सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क्रमविकास—साँचो कि झूटो

क्रमविकास—साँचो कि झूटो

क्रमविकासका अग्रज वैज्ञानिक प्रोफेसर रीचर्ड डकिन्सले यस्तो दाबी गरेका थिए: “यदि तपाईँ घाम तातो हुन्छ भनेर विश्‍वास गर्नुहुन्छ भने क्रमविकासमा पनि विश्‍वास गर्नुपर्छ।”१६ घाम तातो छ भनेर आफैले अनुभव गर्न र वैज्ञानिक परीक्षणद्वारा पनि प्रमाणित गर्न सकिन्छ। तर के क्रमविकासको शिक्षा अवलोकन अनि परीक्षणबाट प्रमाणित भइसकेको छ?

यस प्रश्‍नको जवाफ पाउनुअघि हामी एउटा कुरामा स्पष्ट हुन जरुरी छ। वर्षौँको दौडान बोटबिरुवा र जनावरहरूको सन्तान दरसन्तानमा केही परिवर्तनहरू हुन सक्छ भनेर थुप्रै वैज्ञानिकहरूले टिप्पणी गरेका छन्‌। उदाहरणको लागि, दुई बेग्ला-बेग्लै जातको कुकुरको प्रजनन गराएर फरक किसिमको अर्थात्‌ छोटो खुट्टा वा लामो भुत्ला भएको कुकुर जन्माउन सकिन्छ। * केही वैज्ञानिकहरूले यस्ता साना परिवर्तनहरूलाई “सूक्ष्म क्रमविकास” (microevolution) भन्‍ने नाउँ दिएका छन्‌।

अरबौँ वर्षको दौडान भएका सूक्ष्म परिवर्तनले गर्दा अन्ततः ठूलो परिवर्तन भयो भनेर क्रमविकासमा विश्‍वास गर्नेहरू सिकाउँछन्‌। फलस्वरूप माछाबाट उभयचर अनि बाँदरबाट मान्छे बन्यो। यस्ता अनुमानित ठूला परिवर्तनलाई वैज्ञानिकहरू “बृहत्‌ क्रमविकास” (macroevolution) भन्‍ने गर्छन्‌।

चार्ल्स डार्विन र तिनको किताब जातिको उत्पत्ति (Origin of Species)

उदाहरणको लागि, हामीले देख्न सक्ने स-साना  परिवर्तनहरू त हुन्छ भने कसैले नदेखेको ठूलठूला परिवर्तनहरू पनि हुन्छ भनेर चार्ल्स डार्विनले बताए।१७ तिनको विचारमा एक कोषीय जीवमा बिस्तारै “अत्यन्तै हल्का परिवर्तनहरू” हुँदै गयो र कालान्तरमा लाखौँ प्रकारका जीवजन्तु बन्यो।१८

थुप्रैलाई यो तर्क चित्त बुझ्छ। ‘कुनै एक जातिको (species) जीवमा स-साना परिवर्तनहरू हुन सक्छ भने क्रमविकासले गर्दा लामो समयको दौडान त्यही जीवमा ठूलो परिवर्तन किन हुन सक्दैन र?’ भनेर उनीहरू तर्क गर्छन्‌। * क्रमविकासको शिक्षा निम्न तीन वटा झूटमा आधारित छ:

पहिलो झूट: उत्परिवर्तनले (mutations) गर्दा नयाँ जातिको उत्पत्ति हुन्छ। उत्परिवर्तन अर्थात्‌ बोटबिरुवा र जनावरहरूको जेनेटिक कोडमा हेरफेर भएमा तिनीहरूको सन्तानमा केही परिवर्तन आउने मात्र नभई बिलकुलै फरक अनि नयाँ बोटबिरुवा र जनावर पनि जन्मन सक्छ। बृहत्‌ क्रमविकासको शिक्षा यसै कुरामा आधारित छ।१९

उत्परिवर्तनले बोटबिरुवामा केही परिवर्तन ल्याउन सक्छ तर पूर्णतया परिवर्तन भने ल्याउन सक्दैन, जस्तै यो ठूलो ठिमाहा फूल

