गन्ती २१:१-३५
२१ अरादका कनानी राजा,+ जो नेगेबमा बस्थे, तिनले इस्राएलीहरू अथारिमको बाटो भएर आउँदै छन् भन्ने खबर पाएपछि इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूमध्ये केहीलाई कैदी बनाएर लगे।
२ त्यसैले इस्राएलीहरूले यहोवा परमेश्वरलाई यस्तो भाकल गरे: “यदि तपाईँले यी मानिसहरू हाम्रो हातमा सुम्पनुभयो भने हामी यिनीहरूको सहरलाई नाश गरेरै छोड्नेछौँ।”
३ यहोवा परमेश्वरले इस्राएलीहरूको बिन्ती सुन्नुभयो र कनानीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। अनि इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई सर्वनाश गरे। त्यसकारण इस्राएलीहरूले त्यस ठाउँको नाम होर्माह* राखे।+
४ त्यसपछि तिनीहरू होर डाँडाबाट लाल समुद्रको बाटो हुँदै अघि बढे।+ एदोमीहरूको इलाकामा नछिरी त्यसको किनारैकिनार जान तिनीहरूले यो बाटो रोजेका थिए।+ तर यात्रा गर्दा-गर्दा मानिसहरू हैरान भए।
५ अनि मानिसहरूले परमेश्वर र मोसाविरुद्ध यसरी गनगन गर्न थाले:+ “तपाईँले हामीलाई मिश्रबाट निकालेर किन यस निर्जनभूमिमा मार्न ल्याउनुभयो? यहाँ न खानेकुरा छ न त पिउने पानी छ;+ यो तुच्छ रोटी खाँदा-खाँदा हामीलाई वाक्कै लागिसक्यो।”+
६ तब यहोवा परमेश्वरले मानिसहरूमाझ विषालु सर्पहरू पठाउनुभयो र ती सर्पहरूले डसेर थुप्रै इस्राएली मरे।+
७ अनि मानिसहरूले मोसाकहाँ आएर भने: “हामीले यहोवा परमेश्वर र तपाईँविरुद्ध बोलेर पाप गऱ्यौँ।+ हाम्रो माझबाट यी सर्पहरू हटाउन यहोवा परमेश्वरसित बिन्ती गरिदिनुहोस्।” अनि मोसाले मानिसहरूको तर्फबाट परमेश्वरलाई बिन्ती गरे।+
८ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “विषालु सर्पको एउटा मूर्ति बनाएर त्यसलाई खामोमा झुण्ड्याउनू। कसैलाई सर्पले डसेमा उसले त्यस मूर्तिलाई हेरोस् र ऊ बच्नेछ।”
९ त्यसैले मोसाले तुरुन्तै गएर तामाको एउटा सर्प+ बनाए र त्यसलाई खामोमा झुण्ड्याए।+ सर्पले डसेको कसैले तामाको सर्पलाई हेरेमा ऊ बाँच्थ्यो।+
१० त्यसपछि इस्राएलीहरूले यात्रा अघि बढाए र ओबोथमा पाल टाँगे।+
११ अनि ओबोथबाट निस्केपछि तिनीहरूले इये-अबारिम अर्थात् मोआबको अगाडि पर्ने पूर्वतिरको निर्जनभूमिमा पाल टाँगे।+
१२ त्यहाँबाट निस्केपछि तिनीहरूले जेरेद बेँसीमा* पाल टाँगे।+
१३ तिनीहरूले त्यहाँबाट पनि यात्रा अघि बढाए र अर्नोनको इलाकामा पाल टाँगे।+ यो इलाका एमोरीहरूको इलाकाको सिमानादेखि सुरु भएको निर्जनभूमिमा पर्छ। अर्नोन मोआबको सिमाना हो। यो मोआब र एमोरीहरूको इलाकाको बीचमा पर्छ।
१४ त्यसैकारण यहोवा परमेश्वरका युद्धहरूको पुस्तकमा यी ठाउँहरूबारे लेखिएको छ: “सुफाहको वाहेब र अर्नोनका बेँसीहरू*
१५ अनि अर्नोनका बेँसीहरूको ओरालो, जुन अरको बस्ती हुँदै मोआबको सिमानासम्म पुगेको छ।”
१६ त्यहाँबाट तिनीहरू बेर भन्ने ठाउँमा गए। यहोवा परमेश्वरले मोसालाई “सबै मानिसलाई भेला गर र म तिनीहरूलाई पानी दिनेछु” भन्नुभएको इनार त्यहीँ थियो।
१७ त्यतिबेला इस्राएलीहरूले यस्तो गीत गाए:
“ए इनार, फुटेर निस्की!—मानिसहरू हो, यसको लागि गीत गाओ!
