प्रेषितहरूका कार्य २१:१-४०

  • यरुसलेमसम्मको यात्रा (१-१४)

  • यरुसलेम आइपुग्छन्‌ (१५-१९)

  • पावल एल्डरहरूको सल्लाह पालन गर्छन्‌ (२०-२६)

  • मन्दिरमा हूलदङ्‌गा; पावल पक्राउ पर्छन्‌ (२७-३६)

  • पावललाई भीडसामु बोल्ने अनुमति दिइन्छ (३७-४०)

२१  अब भारी मन लिएर तिनीहरूसित बिदा भएपछि हामी जहाज चढेर सीधै कोस पुग्यौँ अनि त्यसको भोलिपल्ट रोडस अनि त्यसपछि पटारा पुग्यौँ। २  त्यहाँ समुद्रपारि फोनिसिया जाने जहाज भेटेपछि त्यसमा चढेर गयौँ। ३  यात्राको दौडान हामीले साइप्रस टापु देख्यौँ र त्यसलाई देब्रेतिर* पार्दै हामी सिरियातर्फ लाग्यौँ अनि टायरमा जहाजबाट मालसामान झार्नुपर्ने भएकोले हामी त्यहीँ उत्रियौँ। ४  त्यहाँ हामीले चेलाहरूलाई खोज्यौँ अनि तिनीहरूलाई भेट्टाएपछि सात दिन त्यहीँ बस्यौँ। तर पवित्र शक्‍तिको मदत पाएर ती चेलाहरूले पावललाई यरुसलेममा पाइला नटेक्नू भनी बारम्बार भने।+ ५  त्यहाँबाट हिँड्‌ने बेला भएपछि हामी निस्केर आफ्नो बाटो लाग्यौँ; तर स्त्री, केटाकेटीलगायत सबै चेला हामीलाई पुऱ्‍याउन सहरबाहिरसम्मै आए। अनि समुद्री किनारामा घुँडा टेकेर हामीले प्रार्थना गऱ्‍यौँ ६  र एकअर्कालाई बिदाइ गरेपछि हामी जहाज चढ्‌यौँ अनि तिनीहरूचाहिँ आफ्नो घर फर्के। ७  त्यसपछि टायरबाट समुद्री यात्रा गरेर हामी टोलेमाइस पुग्यौँ र त्यहाँ भाइहरूलाई अभिवादन गरेपछि एक दिन तिनीहरूसितै बस्यौँ। ८  भोलिपल्ट आफ्नो यात्रा जारी राख्दै हामी सिजरिया पुग्यौँ र त्यहाँ फिलिप नाम गरेका प्रचारकको घरमा गयौँ र त्यहीँ बस्यौँ। यरुसलेममा प्रेषितहरूले चुनेका सात जना पुरुषमध्ये+ फिलिप पनि थिए। ९  तिनको चार जना अविवाहित* छोरी थिए अनि तिनीहरूले भविष्यवाणी गर्थे।+ १०  हामीले त्यहाँ निकै दिन बिताएपछि अगाबस+ नाम गरेका एक जना भविष्यवक्‍ता यहुदियाबाट त्यहाँ आए। ११  अनि हामीकहाँ आएर उनले पावलको पटुका लिए। त्यसपछि आफ्नो हातखुट्टा त्यसले बाँधेर यसो भने: “पवित्र शक्‍ति यसो भन्छ, ‘यो पटुका जसको हो, उसलाई यरुसलेममा यहुदीहरूले यसरी नै बाँध्नेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिदिनेछन्‌।’”+ १२  यो सुनेर हामीले र त्यहाँ भएकाहरूले पावललाई यरुसलेम नजान बिन्ती गर्न थाल्यौँ। १३  तर पावलले यस्तो जवाफ दिए: “यसरी रुवाबासी गरेर तपाईँहरू किन मेरो अठोटलाई कमजोर बनाउन खोज्नुहुन्छ? यो कुरा थाह पाउनुहोस्‌, प्रभु येसुको नामको खातिर म यरुसलेममा कैदी हुन मात्र होइन तर मर्न समेत तयार छु।”