सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एकमात्र जीवित ग्रह

एकमात्र जीवित ग्रह

पृथ्वीसम्बन्धी यस्ता तथ्यहरू पत्ता लागेका छन्‌ जसले गर्दा आज पृथ्वीमा जीवन सम्भव भएको छ। केही मानिसहरू यसलाई “संयोग” मात्र ठान्छन्‌। बीसौँ शताब्दीसम्म आइपुग्दा पनि मानिसहरूले ती तथ्यहरूबारे थाह पाएका थिएनन्‌ वा त्यसलाई राम्ररी बुझ्न सकेका थिएनन्‌। मानिसहरूले केवल “संयोग” ठानेका तथ्यहरू यसप्रकार छन्‌:

  • आकाशगङ्‌गा तारापुञ्जमा र सौर्यमण्डलमा पृथ्वीको स्थान, पृथ्वीले सूर्यको परिक्रमा गर्ने कक्ष, पृथ्वीको ढल्काइ, घुम्ने गति अनि असाधारण चन्द्रमा

  • पृथ्वीको दुइटा सुरक्षा कवच—चुम्बकीय क्षेत्र र वायुमण्डल

  • पृथ्वीको हावापानी सफा गर्ने र त्यसको परिपूर्ति गर्ने प्राकृतिक चक्रहरू

यी प्रत्येक तथ्यबारे विचार गर्दा आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘पृथ्वीका यस्ता विशेषताहरू कसरी सम्भव भए? संयोगवश वा कसैले विशेष उद्देश्‍य राखेर डिजाइन गरेकोले?’

 पृथ्वीको लागि सबैभन्दा उत्तम “स्थान”

पृथ्वी अहिलेको भन्दा फरक स्थानमा भएको भए के यसमा जीवन रहन सम्भव हुन्थ्यो?

आफ्नो ठेगाना लेख्नुपर्दा तपाईँ के-के लेख्नुहुन्छ? सायद आफ्नो देश, सहर अनि आफू बस्ने ठाउँको मार्ग लेख्नुहुन्छ होला। अब मानौँ, आकाशगङ्‌गा तारापुञ्ज पृथ्वीको “देश” हो, सौर्यमण्डल (सूर्य र त्यसलाई परिक्रमा गर्ने ग्रहहरू) पृथ्वीको “सहर” हो अनि पृथ्वीले सूर्यको परिक्रमा गर्ने कक्ष चाहिँ पृथ्वीको “मार्ग” हो। खगोलशास्त्र अनि भौतिकशास्त्रमा भएको उन्‍नतिले गर्दा वैज्ञानिकहरूले ब्रह्‍माण्डमा हाम्रो पृथ्वीको विशेष स्थानबारे अझ धेरै कुरा पत्ता लगाएका छन्‌ अनि त्यसका फाइदाहरू पनि थाह पाएका छन्‌।

अब हाम्रो “सहर,” सौर्यमण्डलबारे कुरा गरौँ। सौर्यमण्डल आकाशगङ्‌गा तारापुञ्जको एकदमै ठीक ठाउँमा अवस्थित छ। यो आकाशगङ्‌गाको केन्द्रबाट एकदम नजिक पनि छैन र एकदम टाढा पनि छैन। यसलाई वैज्ञानिकहरू “जीवन सम्भव हुने अनुकूल क्षेत्र” (habitable zone) भन्छन्‌। किनकि यहाँ जीवन धान्‍न आवश्‍यक पर्ने रासायनिक तत्त्वका समिश्रणहरू ठीक मात्रामा पाइन्छन्‌। आकाशगङ्‌गा तारापुञ्जको केन्द्रदेखि टाढा पर्ने ठाउँहरूमा यी तत्त्वहरू एकदमै कम मात्रामा पाइन्छन्‌। अनि केन्द्रबाट नजिकका ठाउँहरूमा हानिकारक विकिरणहरू अत्यधिक मात्रामा छन्‌। यो अनि अन्य कारणहरूले गर्दा त्यहाँ पनि जीवन सम्भव छैन। एउटा पत्रिकाले (Scientific American) बताएअनुसार “हामी सबैभन्दा उत्तम ठाउँमा बसिरहेका छौँ।”

