तपाईंका छोराछोरीको मनमा नैतिक मूल्यमान्यता ठप्प बसालिदिनुहोस्
परिवार आनन्दमय बनाउने तरिकाहरू
तपाईंका छोराछोरीको मनमा नैतिक मूल्यमान्यता ठप्प बसालिदिनुहोस्
मेक्सिकोमा बस्ने लोइडा a नामकी एउटी आमा भन्छिन्: “स्कूलमा किशोरकिशोरीहरूलाई कन्डम दिइन्छ। त्यसैले तिनीहरू ‘सुरक्षित’ यौनसम्पर्क राखिएको छ भने यौनसम्पर्क राख्नुमा कुनै खराबी छैन भन्ने सोचाइ राख्छन्।”
जापानमा बस्ने नोबुको नामकी एउटी आमा भन्छिन्: “मेरो छोरालाई मैले ‘तिमी र तिम्रो केटी साथी मात्रै छौ भने तिमी के गर्छौ’ भनी सोध्दा उसले ‘थाह छैन’ भनी जवाफ दियो।”
तपाईंको छोरा वा छोरी भर्खरै बामे सर्न थाल्दा के तपाईंले आफ्नो घरलाई सकेसम्म सुरक्षित बनाउनुभएन र? हुन सक्छ, तपाईंले बिजुलीका प्वालहरू छोप्नुभयो होला, तीखा वस्तुहरू लुकाउनुभयो होला र भऱ्याङमा बार लगाउनुभयो होला। तपाईंले आफ्नो बच्चाको सुरक्षाको लागि सकेजति सब थोक गर्नुभयो होला।
किशोरावस्थामा पुगेका तपाईंका छोराछोरीहरू त्यति गर्दैमा सुरक्षित हुने भए त कति सजिलो हुन्थ्यो! तर तपाईंको चिन्ता पहिलेभन्दा अहिले अझ बढी छ, जस्तै: ‘के मेरो छोरो अश्लील सामाग्री हेर्दै छ?’ ‘कतै मेरी छोरी मोबाइलमार्फत आफ्नो कामुक फोटोहरू पठाउँदै त छैन?’ अनि अझ ठूलो चिन्ताको विषय, ‘किशोरावस्थाका मेरा छोराछोरी यौन गतिविधिमा सक्रिय पो छन् कि?’
छोराछोरीलाई नियन्त्रणमा राखेको छु भन्ने भ्रम
केही आमाबाबुले किशोरावस्थामा पुगेका आफ्ना छोराछोरीसँगै रहेर अनि तिनीहरूको हरेक गतिविधि नियालेर चौबीसै घण्टा निगरानीमा राख्ने कोसिस गर्छन्। आमाबाबुले जतिसुकै कडा निगरानी गरे तापनि तिनीहरू भने आमाबाबुले जुन कुराबाट तिनीहरूलाई जोगाउने प्रयास गरिरहेका हुन्छन्, त्यही कुरा लुकीछिपी गर्छन्। तर आमाबाबुले भने यो कुरा पछि मात्र थाह पाउँछन्।
स्पष्टतया, निगरानी नै समस्याको हल होइन। यहोवा परमेश्वरले आफ्नो सृष्टिबाट आज्ञाकारिताको माग गर्नुहुँदा त्यस्तो तरिका अपनाउनुहुन्न। (व्यवस्था ३०:१९) त्यसैले तपाईं आमाबाबुले पनि त्यस्तो तरिका अपनाउनु ठीक हुँदैन। त्यसोभए तपाईं किशोरावस्थामा पुगेका आफ्ना छोराछोरीलाई कसरी नैतिकताको सन्दर्भमा बुद्धिमानी निर्णयहरू गर्न मदत दिन सक्नुहुन्छ?—हितोपदेश २७:११.