तथ्य: बोटबिरुवा वा जनावरको शारीरिक बनौट तथा रूपरङ जेनेटिक कोडमा भएका निर्देशनहरूले निर्धारण गर्छ। जेनेटिक कोड हरेक कोषको केन्द्र अर्थात्‌ न्युक्लियसमा पाइने रूपरेखा हो। * उत्परिवर्तन भएमा बोटबिरुवा अनि जनावरहरूको सन्तानमा केही परिवर्तन आउन सक्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। तर के उत्परिवर्तनले गर्दा बिलकुलै नयाँ बोटबिरुवा र जनावरको उत्पत्ति हुन सक्छ र? बितेको सय वर्षमा जीनको अध्ययनबाट पत्ता लागेको केही कुरा विचार गरौँ।

सन्‌ १९३० को दशकको अन्ततिर वैज्ञानिकहरूले उत्साहका साथ एउटा नयाँ विचार अघि सारे। वैज्ञानिकहरूका अनुसार वातावरणमा घुलमिल हुन सक्ने जीव मात्र बाँचिरहन्छ र सन्तान जन्माउँदै जान्छ। त्यस प्रक्रियालाई प्राकृतिक छनौट भनिन्छ। वैज्ञानिकहरूले प्राकृतिक छनौटले गर्दा हुने अनिर्धारित उत्परिवर्तनबाट नयाँ जातको बिरुवा उत्पन्‍न हुन्छ भनेर सोचेका थिए। त्यसैले तिनीहरूको विचारमा सुविधासम्पन्‍न प्रयोगशालामा कृत्रिम उत्परिवर्तन गराएर अझ सजिलै उन्‍नत जातको जीव उत्पन्‍न गर्न सकिन्छ। जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रिसर्चका वैज्ञानिक भोल्फ एकहार्ड लोनिग यसो भन्छन्‌, “थुप्रै जीवशास्त्रीहरू र अझ विशेष गरी जीन विशेषज्ञ अनि प्रजनन विशेषज्ञहरू यस्तो सम्भावनाले गर्दा निकै उत्साहित थिए।” * यसरी उत्साहित हुनुको कारण के थियो? बोटबिरुवामा हुने  जीनको उत्परिवर्तनको अध्ययनमा ३० वर्ष बिताइसकेका लोनिगले यसो भने: “बोटबिरुवा तथा जनावरको प्रजनन गराउने पुरानो विधिलाई मिल्काएर नयाँ विधि अपनाउने युगको थालनी भयो भन्‍ने यी विशेषज्ञहरूको विचार थियो। बोटबिरुवा तथा जनावरहरूमा उत्परिवर्तन गराएर नयाँ अनि उन्‍नत जातको बोटबिरुवा तथा जनावर बनाउन सकिन्छ भन्‍ने उनीहरूको सोचाइ थियो।”२० कसै-कसैले बिलकुलै नयाँ जाति उत्पन्‍न गर्न सकिन्छ भनेर आशा गरिरहेका थिए।

झिङ्‌गाको उत्परिवर्तनबाट बनेको ठिमाहा साधारण झिङ्‌गाभन्दा फरक देखिए तापनि त्यो झिङ्‌गा नै हो

क्रमविकासमा नयाँ आयाम थप्ने भनेर अमेरिका, एसिया अनि युरोपका वैज्ञानिकहरूले ठूलठूलो बजेटका अनुसन्धानहरू सुरु गरे। अहिले ती अनुसन्धानहरू सुरु भएको ४० वर्ष भइसक्यो। उसोभए त्यस अनुसन्धानबाट कस्तो परिणाम प्राप्त भयो? अनुसन्धानकर्ता पेटर फन जेन्गबुसले यसो भने, “धेरै पैसा खर्च गरेर विकिरणविधिबाट उत्परिवर्तन गराएर उन्‍नत जाति उत्पन्‍न गर्ने कोसिस बालुवामा पानी हाल्नु सरह भएको छ।”२१ लोनिगअनुसार “सन्‌ १९८० को दशक सुरु हुँदासम्ममा संसारभरिका वैज्ञानिकहरूको उत्साह अनि आशा धूलोमा मिलिसकेको थियो। पश्‍चिमी मुलुकहरूमा त उत्परिवर्तन गरेर नयाँ ठिमाहा जाति निकाल्ने प्रक्रियालाई अनुसन्धानको छुट्टै विषयको रूपमा लिन समेत छाडियो। उत्परिवर्तनबाट जन्मिएका प्रायजसो ठिमाहा मरे भने बाँकी चाहिँ झनै कमजोर भए।” *

