नेपाली
विवाहको पहिलो वर्ष सफलतापूर्वक पार गर्ने
https://assetsnffrgf-a.akamaihd.net/assets/ct/d71826a198/images/syn_placeholder_sqr.png
w11 १/१ पृ. २४-२७

विवाहको पहिलो वर्ष सफलतापूर्वक पार गर्ने

विवाहको पहिलो वर्ष सफलतापूर्वक पार गर्ने

परिवार आनन्दमय बनाउने तरिकाहरू

विवाहको पहिलो वर्ष सफलतापूर्वक पार गर्ने

श्रीमान्‌ भन्छन्‌: “मेरी श्रीमती र मबीचको भिन्‍नता देखेर म छक्क पर्छु! उदाहरणका लागि, मलाई बिहान सबेरै उठ्‌न मन पर्छ तर उनी भने राती अबेरसम्म बस्न मन पराउँछिन्‌। उनको मुड परिवर्तनको त कुरै नगरौं, म त बुझ्न पनि सक्दिनँ! अनि अर्को कुरा, मैले खाना पकाउँदा र अझ विशेषगरि भाँडा पुछ्‌ने कपडाले हात पुछ्‌दा उनी सधैं कचकच गर्छिन्‌।”

श्रीमती भन्छिन्‌: “मेरो श्रीमान्‌ कम बोल्नुहुन्छ। तर मेरो माइतीमा भने सबैलाई धेरै बोल्नुपर्छ, अझ विशेषगरि खाना खाने समयमा। अनि मलाई पनि त्यही बानी परिसक्यो। साथै, मेरो श्रीमान्‌ले खाना पकाउनुहुँदा भाँडा पुछ्‌न र हात पुछ्‌न एउटै कपडा चलाउनुहुन्छ! यो देखेर मेरो कनसिरीको रौं तात्छ! लोग्नेमान्छेहरूलाई बुझ्न किन यस्तो गाह्रो? हैन, मान्छेहरूले आफ्नो विवाह कसरी टिकाउँछन्‌ हँ?”

तपाईं नवविवाहित हुनुहुन्छ भने के तपाईंले पनि यस्तै समस्याहरूको सामना गरिरहनुभएको छ? विवाहपूर्वको भेटघाटमा नदेखिएका कमीकमजोरीहरू तपाईंको जोडीमा एकाएक देखिएजस्तो तपाईंलाई लाग्छ कि? “विवाह गरेका मानिसहरूले दिनहुँ झेल्ने समस्याहरूको” असर तपाईं कसरी कम गर्न सक्नुहुन्छ?—१ कोरिन्थी ७:२८, टुडेज इंग्लिश भर्सन।

सबैभन्दा पहिला त, विवाह गर्दैमा रातारात तपाईं र तपाईंको जोडी वैवाहिक जीवनको विषयमा दक्ष बन्‍नुहुन्छ भन्‍ने आशा नगर्नुहोस्‌। अविवाहित छँदा तपाईंले अरूसित व्यवहार गर्ने सन्दर्भमा अमूल्य सीप सिक्नुभएको हुन सक्छ अनि विवाहपूर्वको भेटघाटमा तपाईंले त्यो सीप अझ तिर्खानुभयो होला। तर विवाहपछि तपाईंका ती सीपहरूको नयाँ ढङ्‌गमा परीक्षण हुन्छ र तपाईंले अझ अरू नयाँ सीपहरू पनि सिक्नुपर्ने हुन सक्छ। के तपाईंबाट गल्ती हुनेछ? अवश्‍य। तपाईंलाई चाहिने सीपहरू के तपाईं हासिल गर्न सक्नुहुन्छ? निस्सन्देह!