+ १४  पावललाई मनाउन नसकेपछि “यहोवा* परमेश्‍वरको इच्छाअनुसारै होस्‌” भन्दै हामी चुप लाग्यौँ। १५  ती दिनपछि हामीले यात्राको लागि तयारी गऱ्‍यौँ अनि यरुसलेमतर्फ लाग्यौँ। १६  हामीलाई साइप्रसका मनासोनको घरसम्म पुऱ्‍याउन सिजरियाबाट केही चेला हामीसितै आए किनकि हामी तिनकै घरमा बस्नेवाला थियौँ। सुरु-सुरुमा चेला बनेकाहरूमध्ये मनासोन एक थिए। १७  हामी यरुसलेम पुग्दा भाइहरूले खुसीसाथ हामीलाई स्वागत गरे। १८  भोलिपल्ट हामीलाई लिएर पावल याकुबकहाँ+ गए; त्यहाँ अरू सबै एल्डर पनि भेला भएका थिए। १९  पावलले तिनीहरूलाई अभिवादन गरे अनि आफूले गरेको सेवाद्वारा परमेश्‍वरले अन्यजातिका मानिसहरूबीच के-कस्ता कामहरू गर्नुभयो भनी सविस्तार सुनाउन थाले। २०  यो सुनेर तिनीहरूले परमेश्‍वरको महिमा गर्न थाले अनि पावललाई भने: “हे भाइ, हजारौँको सङ्‌ख्यामा यहुदीहरू येसुका अनुयायी बनेका त तपाईँले देख्नुभएकै छ। अनि तिनीहरू सबै जोसिलो भएर मोसाको व्यवस्था पालन गर्छन्‌।+ २१  तिनीहरूले के हल्ला सुनेका छन्‌ भने आफ्नो सन्तानको खतना गर्नुपर्दैन अनि पहिलेदेखि चलिआएको रीतिरिवाज मान्‍नुपर्दैन+ भनेर तपाईँ भन्‍नुहुन्छ अरे अनि यस्तो कुरा गरेर तपाईँले अन्यजातिमाझ छरिएर बसेका यहुदीहरूलाई मोसाको व्यवस्थाविपरीत कुराहरू सिकाएर धर्मत्याग फैलाउँदै हुनुहुन्छ अरे। २२  अब कसरी कुरा मिलाउने? किनकि तपाईँ यरुसलेम आउनुभएको छ भनेर तिनीहरूले जसरी भए पनि सुन्‍नेछन्‌। २३  अब हामीले भनेजस्तै गर्नुहोस्‌: भाकल गरेर बसेका चार जना पुरुष हामीसित छन्‌। २४  तिनीहरूलाई आफूसित लैजानुहोस्‌ र मोसाको व्यवस्थाअनुसार तिनीहरूसँगसँगै आफूलाई शुद्ध पार्नुहोस्‌ अनि तिनीहरूको खर्च बेहोरिदिनुहोस्‌ ताकि तिनीहरूले आफ्नो कपाल खौरून्‌। तपाईँले यसो गर्नुभयो भने तपाईँको विषयमा जे-जस्तो सुनियो, त्यो फोस्रो हल्ला मात्र रहेछ भनेर सबैले थाह पाउनेछन्‌ र तपाईँ पनि मोसाको व्यवस्था पालन गर्दै ठीक बाटोमा हिँडिरहनुभएको छ भनेर तिनीहरूले देख्नेछन्‌।+ २५  जहाँसम्म येसुको अनुयायी बनिसकेका अन्यजातिहरूको कुरा छ, मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ अलग बस्नू भनेर हामीले आफ्नो निर्णय लेखेर तिनीहरूलाई पठाइसकेका छौँ।” २६  तब भोलिपल्ट पावलले ती मानिसहरूलाई आफूसित लगे र मोसाको व्यवस्थाबमोजिम तिनीहरूसँगसँगै आफूलाई शुद्ध पारे।