न्यायकर्ता ४:१-२४

  • कनानी राजा याबिन इस्राएलीहरूलाई थिचोमिचो गर्छन्‌ (१-३)

  • भविष्यवक्‍ता दबोरा र न्यायकर्ता बाराक (४-१६)

  • याएल सेनापति सिसरालाई मार्छिन्‌ (१७-२४)

४  तर एहुदको मृत्युपछि इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ २  त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई हजोरमा शासन गर्ने कनानका राजा याबिनको हातमा सुम्पिदिनुभयो।*+ तिनका सेनापति सिसरा थिए, जो हारोसेथ-हाग्गोयिममा+ बस्थे। ३  याबिनसित ९०० वटा ठूलठूला युद्धका रथ थिए, जसका पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका थिए।*+ तिनले इस्राएलीहरूलाई २० वर्षसम्म अत्यन्तै थिचोमिचो गरे।+ त्यसैले इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई गुहारे।+ ४  त्यतिबेला लप्पिदोथकी पत्नी दबोराले इस्राएलमा न्यायकर्ताको काम गरिरहेकी थिइन्‌। तिनी भविष्यवक्‍ता+ थिइन्‌। ५  तिनी एप्रैमको पहाडी इलाकामा रामा+ र बेथेलको+ बीचमा खजुरको बोटमुनि बस्ने गर्थिन्‌, जसलाई मानिसहरू दबोराको बोट भन्‍ने गर्थे र इस्राएलीहरू परमेश्‍वरको फैसला सुन्‍न तिनीकहाँ आउने गर्थे। ६  तिनले केदेस-नप्तालिका+ अबिनोमका छोरा बाराकलाई+ बोलाउन लगाइन्‌ र तिनलाई यसो भनिन्‌: “इस्राएलका परमेश्‍वर यहोवाले यस्तो आज्ञा दिनुभएको छ: ‘नप्तालि र जबुलुनको कुलबाट १० हजार पुरुष लिएर लडाइँ गर्न तबोर डाँडामा जाऊ। ७  याबिनका सेनापति सिसरा, तिनका रथहरू र तिनको पूरै सेनालाई म किसोन खोल्सामा*+ ल्याउनेछु र त्यहाँ तिनलाई तिम्रो हातमा सुम्पिदिनेछु।’”+ ८  यो सुनेपछि बाराकले यसो भने: “तपाईँ मसँगै आउनुभयो भने म जान्छु तर तपाईँ आउनुभएन भने म पनि जाँदिनँ।” ९  तब दबोराले भनिन्‌: “म तिमीसँग अवश्‍य जानेछु। तर जितको श्रेय तिमीले पाउनेछैनौ किनभने यहोवा परमेश्‍वरले सिसरालाई+ एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” त्यसपछि दबोरा उठिन्‌ र बाराकसँगै केदेसतिर+ लागिन्‌। १०  बाराकले जबुलुन र नप्तालिको+ कुलका पुरुषहरूलाई केदेसमा बोलाए र १० हजार पुरुष तिनको पछि लागे। दबोरा पनि तिनीसँगै गइन्‌। ११  हेबेर नाम गरेका एक केनी पुरुष अरू केनीहरूबाट+ छुट्टिएर बसेका थिए र तिनले केदेसको जानानिमको ठूलो रूखनजिकै आफ्नो पाल टाँगेका थिए। केनीहरू मोसाका ससुरा होबाबका+ सन्तान थिए। १२  अबिनोमका छोरा बाराक तबोर डाँडामा+ गएका छन्‌ भन्‍ने खबर सिसराकहाँ पुऱ्‍याइयो। १३  यो खबर सुन्‍नेबित्तिकै सिसराले पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका ९०० वटा रथ र हारोसेथ-हाग्गोयिममा आफूसँग भएका सबै सेना जम्मा गरे र किसोन खोल्सामा+ गए। १४  तब दबोराले बाराकलाई भनिन्‌: “उठ, यहोवा परमेश्‍वरले सिसरालाई आज तिम्रो हातमा सुम्पिदिनुहुनेछ। के यहोवा परमेश्‍वर तिम्रो अघिअघि जानुभएको छैन र?” अनि बाराक तबोर डाँडाबाट तल झरे र ती १० हजार पुरुष पनि तिनको पछि लागे। १५  यहोवा परमेश्‍वरले सिसरा, तिनको रथ र सबै सेनामाझ गोलमाल मच्चाइदिनुभयो;+ बाराकसामु तिनीहरूको केही सीप लागेन। त्यसैले सिसरा रथबाट ओर्लेर आफ्नो ज्यान जोगाउन भागे। १६  बाराकले रथहरू र सेनालाई हारोसेथ-हाग्गोयिमसम्मै खेदे। यसरी सिसराको पूरै सेना तरबारले नाश भयो, एक जना पनि बचेन।+ १७  तर सिसराचाहिँ भाग्दै-भाग्दै केनी हेबेरकी+ पत्नी याएलको+ पालमा पुगे किनभने हजोरको राजा याबिन+ र केनी हेबेरको घरानाबीच मित्रता थियो। १८  अनि याएल सिसरालाई भेट्‌न बाहिर निस्किन्‌ र तिनलाई यसो भनिन्‌: “आउनुहोस्‌ हजुर, भित्रै आउनुहोस्‌। नडराउनुहोस्‌।” तब सिसरा याएलको पालभित्र गए र याएलले तिनलाई कम्बल ओढाइदिइन्‌। १९  तब तिनले याएललाई भने: “कृपया मलाई पानी देऊ, मलाई तिर्खा लागेको छ।” याएलले दूध राखेको मशक* खोलिन्‌ र तिनलाई पिउन दिइन्‌।+ अनि तिनलाई फेरि कम्बल ओढाइदिइन्‌। २०  तिनले याएललाई भने: “तिमी पालको ढोकामा उभिरह र कसैले ‘यहाँ कोही आएको छ’ भनेर सोध्यो भने ‘छैन’ भनिदेऊ।” २१  तर हेबेरकी पत्नी याएलले पाल टाँग्ने किला र मुङ्‌ग्रो लिइन्‌ अनि एकदमै थाकेर मस्त निदाइरहेको सिसराको छेउमा बिस्तारै गइन्‌। अनि याएलले सिसराको कन्चटमा किला ठोकिदिइन्‌ र त्यो किला वारपार भएर भुईँमै गाडियो र तिनी त्यहीँ मरे।+ २२  बाराक सिसरालाई खोज्दै त्यहाँ आइपुगे अनि याएल बाराकलाई भेट्‌न बाहिर निस्किन्‌ र यसो भनिन्‌: “आउनुहोस्‌, तपाईँले खोजिरहनुभएको मानिस म देखाइदिन्छु।” बाराक याएलसँगै भित्र गए र सिसराको लास देखे। तिनको कन्चटमा किला वारपार हुनेगरि गाडिएको थियो। २३  यसरी परमेश्‍वरले त्यो दिन कनानका राजा याबिनमाथि इस्राएलीहरूलाई विजयी तुल्याइदिनुभयो।+ २४  इस्राएलीहरू कनानका राजा याबिनमाथि झन्‌झनै हाबी हुँदै गए+ र आखिरमा तिनीहरूले याबिनलाई मारे।+

फुटनोटहरू

^ शा., “बेचिदिनुभयो।”
^ शा., “फलामका रथहरू थिए।”
^ वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
^ जनावरको छालाबाट बनेको थैलो।