कुनै पनि सीप तिखार्ने सबैभन्दा उत्तम उपाय भनेको त्यस विषयमा दक्ष व्यक्‍तिको सल्लाह लिनु र तिनले दिएको सल्लाह व्यवहारमा उतार्नु हो। विवाहको विषयमा सबैभन्दा दक्ष व्यक्‍ति यहोवा परमेश्‍वर हुनुहुन्छ। हुन पनि हामीलाई विवाह गर्ने इच्छासहित सृष्टि गर्ने उहाँ नै हुनुहुन्छ। (उत्पत्ति २:२२-२४) वैवाहिक जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न अनि पहिलो वर्ष मात्र नभई त्योभन्दा लामो समयसम्म विवाहलाई टिकाइराख्न चाहिने सीप हासिल गर्न उहाँको वचन बाइबलले तपाईंलाई कसरी मदत दिन सक्छ, ध्यान दिनुहोस्‌।

पहिलो सीप: आपसमा सरसल्लाह गर्न सिक्नुहोस्‌

के-कस्ता चुनौतीहरू आइपर्छन्‌? आफ्नो निर्णयले आफ्नी श्रीमतीलाई पनि असर गर्छ भनेर जापानका केइजी a कहिलेकाहीं बिर्सन्छन्‌। तिनी भन्छन्‌, “श्रीमतीसित सल्लाह नगरीकनै म अरूको निम्तो स्वीकारिहाल्थें। अनि पछि गएर मलाई थाह हुन्थ्यो, मैले मिलाएको समयमा उनको अर्कै काम रहेछ।” अस्ट्रेलियामा बस्ने एलन भन्छन्‌, “कुनै निर्णय गर्नुपर्दा श्रीमतीसित सरसल्लाह गर्नु भनेको नामर्दपन हो जस्तो मलाई लाग्थ्यो।” आफ्नो पृष्ठभूमिले गर्दा तिनले यस्तो चुनौतीको सामना गर्नुपऱ्‍यो। बेलायतकी डायनको समस्या पनि उस्तै थियो। तिनी भन्छिन्‌, “सल्लाह चाहिंदा आफ्नो परिवारका सदस्यहरूलाई सोध्ने मेरो बानी थियो। त्यसैले निर्णयहरू गर्नुपर्दा म आफ्नो श्रीमान्‌लाई होइन तर पहिला माइतीलाई सोध्थें।”

समाधान के छ? नबिर्सनुहोस्‌, यहोवा परमेश्‍वरले विवाहित जोडीलाई “एउटै शरीर” ठान्‍नुहुन्छ। (मत्ती १९:३-६) उहाँको नजरमा श्रीमान्‌ र श्रीमतीबीच हुने सम्बन्धभन्दा महत्त्वपूर्ण मानव सम्बन्ध अरू कुनै छैन! उक्‍त सम्बन्धलाई दरिलो बनाइराख्न खुलस्त कुराकानी गर्नु अत्यावश्‍यक छ।

यहोवाले अब्राहामसित कुराकानी गर्नुभएको तरिकाबाट श्रीमान्‌ र श्रीमतीले धेरै कुरा सिक्न सक्छन्‌। उदाहरणका लागि, उत्पत्ति १८:१७-३३ मा उल्लेख गरिएको वार्तालाप कृपया पढ्‌नुहोस्‌। याद गर्नुहोस्‌, परमेश्‍वरले अब्राहामलाई तीन तरिकामा आदर देखाउनुभयो। (१) आफूले गर्न आँटेको कुरा यहोवाले बताउनुभयो। (२) अब्राहामले आफ्नो विचार बताउँदा उहाँले सुन्‍नुभयो। (३) अब्राहामको बिन्ती सुनेर आफूले गर्न लागेको काममा सम्भव भएसम्म छाँटकाँट गर्न यहोवा तयार हुनुभयो। आफ्नो जोडीसित सरसल्लाह गर्दा तपाईं कसरी यो नमुना पछ्याउन सक्नुहुन्छ?

यसो गरे कसो होला? आफ्नो वैवाहिक जोडीलाई पनि असर गर्ने कुनै विषयमा सल्लाह गर्दा निम्न कुराहरू ध्यान दिनुहोस्‌: (१) उक्‍त परिस्थिति तपाईं कसरी सँभाल्न चाहनुहुन्छ, त्यो बताउनुहोस्‌। तर आफ्नो कुरा नै अन्तिम निर्णय हो वा त्यो मान्‍नै पर्छ भन्‍ने जसरी नभई सुझावको रूपमा बताउनुहोस्‌। (२) तपाईंको जोडीको राय के छ सोध्नुहोस्‌ र तपाईंको भन्दा भिन्‍नै धारणा राख्ने अधिकार तिनीसित छ भनी स्वीकार्नुहोस्‌। (३) सम्भव भएसम्म आफ्नो जोडीको रुचिअनुसार छाँटकाँट गरेर आफ्नो “व्यावहारिकता” प्रकट गर्नुहोस्‌।—फिलिप्पी ४:५.

