अन्तरवार्ता | एन्टोनियो देला गात्ता
एक जना पादरीले किन चर्च छोडे?
रोममा नौ वर्ष अध्ययन गरेपछि एन्टोनियो देला गात्ता सन् १९६९ मा पादरी नियुक्त भए। त्यसपछि तिनले इटालीको नेपल्सनजिकै भएको पादरीहरूलाई तालिम दिइने कलेजको प्रमुखको रूपमा काम गरे। त्यहाँ छँदा तिनले निकै अध्ययन र मनन गरे। त्यसपछि तिनी क्याथोलिक धर्म बाइबलको शिक्षासित मेल खाँदैन भन्ने निष्कर्षमा पुगे। तिनले परमेश्वरलाई चिन्न आफूले गरेको प्रयासबारे ब्यूँझनुहोस्-लाई बताए।
तपाईँको बाल्यकालबारे केही बताइदिनुहुन्छ कि?
म सन् १९४३ मा इटालीमा जन्मेँ। म एउटा सानो गाउँमा मेरा दाजुभाइ दिदीबहिनीसँग हुर्केँ। मेरो बुबा किसान र सिकर्मी हुनुहुन्थ्यो। बुबाआमाले हामीलाई असल क्याथोलिक बन्न सिकाउनुभयो।
तपाईँ किन पादरी बन्न चाहनुहुन्थ्यो?
सानो छँदा मलाई चर्चका पादरीहरूको प्रवचन सुन्न साह्रै मन पर्थ्यो। म उनीहरूको स्वर सुनेर दङ्ग पर्थेँ अनि त्यहाँको भव्य रीतिथिति देखेर मक्ख पर्थेँ। त्यसैले मैले पादरी नै बन्ने निर्णय गरेँ। म १३ वर्षको हुँदा आमाले मलाई एउटा बोर्डिङ स्कुलमा लैजानुभयो। त्यस स्कुलमा केटाहरूलाई भविष्यमा पादरी बन्न विशेष तालिम दिइन्थ्यो।
के त्यस तालिममा बाइबलको अध्ययन पनि समावेश थियो?
खासै थिएन। म १५ वर्षको हुँदा एक जना शिक्षकले मलाई येसुको जीवन र सेवाबारे ऐतिहासिक घटनाहरू लेखिएको सुसमाचारको किताब दिनुभयो। त्यो किताब मैले धेरै पटक पढेँ। म १८ वर्षको हुँदा पोपकै मातहतमा भएका विश्वविद्यालयहरूमा पढ्न रोम गएँ। हामी हरेक आइतबार हुने प्रवचन कार्यक्रममा बाइबलका केही पद वाचन गर्थ्यौँ र बाइबल पढाइ सुन्थ्यौँ। तर हामी बाइबलकै अध्ययन भने गर्दैनथ्यौँ।
तपाईँ तालिम केन्द्रको प्रमुख बन्नुभयो। के तपाईँले पढाउनुपर्थ्यो?
म मुख्यगरि प्रशासनसम्बन्धी कामहरू गर्थेँ। तर दोस्रो भ्याटिकन काउन्सिलका नियमहरूचाहिँ पढाउँथेँ।
तपाईँलाई चर्चका कस्ता कुराहरू चित्त बुझेन?
मलाई चित्त नबुझेका तीन वटा कुरा थिए। चर्च राजनैतिक मामिलामा मुछिएको थियो। पादरीहरू र चर्चका सदस्यहरूको खराब आचरणलाई हल्कासित लिइएको थियो। मलाई क्याथोलिक धर्मका केही शिक्षा पनि चित्त बुझेको थिएन। जस्तै: प्रेमको परमेश्वरले मानिस मरेपछि नरकमा सास्ती दिइरहनुहोला र? साथै जपमाला प्रयोग गरेर सयौँ पटक दोहोऱ्याइ-तेहऱ्याइ गरिएको प्रार्थना परमेश्वर सुन्न चाहनुहोला र? *
त्यसपछि तपाईँले के गर्नुभयो?