उपयुक्‍त “मार्ग”: पृथ्वीको “मार्ग” अर्थात्‌ सूर्यको परिक्रमा गर्ने पृथ्वीको कक्ष पनि “उपयुक्‍त” छ। यो कक्ष सूर्यदेखि करिब १५ करोड किलोमिटर टाढा पर्छ अनि जीवन सम्भव हुने अनुकूल क्षेत्रमा पर्छ। त्यसैले यहाँ जीवहरू न त चिसोले जम्छन्‌, न डढेर खरानी नै हुन्छन्‌। साथै पृथ्वीको कक्ष लगभग गोलाकार छ, त्यसैले वर्षभरि नै पृथ्वी र सूर्यबीचको दूरी लगभग एकैनास रहन्छ।

साथै सूर्य पृथ्वीको लागि उर्जाको सबैभन्दा उपयुक्‍त स्रोत हो। यसको आकार पनि ठिक्कको छ। त्यसैले पृथ्वीलाई जति उर्जा आवश्‍यक पर्छ त्यति नै उर्जा पृथ्वीले प्राप्त गर्छ। त्यसैले यसलाई “विशेष तारा” भन्‍नु सुहाउँदो छ।

असल “छिमेकी”: चन्द्रमा पृथ्वीको “सबैभन्दा नजिकको छिमेकी” हो र पृथ्वीको लागि योभन्दा असल छिमेकी सायद अरू कुनै छैन। चन्द्रमाको व्यास पृथ्वीको व्यासको एक चौथाइभन्दा अलिकति मात्र धेरै छ। सौर्यमण्डलका अरूग्रहहरू र तिनीहरूको उपग्रहको साइज  एक-आपसमा तुलना गर्ने हो भने ती उपग्रहहरू आफ्नो ग्रहको तुलनामा निकै साना छन्‌। तर पृथ्वीको चन्द्रमा भने त्यस अनुपातमा ठूलो छ। के यो संयोग मात्र हो? त्यसो होइन जस्तो देखिन्छ।

एउटा कारण त, चन्द्रमाले गर्दा समुद्रमा ज्वारभाटा आउँछ, जसले पृथ्वीको पर्यावरणलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। साथै पृथ्वी आफ्नै अक्षमा स्थिर रहेर घुमिरहन सक्नुमा पनि चन्द्रमाको ठूलो योगदान छ। चन्द्रमालाई खास उद्देश्‍यले डिजाइन नगरिएको भए पृथ्वी यता-उता हुर्रिने थियो अनि कहिले दायाँ त कहिले बायाँ ढल्कने थियो। त्यसले गर्दा समुद्रको ज्वारभाटा अनि पृथ्वीको मौसममा प्रतिकूल असर पर्ने थियो, साथै अरू थुप्रै परिवर्तन पनि हुने थियो। यी सबैको नतिजा विनाशकारी हुने थियो।

पृथ्वीको ठिक्कको ढल्काइ र घुमाइ: पृथ्वी २३.४ डिग्रीमा ढल्किएको छ। यसले गर्दा हरेक वर्ष ऋतुहरू परिवर्तन हुन्छ, तापक्रम सन्तुलित रहन्छ अनि पृथ्वीमा भिन्‍नाभिन्‍नै हावापानीका क्षेत्रहरू पाइन्छ। त्यसैले एउटा किताब (Rare Earth—Why Complex Life Is Uncommon in the Universe) यसो भन्छ, “हाम्रो पृथ्वी जति डिग्रीमा ढल्किएको छ, त्यो जीवन धान्‍नको लागि एकदम उपयुक्‍त छ जस्तो देखिन्छ।”

पृथ्वी घुम्ने गतिले गर्दा दिन र रातको लम्बाइ पनि ठिक्कको छ। यदि पृथ्वी घुम्ने गति कम हुँदो हो त दिन लामो हुने थियो र सूर्यतिर फर्केको पृथ्वीको भाग असाध्यै तात्तिने थियो भने अर्को भागचाहिँ चिसोले जम्ने थियो। अर्कोतर्फ, पृथ्वी घुम्ने गति छिटो हुँदो हो त दिन छोटो, केही घण्टाको मात्र हुने थियो। साथै पृथ्वी घुम्ने गति छिटो हुँदा निरन्तर प्रचण्ड आँधी चलिरहने थियो र पृथ्वीमा अरू हानिकारक असरहरू पर्ने थियो।