तथापि बितेको सय वर्षभित्र उत्परिवर्तनसित सम्बन्धित अनुसन्धान गरेर सङ्‌कलन गरिएका जानकारी अनि उत्परिवर्तनद्वारा नयाँ ठिमाहा जाति निकाल्न विगत ७० वर्षमा गरिएका विभिन्‍न प्रयोगहरूबाट वैज्ञानिकहरूले धेरै कुरा सिक्न सकेका छन्‌। यी सबै जानकारी तथा प्रमाणहरूको अध्ययन गरेपछि लोनिग यस्तो निष्कर्षमा पुगे: “उत्परिवर्तनले [बोटबिरुवा वा जनावरको] मौलिक जातिलाई परिवर्तन गरेर पूर्णतया नयाँ किसिमको जीव उत्पन्‍न गर्न सकिँदैन। यो निष्कर्ष २०औँ शताब्दीमा भएका उत्परिवर्तनको अध्ययन तथा प्रयोगद्वारा बटुलिएको सबै अनुभव, नतिजा र सम्भाव्यताको नियमसित मेल खान्छ।”

त्यसोभए के उत्परिवर्तनले गर्दा पूर्णतया नयाँ जीव उत्पन्‍न हुन सक्छ? अहँ सक्दैन। यो कुरा प्रमाणहरूले स्पष्ट पारेको छ। लोनिग यस्तो निष्कर्षमा पुगेका छन्‌: “प्रत्येक मौलिक जातिहरूको आफ्नै निश्‍चित वंशाणुगत सीमा हुन्छ र कुनै अचानक भएको उत्परिवर्तनले त्यो सीमा तोड्‌न वा पार गर्न सक्दैन।”२२

अब विचार गर्नुहोस्‌, यत्ति धेरै ज्ञान अनि प्रशिक्षण पाइसकेका वैज्ञानिकहरूले त उत्परिवर्तन गराएर आफूले चाहे बमोजिमको नयाँ जाति उत्पन्‍न गर्न सकेनन्‌ भने के कसैको हस्तक्षेपविनाको प्रक्रियाले नयाँ जाति उत्पन्‍न गर्न सक्ला? उत्परिवर्तनले मौलिक बोटबिरुवा वा जनावरलाई परिवर्तन गरी नयाँ जीव बनाउन सक्दैन भनेर अनुसन्धानबाट पुष्टि भइसकेको छ। त्यसोभए के बृहत्‌ क्रमविकासले गर्दा नयाँ जीवहरूको उत्पत्ति भएको हो भनेर स्विकार्नु तर्कसङ्‌गत छ?

दोस्रो झूट: प्राकृतिक छनौटले गर्दा नयाँ जातिको उत्पत्ति हुन्छ। वातावरणमा घुलमिल हुन सक्ने जीव बाँचिरहन्छ र घुलमिल हुन नसक्ने जीव अन्ततः लोप भएर जान्छ भनेर डार्विन विश्‍वास गर्थे। तिनले यो प्रक्रियालाई प्राकृतिक छनौट भने। नयाँ जातिको उत्पत्ति अनि वृद्धि हुँदै गएपछि जुन-जुन जाति नयाँ वातावरणसँगै घुलमिल हुन सक्यो त्यसलाई मात्र प्रकृतिले छान्दै गयो भनेर आधुनिक क्रमविकासवादीहरू सिकाउँछन्‌। यसरी वातावरणसँगसँगै घुलमिल हुन सकेका जीवहरू नै कालान्तरमा नयाँ जीवहरूमा परिवर्तन भए भनेर क्रमविकासवादीहरू अनुमान लगाउँछन्‌।

तथ्य: उत्परिवर्तनले गर्दा नयाँ जातको बोटबिरुवा वा जनावरको उत्पत्ति हुन सक्दैन भनेर विभिन्‍न अनुसन्धानबाट पुष्टि भइसक्यो भनेर हामीले माथि बुझ्यौँ। त्यसोभए उत्परिवर्तन भएका उन्‍नत जातिहरूलाई  प्राकृतिक छनौटले नयाँ जातिमा परिणत गर्न सक्छ भन्‍ने कस्ता प्रमाणहरू क्रमविकासवादीहरू पेस गर्छन्‌? सन्‌ १९९९ मा अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेसले निकालेको पुस्तिकामा “डार्विनले गालापागोस टापुमा अध्ययन गरेका फिन्च चराको १३ जातिहरूको” विषयमा चर्चा गरिएको छ।२३

