सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय छ

तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌

तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌

१, २. (क) यात्राको तयारी गर्दा हन्‍ना किन दुःखी थिइन्‌? (ख) हन्‍नाको अनुभवबाट हामी के सिक्न सक्छौं?

हन्‍ना यात्राको तयारीमा व्यस्त छिन्‌। यतिबेला तिनी आफ्नो सारा दुःख-पीडा भुल्न खोज्दैछिन्‌। तिनका श्रीमान्‌ एल्कानाले वर्षेनी आफ्नो परिवारका सबैलाई शीलोमा रहेको बासस्थानमा उपासनाको लागि लैजाँदै आएका छन्‌। यो पक्कै पनि एउटा रमाइलो क्षण हुनुपर्ने हो। यस्तो क्षण आनन्दमय होस्‌ भन्‍ने यहोवा पनि चाहनुहुन्थ्यो। (व्यवस्था १६:१५ पढ्‌नुहोस्‌) हन्‍नालाई पनि सानैदेखि यी चाडहरू रमाइलो लाग्थ्यो। तर हालैका वर्षहरूमा भने तिनी पहिला जत्तिको रमाउन सकेकी छैनन्‌।

हुन त तिनले आजीवन साथ दिने मायालु श्रीमान्‌ एल्काना पाएकी थिइन्‌। तर दुःखको कुरा एल्कानाकी कान्छी श्रीमती पनि थिइन्‌। उसको नाम पनिन्‍ना थियो। हन्‍नालाई नसताईकन उसलाई खाएकै पच्दैन थियो। वार्षिक चाडजस्तो रमाइलो बेलामा समेत हन्‍नालाई कसरी सताउन सकिन्छ, पनिन्‍नाले भेउ पाइसकेकी थिई। तर आफ्नो वशमै नभएको जस्तो देखिने परिस्थिति सहन हन्‍नालाई यहोवामाथिको विश्‍वासले कसरी मदत गऱ्‍यो? जीवन नै निरस बनाइदिने चुनौतीपूर्ण परिस्थिति आइपर्दा हन्‍नाको अनुभवबाट तपाईं प्रोत्साहन पाउन सक्नुहुन्छ।

“तिमी किन यति दुःखित छौ?”

३, ४. हन्‍नालाई सताइरहेका दुइटा समस्या के-के थिए? ती समस्या किन चुनौतीपूर्ण थिए?

हन्‍नाको जीवनमा आइपरेका दुइटा ठूला समस्याबारे बाइबलमा बताइएको छ। पहिलो समस्या त तिनी जेनतेन सहन सक्थिन्‌। तर दोस्रो समस्यामाथि तिनको केही सीप लाग्दैन थियो। पहिलो, तिनका श्रीमान्‌ले बहुविवाह गरेका थिए। सौताले तिनलाई आँखाको कसिङ्‌गर ठान्थी। दोस्रो, तिनी बाँझी थिइन्‌। आमा बन्‍न चाहने जोकोहीलाई पनि यस्तो अवस्थामा असह्‍य पीडा हुन्छ। तर त्यतिबेलाको समाजमा बाँझी हुनु झन्‌ सहिनसक्नु हुन्थ्यो। आफ्नो कुल थाम्न सन्तान नभई हुँदैन भन्‍ने धारणा त्यतिबेला राखिन्थ्यो। त्यसैले बाँझी हुनुलाई अति लज्जास्पद र बेइज्जतीको कुरा ठानिन्थ्यो!

पनिन्‍नाले त्यसरी नसताएको भए त हन्‍नालाई बाँझोपनको समस्या सहन त्यति गाह्रो हुँदैनथ्यो होला। त्यसैले बहुविवाहलाई कहिल्यै आदर्श विवाह मान्‍न सकिंदैन। घरमा सौता हुँदा कोभन्दा को कम भन्‍ने भावना हुनु, किचलो पर्नु र विरक्‍त लाग्नु स्वाभाविकै  हो। एक जनासित मात्र विवाह गर्नू भनेर अदनको बगैंचामा परमेश्‍वरले तोकिदिनुभएको स्तरसित यो चलन पटक्कै मेल खाँदैन। (उत्प. २:२४) बहुविवाह गर्दा कस्ता नराम्रा नतिजाहरू भोग्नुपर्छ भनेर बाइबल बताउँछ। एल्कानाको परिवारको मार्मिक कथाबाट बहुविवाह उचित होइन भनेर छर्लङ्‌ग हुन्छ।

५. पनिन्‍ना किन हन्‍नालाई दुःख दिन चाहन्थी? उसले हन्‍नालाई कसरी चोट पुऱ्‍याई?