+ त्यसपछि शुद्धीकरणको विधि कहिले सिद्धिन्छ अनि कुन दिन पुजारीले तिनीहरू हरेकको निम्ति बलिदान चढाउनुपर्ने हो, त्यो खबर गर्न तिनी मन्दिरमा गए। २७  अब सात दिन पूरा हुनै लाग्दा पावललाई मन्दिर परिसरमा देखेर एसियाका यहुदीहरूले भीडलाई उचाले अनि तिनलाई पक्रे। २८  अनि यसो भन्दै कराए: “हे इस्राएलका मानिस हो, हामीलाई मदत गर्नुहोस्‌! हाम्रो जाति, हाम्रो व्यवस्था अनि यस ठाउँको विरुद्धमा जताततै सबैलाई सिकाएर हिँड्‌ने मानिस यही हो। यहाँसम्म कि यसले ग्रीकहरूलाई मन्दिरभित्र हुलेर यस पवित्र ठाउँलाई समेत बिटुलो पारेको छ।”+ २९  तिनीहरूले एफिससका त्रोफिमसलाई+ तिनीसँगै बजारमा देखेको हुनाले पावलले उनलाई मन्दिरभित्र ल्याए होलान्‌ भन्ठानेका थिए। ३०  तब पूरै सहरभरि खैलाबैला मच्चियो र मानिसहरू भेला भएर मन्दिरतिर दौडे। त्यसपछि तिनीहरूले पावललाई पक्रेर घिसार्दै मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोका थुने। ३१  तिनीहरूले पावललाई मार्न खोजिरहेका थिए। तर त्यति नै बेला सारा यरुसलेमभरि गोलमाल मच्चिरहेको छ भन्‍ने खबर सेनापतिकहाँ पुग्यो। ३२  अनि तुरुन्तै सैनिकहरू र सैनिक अफिसरहरू लिएर उनी त्यतातिर दौडे। सेनापति र सैनिकहरूलाई देखेर भीडले पावललाई कुट्‌न छोड्‌यो। ३३  तब सेनापति नजिक गए र पावललाई हिरासतमा लिए अनि तिनलाई दुई वटा साङ्‌लाले बाँध्ने हुकुम दिए।+ त्यसपछि उनले तिनी को हुन्‌ अनि तिनले के गरे भनेर सोधपुछ गरे। ३४  तर भीडमा हुनेहरूमध्ये कसैले एक थरी अनि अरूले अर्कै थरी जवाफ दिँदै कराउन थाले। भीडको होहल्लाले गर्दा उनले केही पनि बुझ्न सकेनन्‌; त्यसैले पावललाई सेनाको छाउनीमा लैजाने हुकुम गरे। ३५  तर पावल भऱ्‍याङमा पुगेपछि भीड यति हिंस्रक भयो कि सैनिकहरूले तिनलाई बोकेर लैजानुपऱ्‍यो। ३६  किनकि एक हुल मानिसहरू “त्यसलाई मार्‌!” भनेर चिच्याउँदै पछि लागिरहेका थिए। ३७  सैनिकहरूले पावललाई छाउनीभित्र छिराउनै लाग्दा तिनले सेनापतिलाई सोधे: “के म तपाईँलाई केही भन्‍न सक्छु?” उनले जवाफ दिए: “के तिमीलाई ग्रीक भाषा बोल्न आउँछ? ३८  के तिमी त्यही मिश्री होइनौ, जो केही समयअघि राजद्रोह गर्दै ४ हजार हतियारधारी लिएर निर्जनभूमितिर पसेका थियौ?” ३९  तब पावलले यस्तो जवाफ दिए: “वास्तवमा म यहुदी हुँ+ र सिलिसियाको टार्ससको नागरिक हुँ,+ जुन कुनै चानचुने सहर होइन। त्यसैले म बिन्ती गर्छु, मानिसहरूसामु मलाई बोल्न दिनुहोस्‌।” ४०  उनले अनुमति दिएपछि पावल भऱ्‍याङमा उभिए अनि हातले इसारा गर्दै मानिसहरूलाई शान्त हुन आग्रह गरे। सबै जना शान्त भएपछि तिनले हिब्रू भाषामा+ यसरी भाषण दिए:

फुटनोटहरू

वा “बन्दरगाहतिर।”
शा., “कुमारी।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “रगत ननिथारी मारिएको जनावरको मासु।”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।