न्यायकर्ता १६:१-३१

  • सिमसोन गाजामा (१-३)

  • सिमसोन र दलिला (४-२२)

  • सिमसोनको बदला र मृत्यु (२३-३१)

१६  एकचोटि सिमसोन गाजा गए र त्यहाँ तिनले एउटी वेश्‍यालाई देखे। अनि सिमसोन त्यस वेश्‍याकहाँ गए। २  सिमसोन आएका छन्‌ भनेर गाजाका मानिसहरूले खबर पाए। त्यसैले उनीहरूले त्यस ठाउँलाई चारैतिरबाट घेरा हाले अनि तिनलाई पक्रन सहरको मूलढोकामा रातभरि चुपचाप ढुकेर बसे। उनीहरूले आपसमा यसो भने: “बिहान उज्यालो हुनेबित्तिकै हामी सिमसोनलाई मारौँ।” ३  तर मध्यरात नहोउन्जेल सिमसोन ढल्केर बसिरहे। त्यसपछि तिनी जुरुक्क उठेर सहरको मूलढोकातिर गए अनि तिनले त्यस ढोकाका खापाहरू र त्यसका दुई वटा खम्बा च्याप्प समातेर गजबारैसमेत ती उखेले। अनि ती आफ्नो काँधमा बोकेर तिनी हेब्रोनतिर फर्केको पहाडको टुप्पासम्म गए। ४  केही समयपछिको कुरा हो, सोरेक बेँसीमा* बस्ने दलिला नाम गरेकी केटीसित सिमसोनको माया बस्यो।+ ५  त्यसैले पलिस्तियाली शासकहरूले दलिलाकहाँ आएर भने: “सिमसोनलाई फकाइफुस्ल्याइ गर+ अनि तिनी यत्तिको बलियो हुनुको कारण के हो र तिनलाई केले बाँधेर हाम्रो काबूमा राख्न सक्छौँ, पत्ता लगाऊ। यसो गऱ्‍यौ भने तिमीले हामी प्रत्येकको तर्फबाट ११-११ सय टुक्रा चाँदी पाउनेछ्यौ।” ६  पछि दलिलाले सिमसोनलाई भनिन्‌: “तपाईँसित यत्ति धेरै बल कहाँबाट आयो अनि तपाईँलाई केले बाँध्यो भने काबूमा राख्न सकिन्छ, मलाई भन्‍नुहोस्‌ न!” ७  सिमसोनले भने: “नसुकाइएको सात वटा नयाँ ताँदोले* मलाई बाँध्यो भने मेरो बल जानेछ अनि म साधारण मानिसजस्तै हुनेछु।” ८  त्यसपछि पलिस्तियाली शासकहरूले दलिलाकहाँ नसुकाइएको सात वटा नयाँ ताँदो ल्याइदिए अनि दलिलाले सिमसोनलाई बाँधिन्‌। ९  पलिस्तियालीहरू भने अर्को कोठामा ढुकेर बसिरहेका थिए। अनि दलिला यसो भन्दै कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुन्‍नेबित्तिकै सिमसोनले आफूलाई बाँधिराखेका ताँदो सजिलै चुँडाइदिए, जसरी आगोले छुनेबित्तिकै आलसको धागो* टुक्राटुक्रा हुन्छ।+ तिनको बलको कारण के हो भनेर पलिस्तियालीहरूले थाह पाउन सकेनन्‌। १०  तब दलिलाले सिमसोनलाई भनिन्‌: “हेर्नुहोस्‌! तपाईँले मसित झूट बोलेर मलाई झुक्क्याउनुभयो। अब बिन्ती छ, मलाई भन्‍नुहोस्‌, तपाईँलाई केले बाँध्नुपर्छ?” ११  अनि सिमसोनले दलिलालाई भने: “पहिला नचलाइएको नयाँ डोरीले मलाई बाँध्यो भने मेरो बल जानेछ अनि म साधारण मानिसजस्तै हुनेछु।” १२  त्यसपछि दलिलाले नयाँ डोरी ल्याइन्‌ र त्यसले सिमसोनलाई बाँधिन्‌। अनि दलिला यसरी कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” (यतिबेला पलिस्तियालीहरू अर्को कोठामा ढुकेर बसिरहेका थिए।) यो सुन्‍नेबित्तिकै सिमसोनले आफूलाई बाँधिराखेको डोरीलाई धागोजस्तै गरी चुँडाइदिए।