हुनत एल्काना हन्‍नालाई नै धेरै माया गर्थे। यहूदीहरूको परम्पराअनुसार तिनले पहिला हन्‍नासित विवाह गरे र केही वर्षपछि पनिन्‍नासित। पनिन्‍ना हन्‍नाको ईर्ष्या गर्थी। अनेक बहाना बनाएर भए पनि ऊ हन्‍नालाई सताउन खोज्थी। झन्‌ हन्‍नाले सन्तान जन्माउन नसकेकीले पनिन्‍नाले तिनलाई हेप्ने निहुँ पाएकी थिई। पनिन्‍नाले एकपछि अर्को सन्तान जन्माउँदै गई। सन्तान जन्माएपिच्छे उसको अहङ्‌कार पनि बढ्‌दै गयो। पनिन्‍ना हन्‍नाको घाउमा मलहम लगाउनु त कता हो कता, झन्‌ नुन छर्किने काम गर्थी। ऊ हन्‍नालाई दुःख दिनकै लागि ‘खसालेर कुरा गर्थी’ भनेर बाइबल बताउँछ। (१ शमू. १:६) ऊ यो सबै जानाजानी गर्थी। ऊ हन्‍नालाई चोट पुऱ्‍याउन चाहन्थी र पुऱ्‍याई पनि।

बाँझी भएकीले हन्‍ना एकदमै निराश थिइन्‌; पनिन्‍नाले तिनलाई सताउन कुनै कसर बाँकी राखिनन्‌

६, ७. (क) एल्कानाले सान्त्वना दिन खोजे तापनि हन्‍नाले किन आफ्नो सबै व्यथा श्रीमान्‌लाई पोखाइनन्‌? (ख) यहोवाले हन्‍नालाई मन नपराउनुभएकोले नै हन्‍ना बाँझी भएकी हुन्‌ त? (फुटनोट हेर्नुहोस्‌)

यहोवाको उपासना गर्न वर्षेनी शीलो जाँदा पनिन्‍नाले हन्‍नालाई सताउने एउटा राम्रो मौका पाउँथी जस्तो देखिन्छ। यसपटक पनि पनिन्‍नाले त्यस्तै मौका पाउँछे। एल्काना यहोवालाई चढाएको भेटीको भाग पनिन्‍नाका “सबै छोरा-छोरीहरू”-लाई दिन्छन्‌। तर बिचरी निस्सन्तान हन्‍नाले एक भाग मात्र पाउँछिन्‌। त्यही कुरालाई लिएर पनिन्‍ना निकै घमन्ड गर्छे र हन्‍नाको बाँझोपनको धज्जी उडाउँछे। बिचरी हन्‍ना रुन थाल्छिन्‌ र तिनको भोक-प्यास नै हराउँछ। आफ्नी प्यारी हन्‍ना निराश भएको र तिनले केही नखाएको एल्कानाले याद गर्छन्‌। हन्‍नालाई सान्त्वना दिने प्रयास गर्दै उनी यसो भन्छन्‌: “हन्‍ना, तिमी किन रोइरहेकी छौ र केही पनि खाँदिनौ? तिमी किन यति दुःखित छौ? के म तिम्रो निम्ति दस जना छोराहरूभन्दा पनि बढ्‌ता छैन र?”—१ शमू. १:४-८.

