न्यायकर्ता ११:१-४०

  • न्यायकर्ता यिप्तहलाई निकालिदिन्छन्‌, पछि अगुवा बनाउँछन्‌ (१-११)

  • यिप्तह अम्मोनीहरूसित तर्क गर्छन्‌ (१२-२८)

  • यिप्तहको भाकल र तिनकी छोरी (२९-४०)

    • छोरीको अविवाहित जीवन (३८-४०)

११  गिलादी यिप्तह+ शूरवीर योद्धा थिए; तिनी एउटी वेश्‍याको छोरा थिए र तिनको बुबाको नाम गिलाद थियो। २  गिलादकी पत्नीले पनि छोराहरू जन्माइन्‌। तिनका छोराहरू हुर्किएपछि तिनीहरूले यिप्तहलाई यसो भनेर घरबाट निकालिदिए: “तिमीले हाम्रो बुबाबाट केही पनि अंश पाउनेछैनौ किनभने तिमी अर्कै आइमाईको छोरा हौ।” ३  त्यसैले यिप्तह आफ्ना दाजुभाइहरूदेखि भागेर गए र तोबमा बसोबास गर्न थाले। त्यहाँका केही बेकम्मा मानिसहरूले तिनलाई साथ दिए र तिनको पछि लागे। ४  केही समयपछि अम्मोनीहरूले इस्राएलीहरूसित युद्ध गरे।+ ५  अम्मोनीहरू इस्राएलीहरूसित लड्‌न आउँदा गिलादका नाइकेहरू यिप्तहलाई फर्काउन तुरुन्तै तोब गए। ६  तिनीहरूले यिप्तहलाई भने: “आऊ! हाम्रो सेनापति बन अनि अम्मोनीहरूसित लड्‌न हामीलाई मदत गर।” ७  तर यिप्तहले गिलादका ती नाइकेहरूलाई भने: “मलाई असाध्यै घृणा गरेर मेरो बुबाको घरबाट निकाल्ने तपाईँहरू नै होइन र?+ अनि अहिले तपाईँहरूमाथि सङ्‌कट आइपर्दा मलाई किन बोलाउनुहुन्छ?” ८  यो सुनेपछि गिलादका नाइकेहरूले यिप्तहलाई भने: “हो, तर अब हामी तिमीकहाँ आएका छौँ। तिमी हामीसितै फर्क्यौ र अम्मोनीहरूविरुद्ध लडाइँ गऱ्‍यौ भने तिमी गिलादका सारा बासिन्दाको अगुवा हुनेछौ।”+ ९  त्यसैले यिप्तहले गिलादका नाइकेहरूलाई भने: “यदि तपाईँहरूले अम्मोनीहरूसित लड्‌न मलाई लैजानुभयो र तिनीहरूलाई हराउन यहोवा परमेश्‍वरले मलाई मदत गर्नुभयो भने म अवश्‍य तपाईँहरूको अगुवा बन्‍नेछु!” १०  तब गिलादका नाइकेहरूले यिप्तहलाई भने: “हामीबीच यहोवा परमेश्‍वर नै साक्षी* बनून्‌ अनि हामीले अहिले जे भन्यौँ, त्यसअनुसार गरेनौँ भने उहाँले नै हाम्रो न्याय गरून्‌।” ११  त्यसपछि यिप्तह गिलादका नाइकेहरूसित गए अनि मानिसहरूले तिनलाई आफ्नो अगुवा र सेनापति बनाए। अनि यिप्तहले आफू र ती नाइकेहरूबीच भएको सबै कुरा मिस्पामा+ यहोवा परमेश्‍वरसामु दोहोऱ्‍याए। १२  त्यसपछि यिप्तहले सन्देशवाहकहरूमार्फत अम्मोनीहरूका+ राजाकहाँ यो सन्देश पठाए: “मसित तपाईँको के दुस्मनी छ? अनि तपाईँ हाम्रो इलाकामा आक्रमण गर्न किन आउनुभयो?” १३  तब अम्मोनीहरूका राजाले यिप्तहका सन्देशवाहकहरूलाई यस्तो जवाफ दिए: “किनभने मिश्रबाट* निस्केपछि इस्राएलीहरूले हाम्रो इलाका लिए;+ तिनीहरूले अर्नोनदेखि+ याब्बोक र यर्दनसम्मको+ हाम्रो इलाका कब्जा गरे। त्यसैले खुरुक्क हामीलाई ती इलाकाहरू फर्काऊ।” १४  तर यिप्तहले सन्देशवाहकहरूलाई अम्मोनीहरूका राजाकहाँ फेरि पठाए १५  र यो खबर सुनाउन लगाए: “यिप्तह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरूले मोआबी+ र अम्मोनीहरूको+ इलाका लिएका होइनन्‌। १६  मिश्रबाट निस्केर आउँदा इस्राएलीहरू निर्जनभूमि हुँदै लाल समुद्रसम्म+ हिँडेर कादेसमा+ आइपुगेका थिए। १७  तब इस्राएलीहरूले सन्देशवाहकहरूमार्फत एदोमका+ राजालाई यस्तो सन्देश पठाएका थिए: “कृपया हामीलाई तपाईँको इलाका भएर जान दिनुहोस्‌!” तर एदोमका राजाले जान दिएनन्‌। अनि तिनीहरूले मोआबका+ राजालाई पनि त्यस्तै सन्देश पठाएका थिए तर तिनले पनि मानेनन्‌। त्यसैले इस्राएलीहरू कादेसमै+ बसोबास गरिरहे। १८  निर्जनभूमि हुँदै यात्रा गर्दा तिनीहरू एदोम+ र मोआबको इलाकाबाट हिँडेनन्‌। बरु मोआबको इलाकाको पूर्वतिरबाट गए+ अनि अर्नोनको इलाकाको छेउमा पाल टाँगे। तिनीहरू मोआबको इलाकाको छेउछाउसम्म पनि गएनन्‌+ किनभने अर्नोन मोआबको सिमाना थियो। १९  “‘त्यसपछि इस्राएलीहरूले हेस्बोनमा शासन गर्ने एमोरीहरूका राजा सिहोनकहाँ सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “बिन्ती छ, हामीलाई तपाईँको इलाका हुँदै हाम्रो गन्तव्यसम्म पुग्न दिनुहोस्‌।”+ २०  तर सिहोनले इस्राएलीहरूलाई विश्‍वास गरेनन्‌। त्यसैले सिहोनले आफ्ना सबै मानिस भेला गरे र याहजमा छाउनी हाले अनि इस्राएलीहरूसित लडे।+ २१  तब इस्राएलका परमेश्‍वर यहोवाले सिहोन र तिनका सारा मानिसलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले तिनीहरूलाई हराए अनि एमोरीहरूको पूरै इलाका आफ्नो कब्जामा लिए।+ २२  यसरी इस्राएलीहरूले अर्नोनदेखि याब्बोकसम्म अनि निर्जनभूमिदेखि यर्दनसम्म एमोरीहरूको पूरै इलाका आफ्नो कब्जामा लिए।+ २३  “‘इस्राएलका परमेश्‍वर यहोवाले नै आफ्ना जन इस्राएलीहरूको सामनेबाट एमोरीहरूलाई धपाउनुभएको थियो।+ अब के तपाईँ यी इस्राएलीहरूलाई यहाँबाट धपाउन खोज्दै हुनुहुन्छ? २४  के तपाईँ आफ्नो देवता केमोसले+ जे दिन्छ, त्यो लिनुहुन्‍न र? त्यसरी नै हाम्रा परमेश्‍वर यहोवाले ज-जसलाई हाम्रो सामनेबाट धपाउनुभएको छ, तिनीहरूलाई हामी पनि धपाउनेछौँ।+ २५  के तपाईँ जिप्पोरका छोरा, मोआबका राजा बालाकभन्दा+ ठूलो हुनुहुन्छ र? के बालाकले कहिल्यै इस्राएलीहरूसित झगडा गरेका थिए र? अनि के तिनले कहिल्यै इस्राएलीहरूसित लडाइँ गरे र? २६  इस्राएलीहरू हेस्बोन र त्यसवरपरका सहरहरू,+ अरोएर र त्यसवरपरका सहरहरू अनि अर्नोन नदीको किनारामा भएका सहरहरूमा ३०० वर्षसम्म बसुन्जेल तपाईँले किन ती इलाकाहरू फिर्ता लिन खोज्नुभएन?+ २७  मैले तपाईँविरुद्ध कुनै पाप गरेको छैनँ। त्यसैले मलाई आक्रमण गरेर तपाईँ गल्ती गर्दै हुनुहुन्छ। यहोवा परमेश्‍वर सबैभन्दा महान्‌ न्यायकर्ता+ हुनुहुन्छ; त्यसैले इस्राएलीहरू र अम्मोनीहरूबीच उहाँले नै न्याय गरून्‌।’” २८  तर यिप्तहले पठाएको सन्देशलाई अम्मोनीहरूका राजाले वास्तै गरेनन्‌। २९  तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति यिप्तहमाथि आयो।