यसको लागि पहिलो कदम भनेको आफ्ना छोराछोरीसँग निरन्तर कुराकानी गरिरहनु हो र यो तिनीहरू सानै छँदा सुरु गर्नुपर्छ। b (हितोपदेश २२:६) अनि तिनीहरू किशोरावस्थामा पुग्दा पनि तिनीहरूसँग कुराकानी गरिरहनुहोस्। तपाईं तिनीहरूको आमाबाबु हुनुभएकोले तिनीहरूको लागि भरपर्दो जानकारीको मुख्य स्रोत पनि तपाईं नै हुनुपर्छ। ब्रिटेनकी अलिशा नाम गरेकी एक किशोरी भन्छिन्, “यौनबारे कुरा गर्नुपर्दा किशोरकिशोरीहरू आफ्ना साथीहरूसँगै कुरा गर्न रुचाउँछन् भनेर थुप्रै मानिस सोच्ने गर्छन् तर यो कुरा सही होइन। हाम्रा आमाबाबुबाट यस विषयमा जानकारी पाउँदा हामी त्यसको कदर गर्छौं। उहाँहरूको कुरामा हामी भरोसा गर्छौं।”
सही मूल्यमान्यताको महत्त्व
तपाईंका छोराछोरी हुर्कंदै जाँदा, तिनीहरूले गर्भाधारण कसरी हुन्छ र बच्चाको जन्म कसरी हुन्छ भनेर थाह पाउनु मात्र पर्याप्त छैन तर यौनबारे अझ थप कुरा जान्नु आवश्यक छ। तिनीहरूले “सोच्ने-बुझ्ने क्षमता चलाएर . . . सही र गलत छुट्ट्याउन तालिम” पाएको हुनपर्छ। (हिब्रू ५:१४) छोटकरीमा भन्नुपर्दा, कस्तो यौन आचरण उचित हो भन्नेबारे तिनीहरूसित दृढ विश्वास हुनुपर्छ र त्यसैअनुसार जीवन बिताउनुपर्छ। त्यसोभए तपाईं कसरी किशोरावस्थाका आफ्ना छोराछोरीको मनमा सही मूल्यमान्यता ठप्प बसालिदिन सक्नुहुन्छ?
पहिला तपाईं आफ्नै मूल्यमान्यता विचार गर्नुहोस्। उदाहरणको लागि, अविवाहित व्यक्तिहरूबीचको यौनसम्बन्ध गलत हो भनी तपाईंको बलियो विश्वास होला। (१ थिस्सलोनिकी ४:३) सम्भवत: यस विषयमा तपाईंको धारणा तपाईंका छोराछोरीलाई थाह छ र तपाईंको विश्वासलाई समर्थन गर्ने बाइबल पद पनि थाह होला। यस विषयमा प्रश्न सोधिंदा विवाहपूर्व राखिने यौनसम्बन्ध गलत हो भनी तिनले सजिलै जवाफ दिन्छन् होला।
तर यतिले मात्र पुग्दैन। सेक्स स्मार्ट भन्ने अङ्ग्रेजी पुस्तकले बताएअनुसार केही युवाले यौनप्रतिको आफ्नो आमाबाबुको धारणा आफूलाई पनि चित्त बुझ्छ भनी बताउँछन्। उक्त पुस्तक यसो भन्छ: “तिनीहरू आफ्नै धारणा बनाउन हिचकिचाउँछन्। आशा नगरेको परिस्थिति आइपऱ्यो र कस्तो आचरण स्वीकार्य हो वा होइन भन्ने विषयमा निर्णय गर्नुपऱ्यो भने तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूलाई साँच्चै आपत् पर्छ।” त्यसैकारण मूल्यमान्यताको ठूलो महत्त्व छ। किशोरावस्थाका आफ्ना छोराछोरीलाई त्यो हासिल गर्न तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?