दोस्रो सीप: व्यवहार-कुशल बन्‍न सिक्नुहोस्‌

के-कस्ता चुनौतीहरू आइपर्छन्‌? तपाईंको पारिवारिक वा सांस्कृतिक पृष्ठभूमिको कारण आफ्नो विचार व्यक्‍त गर्दा ‘मेरो गोरुको बाह्रै टक्का’ भन्‍ने वा रूखो ढङ्‌गमा बोल्ने बानी तपाईंमा हुन सक्छ। उदाहरणका लागि, युरोपमा बस्ने लियम भन्छन्‌, “म हुर्केको ठाउँका मानिसहरू ठाडो स्वभावका छन्‌। मैले रूखो ढङ्‌गमा आफ्नो विचार व्यक्‍त गरेकोले अक्सर मेरी श्रीमतीको चित्त दुख्थ्यो। मैले अझ कोमल हुन सिक्नुपऱ्‍यो।”

समाधान के छ? तपाईंलाई जुन ढङ्‌गमा बोल्ने बानी परेको छ, तपाईंको जोडीलाई त्यो मन पर्छ भन्‍ने नठान्‍नुहोस्‌। (फिलिप्पी २:३, ४) प्रेषित पावलले एक जना मिसनरीलाई दिएको सल्लाह नवविवाहितहरूका लागि पनि मदतकारी छ। तिनले लेखे: ‘प्रभुको दासले झगडा गर्नुहुँदैन, बरु सबैसित कोमल व्यवहार गर्नुपर्छ।’ यहाँ “कोमल” भनेर अनुवाद गरिएको मौलिक ग्रीक शब्दलाई “व्यवहार-कुशल” भनेर पनि अनुवाद गर्न सकिन्छ। (२ तिमोथी २:२४) व्यवहार-कुशल हुनु भनेको परिस्थितिलाई बुझेर अरूको चित्त नदुख्नेगरि दयालु भई व्यवहार गर्न सक्नु हो।

यसो गरे कसो होला? आफ्नो जोडीसित रिस उठ्‌दा तपाईं आफ्नो जोडीसित नभई मिल्ने साथी वा हाकिमसित कुरा गर्दै हुनुहुन्छ भन्‍ने कल्पना गर्नुहोस्‌। त्यतिबेला पनि के तपाईंको बोली वा शब्द चयन त्यस्तै हुन्छ? अब आफ्नो जोडीसित कुरा गर्दा साथी वा हाकिमलाई भन्दा अझ बढी आदर देखाउँदै कौशलता साथ कुरा गर्नुपर्ने कारणहरूबारे सोच्नुहोस्‌।—कलस्सी ४:६.

तेस्रो सीप: नयाँ भूमिकामा आफूलाई ढाल्न सिक्नुहोस्‌

के-कस्ता चुनौतीहरू आइपर्छन्‌? सुरुमा श्रीमान्‌ले शिरत्वको प्रयोग गर्दा ढङ्‌ग नपुग्न सक्छ वा श्रीमतीमा व्यवहार-कुशल भएर सल्लाह दिने बानी नबसेको हुन सक्छ। उदाहरणका लागि, इटालीका एन्टोन्यो भन्छन्‌: “पारिवारिक निर्णयहरू गर्नुपर्दा बुबाले मेरी आमासित हतपती सरसल्लाह गर्नुहुन्‍नथ्यो। त्यसैले सुरुमा मैले पनि आफूलाई परिवारको राजा ठानेर त्यस्तै व्यवहार गरें।” क्यानाडाकी डेबी भन्छिन्‌, “मेरो श्रीमान्‌ अझ चिटिक्क हुनुपर्छ भनेर मैले कर गरें। तर मेरो हैकम चलाउने मनोवृत्तिले गर्दा उहाँ झनै अटेरी हुनुभएजस्तो लाग्यो।”