बाँझी भएकीले हन्‍ना निराश भएकी हुन्‌ भनेर एल्कानाले बुझे। श्रीमान्‌का मायालु शब्दहरूको हन्‍ना कदर गर्छिन्‌। * तर एल्कानाले हन्‍नालाई सान्त्वना दिंदा पनिन्‍नाले सताएको कुराबारे केही भनेका छैनन्‌। साथै हन्‍नाले आफ्नो श्रीमान्‌सामु पनिन्‍नाबारे गुनासो गरेको विवरण पनि बाइबलमा छैन। पनिन्‍नाका कर्तुतहरू उदाङ्‌ग पार्दा आफ्नो अवस्था झनै नराम्रो  हुन्छ भन्‍ने तिनलाई लागेको हुनुपर्छ। त्यस्तो परिस्थितिलाई एल्कानाले सुधार्न सक्थे? हन्‍नाप्रतिको पनिन्‍नाको वैरभाव अझै बढ्‌दै जाने थियो कि? पनिन्‍नाका छोराछोरी र नोकर-चाकरले पनि हन्‍नालाई अझै घृणा गर्ने थिए कि? त्यसो हो भने हन्‍नाले आफ्नै घरमा पराई महसुस गर्ने थिइन्‌।

आफ्नै घरमा दुर्व्यवहार भोग्नुपर्दा हन्‍ना सान्त्वनाको लागि यहोवामा भर परिन्‌

८. अरूले दुःख दिएको बेला वा अन्यायमा परेको बेला यहोवा परमेश्‍वर न्यायी हुनुहुन्छ भनेर सम्झनु किन सान्त्वनादायी हुन्छ?

पनिन्‍नाले हन्‍नालाई कहाँसम्म दुःख दिएकी छे भनेर एल्कानाले बुझेका थिए कि थिएनन्‌, त्यो त हामीलाई थाह छैन। तर यहोवा परमेश्‍वरसामु भने त्यो सबै छर्लङ्‌गै थियो। उहाँको वचन बाइबलमा यसबारे पूरै विवरण दिइएको छ। अलि-अलि ईर्ष्या र घोचपेच गर्न त भइहाल्छ नि भनेर सोच्नेहरूको लागि समेत यो एउटा गम्भीर चेतावनी हुन सक्छ। अर्कोतर्फ, हन्‍नाजस्तै निर्दोष र शान्त मानिसहरूको लागि सान्त्वनादायी कुरा पनि छ: न्यायी परमेश्‍वरले आफ्नै समयमा र आफ्नै तरिकामा सबै कुरा सच्याउनुहुन्छ। (व्यवस्था ३२:४ पढ्‌नुहोस्‌) हन्‍नालाई पनि यो कुरा थाह हुनुपर्छ किनभने तिनले मदतको लागि यहोवालाई नै पुकारेकी थिइन्‌।

हन्‍ना “फेरि उदास भइनन्‌”

९. सौताले सताउनेछे भन्‍ने कुरा थाह भए तापनि यहोवाको उपासना गर्न हन्‍ना शीलो जान तयार भएको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

एकाबिहानै कल्याङमल्याङ सुनिन्छ। साना केटाकेटीलगायत सबै जना यात्राको तयारी गर्दैछन्‌। शिलोसम्म पुग्न यो ठूलो परिवारले एप्रैमको डाँडाकाँडा पार गर्दै ३० किलोमिटरभन्दा लामो बाटो यात्रा गर्नुपर्ने थियो। * पैदल यात्रा गर्दा एक-दुई दिन लाग्थ्यो। सौताले निकै सताउनेछे भनेर हन्‍नालाई थाह थियो। तैपनि हन्‍ना गइन्‌। यसरी हन्‍नाले आज हाम्रो लागि उत्कृष्ट उदाहरण बसालिन्‌। कसैले हामीसित नराम्रो व्यवहार गऱ्‍यो भन्दैमा सभा-सम्मेलन र प्रचारजस्ता आध्यात्मिक गतिविधिमा भाग नलिनु बुद्धिमानी कुरा हो र? त्यस्तो परिस्थिति सहन बल पाउने एक मात्र तरिका आध्यात्मिक गतिविधिमा भाग लिनु नै हो!

१०, ११. (क) मौका पाउनेबित्तिकै हन्‍ना किन बासस्थानतिर लागिन्‌? (ख) स्वर्गका आफ्ना बुबासामु हन्‍नाले मनको बह कसरी पोखाइन्‌?