आफ्नो मूल्यमान्यता स्पष्टसित बताउनुहोस्। विवाहअगाडि यौनसम्बन्ध राख्नुहुन्न भन्ने कुरामा के तपाईं विश्वास गर्नुहुन्छ? त्यसोभए किशोरावस्थाका आफ्ना छोराछोरीलाई स्पष्टसँग अनि बारम्बार त्यो कुरा बताइरहनुहोस्। बियोन्ड द बिग टक भन्ने अङ्ग्रेजी पुस्तकमा लेखिएअनुसार अनुसन्धानले के देखाएको छ भने “किशोरावस्थामा यौनसम्बन्ध राख्ने कुराको आफू विपक्षमा छु भनी आमाबाबुले किशोरावस्थाका छोराछोरीलाई स्पष्टसित बताएका छन् भने त्यस्ता केटाकेटीहरू कलिलै उमेरमा यौनसम्बन्ध राख्नदेखि जोगिने सम्भावना धेरै हुन्छ।”
अवश्य पनि, माथि उल्लेख गरिएझैं आफ्नो मूल्यमान्यताबारे बताउँदैमा तपाईंको छोरा वा छोरीले त्यहीअनुसार जीवन बिताउँछ भन्ने कुनै ग्यारेन्टी छैन। तथापि परिवारको दृढ मूल्यमान्यता छ भने छोराछोरीले त्यसैको आधारमा आफ्नो मूल्यमान्यता तय गर्न सक्छन्। केटाकेटीले आफ्नो किशोरावस्थामा आमाबाबुको मूल्यमान्यतालाई त्यत्ति ध्यानै नदिएको जस्तो देखिए तापनि पछि गएर तिनीहरूले बिस्तारै आमाबाबुको मूल्यमान्यता पछ्याउँछन् भनेर थुप्रै अध्ययनद्वारा देखिएको छ।
यसो गरे कसो होला? छलफल सुरु गर्न र आफ्नो मूल्यमान्यताबारे बताउन समाचारमा दिइएको कुनै घटना प्रयोग गर्नुहोस्। उदाहरणको लागि, यौन अपराधबारे समाचार आएको छ भने तपाईं यसो भन्न सक्नुहुन्छ: “केही पुरुषले स्त्रीहरूको नाजायज फाइदा उठाउन खोजेको देखेर म त छक्कै पर्छु। तिम्रो विचारमा मान्छेहरूमा यस्तो कुबुद्धि कहाँबाट आउँछ होला?”
यौनबारे सम्पूर्ण तथ्य सिकाउनुहोस्। छोराछोरीलाई चेतावनी त दिनुपर्छ। (१ कोरिन्थी ६:१८; याकूब १:१४, १५) तथापि बाइबलमा मुख्यतया यौनलाई सैतानको पासोको रूपमा होइन तर परमेश्वरले दिनुभएको वरदानको रूपमा वर्णन गरिएको छ। (हितोपदेश ५:१८, १९; श्रेष्ठगीत १:२) तपाईंका किशोरावस्थाका छोराछोरीलाई खतराबारे मात्र बताउँदा यौनप्रति तिनीहरूको दृष्टिकोण बाइबलको जस्तो हुनुको सट्टा यसप्रति विकृत धारणा विकास हुन सक्छ। करिन नाम गरेकी फ्रान्सकी एउटी युवतीले यसो भनिन्, “मेरो आमाबाबुले यौन अनैतिकताबारे यत्ति धेरै जोड दिएर कुरा गर्नुहुन्थ्यो कि त्यसले गर्दा यौनसम्बन्धप्रति मैले नकारात्मक दृष्टिकोण राख्न पुगें।”
तपाईंका छोराछोरीले यौनबारे सम्पूर्ण तथ्य थाह पाएका छन् कि छैनन्, पक्का गर्नुहोस्। मेक्सिकोमा बस्ने नडिया नाम गरेकी एउटी आमा भन्छिन्, “यहोवा परमेश्वरले मानिसजातिलाई आनन्दको लागि दिनुभएको एउटा सुन्दर र प्राकृतिक कुरा यौन हो भनेर मैले आफ्ना छोराछोरीलाई सधैं बुझाउने कोसिस गरेकी छु। तर यो वैवाहिक जीवनभित्र मात्र सीमित हुनुपर्छ। यसबाट हामीले आनन्द पाउने वा दुःख पाउने त्यो कुरा यसलाई हामी कसरी प्रयोग गर्छौं, त्यसमा निर्भर हुन्छ।”