पृथ्वीका सुरक्षा कवचहरू

हानिकारक विकिरणहरू अनि उल्कापिण्डहरू धेरै भएकोले अन्तरिक्ष निकै खतरनाक ठाउँ हो। तर हाम्रो पृथ्वीलाई भने यस्ता खतराहरूको कुनै डर छैन। किन? किनकि पृथ्वीलाई अद्‌भुत कवचहरूले जोगाइराखेका छन्‌। ती हुन्‌, शक्‍तिशाली चुम्बकीय क्षेत्र र विशेष तरिकामा डिजाइन गरिएको वायुमण्डल।

पृथ्वीको अदृश्‍य चुम्बकीय कवच

पृथ्वीको चुम्बकीय क्षेत्र: पृथ्वीको केन्द्र घुमिरहने पग्लिएको फलामको भकुन्डोजस्तै छ। त्यसले गर्दा पृथ्वीले विशाल र शक्‍तिशाली चुम्बकीय क्षेत्र पैदा गर्छ, जुन अन्तरिक्षसम्मै फैलिएको छ। यसले पृथ्वीलाई अन्तरिक्षमा पाइने विकिरणहरू र सूर्यबाट उत्पन्‍न हुने हानिकारक तत्त्वहरूदेखि कवचले झैँ जोगाउँछ। जस्तै: सौर्य आँधी, जुन सूर्यबाट निरन्तर आइरहने प्रोटोन तथा इलेक्ट्रोनजस्ता तत्त्वहरूको बाढीजस्तै हुन्छ; सौर्य ज्वाला, जसले एक मिनेटमा निकाल्ने ऊर्जा अरबौँ हाइड्रोजन बम विस्फोट हुँदा निस्कने ऊर्जा बराबर हुन्छ। साथै यस चुम्बकीय क्षेत्रले हामीलाई सूर्यको बाहिरी सतहमा (Corona) विस्फोट हुँदा अन्तरिक्षमा हुर्रिने अरबौँ अरब टन हानिकारक तत्त्वहरूदेखि पनि जोगाउँछ। पृथ्वीको चुम्बकीय क्षेत्रले यसरी सुरक्षा दिइरहेको कुराको प्रमाण हामी आफ्नै आँखाले देख्न सक्छौँ। सौर्य ज्वाला निस्कँदा अनि सूर्यको बाहिरी सतहमा विस्फोट भएको  कारणले गर्दा वायुमण्डलको माथिल्लो सतहमा रङ्‌गीचङ्‌गी प्रकाशहरू (aurora) देखा पर्ने गर्दछन्‌, जुन पृथ्वीका दुई चुम्बकीय ध्रुव नजिकैका ठाउँहरूबाट देख्न सकिन्छ।

उत्तरी ध्रुवमा देखिने रङ्‌गीचङ्‌गी प्रकाश

पृथ्वीको वायुमण्डल: वायुमण्डलबाट हामी सास फेर्ने हावा मात्र होइन, सुरक्षा पनि पाउँछौँ। वायुमण्डलको बाहिरी तह अर्थात्‌ समतापमण्डल-मा (stratosphere) अक्सिजनको एक रूप—ओजोन तह पनि हुन्छ, जसले पृथ्वीतर्फ आइरहेको ९९ प्रतिशत पराबैजनी (UV) विकिरण सोस्ने गर्छ। यसरी ओजोन तहले थुप्रै जीव-जीवाणुलाई हानिकारक विकिरणदेखि जोगाएको छ। यसमा मानिसहरूका साथै समुद्रमा पाइने अत्यन्त साना जीव अनि बोटबिरुवा (plankton) पनि पर्छन्‌, जसले पृथ्वीमा पाइने अधिकांश अक्सिजन उत्पादन गर्छ। समतापमण्डलमा ओजोनको मात्रा सधैँ एकैनासको रहँदैन। पराबैजनी विकिरणको मात्रा बढ्‌दा ओजोनको मात्रा पनि बढ्‌ने गर्छ। त्यसैले ओजोन तह परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने निकै प्रभावकारी सुरक्षा कवच हो।