सन्‌ १९७० को दशकमा पिटर आर. अनि बि. रोजमेरी ग्रान्टको समूहले यी फिन्च चराहरूको अध्ययन सुरु गरेको थियो। अध्ययनबाट के पत्ता लाग्यो भने, एक वर्ष खडेरी हुँदा छोटो चुच्चो भएको फिन्चहरूभन्दा लामो चुच्चो भएका फिन्चहरू सजिलै बाँच्दा रहेछन्‌। फिन्चको १३ वटा जातिलाई छुट्याउने विशेषता नै चुच्चोको आकार र बनौट भएकोले पिटर र रोजमेरीको यस खोजलाई महत्त्वपूर्ण मानिएको थियो। माथि उल्लिखित पुस्तिकाअनुसार “हरेक १० वर्षमा एक चोटि खडेरी लाग्यो भने नयाँ जातिको फिन्च चरा उत्पत्ति हुन २०० वर्ष लाग्न सक्छ भनेर ग्रान्ट दम्पतीले अनुमान लगाए।”२४

तर नेसनल एकडेमी अफ साइन्सेसले निकालेको यस पुस्तिकामा केही महत्त्वपूर्ण तथ्यहरूलाई भने समावेश गरिएको छैन। खडेरीको बेला छोटो भन्दा लामो चुच्चो भएको फिन्चहरू सजिलै बाँच्ने भए तापनि मौसम परिवर्तन भएको केही वर्षभित्रै छोटो चुच्चो हुने फिन्चहरूकै सङ्‌ख्या बढेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌। तिनीहरूले बेग्ला-बेग्लै जातका फिन्च चराहरूबाट जन्मेका फिन्च चराहरू आफ्ना माउहरूभन्दा लामो समय बाँच्दा रहेछन्‌ भनेर पत्ता लगाए। यसरी बेग्ला-बेग्लै जातका चराहरूबाट सन्तान जन्माउने हो भने दुई वटा “जाति” मिलेर एउटा नयाँ जातिको फिन्च चरा बन्‍नेछ भन्‍ने निष्कर्षमा तिनीहरू पुगे।२५

फिन्च चराहरूको अध्ययनबाट जीवहरू बदलिँदो वातावरणसित घुलमिल हुन सक्छन्‌ भनेर देखिन्छ

त्यसोभए के प्राकृतिक छनौटले गर्दा साँच्चै नयाँ जाति उत्पन्‍न हुन्छ? दशकौँ अघि क्रमविकासवादी जीवशास्त्री जर्ज क्रिष्टोफर विल्यमसले ‘प्राकृतिक छनौटले नयाँ जाति उत्पन्‍न गर्न सक्छ र?’ भनेर प्रश्‍न गरे।२६ प्राकृतिक छनौटले जातिलाई नयाँ वातावरणसित घुलमिल हुन मदत गर्न सक्छ होला तर नयाँ जाति नै उत्पत्ति गर्न सक्दैन भनी सन्‌ १९९९ मा क्रमविकासवादी जेफ्री सोर्टसले लेखे।२७

हुन पनि डार्विनले अध्ययन गरेका फिन्च चराहरू अहिले पनि जस्ताको तस्तै छन्‌। प्राकृतिक छनौटले कुनै “नयाँ जाति उत्पत्ति गरेको छैन।” त्यसमाथि बेग्ला-बेग्लै जातका फिन्च चराहरू मिलेर नयाँ जातको फिन्च चरा जन्माउन सक्छ भनी पत्ता लागेको तथ्यले वास्तवमा क्रमविकासवादीहरूले नयाँ जाति भनेर केलाई  भन्‍न खोजेका हुन्‌ भन्‍ने प्रश्‍न खडा गर्छ। यसबाहेक नाउँ चलेका वैज्ञानिक प्रतिष्ठानहरूले समेत प्रमाणलाई बङ्‌ग्याएर आफूलाई ठीक लागेको कुरा तेर्साउँदा रहेछन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ।