यसो गरे कसो होला? अर्को पटक आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्दा छलफललाई सकारात्मक ढङ्गमा टुङ्ग्याउनुहोस्। यौन परमेश्वरले दिनुभएको एउटा सुन्दर वरदान हो र यस वरदानको उसले भविष्यमा एक विवाहित व्यक्तिको रूपमा आनन्द उठाउन सक्नेछ भनी बताउन अप्ठ्यारो नमान्नुहोस्। त्यतिन्जेल आफ्ना छोराछोरी परमेश्वरको स्तर अनुरूप चल्नेछन् भन्ने कुरामा आफू निर्धक्क भएको कुरा तिनीहरूलाई बताउनुहोस्।
नतिजाको लेखाजोखा गर्न किशोरावस्थाका आफ्ना छोराछोरीलाई मदत दिनुहोस्। जीवनको कुनै पनि पक्षमा असल निर्णय गर्न किशोरकिशोरीहरूले विकल्पहरू पहिल्याउन र प्रत्येक विकल्पको फाइदा तथा बेफाइदा लेखाजोखा गर्न जानेको हुनुपर्छ। तिनीहरूले के सही के गलत भनेर थाह पाउनु मात्र पर्याप्त छ भनी नसोच्नुहोस्। अस्ट्रेलियामा बस्ने एमा नाम गरेकी एउटी ख्रीष्टियन यसो भन्छिन्, “आफ्ना छोराछोरीको गल्ती विचार गर्दा म यो भन्न सक्छु कि परमेश्वरका स्तरहरू थाह पाउँदैमा तपाईं ती स्तरहरूसित सहमत हुनुहुन्छ भन्ने छैन। ती स्तरहरू अनुरूप जीवन बिताउँदा के-कस्ता फाइदाहरू हुन्छन् र उल्लङ्घन गर्दा के-कस्ता नतिजाहरू भोग्नुपर्छ, त्यो बुझ्नु महत्त्वपूर्ण छ।”
बाइबलमा दिइएका थुप्रै आज्ञाले गलत कार्यको नतिजाबारे व्याख्या गरेको हुनाले त्यसबाट हामी मदत पाउन सक्छौं। उदाहरणको लागि, हितोपदेश ५:८, ९ युवाहरूलाई अवैध यौनसम्बन्ध राख्नदेखि अलग्गै बस्न आग्रह गर्छ। यसरी अलग रहेमा ‘अरूहरूको दृष्टिमा आफ्नो इज्जत . . . हराउनेछैन।’ यी पदहरूले सङ्केत गरेझैं विवाहपूर्व यौनसम्बन्ध राख्नेहरूले आफूलाई परमेश्वरको सेवामा पूरा तनमनले लाग्नदेखि रोक्छन्। साथै आफ्नो चरित्रमा दाग लगाउँछन् र आत्मसम्मान पनि गुमाउँछन्। अनि आफ्नो सम्भाव्य जोडीसित यस्ता गुणहरू छन् भने तिनको नजरमा आफूलाई तुच्छ बनाउँछन्। परमेश्वरका नीतिनियमहरू पालन नगर्दा यसले शारीरिक तथा भावनात्मक तवरमा पार्ने असरका साथै परमेश्वरसितको सम्बन्ध बिगार्नेबारे मनन गर्दा तपाईंका किशोरकिशोरीहरू ती नीतिनियमहरू अनुरूप जीवन बिताउन उत्प्रेरित हुन सक्छन्। c
यसो गरे कसो होला? परमेश्वरको स्तर कति बुद्धिमत्तापूर्ण छ भनी आफ्ना छोराछोरीलाई दृष्टान्तद्वारा बुझाउनुहोस्। उदाहरणको लागि, तपाईं यसो भन्न सक्नुहुन्छ: “आगो खाना पकाउनको लागि प्रयोग गर्न सकिन्छ भने त्यही आगोले जङ्गललाई सखाप पार्न पनि सक्छ। यी दुईबीच कस्तो भिन्नता छ अनि तिम्रो जवाफ यौनसम्बन्धी परमेश्वरले तोक्नुभएको सीमाको सन्दर्भमा कसरी लागू हुन्छ? “ तपाईंका छोराछोरीलाई अवैध यौनसम्बन्धको हानिकारक नतिजाबारे बुझ्न मदत दिन हितोपदेश ५:३-१४ को विवरण प्रयोग गर्नुहोस्।
जापानका १८ वर्षीय ताकाओ यसो भन्छन्, “जे सही छ त्यही गर्नुपर्छ भनेर मलाई थाह छ तर शरीरको लालसाविरुद्ध निरन्तर सङ्घर्ष गरिरहनुपर्ने हुन्छ।” यस्तो महसुस गर्ने आफू मात्र होइन भनी थाह पाउँदा यस्ता युवाहरूले सान्त्वना पाउन सक्छन्। प्रेषित पावल, जो एक जना परिपक्व ख्रीष्टियन थिए, उनले यसरी स्वीकारे: “जब म जे ठीक छ त्यो गर्न चाहन्छु, तब ममा खराबी हाजिर हुँदो रहेछ।”—रोमी ७:२१.
