सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुरुमा कसले बनायो?

सुरुमा कसले बनायो?

हालैका वर्षहरूमा वैज्ञानिकहरू र इन्जिनियरहरूले बोटबिरुवा अनि जनावरहरूबाट थुप्रै कुराहरू सिकिरहेका छन्‌। (अय्युब १२:७, ८) तिनीहरूले विभिन्‍न जीवहरूको बनावट अध्ययन गरिरहेका छन्‌। अनि त्यसको नक्कल गरेर नयाँ मेसिनहरू बनाउँदै र पुरानोलाई सुधार्दै लगिरहेका छन्‌। यस्तो अध्ययन गर्ने क्षेत्रलाई बायोमिमेटिक्स भनिन्छ। निम्न उदाहरणहरू विचार गर्दा आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘यी डिजाइनहरूको श्रेय वास्तवमा कसले पाउनुपर्छ?’

 ह्वेल माछाको पखेटाको नक्कल

हवाईजहाज बनाउने इन्जिनियरहरूले हम्पब्याक ह्वेल माछालाई हेरेर निकै कुरा सिक्न सक्छन्‌। वयस्क हम्पब्याक ह्वेल माछाको तौल ३० टन अर्थात्‌ सर-सामानले भरिएको ठूलो ट्रकको तौल बराबर हुन्छ। अरू माछाको तुलनामा यसको शरीर दह्रो र पखेटाको आकार पनि चराको जस्तै हुन्छ। तैपनि १२ मिटर लामो यो ह्वेल पानीमा बडो मजाले पौडन सक्छ।

दह्रो जीउ भएको यो १२ मिटर लामो ह्वेल माछा असाध्यै सानो घेरा बनाएर फनफनी घुम्न सकेको देखेर वैज्ञानिकहरू छक्क पर्छन्‌। हम्पब्याक ह्वेलले यसो गर्न सक्नुको रहस्य यसको पखेटामा लुकेको छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। किनकि यसको पखेटाको किनारा हवाईजहाजको जस्तो चिप्लो हुँदैन बरु पखेटामा ठूलठूलो गिर्खाहरू हुन्छन्‌ जसलाई ट्युबरकल्स भनिन्छ।

पखेटाको यस्तो बनोटले गर्दा हम्पब्याक ह्वेल पानी माथि सजिलै आउन सक्छ र पानीको बहाब पनि सजिलै काट्‌न सक्छ। कसरी? एउटा विज्ञान पत्रिकाअनुसार (Natural History) यी ट्युबरकल्सले गर्दा हम्पब्याक ह्वेल सीधा माथि आउँदा पनि पानी पखेटामाथि एकनासले अनि चारैतिर घुम्न थाल्छ।१०

प्रकृतिको प्रतिलिपि अधिकार कोसित छ?

हम्पब्याकको यस्तो क्षमताबाट हामी के सिक्न सक्छौँ? यदि हवाईजहाजको पखेटा हम्पब्याक ह्वेलको जस्तै बनाउने हो भने हावाको वेगलाई नियन्त्रण गर्न कम यन्त्रहरू भए पुग्छ। यस बाहेक, हवाईजहाज सुरक्षित हुनुका साथै मर्मत सम्भार गर्न पनि सजिलो हुनेछ। बायोमेकानिक विशेषज्ञ जोन लङ्‌गअनुसार भविष्यमा चाँडै “हरेक जेट विमानको पखेटामा हम्पब्याक ह्वेलको जस्तै ठूलठूलो गिर्खा हुनेछ।”११

सिगल चराको नक्कल

हुनत चराहरूको नकल गरेरै हवाईजहाजको पखेटा बनाइएका हुन्‌। तर अहिले इन्जिनियरहरूले अझ राम्ररी चराहरूको नक्कल गर्दैछन। एउटा विज्ञान पत्रिकाअनुसार (New Scientist), “फ्लोरिडा विश्‍वविद्यालयका वैज्ञानिकहरूले सिगलजस्तै हावामा तैरन, तेज गतिले झर्न अनि उक्लन सक्ने रिमोट कन्ट्रोलले चल्ने सानो हवाईजहाज बनाएका छन्‌।”१२

सिगलले आफ्नो पखेटालाई कुम र कुहिनानेर खुम्चाएर हावामा गजबले कावा खान सक्छ। सिगलको यस्तो  लचिलो पखेटाको नक्कल गर्दै बनाइएको “त्यस २४ इन्चको हवाईजहाजको पखेटालाई चलाउन स-सानो रडहरू राखिएका छन्‌। ती रडहरूलाई सानो मोटर प्रयोग गरेर विभिन्‍न तरिकामा मोड्‌न सकिन्छ” भनी उक्‍त पत्रिका बताउँछ। सिगलको नक्कल गरेर बनाइएको यो हवाईजहाज गगनचुम्बी भवन माथि-माथि र बीच-बीचमा सजिलै उड्‌न सक्छ। ठूलठूला सहरहरूमा रासायनिक वा जैविक हतियार खोज्न यस्तै हवाईजहाज बनाउन केही देशका सेनाहरू उत्सुक छन्‌।