+ १३  त्यसपछि दलिलाले सिमसोनलाई भनिन्‌: “तपाईँले फेरि पनि झूट बोलेर मलाई झुक्क्याउनुभयो!+ अब नढाँटी भन्‍नुहोस्‌, तपाईँलाई केले बाँध्नुपर्छ?” तब सिमसोनले दलिलालाई भने: “मेरो सात वटा चुल्ठोलाई तानको धागोमा बुन्‍नुपर्छ।” १४  अनि दलिलाले सिमसोनको कपाललाई तानको किलाले कसिदिइन्‌। त्यसपछि दलिला यसो भन्दै कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुनेर सिमसोन निद्राबाट ब्युँझिए अनि तानको किला र धागो निकालिदिए। १५  तब दलिलाले भनिन्‌: “तपाईँ मलाई आफ्नो मनको कुरै बताउनुहुन्‍न भने ‘तिमीलाई माया गर्छु’+ भनेर कसरी भन्‍न सक्नुहुन्छ? तपाईँले मलाई तीन-तीन चोटि झुक्क्याइसक्नुभयो; तपाईँसित यत्ति धेरै बल कहाँबाट आयो भनेर मलाई अझै बताउनुभएको छैन।”+ १६  दलिलाले दिनदिनै कचकच गरेर सिमसोनलाई वाक्कै पारिन्‌; यसकारण सिमसोन हैरान भए।+ १७  केही सीप नलागेपछि सिमसोनले दलिलालाई यसरी सबै कुरा बताइदिए: “मेरो कपाल अहिलेसम्म काटिएको छैन किनभने म जन्मैदेखि* परमेश्‍वरको निम्ति एक नाजिरी* हुँ।+ मेरो कपाल काट्‌यो भने मेरो बल जानेछ अनि म कमजोर भएर अरू मानिसजस्तै हुनेछु।” १८  सिमसोनले आफूलाई सबै कुरा बताएको पक्का भएपछि दलिलाले तुरुन्तै पलिस्तियाली शासकहरूकहाँ यस्तो खबर पठाइन्‌:+ “झट्टै आउनुहोस्‌! यसपालिचाहिँ सिमसोनले मलाई सबै कुरा बताएका छन्‌।” त्यसपछि पलिस्तियाली शासकहरू पैसा लिएर दलिलाकहाँ आए। १९  दलिलाले सिमसोनलाई आफ्नो काखमा सुताइन्‌; त्यसपछि उनले एक जना मानिस बोलाएर सिमसोनको सातै वटा चुल्ठो काटेर ठुट्टै पार्न लगाइन्‌। यसो गरेपछि दलिलाले सिमसोनलाई आफ्नो काबूमा राख्न सकिन्‌ किनभने तिनको बल गइसकेको थियो। २०  अनि दलिला यसो भन्दै कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” यो सुनेपछि सिमसोन निद्राबाट ब्युँझिए अनि भने: “म पहिलाजस्तै बाहिर निस्कन्छु र आफूलाई छुटाउँछु।”+ तर यहोवा परमेश्‍वरले तिनलाई छोडिसक्नुभएको छ भनी तिनलाई थाह थिएन। २१  त्यसपछि पलिस्तियालीहरूले सिमसोनलाई पक्रेर तिनको आँखा निकालिदिए। उनीहरूले तिनलाई गाजामा ल्याए अनि तामाको दुई वटा साङ्‌लाले बाँधेर झ्यालखानामा हाले र गहुँ पिँध्ने काम गर्न लगाए। २२  तर पहिला ठुट्टै पारेर काटिएको तिनको कपाल फेरि बढ्‌न थाल्यो।