यस्तो सङ्घर्ष गलत कुरा होइन भनी किशोरकिशोरीहरूले महसुस गर्नु बेस हुन्छ। त्यसले तिनीहरूलाई आफू कस्तो किसिमको मानिस हुन चाहन्छु भनी विचार गर्न उत्प्रेरित गर्न सक्छ। यसले तिनीहरूलाई यो प्रश्न गहिरिएर सोच्न मदत गर्न सक्छ, ‘के म आफूलाई नियन्त्रणमा राख्न सक्ने चरित्रवान् अनि परमेश्वरको सेवामा पूरा तनमनले लागेको व्यक्ति भनेर चिनिन चाहन्छु अथवा आफ्नो लालसामा फसेर अरूले जे-जे भन्छन् त्यहीअनुसार गर्ने व्यक्ति हुन चाहन्छु?’ सही मूल्यमान्यताले तपाईंका किशोरकिशोरीहरूलाई उक्त प्रश्नको जवाफ बुद्धिमत्तापूर्ण ढङ्गमा दिन मदत गर्छ। ( w11 -E 02/01)
[फुटनोटहरू]
a केही नाम परिवर्तन गरिएका छन्।
b तपाईंका छोराछोरीसँग कसरी यौनबारे कुराकानी गर्ने र तिनीहरूको उमेरअनुसार जानकारी दिनेबारे सुझावको लागि प्रहरीधरहरा, डिसेम्बर १, २०१०, पृष्ठ १२-१४ हेर्नुहोस्।
c थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित जनवरी-मार्च २००७ को ब्यूझँनुहोस्!-मा “मायाप्रीती बसिसक्यो भन्दैमा विवाहअघि नै यौन सम्बन्ध राख्नु जायज हो?” भन्ने लेख हेर्नुहोस्।
आफैलाई सोध्नुहोस् . . .
▪ किशोरावस्थाका मेरा छोराछोरीसित दृढ नैतिक मूल्यमान्यता छ भनेर कुन कुराले सङ्केत गर्छ?
▪ किशोरावस्थाका मेरा छोराछोरीसित यौनबारे कुरा गर्दा के म यसलाई मुख्यतया परमेश्वरले दिनुभएको वरदानको रूपमा चित्रण गर्छु वा सैतानको पासोको रूपमा?
[पृष्ठ २७-मा भएको चित्र]
बाइबल अहिले हाम्रो समयसम्मै अनमोल साबित भएको छ
“यौन आचरणसम्बन्धी बाइबलमा पाइने निर्देशन अहिले हाम्रो समयसम्मै अनमोल साबित भएको छ। कलिलै उमेरमा यौन गतिविधिमा संलग्न भएकोले आज थुप्रै किशोरकिशोरीले भावनात्मक तवरमा गम्भीर परिणाम भोगिरहेको, विवाहपूर्व नै गर्भाधारण गरिरहेको अनि एड्स तथा अन्य यौनजन्य रोगहरूको सिकार भइरहेको बेला विवाहपछि मात्र यौनसम्बन्ध राख्नु भनी बाइबलले दिएको सल्लाह एकदमै समसामयिक अनि प्रभावकारी छ र ‘सुरक्षित यौनसम्पर्क’ भनेको यो मात्रै हो।”—प्रेम र तर्क चलाएर किशोरकिशोरीलाई हुर्काउने (अङ्ग्रेजी)