१० पहाडको घुमाउरो बाटो हुँदै दिनभरि यात्रा गरिसकेपछि यो ठूलो परिवार बल्ल शीलो नजिकै आइपुग्यो। उचाइमा रहेको शीलोलाई अग्ला-अग्ला डाँडाहरूले घेरेको थियो। तिनीहरू शीलो नजिक पुग्न लाग्दा हन्‍नाले यहोवालाई के-कस्ता विषयमा प्रार्थना गर्ने भनेर निकै विचार गरेकी हुनुपर्छ। शीलो पुगेपछि सपरिवार खान बसे। आफ्नो परिवार खाइरहेको ठाउँबाट हन्‍ना मौका छोपेर निस्किन्‌ र यहोवाको बासस्थानतिर लागिन्‌। मुख्य पुजारी एली ढोकाको छेउमा बसिरहेका थिए। तर हन्‍नाले एली त्यहाँ छन्‌ भनेर यादै गरिनन्‌, यहोवालाई बिन्ती चढाउने कुरामा तिनी पूरै डुबेकी थिइन्‌। बासस्थानमा  आएर प्रार्थना गर्दा यहोवाले सुन्‍नुहुन्छ भनेर तिनी विश्‍वस्त थिइन्‌। तिनको व्यथा अरू कसैले नबुझे पनि स्वर्गमा हुनुहुने बुबाले बुझ्नुहुने थियो। आफ्नो मनको बह थाम्न नसकेर तिनी धुरुधुरु रोइन्‌।

११ प्रार्थना गर्दा रोइरहेकीले तिनको शरीर थरथर काँपिरहेको थियो। मनमनै दुःख पोखाएको भए तापनि तिनको ओठ चलिरहेकोले बरबराइरहेकी जस्तो देखिन्थ्यो। तिनले निकै लामो प्रार्थना गरिन्‌; मनमा भए जति सबै कुरा यहोवालाई पोखाइन्‌। तिनले सन्तान दिनुहोस्‌ भनेर बिन्तीभाउ मात्र गरिनन्‌। तिनी परमेश्‍वरबाट केही पाउन मात्र होइन तर उहाँलाई सकेजति दिन पनि चाहन्थिन्‌। त्यसैले एउटा छोरा जन्मेमा त्यसलाई सदा-सदाको लागि यहोवाको सेवामा अर्पण गर्ने भाकल तिनले गरिन्‌।—१ शमू. १:९-११.

१२. हन्‍नाको उदाहरण विचार गर्दा प्रार्थना गर्ने सम्बन्धमा हामीले कुन कुरा बिर्सनु हुँदैन?

१२ प्रार्थना गर्ने सम्बन्धमा हन्‍नाले परमेश्‍वरका सबै सेवकहरूका लागि राम्रो उदाहरण बसालिन्‌। आफ्ना मायालु आमाबाबुमा भर पर्ने छोराछोरीले जस्तै आफ्ना चिन्ता-फिक्री धक नमानी बताउन यहोवाले आफ्ना जनहरूलाई दयालु हुँदै निम्तो दिनुभएको छ। (भजन ६२:८; १ थिस्सलोनिकी ५:१७ पढ्‌नुहोस्‌) प्रार्थना गर्ने विषयमा पत्रुस यी सान्त्वनादायी शब्दहरू लेख्न प्रेरित भए: “तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रु. ५:७.

१३, १४. (क) हन्‍नाबारे एली कस्तो गलत निष्कर्षमा पुगे? (ख) एलीलाई जवाफ दिंदा हन्‍नाले कसरी विश्‍वासको उत्कृष्ट उदाहरण बसालिन्‌?

१३ मानिसहरूले यहोवाले जत्तिको राम्ररी कुरा बुझ्न सक्दैनन्‌ अनि उहाँले जत्तिको समानुभूति पनि देखाउन सक्दैनन्‌। हन्‍नाले रुँदै प्रार्थना गरिरहेको बेला कसैको स्वर सुनेर तिनी झसङ्‌ग भइन्‌। त्यो स्वर प्रधान पुजारी एलीको थियो। एलीले तिनलाई नियालिरहेका थिए। उनले भने, “तिमी कहिलेसम्म यस नशामा रहन्छ्यौ। मद्य त्यागिदेऊ।” हन्‍नाको ओठ चलिरहेको, तिनी सुँकसुँकाइरहेको र विचलित भएको कुरा उनले याद गरेका थिए। एलीले हन्‍नालाई के भयो भनेर सोध्नु त कता हो कता, तिनी मद्यले मात्तिएकी छिन्‌ पो भने!—१ शमू. १:१२-१४.