१८ यो त्यही इनार हो, जसलाई मुखियाहरूले, हो ठूलाबडा मानिसहरूले खने,कप्तानको लौरो र आ-आफ्ना लौराहरूले खने।”
त्यसपछि इस्राएलीहरू त्यस निर्जनभूमिबाट मात्तानाह गए।
१९ अनि तिनीहरू मात्तानाहबाट नाहलिएल र नाहलिएलबाट बामोथ गए।+
२० अनि तिनीहरू बामोथबाट मोआबको इलाकामा* पर्ने+ पिस्गाहको मास्तिर+ भएको फाँटमा गए जहाँबाट यसिमोन* देख्न सकिन्छ।+
२१ त्यसपछि इस्राएलीहरूले एमोरीहरूका राजा सिहोनलाई यसो भन्नू भनेर सन्देशवाहकहरू पठाए:+
२२ “हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्। हामी तपाईँहरूको खेत वा अङ्गुर बगानमा पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।”+
२३ तर सिहोनले इस्राएलीहरूलाई आफ्नो इलाकाबाट जान दिएनन्। बरु तिनले आफ्ना सेना जम्मा गरे अनि निर्जनभूमिमा इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। तिनीहरू याहजमा आए र इस्राएलीहरूसित युद्ध गर्न थाले।+
२४ तर इस्राएलीहरूले सिहोनलाई आफ्नो तरबारले हराए+ र अर्नोनदेखि+ याब्बोकसम्मको इलाका+ कब्जा गरे,+ जुन अम्मोनीहरूको देशको नजिकै थियो। तर तिनीहरू याजेरभन्दा+ अगाडि गएनन् किनकि याजेरबाट अम्मोनीहरूको इलाका+ सुरु हुन्थ्यो।
२५ यसरी इस्राएलीहरूले एमोरीहरूको सबै सहर+ कब्जा गरे अनि तिनीहरू हेस्बोन र त्यसवरपरका सहरहरूलगायत सबै सहरमा बसोबास गर्न थाले।
२६ हेस्बोन एमोरीहरूका राजा सिहोनको सहर थियो, जसले मोआबका राजासित युद्ध गरेर अर्नोनसम्मको सबै इलाका लिएका थिए।
२७ त्यही घटनापछि अरूको खिल्ली उडाउन प्रयोग गरिने यस्तो भनाइ सुरु भयो:
“हेस्बोन आओ हेस्बोन,
सिहोनको यो सहर बसालौँ र बलियो पारौँ।
२८ हेस्बोनबाट आगो दन्क्यो, सिहोनको यो सहरबाट आगोको ज्वाला निस्क्यो।
यसले मोआबको अरलाई, अर्नोनका अग्ला थानहरूका* मालिकहरूलाई खरानी बनाइदियो।
२९ ए मोआब, धिक्कार छ तिमीलाई! ए केमोसका+ मानिसहरू हो, तिमीहरू सर्वनाश हुनेछौ!
तिमीहरू आफ्ना छोराहरूलाई भगुवा बनाउँछौ अनि छोरीहरूलाई कैदी बनाएर एमोरीहरूका राजा सिहोनको हातमा सुम्पन्छौ।
३० आओ, हामी तिनीहरूलाई आक्रमण गरौँ;हेस्बोनचाहिँ दिबोनसम्मै नाश हुनेछ;+त्यसलाई नोफाहसम्मै उजाड पारौँ;दनदनी बलेको आगो मेदेबासम्मै फैलनेछ।”+
३१ यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गर्न थाले।
३२ अनि मोसाले याजेरको जासुसी गर्न केही जासुसहरू पठाए।+ तिनीहरूले याजेरवरपरका सहरहरू कब्जा गरे अनि त्यहाँका एमोरीहरूलाई धपाए।
३३ त्यसपछि तिनीहरू मोडिएर बासान मार्ग हुँदै गए। अनि बासानका राजा ओग+ तिनीहरूसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+
३४ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिनीसित नडराऊ+ किनकि म तिनी, तिनका सबै मानिस र तिनको देश तिमीहरूको हातमा सुम्पनेछु।+ तिमीहरूले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई जसो गऱ्यौ, तिनलाई पनि त्यसै गर्नेछौ।”+
३५ अनि तिनीहरूले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई मारे, कसैलाई पनि बाँकी राखेनन्।+ अनि तिनीहरूले तिनको देश कब्जा गरे।+
फुटनोटहरू
^ यसको अर्थ हो, “नाश गर्न सुम्पिइएको।”
^ वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ वा “वादीहरू।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
^ वा सम्भवतः “मरुभूमि; निर्जनभूमि।”
^ शा., “खेतमा।”

