सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पतिहरू हो—आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्‌

पतिहरू हो—आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्‌

पतिले आफ्नी पत्नीलाई कस्तो सुरक्षा दिनुपर्छ? थुप्रै मानिसलाई सानैदेखि पतिको मुख्य कर्तव्य भनेको परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्नु हो भनेर सिकाइएको हुन्छ। तर भौतिक रूपमा सम्पन्‍न केही महिला भावनात्मक रूपमा असुरक्षित मात्र नभई डर समेत महसुस गर्छन्‌। उदाहरणको लागि रोजा नामकी स्पेनी महिलालाई लिनुहोस्‌। तिनी आफ्नो पतिको विषयमा यस्तो भन्छिन्‌: “मेरो श्रीमान्‌ अरूसित निकै राम्रो व्यवहार गर्नुहुन्थ्यो, तर घरमा भने उहाँ कठोर हुनुहुन्थ्यो।” नाइजेरियाकी जोए भन्छिन्‌: “कहिलेकाहीं मलाई श्रीमान्‌ले भनेको कुरा चित्त बुझ्दैनथ्यो। त्यतिबेला उहाँ यसो भन्‍नुहुन्थ्यो: ‘मैले भनेको हर कुरा तिमीले मान्‍नै पर्छ किनभने म तिम्रो श्रीमान्‌ हुँ।’”

त्यसोभए एक जना पुरुष कसरी मायालु पति बन्‍न सक्छन्‌? तिनले कसरी आफ्नो पत्नीलाई ‘सुरक्षित’ महसुस गराउन सक्छन्‌?—रूथ १:९.

बाइबलमा पतिको अधिकारको विषयमा के बताइएको छ?

परमेश्‍वरको नजरमा पति र पत्नी बराबर छन्‌। तर परिवारमा यी दुवैको भूमिका फरक-फरक छ भनेर बाइबलमा बताइएको छ। रोमी ७:२ अनुसार विवाहित पत्नी ‘व्यवस्थाबमोजिम पतिसित बाँधिएकी’ हुन्छिन्‌। जसरी कुनै संस्थामा सबै कामको रेखदेख गर्न एक जना प्रमुख खटाइएको हुन्छ, त्यसरी नै परमेश्‍वरले पत्नीको शिर हुन पतिलाई छान्‍नुभएको छ। (१ कोरिन्थी ११:३) पतिले आफ्नो परिवारमा नेतृत्व लिनुपर्छ।

पतिहरू हो, तपाईंले परमेश्‍वरबाट पाउनुभएको अधिकारलाई कसरी चलाउँदै हुनुहुन्छ? बाइबलमा यस्तो लेखिएको छ: “आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो।” (एफिसी ५:२५) हुन त येशू ख्रीष्टले कहिल्यै विवाह गर्नुभएन। तैपनि उहाँको उदाहरणले तपाईंलाई असल पति बन्‍न मदत गर्न सक्छ। कसरी? अब हामी यसबारे चर्चा गरौं।

येशूको जीवन-पतिहरूको लागि उत्कृष्ट नमुना

येशूले अरूलाई सान्त्वना दिनुभयो र मदत गर्नुभयो। समस्याको भारले थिचिएका र दबिएका सबैलाई येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु।” (मत्ती ११:२८, २९) उहाँ अक्सर मानिसहरूलाई निको पार्नुहुन्थ्यो र परमेश्‍वरसित नजिक हुन मदत गर्नुहुन्थ्यो। त्यसैले त थुप्रै मानिस येशूको नजिक हुन चाहन्थे। तिनीहरू येशूले सान्त्वना दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए।

पतिहरूले कसरी येशूको अनुकरण गर्न सक्छन्‌? पत्नीले गर्ने विभिन्‍न काममा सहयोग गर्नुहोस्‌। केही महिला रोजाले जस्तै महसुस गर्छन्‌। तिनले यसरी बिलौना गरिन्‌: “म आफूलाई पतिको नोकर्नी जस्तै महसुस गर्थें।” त्यसको ठीक विपरीत सुखी वैवाहिक जीवन बिताइरहेका क्वेकु यसो भन्छन्‌: “म श्रीमतीलाई कसरी मदत गरूँ भनेर सोध्ने गर्छु। म तिनलाई माया गर्छु। त्यसैले तिनलाई घरको कामकाजमा सघाउन आफै अग्रसर हुन्छु।”

येशू अरूको भावना र विचार बुझ्नुहुन्थ्यो। बाह्र वर्षदेखि एक जना गरिब स्त्रीले गम्भीर स्वास्थ्य समस्या भोगिरहेकी थिइन्‌। येशूको चमत्कार गर्ने शक्‍तिबारे सुनेर तिनले “मनमनै यस्तो सोचेकी थिई: ‘यदि मैले उहाँको लुगा मात्र छोएँ भने पनि म निको हुनेछु।’” तिनले ठीक सोचेकी थिइन्‌! येशूको लुगा छुने बित्तिकै तिनको रोग निको भयो। यो घटना देखिरहेका केही मानिसले ती स्त्रीले गर्नै नहुने काम गरिन्‌ भनेर सोचे होलान्‌। a तर येशूले ती स्त्रीको दुःखदायी अवस्था बुझ्नुभयो। उहाँले दयालु भएर यसो भन्‍नुभयो: “नानी, . . . ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।” येशूले ती स्त्रीलाई अप्ठ्यारोमा पार्नु वा गाली गर्नुभएन। तर येशूले तिनको पीडा राम्ररी बुझ्नुभएको छ भनेर थाह दिनुभयो। यसले उहाँ अरूको भावना बुझ्ने व्यक्‍ति हुनुहुन्थ्यो भनेर देखाउँछ।—मर्कूस ५:२५-३४.