आँसुको धारा बगाउँदै डोऱ्याइको लागि प्रार्थना गरेँ। मैले क्याथोलिक जेरुसलेम बाइबल-को भर्खरै प्रकाशित भएको इटालियन भाषाको बाइबल पनि किनेँ र पढ्न थालेँ। एक दिन आइतबार चर्चमा प्रवचन दिएर फर्केपछि म आफ्नो पोसाक थन्काउँदै थिएँ। त्यतिबेला दुई जना मानिस मकहाँ आउनुभयो। उहाँहरूले आफूलाई यहोवाका साक्षी भनेर चिनाउनुभयो। हामीले बाइबल र यसले साँचो धर्मको चिनारीबारे बताउने कुराबारे एक घण्टाभन्दा लामो समय कुरा गऱ्यौँ।
तपाईँलाई ती मानिसहरू कस्तो लाग्यो?
उहाँहरू निर्धक्क भई बोलेको र क्याथोलिक बाइबलका पदहरू पनि सजिलै उल्लेख गरेको देखेर म निकै प्रभावित भएँ। पछि मारियो नाम गरेका अर्का साक्षी मलाई भेट्न आउन थाल्नुभयो। घाम लाग्दा होस् या पानी पर्दा, उहाँ हरेक आइतबार बिहान ठ्याक्कै ९ बजे घण्टी बजाउनुहुन्थ्यो। उहाँको धैर्य र लगनशीलतालाई मान्नै पर्छ।
तपाईँलाई साक्षीहरू भेट्न आउँदा अरू पादरीलाई कस्तो लाग्यो?
मैले उनीहरूलाई हाम्रो छलफलमा बस्न आग्रह गरेँ। तर उनीहरूले बाइबल अध्ययन गर्न खासै चासो देखाएनन्। मलाई भने अध्ययन गर्न असाध्यै मन पर्थ्यो। म थुप्रै राम्रा-राम्रा कुरा सिक्दै थिएँ। अनि मलाई वर्षौँदेखि अलमल्लमा पारेका प्रश्नहरूको जवाफ पनि पाएँ। जस्तै: परमेश्वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुहुन्छ?
के तपाईँभन्दा उच्च ओहदाका पादरीहरूले तपाईँलाई बाइबल अध्ययन गर्नदेखि रोक्न खोजे?
सन् १९७५ मा आफ्नो धारणाबारे बताउन म थुप्रै पटक रोम गएँ। त्यहाँका पादरीहरूले मेरो सोचाइ बदल्ने प्रयास गरे। तर कसैले पनि बाइबल प्रयोग गरेन। त्यसैले क्याथोलिक धर्म नमान्ने मेरो निर्णयबारे बताउँदै जनवरी ९, १९७६ मा रोमलाई पत्र बुझाएँ। त्यसको दुई दिनपछि मैले तालिमकेन्द्र छोडेँ अनि रेल चढेर यहोवाका साक्षीहरूको सभामा पहिले पटक उपस्थित हुन गएँ। त्यो वास्तवमा विभिन्न मण्डली उपस्थित भएको सम्मेलन रहेछ। त्यहाँ सबै कुरा बिलकुलै फरक थियो। प्रत्येक साक्षीसित बाइबल थियो अनि वक्ताहरूले विभिन्न विषयमा बताउँदा तिनीहरू पनि बाइबल पल्टाएर हेर्थे। त्यस्तो त मैले कहिल्यै देखेको थिइनँ।
तपाईँको परिवारलाई चाहिँ कस्तो लाग्यो नि?
परिवारका धेरैजसोले मेरो निकै विरोध गरे। तर खुसीको कुरा मेरो एक जना भाइले उत्तरी इटालीको लम्बार्डीमा साक्षीहरूसित अध्ययन गरिरहेको रहेछ। म उसलाई भेट्न गएँ। त्यहाँका साक्षीहरूले मलाई काम र बस्ने ठाउँ खोज्न मदत गर्नुभयो। त्यही वर्ष मैले बप्तिस्मा गरेँ र यहोवाको साक्षी बनेँ।
बल्ल मैले परमेश्वरसित नजिक भएको महसुस गरेँ
यस्तो निर्णय गरेकोमा तपाईँलाई पछुतो छ कि?
मलाई कुनै पछुतो छैन! मैले मानव दर्शन पढेर वा चर्चको शिक्षा लिएर होइन तर बाइबल अध्ययन गरेर परमेश्वरलाई चिनेँ। बल्ल मैले परमेश्वरसित नजिक भएको महसुस गरेँ। अहिले म निर्धक्क भएर मनैदेखि अरूलाई सिकाउँछु।
^ बाइबलले यीलगायत अन्य थुप्रै प्रश्नको जवाफ दिन्छ। अनि बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ अन्तर्गत हेर्नुहोस्।