+ २३  पछि पलिस्तियाली शासकहरू आफ्ना देवता दागोनलाई+ थुप्रै बलि चढाउन र खुसीयाली मनाउन भेला भए। अनि उनीहरूले यसो भने: “हाम्रा देवताले हाम्रो शत्रु सिमसोनलाई हाम्रो हातमा सुम्पिदिएका छन्‌!” २४  दागोनको मूर्ति देखेपछि मानिसहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हाम्रो देशलाई तहसनहस गर्ने+ र हाम्रा थुप्रै भाइबन्धुलाई मार्ने+ त्यस शत्रुलाई हाम्रो देवताले हाम्रो हातमा सुम्पिदिएका छन्‌।” २५  खुसीले रमाउँदै ती मानिसहरूले भने: “सिमसोनलाई झ्यालखानाबाट यहाँ ल्याओ, हामी त्यसको रमिता हेरौँ।” त्यसैले उनीहरूले सिमसोनलाई झ्यालखानाबाट ल्याउन लगाए र दुई वटा खम्बाको बीचमा उभ्याए। २६  सिमसोनले आफ्नो हात समातिरहेको ठिटोलाई भने: “यस मन्दिरलाई थामिरहेका खम्बाहरू मलाई छाम्न देऊ, म त्यसमा अडेस लगाउन चाहन्छु।” २७  (हुन पनि त्यतिबेला मन्दिरभरि पुरुषहरू र स्त्रीहरू खचाखच थिए। पलिस्तियाली शासकहरू सबै जना त्यहीँ थिए। मन्दिरको छतबाट पनि लगभग ३ हजार पुरुष र स्त्रीले सिमसोनको रमिता हेरिरहेका थिए।) २८  तब सिमसोनले+ यहोवा परमेश्‍वरलाई यसरी पुकारे: “हे ब्रह्‍माण्डका मालिक यहोवा! कृपया मलाई सम्झनुहोस्‌ र मलाई बल दिनुहोस्‌।+ हे परमेश्‍वर, बिन्ती छ, यही एक पटकको लागि बल दिनुहोस्‌ र यी पलिस्तियालीहरूसित मेरो एउटा आँखाको भए पनि बदला लिन सकूँ।”+ २९  त्यसपछि सिमसोनले मन्दिरलाई थामिराखेका बीचको दुई वटा खम्बामा आफ्नो हात राखे। तिनले आफ्नो दायाँ हात एउटा खम्बामा र बायाँ हात अर्को खम्बामा राखे। ३०  सिमसोन यसो भन्दै कराए: “आज मैले यी पलिस्तियालीहरूलाई आफूसँगै नाश गर्न सकूँ!” त्यसपछि तिनले आफ्नो भएभरको बल लगाएर ती खम्बाहरूलाई ठेले। तब मन्दिर गर्ल्यामगुर्लुम ढल्यो अनि त्यहाँ भएका पलिस्तियाली शासकहरू र सबै मानिस मरे।+ यसरी सिमसोनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरै त आफ्नो मृत्युको दिनमा मारे।+ ३१  पछि तिनका भाइहरू र तिनका बुबापट्टिका सबै जना तिनको लास लिन आए। उनीहरूले तिनको लास लगेर जोराह+ र एस्ताओलको बीचमा तिनको बुबा मानोहको+ चिहानसँगै गाडे। तिनी २० वर्षसम्म इस्राएलीहरूका न्यायकर्ता भएका थिए।+

फुटनोटहरू

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
वा “नसाले।”
वा “सलेदो।”
शब्दावली हेर्नुहोस्‌।
शा., “गर्भदेखि।”