन्छ भनेर तपाईँहरू किन पत्याउनुहुन्‍न? ९  मेरो आफ्नै विषयमा भन्‍नुपर्दा मलाई हर हालतमा नासरी येसुको घोर विरोध गर्नुपर्छ भन्‍ने लागेको थियो। १०  हुन पनि मैले यरुसलेममा त्यसै गरेँ। मैले थुप्रै पवित्र जनलाई झ्यालखानामा थुनेँ+ किनकि मैले मुख्य पुजारीहरूबाट त्यसो गर्ने अख्तियार पाएको थिएँ।+ अनि ती पवित्र जनहरूलाई मृत्युदण्ड दिने कुरा उठ्‌दा मैले त्यसको पक्षमा मत खसालेँ। ११  साथै सभाघरैपिच्छे तिनीहरूलाई धेरै पटक सजाय दिएर मैले तिनीहरूलाई आफ्नो धर्म त्याग्न जबरजस्ती गरेँ। तिनीहरूसित म यत्ति रिसाएको थिएँ कि अरू सहरमा समेत गएर मैले तिनीहरूको खेदो गरेँ। १२  “यही धुनमा म मुख्य पुजारीहरूबाट पाएको अख्तियार अनि आदेशसहित दमिसक जाँदै थिएँ। १३  तब हे राजा, मध्यान्हको बेला बाटोमा आकाशबाट घामको उज्यालोभन्दा पनि चहकिलो ज्योति चम्केको मैले देखेँ र त्यो म अनि मसित यात्रा गरिरहेका मानिसहरूको चारैतिर चम्कियो।+ १४  अनि हामी सबै जना भुईँमा पछारियौँ र हिब्रू भाषामा मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, हे सावल, तिमी किन मेरो खेदो गर्दै छौ? तिमी सुइरोमा* जति लात हिर्काउँछौ, त्यति नै तिमीलाई दुःख हुन्छ।’ १५  तर मैले सोधेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ प्रभुले भन्‍नुभयो: ‘म येसु हुँ, जसको तिमीले खेदो गरिरहेका छौ। १६  अब उठ किनकि तिमीलाई आफ्नो सेवक बनाउन र मेरो विषयमा तिमीले जे-जे देखेका छौ अनि जे-जे म तिमीलाई देखाउनेछु, ती कुराहरूको साक्षी बनाउन म तिमीसामु प्रकट भएको हुँ।+ १७  अनि म तिमीलाई यो जाति अनि अन्यजातिका मानिसहरूको हातबाट जोगाउनेछु, जसकहाँ म तिमीलाई पठाउँदै छु।+ १८  तिनीहरूले ममाथि राखेको विश्‍वासको आधारमा आफ्ना पापहरूको क्षमा पाऊन्‌+ अनि मैले पवित्र ठहराएकाहरूले पाउने उत्तराधिकार पनि पाऊन्‌ भनेर तिनीहरूको आँखा खोल्न,+ तिनीहरूलाई अन्धकारबाट+ ज्योतितिर+ फर्काउन र सैतानको अख्तियारबाट+ मुक्‍त गरेर परमेश्‍वरको अख्तियारमुनि ल्याउन म तिमीलाई तिनीहरूकहाँ पठाउँदै छु।’ १९  “त्यसैले हे राजा अग्रिपा, त्यस स्वर्गीय दर्शनमा* मलाई दिइएको आदेश मैले पालन गरेँ। २०  म सबैभन्दा पहिला दमिसक,+ त्यसपछि यरुसलेम+ अनि यहुदियाका सारा इलाका र अन्यजातिका मानिसहरूलाई तिनीहरूले पश्‍चात्ताप गर्नुपर्छ र पश्‍चात्ताप गरेको देखिने कामहरू गरेर परमेश्‍वरतर्फ फर्कनुपर्छ+ भन्‍ने सन्देश सुनाउँदै हिँडेँ। २१  त्यसैले यहुदीहरूले मलाई मन्दिरमा पक्रे अनि मार्न खोजे।+ २२  तथापि परमेश्‍वरको मदत पाएकोले आजको दिनसम्मै साना र ठूला सबैलाई म साक्षी दिँदै छु। हुन आउने कुराहरूको विषयमा भविष्यवक्‍ताहरूले अनि मोसाले जे भने, त्योबाहेक अरू कुनै कुरा म तिनीहरूलाई बताउँदिनँ।+ २३  यही कि ख्रिष्टले दुःख भोग्नु आवश्‍यक थियो+ र मरेका मानिसहरूमध्येबाट फेरि जीवित हुने+ पहिलो व्यक्‍तिको रूपमा उहाँले यस जाति अनि अन्यजातिका मानिसहरूलाई+ ज्योति प्रकट गर्नुहुने थियो।” २४  आफ्नो प्रतिवाद गर्दै पावलले यी कुराहरू भनिरहेका बेला फेस्तसले ठूलो स्वरमा यसो भने: “तिम्रो दिमाग खुस्केछ पावल! धेरै ज्ञानले तिम्रो दिमाग खुस्काएछ!” २५  तर पावलले जवाफ दिए: “हे महामहिम फेस्तस, मेरो दिमाग खुस्केको छैन तर म सत्य अनि सद्दे कुरा बोल्दै छु। २६  भनौँ भने जुन राजासामु म यी कुराहरू निर्धक्क भई बोल्दै छु, उहाँलाई यी कुराहरू राम्ररी थाह छ। यीमध्ये एउटा कुरा पनि उहाँको नजरबाट लुकेको छैन भनेर म विश्‍वस्त छु किनकि कुनै कुरा गुप्तमा गरिएको छैन।+ २७  हे राजा अग्रिपा, के हजुर भविष्यवक्‍ताहरूमाथि विश्‍वास गर्नुहुन्छ? मलाई थाह छ, हजुर विश्‍वास गर्नुहुन्छ।” २८  तब अग्रिपाले पावललाई भने: “तिमीले त थोरै समयमै मलाई ख्रिष्टियन बनाउला जस्तो छ।” २९  उनको कुरा सुनेर पावलले भने: “चाहे थोरै समय लागोस्‌ वा धेरै, हजुर मात्र होइन, आज मेरो कुरा सुन्‍नेजति सबै जना मजस्तै होऊन्‌ भनी म परमेश्‍वरसित कामना गर्छु। बस्‌, तिनीहरू मजस्तै साङ्‌लाले बाँधिनचाहिँ नपरोस्‌।” ३०  तब राजा खडा भए अनि राज्यपाल, बर्णिस र उनीहरूसँगै बसेका मानिसहरू पनि खडा भए। ३१  अनि बाहिर निस्कँदै गर्दा उनीहरूले आपसमा यसो भन्‍न थाले: “यस मानिसले मृत्युदण्ड वा कैदको सजाय पाउन लायकको कुनै काम गरेको रहेनछ।”+ ३२  अनि अग्रिपाले फेस्तसलाई भने: “सिजरलाई अपिल नगरेको भए यस मानिसलाई मुक्‍त गर्न पनि सकिन्थ्यो।”+

फुटनोटहरू

जनावरलाई धपाउन प्रयोग गरिने तीखो लौरो।
शब्दावली हेर्नुहोस्‌।