सिगलको खुट्टा

बरफमा उभिँदा पनि सिगल कहिल्यै जम्दैन। त्यस्तो चिसोमा पनि यो चरा कसरी न्यानो भएर बस्न सक्छ? यसको जवाफ चिसो ठाउँमा पाइने जीवजन्तुहरूमा हुने एउटा उल्लेखनीय विशेषतामा लुकेको छ। त्यो हो—काउन्टरकरेन्ट हिट एक्सचेन्जर अर्थात्‌ विपरीत धारमा ताप स्थानान्तरण हुने प्रक्रिया।

शरीरमा ताप यथावत्‌ रहिरहन्छ, खुट्टाको चिसो माथि सर्दैन

काउन्टरकरेन्ट हिट एक्सचेन्जर भनेको के हो? यो बुझ्न एउटा उदाहरण विचार गरौँ। दुइटा पाइपलाई सँगै राखिएको छ। एउटा पाइपमा तातो पानी र अर्को पाइपमा चिसो पानी बगिरहेको छ। तातो पानी र चिसो पानी एकै दिशातिर बगेको छ भने तातो पानीको आधा जति ताप चिसो पानीमा सर्छ। तर यदि तातो पानी र चिसो पानी विपरीत दिशामा बगेको छ भने तातो पानीको पूरै ताप चिसो पानीमा सर्छ।

सिगल बरफमा उभिँदा यसको चिसो खुट्टाबाट शरीरतर्फ बगिराखेको रगतलाई खुट्टामा भएको हिट एक्सचेन्जरले तातो बनाउँछ। चराको शरीरको तापक्रमलाई हिट एक्सचेन्जरले यथावत्‌ राख्न मदत गर्छ र खुट्टाको तापक्रम पनि घट्‌न दिँदैन। मेकानिकल तथा एरोनटिकल इन्जिनियर अर्थर पि. फ्रासले यो डिजाइनलाई “विश्‍वको एकदमै उपयोगी ताप स्थानान्तरण गर्ने क्षमता” भनेर पनि बताएका छन्‌।१३ यो डिजाइन एकदमै उत्कृष्ट भएकोले इन्जिनियरहरूले यसको नक्कल गरेका छन्‌।

 यी डिजाइनहरूको श्रेय वास्तवमा कसले पाउनुपर्छ?

बक्सफिस भन्‍ने माछाको चिप्लो शरीरको नक्कल गरेर बनाइएको कारको मोडल

नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनले (नासा) बिच्छी जस्तै हिँड्‌न सक्ने आठ खुट्टे रोबट बनाउँदैछ। फिनल्याण्डका इन्जिनियरहरूले ठूलो कीराजस्तै हिँड्‌ने अनि जस्तोसुकै ठाउँमा चढ्‌न सक्ने छ खुट्टे ट्र्याक्टर बनाइसकेका छन्‌। चिसो हुँदा बन्द हुने र सुख्खा हुँदा खुल्ने सल्लाको फलको नक्कल गरेर केही वैज्ञानिकहरूले नयाँ कपडा तयार पारिसकेका छन्‌, जसले मौसमअनुसार शरीरलाई न्यानो वा शीतल बनाउन सक्छ। त्यस्तै गरी गाडी बनाउने एउटा कारखानाले बक्सफिश भन्‍ने माछाको चिप्लो शरीरलाई हेरेर गाडी बनाउँदैछ। अरू केही वैज्ञानिकहरूले चाहिँ हल्का, मजबुत अनि गोलीले नछेड्‌ने किसिमको कवच तयार पार्ने उद्देश्‍यले एक किसिमको कौडीको (abalone shells) अध्ययन गर्दैछन्‌।