तेस्रो झूट: जीवावशेषले बृहत्‌ क्रमविकास भएको हो भन्‍ने प्रमाण दिन्छ। माथि उद्धृत नेसनल एकडेमी अफ साइन्सेसको पुस्तिकामा बृहत्‌ क्रमविकासलाई प्रमाणित गर्ने पर्याप्त जीवावशेष वैज्ञानिकहरूले फेला पारिसकेका छन्‌ भनेर भान पार्न खोजिएको देखिन्छ। उक्‍त पुस्तिकाको एउटा अंश यसो भन्छ: “माछाबाट उभयचर, उभयचरबाट घस्रने जीव, घस्रने जीवबाट स्तनधारी अनि बाँदरको पनि एउटा जाति अर्को जातिमा परिवर्तन हुँदै गएको कुरालाई प्रमाणित गर्ने धेरै किसिमका जीवहरू फेला परिसकेका छन्‌। तिनीहरू कुन चरणमा परिवर्तन भयो भनेर वर्गीकरण गर्न गाह्रो छ।”२८

तथ्य: नेसनल एकेडेमी अफ साइन्सेसले गर्वका साथ व्यक्‍त गरेको यो निष्कर्ष पत्याउन गाह्रो छ। किन? वास्तवमा जीवावशेषहरूको रेकर्डलाई हेर्दा निकै लामो समयसम्म “धेरैजसो जीवमा कुनै परिवर्तन आएन” भन्‍ने कुरा प्रस्टै देखिन्छ भनेर क्रमविकासका कट्टर समर्थक नाइल्ज एल्ड्रेज स्विकार्छन्‌। *२९

जीवावशेषहरूको अध्ययनअनुसार सबै मौलिक प्राणी अचानक देखा परे र कहिल्यै परिवर्तन भएनन्‌

आजको मितिसम्म संसारभरिका वैज्ञानिकहरूले लगभग २० करोड ठूला अनि अरबौँ साना जीवावशेषहरू सङ्‌कलन गरिसकेका छन्‌। यस्तो विस्तृत अनि विशाल जीवावशेषहरूको सङ्‌कलनले सबै मौलिक जीवहरू एक्कासि देखा परेको र उनीहरूमा कुनै परिवर्तन नआएको अनि धेरैजसो जीवहरू एक्कासि लोप भएको प्रमाण दिन्छ भन्‍ने कुरामा थुप्रै अनुसन्धानकर्ताहरू सहमत छन्‌।

क्रमविकास —एउटा आधारविनाको विश्‍वास

उसोभए थुप्रै नाउँ चलेका क्रमविकासवादीहरू किन बृहत्‌ क्रमविकास तथ्य हो भनेर जिद्दी गर्छन्‌? नाउँ चलेको एक जना क्रमविकासवादी रिचर्ड लवन्टनले इमानदारीपूर्वक लेखे कि थुप्रै वैज्ञानिकहरूले ‘देखिने कुरामा मात्र विश्‍वास गर्ने र सबै थोक ईश्‍वरीय हस्तक्षेपविना नै अस्तित्वमा आयो’ भनेर कसम खाइसकेका हुन्छन्‌। त्यसैले प्रमाणले जेसुकै देखाए पनि तिनीहरू क्रमविकासलाई तथ्यको रूपमा स्विकार्न तयार हुन्छन्‌। अधिकांश वैज्ञानिकहरू बुद्धिमान्‌ रचनाकार छ कि भनेर कोट्याउन समेत चाहँदैनन्‌। किनकि लवन्टनले यस्तो लेखे: “हाम्रो लागि ईश्‍वरको कुनै ठाउँ छैन।”३०

यसै सन्दर्भमा एउटा पत्रिकामा (Scientific American) समाजशास्त्री रड्‌नी स्टार्कको यो भनाइ उल्लेख गरिएको थियो: “विज्ञानमा विश्‍वास गर्ने व्यक्‍तिले धर्मलाई आफ्नो दिमागबाट पूरै हटाउनुपर्छ भनेर जोड दिन थालेको २०० वर्ष भइसक्यो।” स्टार्कले वैज्ञानिक अनुसन्धान गरिने विश्‍वविद्यालयहरूमा “धर्ममा विश्‍वास राख्ने व्यक्‍तिहरू मुख सिलाएर बस्छन्‌” भनेर पनि बताए।३१