वायुमण्डलले हामीलाई उल्कापिण्डहरूदेखि जोगाउँछ

वायुमण्डलले हामीलाई अन्तरिक्षबाट दिनहुँ आउने लाखौँ स-साना ढुङ्‌गादेखि लिएर ठूलठूला चट्टानहरूबाट जोगाउने गर्छ। तीमध्ये अधिकांश ढुङ्‌गा तथा चट्टानहरू वायुमण्डलमा प्रवेश गरेपछि जलेर नष्ट हुन्छन्‌। त्यतिबेला हामी आकाशमा तारा खस्दै गरेको जस्तो देख्छौँ, जसलाई उल्का भनिन्छ। तर पृथ्वीको चुम्बकीय क्षेत्र र वायुमण्डलले जीवनको लागि आवश्‍यक पर्ने ताप अनि प्रकाशलाई छेक्दैन। वायुमण्डलले सूर्यको तापलाई पृथ्वीको चारैतिर फैलाउन मदत पनि गर्छ र रातमा चाहिँ यसले सिरकले जस्तै काम गर्छ, यसले सूर्यबाट प्राप्त तापलाई छिट्टै उम्कन दिँदैन।

पृथ्वीको वायुमण्डल र चुम्बकीय क्षेत्र साँच्चै उत्कृष्ट तरिकामा डिजाइन गरिएका छन्‌। तीबारे मानिसहरूले अहिलेसम्म राम्ररी बुझ्न सकेका छैनन्‌। पृथ्वीमा जीवन धान्‍न टेवा पुऱ्‍याइरहेका विभिन्‍न प्राकृतिक चक्रहरूबारे पनि त्यसै भन्‍न सकिन्छ।

पृथ्वीलाई दुइटा शक्‍तिशाली कवचहरूले सुरक्षा दिइरहेका छन्‌, के यो संयोग मात्र हो?

 वातावरणीय चक्रहरू

यदि कुनै घरमा सफा हावा-पानीको आपूर्ति पूरै बन्द गरियो, त्यहाँको ढलनिकास पनि बन्द गरियो अनि घरबाट निस्केको फोहोरमैला अन्त कतै नलगी घरमै थुपारेर राखियो भने त्यस घरमा बस्न असम्भव हुनेछ। पृथ्वी पनि एक अर्थमा त्यही घरजस्तै छ। हामीले लिइरहेको सफा हावापानी बाहिर अन्तरिक्षबाट ढुवानी गरिएको होइन, न त यहाँ पैदा हुने फोहोरमैलालाई अन्तरिक्षमा लगेर नै फ्याँकिन्छ। तैपनि यहाँको वातावरण स्वच्छ र बस्न योग्य छ। यो कसरी सम्भव भइरहेको छ? वातावरणीय चक्रहरूले गर्दा। जस्तै; जल-चक्र, कार्बन-अक्सिजन चक्र अनि नाइट्रोजन चक्र। यी चक्रहरूबारे तलका अनुच्छेदहरूमा सरल तरिकामा व्याख्या गरिएको छ।

जल-चक्र: जीवनको लागि पानी नभई हुँदैन। पानी विना हामी धेरै दिन बाँच्न सक्दैनौँ। पृथ्वीभरि नै ताजा अनि सफा पानीको आपूर्ति गर्ने काम जल-चक्रले गर्छ। यसमा तीन वटा प्रक्रिया समावेश छन्‌। (१) सूर्यको तापले गर्दा वाष्पीकरण हुन्छ, अर्थात्‌ पानी वाफ भएर वायुमण्डलमा जान्छ। (२) यो सफा पानी बादलमा परिणत हुन्छ। यसलाई द्रवीकरण भनिन्छ। (३) त्यसपछि बादलको पानी झरी, हिउँ र असिना बनेर धर्तीमा झर्छ। यसरी जल-चक्र पूरा हुन्छ। पृथ्वीले हरेक वर्ष कति पानी प्रशोधन र पुनः प्रयोग गर्छ? एउटा अनुमानअनुसार, पृथ्वीको सम्पूर्ण भूभागलाई समतल बनाउने हो भने पृथ्वीले हरेक वर्ष सम्पूर्ण भूभागलाई साढे दुई फिटभन्दा धेरै गहिराइसम्म डुबाउने पानी प्रशोधन र पुनः प्रयोग गर्छ।