श्रीमान्‌का लागि समाधान के छ? श्रीमतीहरू आ-आफ्ना श्रीमान्‌को अधीनमा रहनुपर्छ र बच्चाहरू आमाबाबुप्रति आज्ञाकारी हुनुपर्छ भनी बाइबलले बताएको कुरा उस्तै हो भनेर कतिपय श्रीमान्‌हरू झुक्किन्छन्‌। (कलस्सी ३:२०; १ पत्रुस ३:१) तथापि, पति ‘आफ्नी पत्नीसित बस्नुपर्छ र ती दुई एउटै शरीर हुन्छन्‌’ भनी बाइबलले बताएको छ तर आमाबाबु र छोराछोरीबीचको सम्बन्धबारे भने यसो भनिएको छैन। (मत्ती १९:५) यहोवाले श्रीमतीलाई उनको श्रीमान्‌को सहयोगी वा पूरकको रूपमा वर्णन गर्नुभएको छ। (उत्पत्ति २:१८) उहाँले बच्चालाई उसको आमाबाबुको सहयोगी वा पूरक भनेर कहिल्यै संकेत गर्नुभएको छैन। तपाईंलाई कस्तो लाग्छ, श्रीमान्‌ले आफ्नी श्रीमतीसित बच्चालाई जस्तो व्यवहार गर्छ भने के उसले वैवाहिक प्रबन्धप्रति आदर देखाइरहेको हुन्छ र?

भन्‍ने हो भने येशूले ख्रीष्टियन मण्डलीसित जस्तो व्यवहार गर्नुभयो तपाईंले आफ्नी श्रीमतीसित पनि त्यस्तै व्यवहार गर्न परमेश्‍वरको वचनले सल्लाह दिन्छ। निम्न कुराहरू गर्नुभयो भने तपाईंलाई आफ्नो शिरको रूपमा हेर्न तपाईंकी श्रीमतीलाई अझ सजिलो हुन्छ: (१) तुरुन्तै र एउटै गल्ती नगरी उनी तपाईंको अधीनमा बसोस्‌ भन्‍ने आशा नगर्नुहोस्‌ अनि (२) कठिनाइहरू आइपर्दा समेत उनलाई आफ्नै शरीरलाई जस्तै प्रेम गर्नुहोस्‌।—एफिसी ५:२५-२९.

श्रीमतीका लागि समाधान के छ? अब तपाईंको श्रीमान्‌ परमेश्‍वरले नियुक्‍त गर्नुभएको तपाईंको शिर हुन्‌ भनेर स्वीकार्नुहोस्‌। (१ कोरिन्थी ११:३) तपाईंले श्रीमान्‌को आदर गर्नुभयो भने परमेश्‍वरको पनि आदर गरिरहनुभएको हुनेछ। तपाईंले तिनको शिरत्व तिरस्कार गर्नुभयो भने आफ्नो श्रीमान्‌लाई मात्र नभई परमेश्‍वर र उहाँका स्तरहरूलाई कसरी हेर्नुहुन्छ, त्यो पनि प्रकट गरिरहनुभएको हुनेछ।—कलस्सी ३:१८.

अप्ठ्यारा समस्याहरूबारे छलफल गर्दा आफ्नो श्रीमान्‌लाई आक्षेप लगाउने होइन तर समस्याकै विषयमा कुरा गर्ने बानी बसाल्न सिक्नुहोस्‌। उदाहरणका लागि, आफ्नो श्रीमान्‌ राजा अहासूरसले एउटा गलत निर्णय सच्याएको रानी एस्तर चाहन्थिन्‌। तिनीमाथि व्यक्‍तिगत आक्षेप लगाउनुको सट्टा एस्तरले व्यवहार-कुशल भएर आफ्नो कुरा राखिन्‌। उनका श्रीमान्‌ले उनको सल्लाह सुने अनि अन्ततः सही काम गरे। (एस्तर ७:१-४; ८:३-८) निम्न कुराहरू गर्नुभयो भने सम्भवतः तपाईंको श्रीमान्‌ले तपाईंलाई अझ बढी माया गर्नेछन्‌: (१) परिवारको शिरको रूपमा आफ्नो नयाँ भूमिकामा पोख्त हुन तिनलाई समय दिनुहोस्‌ अनि (२) तिनले गल्ती गर्दा समेत तिनीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌।—एफिसी ५:३३.