१४ उसै त मन दुखिरहेको बेला बित्थामा त्यस्तो आरोप लगाइँदा हन्‍नालाई कत्ति चोट पऱ्‍यो होला! त्यो पनि प्रधान पुजारीजस्तो सम्मानजनक ओहदा सँभालिरहेका व्यक्‍तिले! तैपनि तिनले एक चोटि फेरि विश्‍वासको उत्कृष्ट उदाहरण बसालिन्‌। मानिसका त्रुटिहरूले गर्दा तिनले यहोवाको उपासना गर्न छोडिनन्‌। तिनले एलीलाई आदरपूर्वक जवाफ दिइन्‌ र आफ्नो अवस्था बताइन्‌। सायद आफ्नो गल्ती स्वीकार्दै सानो सोरमा एलीले यसो भने: “शान्तिसित जाऊ, . . . तिमीले उहाँलाई गरेको प्रार्थनाको जवाफ इस्राएलका परमेश्‍वरले तिमीलाई देऊन्‌।”—१ शमू. १:१५-१७.

१५, १६. (क) यहोवासामु आफ्नो मनको बह पोखिसकेपछि र बासस्थानमा उहाँको उपासना गरिसकेपछि हन्‍नामा कस्तो परिवर्तन आयो? (ख) नकारात्मक भावनाले सताइरहेको बेला हामी कसरी हन्‍नाको उदाहरण पछ्याउन सक्छौं?

१५ यहोवालाई आफ्नो मनको बह पोखाएपछि र बासस्थानमा उहाँको उपासना  गरेपछि हन्‍नामा कस्तो परिवर्तन आयो? विवरण भन्छ: “त्यसपछि तिनी गइहालिन्‌ र केही खानेकुरो खाइन्‌, औ तिनी फेरि उदास भइनन्‌।” (१ शमू. १:१८) हन्‍नाले राहत पाएको महसुस गरिन्‌। आफूले बोकिरहेको भारी तिनले स्वर्गका बुबा यहोवामा बिसाइन्‌। (भजन ५५:२२ पढ्‌नुहोस्‌) उहाँको लागि के कुनै समस्या बोकिनसक्नुको छ र? अहँ छैन! न पहिले थियो, न अहिले छ, न भविष्यमा नै हुनेछ!

१६ निराशा र भारले थिचिएको बेला हन्‍नाको उदाहरण अनुकरण गर्दै परमेश्‍वरलाई पुकार्नु कत्ति उत्तम! बाइबलमा उहाँलाई “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर भनिएको छ। (भज. ६५:२) यहोवाले प्रार्थना सुन्‍नुहुन्छ भनेर विश्‍वास गर्दै पुकाऱ्‍यौं भने ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट परमेश्‍वरको शान्तिले’ हाम्रो दुःखलाई हटाउनेछ।—फिलि. ४:६, ७.

“हाम्रा परमेश्‍वरजस्तै अरू कुनै चट्टान छैन”

१७, १८. (क) हन्‍नाको भाकललाई एल्कानाले कसरी समर्थन गरे? (ख) पनिन्‍नाले हन्‍नालाई जति नै सताउन खोजे तापनि नतिजा कस्तो भयो?

१७ भोलिपल्ट बिहान हन्‍ना एल्कानासित फेरि बासस्थानमा गइन्‌। आफूले यहोवालाई गरेको आग्रह र भाकलबारे तिनले एल्कानालाई भनेकी हुनुपर्छ। किनभने मोशाको व्यवस्थाअनुसार पतिको सहमतिविना पत्नीले गरेको भाकल पतिले रद्द गर्न सक्थे। (गन्ती ३०:१०-१५) तर ती विश्‍वासी पुरुषले आफ्नी पत्नीको भाकल रद्द गरेनन्‌। बरु, घर फर्कनुअघि तिनीहरू दुवैले सँगै मिलेर बासस्थानमा यहोवाको उपासना गरे।

