एस्तर ५:१-१४

  • एस्तर राजासामु हाजिर हुन्छिन्‌ (१-८)

  • हामानको रिस र घमन्ड (९-१४)

 तेस्रो दिन+ एस्तर आफ्नो राजसी पोसाक लगाएर भित्री चोकमा गइन्‌ अनि राजमहलको अगाडि उभिइन्‌। त्यसबेला राजाचाहिँ महलमा आफ्नो राजगद्दीमा बसिरहेका थिए र त्यहाँबाट महलको प्रवेशद्वार स्पष्टै देखिन्थ्यो। २  रानी एस्तर चोकमा उभिरहेकी देख्नेबित्तिकै राजा निकै खुसी भए र तिनले आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतर्फ तेर्स्याए।+ तब एस्तरले राजाको नजिकै गएर राजदण्डको टुप्पो छोइन्‌। ३  राजाले उनलाई सोधे: “रानी एस्तर, कुरा के हो? तिमी मबाट के चाहन्छ्यौ? तिमीले मेरो आधा राज्य नै माग्यौ भने पनि म तिमीलाई दिनेछु!” ४  एस्तरले जवाफ दिइन्‌: “हे महाराज! यदि हजुरलाई उचित लाग्छ भने आज मैले हजुरको निम्ति तयार पारेको भोजमा आउनुहोस्‌। अनि हामानलाई+ पनि सँगै ल्याउनुहोस्‌।” ५  तब राजाले आफ्ना सेवकहरूलाई भने: “जाओ, रानी एस्तरले भनेझैँ हामानलाई तुरुन्तै बोलाएर ल्याओ।” त्यसपछि राजा र हामान एस्तरले लगाएको भोजमा गए। ६  केही बेरपछि मद्य पिउँदै गर्दा राजाले एस्तरलाई भने: “तिमी मबाट के चाहन्छ्यौ? तिमीले जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिमी जे चाहन्छ्यौ, त्यो माग! तिमीले मेरो आधा राज्य नै माग्यौ भने पनि म तिमीलाई दिनेछु!”+ ७  एस्तरले जवाफ दिइन्‌: “महाराजलाई मेरो बिन्ती, मेरो अनुरोध यही छ कि ८  यदि मैले हजुरको निगाह पाएकी छु र हजुर मेरो बिन्ती पूरा गरिदिन चाहनुहुन्छ भने म भोलि पनि हजुर र हामानको लागि भोज लगाउन चाहन्छु। कृपया हामानसितै आउनुहोस्‌। अनि भोलि म हजुरले भन्‍नुभएझैँ गर्नेछु।” ९  त्यो दिन हामान फुरुङ्‌ङ परेर भोजबाट फर्किरहेका थिए। तर जब तिनले महलको ढोकामा मोर्दकैलाई देखे, तब तिनी रिसले आगो भए किनकि मोर्दकै तिनलाई देखेर न उभिए न त डराए।+ १०  तर हामान आफ्नो रिस थाम्दै घर गए। त्यसपछि तिनले आफ्ना साथीहरू र आफ्नी पत्नी जेरेसलाई+ बोलाए। ११  तिनले आफूसित भएको धनसम्पत्तिको फुइँ लगाउन थाले। साथै तिनले आफ्ना थुप्रै छोरा भएकोमा+ अनि राजाले आफ्नो पदोन्‍नति गराइदिएर अरू भारदारहरू र सेवकहरूलाई भन्दा धेरै सम्मान दिएकोमा घमन्ड गर्न थाले।+ १२  हामानले अझै यसो भने: “त्यति मात्र कहाँ हो र! रानी एस्तरले अरू कसैलाई होइन तर मलाई नै आफ्नो भोजमा राजासँगै आउन निम्तो दिनुभयो।+ भोलिको भोजमा पनि उहाँ र राजासँगै बसेर खान उहाँले मलाई निम्तो दिनुभएको छ।+ १३  तर जबसम्म त्यो यहुदी मोर्दकैलाई महलको ढोकामा देख्छु, तबसम्म कुनै पनि कुराले मलाई सन्तोष दिनेछैन।” १४  तब हामानकी पत्नी जेरेस र तिनका सबै साथीले तिनलाई यसो भने: “पचास हात* अग्लो एउटा खम्बा ठड्‌याउनुहोस्‌। अनि मोर्दकैलाई त्यसमा झुन्ड्‌याउन बिहानै राजाकहाँ गएर बिन्ती गर्नुहोस्‌।+ त्यसपछि राजासँगै भोजमा गएर रमाइलो गर्नुहोस्‌।” हामानलाई यो सल्लाह मन पऱ्‍यो र तिनले एउटा खम्बा ठड्‌याए।

फुटनोटहरू

लगभग २२.३ मिटर (७३ फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।