एज्रा ७:१-२८

  • एज्रा यरुसलेम आउँछन्‌ (१-१०)

  • एज्रालाई आर्टजारसेजको पत्र (११-२६)

  • एज्रा यहोवाको प्रशंसा गर्छन्‌ (२७, २८)

 यी घटनाहरू भएपछि फारसका राजा आर्टजारसेजको शासनकालमा+ एज्रा*+ बेबिलोनबाट फर्के। तिनी सिरायाहका+ छोरा थिए। सिरायाह अजर्याहका छोरा थिए। अजर्याह हिल्कियाहका+ छोरा थिए। २  हिल्कियाह साल्लुमका छोरा थिए। साल्लुम सादोकका छोरा थिए। सादोक अहितुबका छोरा थिए। ३  अहितुब अमर्याहका छोरा थिए। अमर्याह अजर्याहका+ छोरा थिए। अजर्याह मरायोथका छोरा थिए। ४  मरायोथ जेरायाहका छोरा थिए। जेरायाह उज्जिका छोरा थिए। उज्जि बुक्किका छोरा थिए। ५  बुक्कि अबिसुका छोरा थिए। अबिसु पिनहासका+ छोरा थिए। पिनहास एलियाजारका+ छोरा थिए र एलियाजार मुख्य पुजारी हारुनका+ छोरा थिए। ६  तिनै एज्रा बेबिलोनबाट आए। तिनी एक प्रतिलिपिक* थिए। तिनी इस्राएलका परमेश्‍वर यहोवाले दिनुभएको मोसाको व्यवस्थामा पोख्त थिए।*+ राजाले तिनले माग गरेका सबै कुरा पूरा गरिदिए किनकि तिनका परमेश्‍वर यहोवाको हात तिनीमाथि थियो। ७  राजा आर्टजारसेजको शासनकालको सातौँ वर्षमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू,+ गायकहरू,+ ढोकेहरू+ र मन्दिरका सेवकहरू* यरुसलेम आए।+ ८  राजा आर्टजारसेजको शासनकालको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरुसलेम आए। ९  तिनले पहिलो महिनाको पहिलो दिन बेबिलोनबाट आफ्नो यात्रा सुरु गरे र पाँचौँ महिनाको पहिलो दिन यरुसलेम पुगे। तिनको यात्राभरि तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्थ्यो।+ १०  एज्राले यहोवा परमेश्‍वरको व्यवस्था अध्ययन गर्न, त्यसअनुसार चल्न अनि इस्राएलीहरूलाई उहाँका नीतिनियम र ऐनकानुन सिकाउन+ आफ्नो हृदय तयार पारेका थिए।*+ ११  राजा आर्टजारसेजले पुजारी र प्रतिलिपिक एज्रा—जससित यहोवा परमेश्‍वरका आज्ञाहरूको र उहाँले इस्राएलीहरूलाई दिनुभएको नीतिनियमको राम्रो ज्ञान थियो*—तिनलाई पठाएको पत्रको नक्कल यही हो: १२  * “राजाहरूका राजा आर्टजारसेजको+ तर्फबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाको प्रतिलिपिक, पुजारी एज्राको निम्ति: तिमीलाई शान्ति होस्‌। १३  मैले यो उर्दी जारी गरेको छु कि मेरो इलाकामा भएका इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूमध्ये जो-जो तिमीसित यरुसलेम जान चाहन्छन्‌, तिनीहरू जान सक्छन्‌।+ १४  राजा र राजाका सात जना सल्लाहकारको तर्फबाट तिमीलाई यहुदा र यरुसलेम पठाइँदै छ। तिमी त्यहाँ जाऊ र तिमीसित भएको तिम्रा परमेश्‍वरको व्यवस्था मानिसहरूले पालन गरिरहेका छन्‌ कि छैनन्‌ भनेर पत्ता लगाऊ। १५  राजा र राजाका सल्लाहकारहरूले इस्राएलका परमेश्‍वर, जसको निवासस्थान यरुसलेममा छ, उहाँको निम्ति राजीखुसीले दिएको सुन र चाँदी पनि आफूसँगै लैजानू। १६  अनि बेबिलोनको सबै प्रान्तबाट तिमीले जति पनि सुन र चाँदी पाउनेछौ अनि इस्राएलीहरू र पुजारीहरूले यरुसलेममा भएको आफ्ना परमेश्‍वरको भवनको निम्ति राजीखुसीले जे-जति उपहार दिन्छन्‌, ती सबै तिमीले लैजानू।+ १७  तिमीले पाएको पैसाले तुरुन्तै बहरहरू,+ थुमाहरू+ र भेडाका पाठाहरू+ अनि तीसँगै चढाइने अन्‍नभेटी+ र मद्यभेटी* किन्‍नू।+ अनि ती सबै भेटी यरुसलेममा तिम्रा परमेश्‍वरको भवनको वेदीमा चढाउनू। १८  “बाँकी भएको सुन र चाँदी तिमी र तिम्रा दाजुभाइलाई जे गर्न ठीक लाग्छ, त्यही गर्न चलाउनू। अनि त्यो तिम्रा परमेश्‍वरको इच्छाबमोजिम होस्‌। १९  तिम्रा परमेश्‍वरको भवनमा गरिने सेवाको लागि तिमीलाई दिइएको सबै भाँडाकुँडा यरुसलेममा लगेर परमेश्‍वरसामु राख।+ २०  तिम्रा परमेश्‍वरको भवनको निम्ति तिमीलाई अरू जे-जे कुराको खाँचो पर्छ, त्यसको खर्च तिमीले राजकोषबाट पाउनेछौ।+ २१  “म, राजा आर्टजारसेज महानदीपारिको इलाकाका* सबै खजान्चीलाई यो आदेश दिन्छु कि स्वर्गका परमेश्‍वरको व्यवस्थाका प्रतिलिपिक, पुजारी एज्राले+ मागेको सबै कुरा तिनलाई तुरुन्तै दिनू। २२  तिनलाई यी सबै दिइयोस्‌: १०० टालेन्ट* चाँदी, १०० कोर* गहुँ, १०० बाथ* मद्य,+ १०० बाथ तेल+ र तिनले मागेजति नुन।+ २३  स्वर्गका परमेश्‍वरले आफ्नो भवनबारे जे-जे आदेश दिनुभएको छ, ती सबै जोसका साथ पालन गरियोस्‌+ ताकि स्वर्गका परमेश्‍वरको रिस मेरो प्रजा र मेरा छोराहरूमाथि नपरोस्‌।+ २४  म तिमीहरूलाई यो आदेश पनि दिन्छु कि कुनै पनि पुजारी, लेवी, वाद्यवादक,+ ढोके, मन्दिरका सेवक+ र परमेश्‍वरको भवनका अरू कामदारबाट कर, तिरो+ र महसुल नउठाउनू। २५  “अनि हे एज्रा, तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको बुद्धि चलाएर महानदीपारिको इलाकामा नगर अधिकारीहरू र न्यायकर्ताहरू नियुक्‍त गर। तिनीहरूले मानिसहरूको न्याय गरून्‌, जसलाई तिम्रा परमेश्‍वरले दिनुभएको नियमबारे थाह छ। तर ज-जसलाई ती नियमबारे थाह छैन, तिमीले तिनीहरूलाई सिकाउनू।+ २६  अनि जसले तिम्रा परमेश्‍वरको व्यवस्था र राजाको नियम पालन गर्दैन, त्यसलाई तुरुन्तै सजाय दिइयोस्‌—चाहे त्यो सजाय जरिमाना तिर्नुपर्ने होस्‌, झ्यालखानामा बस्नुपर्ने होस्‌, देश निकाला होस्‌ वा मृत्युदण्ड नै किन नहोस्‌।” २७  हाम्रा पितापुर्खाका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌, जसले राजाको मनमा यरुसलेममा भएको यहोवा परमेश्‍वरको भवनको शोभा बढाउने इच्छा हालिदिनुभयो।+ २८  परमेश्‍वरले मलाई अटल प्रेम देखाउनुभयो, जसले गर्दा मैले राजा, राजाका सल्लाहकारहरू+ र शक्‍तिशाली भारदारहरूको निगाह पाएँ।+ मेरा परमेश्‍वर यहोवाको हात ममाथि रहेकोले मैले साहस बटुलेँ अनि इस्राएलीहरूका अगुवाहरूलाई आफूसँगै लैजान एकसाथ जम्मा गरेँ।

फुटनोटहरू

यसको अर्थ हो, “मदत।”
वा “शास्त्री।”
वा “व्यवस्थाको प्रतिलिपि बनाउन सिपालु थिए।”
वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”
वा “मनमा अठोट गरेका थिए।”
वा “तिनी त्यसको प्रतिलिपि बनाउँथे।”
एज्रा ७:१२ देखि ७:२६ सम्मको विवरण सुरुमा अरामी भाषामा लेखिएको थियो।
शब्दावली हेर्नुहोस्‌।
यसले यूफ्रेटिस नदीको पश्‍चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।