इजकिएल ११:१-२५
११ अनि एउटा शक्तिले* मलाई उचाल्यो र यहोवाको मन्दिरको पूर्वतिरको ढोकामा पुऱ्यायो।+ त्यहाँ मूलढोकामा मैले २५ जना मानिसलाई देखेँ, जो शासक+ थिए। यिनीहरूमध्ये अज्जुरका छोरा याजन्याह र बेनायाहका छोरा पलात्याह पनि थिए।
२ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, षड्यन्त्र रच्ने र सहरलाई हानि पुऱ्याउने सल्लाह दिने मानिसहरू यिनीहरू नै हुन्।
३ यिनीहरू यसो भन्दै छन्: ‘घर बनाउने बेला भएन र?+ यो सहर* खड्कुँलो हो+ र हामी मासु हौँ।’
४ “त्यसैले यिनीहरूविरुद्ध भविष्यवाणी गर। हे मानिसको छोरा, भविष्यवाणी गर।”+
५ त्यसपछि यहोवाको पवित्र शक्ति ममाथि आयो+ र उहाँले मलाई यसो भन्नुभयो: “तिमीले यसो भन्नू, ‘यहोवा यसो भन्नुहुन्छ: “हे इस्राएलको घरानाका मानिसहरू हो, तिमीहरूको कुरा ठीक हो। तिमीहरू के सोच्दै छौ, मलाई थाह छ।
६ तिमीहरूले गर्दा यस सहरका थुप्रै मानिसले आफ्नो ज्यान गुमाएका छन्; सहरका बाटोभरि लासैलास छन्।”’”+
७ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरूले सहरभरि फालेका लासचाहिँ मासु हो र यो सहर खड्कुँलो हो।+ तर तिमीहरू भने सहरबाट बाहिर निकालिनेछौ।’”
८ “‘तिमीहरू तरबारदेखि डराउँछौ, होइन?+ म तिमीहरूलाई तरबारले प्रहार गर्नेछु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
९ ‘म तिमीहरूलाई सहरबाट बाहिर ल्याउनेछु, विदेशीहरूको हातमा सुम्पनेछु र तिमीहरूलाई दण्ड दिनेछु।+
१० तिमीहरू तरबारले मारिनेछौ।+ म तिमीहरूलाई इस्राएलको सिमानामै दण्ड दिनेछु+ र म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+
११ तिमीहरूको लागि यो सहर खड्कुँलो हुनेछैन; तिमीहरू त्यसभित्रको मासु पनि हुनेछैनौ। म तिमीहरूलाई इस्राएलको सिमानामै दण्ड दिनेछु
१२ र म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ। किनकि तिमीहरू मेरो नीतिनियमअनुसार चलेनौ र तिमीहरूले मेरा ऐनकानुन पालन गरेनौ+ बरु वरपरका जातिहरूको ऐनकानुन पालन गऱ्यौ।’”+
१३ मैले यो भविष्यवाणी गर्नेबित्तिकै बेनायाहका छोरा पलात्याह मरे। अनि म भुईँमा घोप्टो परेँ र ठूलो स्वरले यसो भन्दै कराएँ: “हाय! ब्रह्माण्डका मालिक यहोवा! के अब इस्राएलका बाँकी मानिसहरूलाई पनि तपाईँ नाश गर्नुहुन्छ?”+
१४ तब यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो:
१५ “हे मानिसको छोरा, तिम्रा दाजुभाइ, जससित तिम्रो पुर्ख्यौली जमिन फेरि किन्ने अधिकार छ, तिनीहरूलाई र पूरै इस्राएलको घरानालाई यरुसलेमवासीले यसो भनेका छन्, ‘यहोवादेखि टाढै बस। यो भूमि हाम्रो हो, यो हामीलाई दिइएको हो।’
१६ त्यसैले यसो भन: ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, “मैले तिनीहरूलाई टाढाका जातिहरूकहाँ पठाए पनि र देशदेशमा तितरबितर पारिदिए पनि+ तिनीहरू गएको भूमिमा म केही समयको निम्ति तिनीहरूको पवित्र स्थान* हुनेछु।”’+
१७ “त्यसैले यसो भन: ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, “तितरबितर भएर तिमीहरू जुन-जुन देश अनि जातिकहाँ पुग्यौ, म त्यहाँबाट तिमीहरूलाई जम्मा गरेर ल्याउनेछु र इस्राएल देश दिनेछु।+
१८ तिनीहरू फर्कनेछन् र त्यहाँबाट घिनलाग्दा मूर्ति र घिनलाग्दा काम सबै हटाउनेछन्।+
१९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।+
२० तब तिनीहरू मेरा विधिविधानअनुसार चल्नेछन् र मेरा फैसलाहरू पालन गर्नेछन्। अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।”’
२१ “‘“तर घिनलाग्दा मूर्ति पुज्न र घिनलाग्दा काम गर्न नछोड्नेहरूलाई भने तिनीहरूको कामको नतिजा म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु,” ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’”
२२ त्यसपछि करूबहरूले पखेटा मास्तिर उठाए। अनि पाङ्ग्राहरू तिनीहरूका छेवैमा थिए।+ तिनीहरूको मास्तिर इस्राएलका परमेश्वरको महिमा थियो।+
२३ तब यहोवा परमेश्वरको महिमा+ सहरको मास्तिरबाट उठ्यो र पूर्वतिरको डाँडामाथि बस्यो।+
२४ त्यसपछि दर्शनमा* एउटा शक्तिले* मलाई उचाल्यो र कल्दियामा निर्वासित मेरा मानिसहरूकहाँ पुऱ्यायो। अनि मैले देखिरहेको त्यो दर्शन अन्त भयो।
२५ तब यहोवा परमेश्वरले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासनमा भएका मानिसहरूलाई बताएँ।
फुटनोटहरू
^ यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।
^ यो यरुसलेम सहर हो। यहुदीहरूलाई यस सहरमा सुरक्षा पाइन्छ भन्ने लाग्थ्यो।
^ अर्थात्, परमेश्वरको डोऱ्याइ तुरुन्तै स्विकार्ने मन।
^ यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।