यसो गरे कसो होला? तपाईंको जोडीले के-कस्ता परिवर्तनहरू गर्नुपर्छ भनेर सूची बनाउनुको सट्टा आफूले गर्नुपर्ने परिवर्तनहरूको सूची बनाउनुहोस्‌। श्रीमान्‌हरू हो, तपाईंले शिरत्वको प्रयोग गरेको तरिका नमिलेकोले वा तपाईंले शिरत्वको प्रयोग नगरेकोले तपाईंकी श्रीमतीको चित्त दुख्दा कसरी अझ उन्‍नति गर्न सक्छु भनेर उनलाई सोध्नुहोस्‌ र उनले दिएको सुझाव लेखेर राख्नुहोस्‌। श्रीमतीहरू हो, तपाईंको श्रीमान्‌लाई तपाईंले तिनको आदर नगरेको महसुस हुँदा कसरी अझ उन्‍नति गर्न सक्छु भनेर तिनलाई सोध्नुहोस्‌ र तिनले दिएको सुझाव लेखेर राख्नुहोस्‌।

व्यावहारिक आशा राख्नुहोस्‌

सुखी र सन्तुलित वैवाहिक सम्बन्ध कायम राख्न सिक्नु भनेको साइकल चलाउन सिक्नुजस्तै हो। दुई-चार चोटि नलडीकन पक्कै पनि तपाईंले निर्धक्क भई साइकल चलाउन सक्नुहुन्‍न। त्यसैगरि, वैवाहिक जीवनमा के-कस्तो व्यवहार गर्नुपर्छ भनेर सिक्दै जाँदा तपाईं पक्कै पनि दुई-चार चोटि अप्ठ्यारोमा पर्न सक्नुहुन्छ।

तैपनि हँसी-मजाक गर्न नछोड्‌नुहोस्‌। तपाईंको जोडीलाई चिन्ता लागेको कुरालाई गम्भीरता साथ लिनुहोस्‌ तर आफ्नो गल्तीलाई हाँसोमा उडाउन सिक्नुहोस्‌। विवाहको पहिलो वर्षमा आफ्नो जोडीलाई आनन्दित बनाउने मौकाहरू खोज्नुहोस्‌। (व्यवस्था २४:५) सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको वचनअनुरूप चलेर तपाईंहरूको सम्बन्धलाई बलियो बनाउँदै लैजानुहोस्‌। त्यसो गर्नुभयो भने वर्षहरू बित्दै जाँदा तपाईंहरूको विवाह झन्‌-झनै बलियो हुँदै जानेछ। (w10-E 08/01)

[फुटनोट]

a केही नामहरू परिवर्तन गरिएका छन्‌।

आफैलाई सोध्नुहोस्‌ . . .

▪ मैले आफ्नो जोडीलाई सबैभन्दा नजिकको विश्‍वासपात्र बनाएको छु वा म अरूसितै सल्लाह लिन रुचाउँछु?

▪ म आफ्नो जोडीलाई माया गर्छु र तिनको आदर गर्छु भनेर देखाउने त्यस्तो के खास काम मैले बितेको २४ घण्टाभित्र गरेको छु?

[पृष्ठ २५ र २६-मा भएको पेटी/चित्र]

बाइबलले हाम्रो विवाह जोगायो

विवाह गरेको सुरु-सुरुमा तोरू र आकिको एकअर्कालाई माया गर्थे। तर विवाह गरेको आठ महिनामै यी जापानी दम्पतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरे। के भयो तिनीहरू यसरी बताउँछन्‌।

तोरू: “मेरी श्रीमती र मबीच मैले सोचेभन्दा निकै कम समानता भएको मैले चाल पाएँ। उदाहरणका लागि, टिभी हेर्दा मलाई खेलकुद मनपर्थ्यो तर उनलाई भने नाटक मनपर्थ्यो। मलाई घुमफिर गर्न मन पर्थ्यो तर उनलाई भने घरमै बस्न मन पर्थ्यो।”

