परमेश्वरको आत्माद्वारा डोऱ्याइएको राजामार्फत आशिष् पाउनुहोस्!
परमेश्वरको आत्माद्वारा डोऱ्याइएको राजामार्फत आशिष् पाउनुहोस्!
“परमप्रभुको आत्मा उहाँमा रहनुहुनेछ।”—यशै. ११:२.
१. संसारका समस्याबारे कसै-कसैले कस्तो चिन्ता व्यक्त गरेका छन्?
“राजनैतिक, सामाजिक र वातावरणीय हिसाबले भताभुंग भएको यो संसारमा मानवजाति अर्को १०० वर्षसम्म कसरी टिक्न सक्ला?” यो प्रश्न खगोलशास्त्री स्टिफन हकिङले सन् २००६ मा सोधेका थिए। न्यु स्टेट्सम्यान पत्रिकामा प्रकाशित लेखमा यसो भनिएको थियो: “हामीले गरिबी उन्मुलन गरेका छैनौं, विश्व शान्तिको लागि सुहाउँदो वातावरण पनि सृजना गरेका छैनौं। बरु त्यसको ठीक उल्टो नतिजा हासिल गरेका छौं जस्तो देखिन्छ। हामीले प्रयासै नगरेको भने होइन। साम्यवाददेखि पूँजीवादसम्म; राष्ट्र-संघदेखि हातहतियार थुपार्नेसम्म सबै परीक्षण गरिसक्यौं। युद्ध रोक्ने तरिका हामीलाई थाह छ भन्दै ‘युद्ध रोक्नको लागि युद्धहरू’ लड्यौं।”
२. अब चाँडै यहोवाले पृथ्वीमाथि आफ्नो वैध सार्वभौमिकताको प्रयोग कसरी गर्नुहुनेछ?
२ मानिसहरूले यस्तो कुरा व्यक्त गरेको सुन्दा यहोवाका सेवकहरूलाई छक्क लाग्दैन। आफ्नो मार्ग आफैले डोऱ्याओस् भनेर मानिसलाई सृष्टि गरिएको थिएन भनी बाइबल बताउँछ। (यर्मि. १०:२३) हाम्रो एकमात्र वैध सार्वभौम शासक यहोवा हुनुहुन्छ। त्यसैले हाम्रो लागि स्तर तोक्ने, जीवनको उद्देश्यबारे बताउने र त्यो उद्देश्यतर्फ डोर्याउने अधिकार उहाँसित मात्रै छ। अब चाँडै उहाँले आफ्नो अख्तियार चलाएर सम्पूर्ण असफल मानव सरकारलाई नाश गर्नुहुनेछ। साथै उहाँको वैध सार्वभौमिकतालाई तिरस्कार गरेर मानिसहरूलाई पाप, असिद्धता अनि “यस संसारको देव” शैतान अर्थात् दियाबलको दासत्वमा राख्ने सबैलाई उहाँले नाश गर्नुहुनेछ।—२ कोरि. ४:४.
३. यशैयाले मसीहबारे कस्तो भविष्यवाणी गरे?
३ प्रमोदवनरूपी नयाँ संसारमा यहोवाले मसीही राज्यद्वारा मायालु तरिकामा आफ्नो अख्तियार चलाउनुहुनेछ। (दानि. ७:१३, १४) त्यस राज्यको राजाबारे यशैयाले यस्तो भविष्यवाणी गरे: “यस्सीको ठुटाबाट एउटा बोट उम्रनेछ, र परमप्रभुको आत्मा उहाँमा रहनुहुनेछ—बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुप्रतिको श्रद्धाको आत्मा।” (यशै. ११:१, २) मानिसजातिमाथि शासन गर्न “यस्सीको ठुटा” अर्थात् येशू ख्रीष्टलाई परमेश्वरको पवित्र आत्माले खासगरि कुन-कुन तरिकामा योग्य बनाएको छ? येशूको शासनले कस्ता आशिष्हरू ल्याउनेछ? अनि हामीले ती आशिष्हरू पाउन के गर्नै पर्छ?
परमेश्वरले येशूलाई शासन गर्न योग्य बनाउनुभएको छ
४-६. येशूसित भएको कस्तो महत्त्वपूर्ण ज्ञानले गर्दा उहाँ बुद्धिमान् अनि दयालु राजा, प्रधान पूजाहारी र न्यायकर्ताको जिम्मेवारी पूरा गर्न सक्षम हुनुहुनेछ?
४ साँच्चै बुद्धिमान् अनि दयालु राजा, प्रधान पूजाहारी र न्यायकर्ताको डोