एस्तर ४:१-१७

  • मोर्दकै शोक मनाउँछन्‌ (१-५)

  • मोर्दकै एस्तरलाई कदम चाल्न अह्राउँछन्‌ (६-१७)

४  जब मोर्दकैले+ यी सबै कुरा थाह पाए,+ तब तिनले आफ्नो लुगा च्याते, भाङ्‌ग्रा लगाए अनि आफूमाथि खरानी छर्के। त्यसपछि तिनी डाँको छोडेर रुँदै र विलाप गर्दै सहरको बीचतिर गए। २  तिनी राजमहलको ढोकासम्म गए तर भित्र भने छिरेनन्‌। किनकि कसैलाई पनि भाङ्‌ग्रा लगाएर राजमहलभित्र जाने अनुमति थिएन। ३  अनि ती सबै प्रान्तमा,+ जहाँ-जहाँ राजाको उर्दी जारी गरिएको थियो, त्यहाँ-त्यहाँका यहुदीहरूमाझ रुवाबासी छायो। तिनीहरू चिच्याई-चिच्याई रोए र उपवास बसे।+ थुप्रै मानिसहरूले भुईँमा भाङ्‌ग्रा ओछ्याए अनि खरानी छरेर त्यसैमाथि पस्रिए।+ ४  जब रानी एस्तरका सेविकाहरू र नपुंसकहरू आएर तिनलाई यो कुरा सुनाइदिए, तब उनी असाध्यै व्याकुल भइन्‌। मोर्दकैले भाङ्‌ग्रा फुकालेर लुगा लगाऊन्‌ भनी रानीले तिनको निम्ति लुगा पठाइदिइन्‌ तर मोर्दकैले त्यो लिन मानेनन्‌। ५  तब एस्तरले राजाका एक नपुंसक हाथाकलाई बोलाइन्‌, जसलाई राजाले एस्तरको सेवामा खटाएका थिए। उनले हाथाकलाई मोर्दकैकहाँ गएर वास्तवमा के भएको रहेछ भनी पत्ता लगाउन हुकुम दिइन्‌। ६  त्यसैले हाथाक मोर्दकैलाई भेट्‌न राजमहलको ढोकाअगाडि, सहरको चोकमा गए। ७  मोर्दकैले हाथाकलाई आफूमाथि कस्तो विपत्ति आइपरेको छ अनि यहुदीहरूलाई नाश गर्न+ हामानले शाही ढुकुटीमा कति पैसा+ दिने वचन दिएका छन्‌, त्यो सब बताइदिए। ८  मोर्दकैले तिनलाई यहुदीहरूको नामोनिसान मेटाउन सुसनमा*+ जारी गरिएको लिखित उर्दीको एक प्रति पनि दिए। तिनले त्यो एस्तरलाई दिनुपर्ने थियो र सबै कुरा बताउनुपर्ने थियो। अनि एस्तरलाई सीधै राजाकहाँ गएर दयाको भीख माग्न अनि आफ्ना मानिसहरूको तर्फबाट राजासित बिन्ती गर्न निर्देशन पनि दिनुपर्ने थियो।+ ९  त्यसपछि हाथाक महलमा फर्के अनि मोर्दकैले भनेको सबै कुरा एस्तरलाई बताइदिए। १०  एस्तरले हाथाकलाई फेरि मोर्दकैकहाँ गएर यसो भन्‍ने हुकुम गरिन्‌:+ ११  “राजाका सबै सेवक र उहाँका प्रान्तहरूका सबै मानिसलाई यो कुरा राम्ररी थाह छ कि कुनै पुरुष वा स्त्री राजाले नबोलाईकनै राजमहलको भित्री चोकमा+ गयो भने त्यतिबेला उसले पाउने सजाय एउटै छ; त्यो हो मृत्युदण्ड। राजाले आफ्नो सुनको राजदण्ड ऊतर्फ तेर्स्याउनुभयो भने मात्र उसको जीवन बच्नेछ।+ अनि मलाई राजाले नबोलाउनुभएको पनि ३० दिन भइसक्यो।” १२  एस्तरको सन्देश मोर्दकैकहाँ पुगेपछि १३  मोर्दकैले उनलाई यस्तो जवाफ पठाए: “तिमी राजघरानाको सदस्य भएकीले अरू सबै यहुदी मारिए पनि तिमीचाहिँ बच्नेछ्यौ भनेर नसोच। १४  यदि तिमी यतिबेला चुपचाप बस्यौ भने यहुदीहरूको उद्धार गर्न अरू नै कोही निस्कनेछ+ तर तिमी र तिम्रो बुबाको घरानाचाहिँ नाश हुनेछौ। अनि के थाह, कतै तिमी यस्तै समयको लागि रानी भएकी पो हौ कि!”+ १५  तब एस्तरले मोर्दकैलाई यस्तो जवाफ पठाइन्‌: १६  “गएर सुसनमा भएका सबै यहुदीलाई एक ठाउँमा जम्मा गर्नुहोस्‌ अनि मेरो लागि उपवास बस्नुहोस्‌।+ अनि तीन दिन तीन रातसम्म कसैले केही नखाओस्‌ न त केही पिओस्‌।+ म पनि आफ्ना सेविकाहरूसँगै उपवास बस्नेछु। अनि कानुनविपरीतै भए पनि म राजाकहाँ जानेछु र त्यसको लागि मैले आफ्नो ज्यानै गुमाउनुपरे पनि म तयार छु।” १७  त्यसपछि मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले भनेअनुसारै सबै गरे।

फुटनोटहरू

^ वा “सुसामा।”