पाठ १

सुसमाचार के हो?

सुसमाचार के हो?

१. परमेश्‍वरबाट आएको समाचार के हो?

 मानिसहरूले पृथ्वीमा आनन्द उठाएको परमेश्‍वर चाहनुहुन्छ। मानिसहरूलाई माया गरेकोले नै उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो। संसारभरिका सबै मानिसको उज्ज्वल भविष्यको लागि उहाँले छिट्टै कदम चाल्नुहुनेछ। उहाँले सबै मानिसलाई दुःखकष्टबाट छुटकारा दिनुहुनेछ।—यर्मिया २९:११ पढ्‌नुहोस्‌।

 संसारको कुनै पनि सरकारले हिंसा, रोगबिमार र मृत्यु अहिलेसम्म हटाउन सकेको छैन। तर एउटा सुसमाचार छ। अब छिट्टै परमेश्‍वरले सबै मानव सरकार हटाउनुहुन्छ र त्यसको ठाउँमा आफ्नो सरकार स्थापना गर्नुहुन्छ। यसका प्रजाहरूले शान्ति र सुस्वास्थ्य अनुभव गर्नेछन्‌।—यसैया २५:८; ३३:२४; दानिएल २:४४ पढ्‌नुहोस्‌।

२. यो सुसमाचार आज किन अत्यन्तै जरुरी छ?

 परमेश्‍वरले पृथ्वीबाट खराब मानिसहरूलाई हटाउनुभएपछि मात्र दुःखकष्टको अन्त हुनेछ। (सपन्याह २:३) त्यो कहिले हुनेछ? अहिले मानिसहरूले भोगिरहेको अवस्थाबारे परमेश्‍वरको वचनमा पहिल्यै भविष्यवाणी गरिएको थियो। परमेश्‍वरले कदम चाल्ने समय नजिकै छ भनेर अहिले भइरहेका घटनाहरूले देखाउँछ।—२ तिमोथि ३:१-५ पढ्‌नुहोस्‌।

३. हामीले के गर्नुपर्छ?

 हामीले बाइबलबाट उहाँबारे सिक्नुपर्छ। बाइबल मायालु बुबाले पठाएको चिठीजस्तै हो। अहिले कसरी उत्तम जीवन बिताउन सकिन्छ र भविष्यमा पृथ्वीमा अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर बाइबल हामीलाई बताउँछ। तर कसै-कसैलाई तपाईँले बाइबलबाट सिक्दै हुनुहुन्छ भन्‍ने कुरा मन नपर्ला। तर जेसुकै भए पनि उज्ज्वल भविष्य पाउने सुनौलो मौका नगुमाउनुहोस्‌।—हितोपदेश २९:२५; प्रकाश १४:६, ७ पढ्‌नुहोस्‌।