१८ आफूले जत्ति दुःख दिए पनि हन्‍नालाई अब कुनै असर पर्नेवाला छैन भनेर पनिन्‍नाले कहिले महसुस गरी? बाइबलले त्यसबारे केही बताएको छैन। तर हन्‍ना “फेरि उदास भइनन्‌” भनेर लेखिएकोले त्यसपछि हन्‍ना निराश हुन छोडिन्‌ भनेर हामी बुझ्न सक्छौं। जेहोस्‌, हन्‍नालाई सताउन जे गरे पनि केही सीप नलाग्ने भयो भनेर पनिन्‍नाले चाँडै थाह पाई। त्यसपछि बाइबलमा फेरि कतै पनि पनिन्‍नाको नाम उल्लेख गरिएको छैन।

१९. हन्‍नाले कस्तो आशिष्‌ पाइन्‌? त्यो आशिष्‌ यहोवाले दिनुभएको हो भनेर तिनले कसरी देखाइन्‌?

१९ महिनाहरू बित्दै जाँदा हन्‍नाको मनोशान्ति असीम आनन्दमा परिणत भयो। तिनी गर्भवती भइन्‌! तर जति नै खुसी भए पनि त्यो आशिष्‌को स्रोत यहोवा हुनुहुन्छ भनेर हन्‍नाले कहिल्यै बिर्सिनन्‌। तिनले एउटा छोरो जन्माइन्‌ र उनको नाम शमूएल राखिन्‌, जसको अर्थ हो, “परमेश्‍वरको नाम।” हन्‍नाले जस्तै परमेश्‍वरको नाम पुकार्ने कुरालाई यसले सङ्‌केत गरेको हुन सक्छ। त्यस वर्ष हन्‍ना शीलो गइनन्‌। बच्चाले दूध नछोडेसम्म अर्थात्‌ तीन वर्षसम्म तिनी घरमै बसिन्‌। त्यसपछि आफ्नो प्यारो छोरासित बिछोडिनुपर्ने दिनको लागि तिनले आफ्नो मन तयार पारिन्‌।

२०. हन्‍ना र एल्कानाले यहोवालाई गरेको भाकल कसरी पूरा गरे?

२० बिछोडिनु कहाँ सजिलो हुने थियो र! बासस्थानमा सेवा गर्ने स्त्रीहरूले  शीलोमा शमूएललाई राम्ररी हेरचाह गर्नेछन्‌ भनेर हन्‍ना ढुक्क थिइन्‌। तर शमूएल साह्रै साना थिए। आफ्नो मुटुको टुक्रासित बिछोडिनुपर्दा कसको मन पो रूँदैन होला र! तैपनि हन्‍ना र एल्कानाले मन नलागी नलागी होइन तर कृतज्ञतासाथ छोरालाई बासस्थानमा लगे। तिनीहरूले परमेश्‍वरको मन्दिरमा बलिदान चढाए। तीन वर्षअघि हन्‍नाले गरेको भाकलबारे एलीलाई सम्झना गराउँदै तिनीहरूले शमूएललाई एलीको जिम्मा लगाए।

मायालु आमा पाउनु शमूएलको लागि आशिष्‌को कुरा थियो

२१. हन्‍नाले यहोवालाई गरेको प्रार्थनाबाट तिनको विश्‍वास एकदमै बलियो थियो भन्‍ने कुरा कसरी देखियो? (“ दुई उल्लेखनीय प्रार्थना” शीर्षकको पेटी पनि हेर्नुहोस्‌)