यदि तपाईँ बृहत्‌ क्रमविकासको शिक्षा साँचो हो भनेर स्विकार्न चाहनुहुन्छ भने तपाईँले ईश्‍वरमा विश्‍वास नगर्ने वैज्ञानिकहरू विज्ञानले पत्ता लगाएका कुराहरूमा आफ्नो व्यक्‍तिगत धारणाहरू घुसाउँदैनन्‌ भनेर स्विकार्नुपर्छ। उत्परिवर्तनले एउटा जीवलाई नयाँ जीवमा परिवर्तन गर्न सकेको छैन भनेर एक शताब्दी लामो अनुसन्धानले प्रमाणित गरिसकेको भए तापनि उत्परिवर्तन र प्राकृतिक छनौटले गर्दा नै सबै जटिल जीवहरूको उत्पत्ति भएको हो भनेर तपाईँले विश्‍वास गर्नुपर्छ। सबै मौलिक बोटबिरुवा अनि जनावरहरू अचानक देखा परे अनि अरबौँ वर्ष बितिसक्दा पनि कहिल्यै परिवर्तन भएर अर्कै जीव बनेन भनेर जीवावशेषको अध्ययनले प्रमाणित गरिसकेको छ। तैपनि सबै जीवहरू एउटै जीवबाट विकास हुँदै देखा परेका हुन्‌ भनेर तपाईँले विश्‍वास गर्नुपर्छ। यस्तो विश्‍वास सत्यमा आधारित छ या झूटमा? साँच्चै, क्रमविकास एउटा आधारविनाको विश्‍वास हो।

^ अनु. 3 जीनमा हुने गडबडीले गर्दा नयाँ प्रकारको कुकुर जन्मन सक्छ। उदाहरणको लागि, डाक्सहुन्ट जातको कुकुर होचो हुनुको कारण कुर्कुरे हाड राम्ररी विकास हुन नसकेर हो।

^ अनु. 6 यस लेखमा “जाति” भन्‍ने शब्द बारम्बार चलाइएको छ। तर यहाँ जाति भनेर चलाइएको शब्द बाइबलको उत्पत्ति भन्‍ने किताबमा प्रयोग गरिएको ‘जातजातका’ भनेर चलाइएको शब्दभन्दा फरक छ। बाइबलमा चलाइएको “जातजातका” भन्‍ने शब्दले “किसिम-किसिमको, विभिन्‍न प्रकारको” भन्‍ने अर्थ दिन्छ। तर अक्सर वैज्ञानिकहरूले नयाँ जाति भनेर नाउँ दिएको जीव बिलकुलै नयाँ जीव नभएर उत्पत्तिमा उल्लिखित एउटै ‘जात’ भित्रको अर्को प्रजाति मात्र हो।

^ अनु. 8 कोषको साइटोप्लाज्म, त्यसको झिल्ली र अन्य तत्वहरूले पनि जीवको बनौट वा कामलाई असर गर्छ भनेर अनुसन्धानले देखाएको छ।

^ अनु. 9 लोनिग जीवन सृष्टि गरिएको थियो भनेर विश्‍वास गर्थे। तिनले यस लेखमा व्यक्‍त गरेका विचारहरू नितान्त व्यक्‍तिगत विचारहरू हुन्‌ र त्यसको म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रिसर्चसँग कुनै सरोकार छैन।

^ अनु. 10 उत्परिवर्तबाट नयाँ किसिमको ठिमाहा जातिको बोट निस्कनुको साटो एउटै किसिमको ठिमाहा जाति मात्र निस्किरह्‍यो। यसरी उत्परिवर्तनबाट निस्केका बोटहरूमध्ये एक प्रतिशतभन्दा कम मात्र थप अनुसन्धानका लागि योग्य ठहरिए भने यो एक प्रतिशतको पनि एक प्रतिशत मात्र व्यापारिक प्रयोजनका लागि उपयुक्‍त पाइयो। बोटबिरुवाको जस्तै जनावरहरूको उत्परिवर्तनबाट नयाँ ठिमाहा जाति निकाल्ने प्रयास पनि बालुवामा पानी हाले सरह भयो। पछि यो विधिलाई पूर्णतया त्यागियो।

^ अनु. 21 क्रमविकासको प्रमाणस्वरूप पेस गरिएका केही जीवावशेषहरूबारे अनुसन्धानकर्ताहरूको धारणा फरक-फरक छ। यहोवाका साक्षीहरूद्वारा प्रकाशित जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न पुस्तिकाको पृष्ठ २२ देखि २९ हेर्नुहोस्‌।