+ तिनी गिलाद र मनस्सेको इलाका हुँदै गिलादको मिस्पा गए+ अनि त्यहाँबाट अम्मोनीहरूसित युद्ध गर्न गए। ३०  अनि यिप्तहले यहोवा परमेश्‍वरसित यस्तो भाकल गरे:+ “यदि तपाईँले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने ३१  अम्मोनीहरूमाथि विजयी भई फर्कँदा मलाई भेट्‌न मेरो घरको ढोकाबाट जो सबैभन्दा पहिला निस्कन्छ, ऊ यहोवा परमेश्‍वरको हुनेछ+ अनि म उसलाई अग्निभेटीको रूपमा चढाउनेछु।”+ ३२  त्यसपछि यिप्तह अम्मोनीहरूसित युद्ध गर्न गए अनि यहोवा परमेश्‍वरले अम्मोनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो। ३३  तिनले अरोएरदेखि मिन्‍निथसम्म ठूलो मारकाट मच्चाए र त्यहाँका २० वटा सहरलाई कब्जा गरे। तिनी अम्मोनीहरूसित लड्‌दै हाबिल-केरामिमसम्मै पुगे। यसरी इस्राएलीहरूले अम्मोनीहरूलाई हराए। ३४  जब यिप्तह मिस्पामा+ आफ्नो घर फर्के, तब हेर! तिनकी छोरी खैँजडी बजाउँदै अनि नाच्दै तिनलाई भेट्‌न बाहिर निस्किन्‌। उनी यिप्तहकी एक्ली छोरी थिइन्‌; उनीबाहेक यिप्तहको अरू कुनै छोराछोरी थिएन। ३५  छोरीलाई देखेपछि यिप्तहले दुःखी हुँदै आफ्नो लुगा च्याते र यसो भने: “हाय! मेरी छोरी! तिमीले मेरो मनै भाँचिदियौ किनभने मैले पठाउनुपर्ने व्यक्‍ति तिमी नै पऱ्‍यौ। मैले यहोवा परमेश्‍वरलाई भाकल गरिसकेँ* अनि म आफ्नो भाकल तोड्‌न सक्दिनँ।”+ ३६  तर यिप्तहकी छोरीले तिनलाई भनिन्‌: “बुबा, तपाईँले यहोवा परमेश्‍वरलाई भाकल गरिसक्नुभएको छ भने त्यो पूरा गर्नुहोस्‌+ किनभने यहोवा परमेश्‍वरले तपाईँको निम्ति तपाईँका शत्रुहरू—अम्मोनीहरूसित बदला लिनुभएको छ।” ३७  त्यसपछि यिप्तहकी छोरीले फेरि आफ्नो बुबालाई भनिन्‌: “कृपया मेरो यो बिन्ती पूरा गरिदिनुहोस्‌: दुई महिनाको लागि मलाई आफ्ना सहेलीहरूसित पहाडतिर जान दिनुहोस्‌ र म आफ्नो कुमारित्वको लागि उनीहरूसितै शोक मनाउनेछु।”* ३८  यो सुनेपछि यिप्तहले भने: “जाऊ छोरी!” तिनले आफ्नी छोरीलाई दुई महिनाको लागि जान दिए। अनि उनी साथीहरूसित पहाडहरूतिर गएर आफ्नो कुमारित्वको लागि उनीहरूसितै शोक मनाइन्‌। ३९  दुई महिना पूरा भएपछि उनी आफ्नो बुबाकहाँ फर्किन्‌। त्यसपछि यिप्तहले आफ्नी छोरीबारे गरेको भाकल पूरा गरे।+ उनले कुनै पुरुषसित कहिल्यै शारीरिक सम्बन्ध राखिनन्‌। अनि इस्राएलमा यस्तो चलन बस्यो:* ४०  वर्षेनी इस्राएली ठिटीहरू वर्षको चार दिन गिलादका यिप्तहकी छोरीको प्रशंसा गर्न उनलाई भेट्‌न जाने गर्थे।

फुटनोटहरू

शा., “कुरा सुन्‍ने व्यक्‍ति।”
वा “इजिप्टबाट।”
शा., “मैले यहोवा परमेश्‍वरसामु आफ्नो मुख खोलेको छु।”
वा “आफ्ना सहेलीहरूसित रुनेछु किनभने म कहिल्यै विवाह गर्नेछैनँ।”
वा “नियम बन्यो।”