कार्बन-अक्सिजन चक्र: बाँच्नको लागि सास फेर्नै पर्छ। सास फेर्दा हामी अक्सिजन लिन्छौँ अनि कार्बन डाइअक्साइड फ्याँक्छौँ। पृथ्वीमा अनगिन्ती मानिस तथा जीवजन्तुहरूले त्यसै गरिरहेका छन्‌। तैपनि वायुमण्डलमा किन अक्सिजन रित्तिँदैन अनि कार्बन डाइअक्साइड भरिँदैन? कार्बन-अक्सिजन चक्रले गर्दा। (१) प्रकाश संश्‍लेषण (photosynthesis) भनिने प्रक्रियाको दौडान रूख-बिरुवाले हामीले फ्याँक्ने कार्बन डाइअक्साइड लिन्छ अनि त्यो र सूर्यको किरणबाट पाएको ऊर्जा प्रयोग गरेर त्यसलाई कार्बोहाइड्रेट र अक्सिजनमा परिणत गर्छ। (२) जब हामी त्यो अक्सिजन लिन्छौँ, तब यो चक्र पूरा हुन्छ। यसरी पृथ्वीमा कार्बोहाइड्रेट अनि सास फेर्न चाहिने अक्सिजनको उत्पादन सफा, शान्त अनि प्रभावकारी ढङ्‌गमा भइरहेको हुन्छ।

 नाइट्रोजन चक्र: पृथ्वीमा जीवन सम्भव हुनको लागि प्रोटिनजस्ता विभिन्‍न जैविक अणुहरूको उत्पादन पनि आवश्‍यक छ। (क) यस्ता अणु उत्पादन गर्नको लागि नाइट्रोजन आवश्‍यक पर्छ। खुसीको कुरा, वायुमण्डलमा पाइने ७८ प्रतिशत ग्याँस नाइट्रोजन नै हो। बिजुली चम्कँदा वायुमण्डलमा भएको नाइट्रोजन बोट-बिरुवाले सोस्न सक्ने यौगिक (compounds) पदार्थहरूमा परिणत हुन्छ। (ख) त्यसपछि बोट-बिरुवाले त्यसलाई जैविक अणुमा परिणत गर्छ। जनावरहरूले ती बोट-बिरुवा खाएपछि तिनीहरूले पनि नाइट्रोजन प्राप्त गर्छन्‌। (ग) अन्तमा, जब ती बोट-बिरुवा अनि जनावरहरू मर्छन्‌, तब ती सड्‌ने क्रममा तिनीहरूमा भएका नाइट्रोजन यौगिकहरू ब्याक्टेरियाले टुक्र्‌याउँछ। यसरी तिनीहरूमा भएको नाइट्रोजन जमिनमा अनि वायुमण्डलमा फर्कन्छ र यो चक्र पूरा हुन्छ।

पुनःप्रयोगको सर्वोत्कृष्ट नमुना!

अत्याधुनिक प्रविधिको प्रयोगले गर्दा वर्षेनी अनगिन्ती टन हानिकारक फोहोरमैला पैदा भइरहेका छन्‌, जसलाई पुनः प्रयोग गर्न सकिँदैन। अर्कोतर्फ, पृथ्वीले भने सबै फोहोरमैला रासायनिक प्रक्रियाद्वारा प्रशोधन गर्छ र त्यसलाई पुनः प्रयोग गर्छ।

तपाईँको विचारमा पृथ्वीले फोहोरमैला प्रशोधन गर्ने अनि पुनः प्रयोग गर्ने क्षमता कहाँबाट पायो? धर्म तथा विज्ञानसम्बन्धी लेखक एम. ए. कोरे यसो भन्छन्‌, “यदि पृथ्वीको पर्यावरण संयोगवश आफै विकास हुँदै आएको भए यहाँको वातावरणीय तालमेल यत्तिको उत्कृष्ट हुने थिएन।” के तपाईँ तिनको कुरासित सहमत हुनुहुन्‍न र?