मानिसले बनाएको सोनारभन्दा डल्फिनको सोनार उत्कृष्ट छ

प्रकृतिलाई हेरेर थुप्रै नयाँ-नयाँ कुराहरू सिक्न सक्ने भएकोले वैज्ञानिकहरूले हजारौँ प्राणीहरूको जानकारी सङ्‌कलन गरेका छन्‌। एउटा पत्रिकाअनुसार (The Economist) कुनै नयाँ उत्पादनको डिजाइनमा समस्या देखा पर्दा “प्राकृतिक समाधान” खोज्न वैज्ञानिकहरूले यही जानकारी केलाउन सक्छन्‌। विभिन्‍न प्राणीहरूको जानकारीको यस सँगालोलाई प्रकृतिको आविष्कार पनि भनिन्छ। कुनै कम्पनी वा व्यक्‍तिविशेषले आविष्कार गरेको मेसिन वा उपाय अरूले नक्कल गर्न नपाऊन्‌ भनेर त्यसलाई प्रतिलिपि अधिकारको रूपमा दर्ता गरिन्छ। माथि उल्लेख गरिएको पत्रिका अझै यसो भन्छ, “यसरी प्राकृतिक कुराहरूको नक्कललाई ‘प्राकृतिक आविष्कार’ भन्‍ने नाउँ दिएर वैज्ञानिकहरूले यी डिजाइनहरूको वास्तविक श्रेय प्रकृतिलाई नै दिएका छन्‌।”१४

केही वैज्ञानिकहरूले गोलीले नछेड्‌ने किसिमको कवच तयार पार्ने उद्देश्‍यले एक किसिमको कौडीको अध्ययन गर्दैछन्‌

प्रकृतिमा यति राम्रो डिजाइन कसरी आयो? क्रमविकास हुँदै जाँदा प्रकृति आफैले वर्षौँको दौडान विभिन्‍न गल्ती सुधार्दै सिकेको हो भनी थुप्रै वैज्ञानिकहरू भन्छन्‌। तर अरू वैज्ञानिकहरूको विचार भने फरक छ। उदाहरणका लागि, फेब्रुअरी ७, २००५ मा माइक्रोबायोलोजिस्ट माइकल जे. बिहीले एउटा पत्रिकामा (The New York Times) यस्तो लेखेका थिए: “प्रकृतिमा पाइने विभिन्‍न डिजाइनहरूलाई विचार गर्दा एउटा चित्तबुझ्दो तर्कसित सहमत नभई रहनै सकिँदैन, त्यो हो:  कुनै प्राणी हाँसजस्तै देखिन्छ, हिँड्‌छ, कराउँछ र त्यो हाँस होइन भनेर प्रमाण दिन मिल्ने ठाउँ छैन भने त्यो हाँस नै हो भनेर मानि लिनुपर्छ।” तिनको निष्कर्ष यस्तो छ: “प्रकृति आफैले दिने प्रमाणलाई नकार्न सकिँदैन।”१५

अति सूक्ष्म शक्‍तिको (molecular forces) कारणले गर्दा चिप्लो ठाउँमा समेत माउसुली सजिलै हिँड्‌न सक्छ

सुरक्षित अनि कम इन्धनले चल्न सक्ने हवाईजहाजको पखेटा बनाउने इन्जिनियर पक्कै पनि त्यसको श्रेय पाउन योग्य हुन्छ। त्यसैगरी, आरामदायी कपडा वा कम इन्धनले चल्ने उत्कृष्ट गाडीको आविष्कार गर्ने व्यक्‍तिले पनि आफूले बनाएको डिजाइनको श्रेय पाउनुपर्छ। यदि कसैले अरूको डिजाइन वा आविष्कारको नक्कल गर्छ तर त्यसको मूल डिजाइनरलाई चाहिँ श्रेय दिँदैन भने त्यस्तो व्यक्‍तिलाई अपराधी मान्‍न सकिन्छ।

केही तथ्यहरू विचार गरौँ: इन्जिनियरहरूले प्रकृतिको नक्कल गरेर आफ्नो कामसँग सम्बन्धित कठिन समस्याहरूको समाधान गरेका छन्‌। तैपनि कतिपय इन्जिनियरहरूले यस्तो उत्कृष्ट सृजनाको श्रेय क्रमविकासलाई दिएका छन्‌। के यो कुरा तर्कसङ्‌गत छ? प्रकृतिको नक्कल गर्न बुद्धिमान्‌ डिजाइनर चाहिन्छ। त्यसोभए के प्रकृतिको डिजाइन गर्न झन्‌ बुद्धिमान्‌ डिजाइनर चाहिँदैन होला र? यी डिजाइनहरूको वास्तविक श्रेय पाउन को योग्य छ—प्रमुख डिजाइनर कि नक्कल गर्ने इन्जिनियर?

सही निष्कर्ष

प्रकृतिमा पाइने विभिन्‍न डिजाइनहरूलाई नियालेर हेरेपछि थुप्रै मानिसहरू बाइबलका एक लेखक पावलको जस्तै निष्कर्षमा पुगेका छन्‌। तिनले यस्तो लेखे: ‘परमेश्‍वरका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिन्छ।’—रोमी १:१९, २०.