२१ त्यसपछि हन्‍नाले यहोवा परमेश्‍वरलाई प्रार्थना गरिन्‌। त्यस प्रार्थनालाई यहोवाले आफ्नो प्रेरित वचनमा लिपिबद्ध गर्न योग्य ठान्‍नुभयो। पहिलो शमूएल २:१-१० मा रेकर्ड गरिएका शब्दहरू पढ्‌नुभयो भने हन्‍नाको विश्‍वास कत्तिको बलियो थियो भनेर तपाईंले थाह पाउनुहुनेछ। आफ्नो शक्‍ति अद्‌भुत ढङ्‌गमा प्रयोग गर्ने यहोवाको क्षमताको तिनले प्रशंसा गरिन्‌। जस्तै: घमन्डीहरूको सेखी झार्ने, अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने, ज्यान लिन सक्ने र मरेकाहरूलाई जिउँदो पार्न सक्नेजस्ता उहाँका अतुलनीय क्षमता। उहाँ अत्यन्तै पवित्र, न्यायी र भरोसायोग्य हुनुभएकोमा पनि तिनले उहाँको प्रशंसा गरिन्‌। “हाम्रा परमेश्‍वरजस्तै अरू कुनै चट्टान छैन” भनेर हन्‍नाले त्यत्तिकै भनेकी थिइनन्‌। यहोवा पूर्णतया भरोसायोग्य हुनुहुन्छ र उहाँ कहिल्यै परिवर्तन हुनुहुन्‍न। थिचोमिचोमा पर्दा उहाँलाई पुकार्नेहरू सबैका लागि उहाँ शरणस्थान हुनुहुन्छ।

२२, २३. (क) शमूएलले आफ्ना आमाबाबुबाट कहिल्यै पनि त्यागिएको महसुस गरेनन्‌ भनेर हामी किन भन्‍न सक्छौं? (ख) यहोवाले हन्‍नालाई अझै कस्ता आशिष्‌हरू दिनुभयो?

२२ यहोवामा त्यति बलियो विश्‍वास गर्ने आमा पाउनु बालक शमूएलको लागि पक्कै पनि आशिष्‌को कुरा थियो। हुर्कंदै जाँदा उनले निश्‍चय पनि आमाको अभाव महसुस गरे होलान्‌ तर कहिल्यै त्यागिएको महसुस गरेनन्‌। हन्‍ना वर्षैपिच्छे शमूएलको लागि बासस्थानमा सेवा  गर्दा लगाउने कोट बनाएर शीलोमा लैजाने गर्थिन्‌। तिनी आफैले सिलाएको त्यो लुगाको प्रत्येक टाँकामा आमाको ममता उनिएको हुन्थ्यो। (१ शमूएल २:१९ पढ्‌नुहोस्‌) तिनले आफ्नो छोरालाई त्यो कोट लगाइदिएको, ठीक छ कि छैन हेरेर मिलाउँदै गरेको, आफ्नो प्यारो छोरासित माया र प्रोत्साहनका कुरा गर्दै गरेको हामी कल्पना गर्न सक्छौं। त्यस्ती मायालु आमा पाउनु शमूएलको लागि आशिष्‌को कुरा थियो। ठूलो भएपछि शमूएल आफै पनि आफ्ना आमाबाबु र सम्पूर्ण इस्राएलका लागि आशिष्‌ साबित भए।

२३ त्यसैगरि हन्‍नाले पनि कहिल्यै त्यागिएको महसुस गरिनन्‌। यहोवाको आशिष्‌को कारण तिनले अरू पाँच छोराछोरी जन्माइन्‌। (१ शमू. २:२१) तर हन्‍नाको लागि सबैभन्दा ठूलो आशिष्‌, तिनको बुबा यहोवासितको सम्बन्ध थियो। वर्षहरू बित्दै जाँदा त्यो सम्बन्ध झन्‌झनै बलियो हुँदै गयो। हन्‍नाको विश्‍वास अनुकरण गर्दै जाँदा तपाईंको विश्‍वास पनि त्यत्तिकै बलियो होओस्‌।

^ अनु. 7 यहोवाले ‘हन्‍नालाई छोराछोरी दिनुभएको थिएन’ भनेर बाइबलमा बताइएको भए तापनि नम्र र विश्‍वासी स्त्री हन्‍नासित परमेश्‍वर अप्रसन्‍न हुनुहुन्थ्यो भन्‍ने कुनै प्रमाण छैन। (१ शमू. १:५) बाइबलमा कहिलेकाहीं कुनै घटना परमेश्‍वरले गराउनुभयो भनेर लेखिएको भए तापनि वास्तवमा उहाँले त्यो गराउनुभएको होइन तर केही समयका लागि हुन दिनुभएको मात्र हो।

^ अनु. 9 एल्कानाको गृहनगर रामा र पछि येशूको समयमा अरिमथिया भनेर चिनिएको ठाउँ एउटै हुनुपर्छ भन्‍ने कुराको आधारमा यो दूरी हिसाब गरिएको हो।