आकिको: “उहाँको परिवारले जे-जे भन्यो तोरू त्यही-त्यही गर्नुहुन्थ्यो। उहाँले मसित कहिल्यै सरसल्लाह गर्नुहुन्‍नथ्यो। म उहाँलाई सोध्थें, ‘तपाईंको लागि को महत्त्वपूर्ण, तपाईंकी आमा कि म?’ साथै, तोरूले कुरा बङ्‌ग्याएको देखेर म तीन छक पर्थें। एउटा झूट छोप्न अर्को झूट बोल्नुपर्छ र यदि यो बानी छोड्‌नुभएन भने हाम्रो विवाह टुट्‌नेछ भनेर म उहाँलाई भन्‍ने गर्थें।”

तोरू: “म हैरान भएँ र आफ्नी श्रीमतीसित कसरी व्यवहार गर्ने भनेर मेरो अफिसमा काम गर्ने मभन्दा ठूलो ओहदाको एक जना साथीलाई सोधें। तिनले भने, ‘पहिला चुप लाग्‌ भन्‍नू। त्यतिले पनि मानिन भने दनक दिनू।’ एक चोटिको कुरा हो, मैले आकिकोको गाला चड्‌काएँ र टेबल पल्टाइदिएँ। हामीबीच ठूलो झगडा भयो र उनी घर छोडेर हिंडिन्‌। मैले उनलाई टोकियोको एउटा होटेलबाट फिर्ता ल्याउनुपऱ्‍यो। अन्तमा, हामीले सम्बन्धविच्छेद गर्ने निर्णय गऱ्‍यौं। त्यो दिन बिहान म अफिस जान घरबाट निस्कँदा उनी आफ्नो सामान पोको पार्दै थिइन्‌।”

आकिको: “झोलाहरू ढोकाबाहिर निकाल्दै गर्दा घरको घण्टी बज्यो। ढोकाअगाडि एक जना आइमाई थिइन्‌। उनी यहोवाको साक्षी रहिछिन्‌। मैले उनलाई भित्र बोलाएँ।”

तोरू: “अफिस पुगेपछि मलाई सम्बन्धविच्छेद गर्ने निर्णय गलत हो कि जस्तो लाग्यो र म हतार-हतार घर फर्कें। म पुग्दा आकिको ती आइमाईसित कुरा गरिरहेकी थिइन्‌। ती आइमाईले मलाई भनिन्‌, ‘तपाईंहरू दुई जनाले सँग-सँगै केही गर्नुपर्छ। के तपाईं बाइबल अध्ययन गर्न चाहनुहुन्छ?’ मैले जवाफ दिएँ, ‘हाम्रो विवाह जोगिन्छ भने म जे गर्न पनि तयार छु!’”

आकिको: “ती आइमाईले हाम्रो लागि बाइबल अध्ययनको प्रबन्ध मिलाइदिइन्‌। विवाहको प्रबन्धबारे बाइबलमा दिइएको वर्णन पढेपछि हाम्रो विवाहले नयाँ मोड लियो। त्यहाँ यसो भनिएको छ: ‘यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।’”—उत्पत्ति २:२४.

तोरू: “मैले तुरुन्तै कुरा बुझिहालें। मैले आफ्ना आमाबाबुलाई भनें, ‘अबदेखि कुनै निर्णय गर्नुअघि म आफ्नी श्रीमतीसित सरसल्लाह गर्नेछु।’ मैले अचाक्ली रक्सी पिउन पनि छोडें। अनि झूट बोल्ने बानीलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ भन्‍ने थाह पाएपछि सत्य बोल्ने प्रयास गरें।”

आकिको: “म पनि परिवर्तन भएँ। उदाहरणका लागि, म तोरूको कुरा सुन्दिनथें। तर उहाँले बाइबलका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गरेको देखेपछि मैले उहाँलाई अझ सहयोग गर्न थालें। (एफिसी ५:२२-२४) हामीले सुखमय वैवाहिक जीवन बिताएको अहिले २८ वर्षभन्दा धेरै भइसक्यो। एकअर्कालाई अझ राम्ररी चिनेर र बाइबलका बुद्धिमानी सल्लाहहरू लागू गरेर हामीले आफ्ना समस्याहरूबाट पार पाउन सक्यौं।”