पतिहरूले कसरी येशूको अनुकरण गर्न सक्छन्‌? तपाईंकी पत्नीले बिसन्चो महसुस गर्दा तिनको अझ धेरै ख्याल राख्नुहोस्‌ र तिनीसित धीरजी भई व्यवहार गर्नुहोस्‌। तपाईं तिनको अवस्थामा भएको भए कस्तो महसुस गर्नुहुन्थ्यो, विचार गर्नुहोस्‌ र तिनको व्यवहारलाई बुझ्नुहोस्‌। उदाहरणका लागि रिकार्डो यसो भन्छन्‌: “श्रीमती सानोतिनो कुरामा पनि झर्किन थालेको मैले याद गरें भने म तिनको चित्त दुखाउने कुनै पनि कुरा नभन्‍न सक्दो प्रयास गर्छु।”

येशूले आफ्ना चेलाहरूसित कुराकानी गर्नुभयो। येशूले आफ्ना चेलाहरूलाई धेरै कुरा सिकाउनुभयो र आफूले महसुस गरेको कुरा पनि तिनीहरूलाई खुलस्त भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: “आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।” (यूहन्‍ना १५:१५) हुन त येशू कहिलेकाहीं प्रार्थना गर्न र मनन गर्न एक्लै हुन चाहनुहुन्थ्यो। तर अक्सर उहाँ चेलाहरूसित आफ्नो भावना साटासाट गर्नुहुन्थ्यो। येशूले अपराधीको आरोपमा मृत्युदण्ड भोग्नुभन्दा एक रात अघि आफू ‘अत्यन्तै दुःखी’ भएको कुरा चेलाहरूलाई खुलेर बताउनुभयो। (मत्ती २६:३८) चेलाहरूको व्यवहारले गर्दा निराश हुनुपरे तापनि उहाँले तिनीहरूसित कुराकानी गर्न कहिल्यै छोड्‌नुभएन।—मत्ती २६:४०, ४१.

येशूको उदाहरणले पुरुषहरूलाई असल पति अनि बुबा बन्‍न मदत गर्छ

पतिहरूले कसरी येशूको अनुकरण गर्न सक्छन्‌? पति हो, आफ्नो विचार र भावना पत्नीलाई पोखाउनुहोस्‌। कोही-कोही महिला आफ्नो श्रीमान्‌ अरूको अगाडि खुलेर बोले तापनि घरमा भने चुपचाप रहन्छन्‌ भनेर गुनासो गर्छन्‌। तर अर्कोतर्फ आफ्नो पतिले भावना पोखाउँदा आना कस्तो महसुस गर्छिन्‌, विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌: “श्रीमान्‌ले मलाई साँच्चै माया गर्नुहुन्छ भनेर थाह पाउँदा म उहाँसित अझै घनिष्ठ भएको महसुस गर्छु।”

मौन रहेर आफ्नो पत्नीसित बदला लिने नगर्नुहोस्‌। एक महिला यसो भन्छिन्‌: “श्रीमान्‌ मसित रिसाउनुहुँदा उहाँ धेरै दिनसम्म नबोली बस्नुहुन्छ। उहाँले यसो गर्दा म आफैलाई दोषी र तुच्छ महसुस गर्छु।” तर एड्‌वीन भने येशूको अनुकरण गर्ने प्रयास गर्छन्‌। तिनी भन्छन्‌: “श्रीमतीले रिस उठाउँदा म तुरुन्तै केही भन्‍ने वा गर्ने गर्दिनँ। बरु उपयुक्‍त समय पर्खेर समस्याबारे छलफल गर्छु।”

सुरुमा बताइएको जोएले आफ्नो श्रीमान्‌ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि उनमा राम्रो परिवर्तन भएको देखिन्‌। तिनी भन्छिन्‌: “उहाँले आफूमा निकै सुधार ल्याउनुभएको छ र येशूको अनुकरण गर्दै मायालु पति बन्‍ने प्रयास गर्दै हुनुहुन्छ।” लाखौं दम्पतीले पनि यसरी नै बाइबलका निर्देशनबाट लाभ उठाइरहेका छन्‌। के तपाईं पनि त्यस्तै लाभ उठाउन चाहनुहुन्छ? चाहनुहुन्छ भने यहोवाका साक्षीहरूलाई निश्‍शुल्क बाइबल अध्ययनको लागि आग्रह गर्नुहोस्‌।

a मोशाको व्यवस्थाअनुसार यी स्त्रीको स्वास्थ्य समस्याले गर्दा तिनी धार्मिक रूपमा अशुद्ध थिइन्‌। त्यसैले तिनले छोएको जो कोही पनि अशुद्ध हुन्थ्यो।—लेवी १५:१९, २५.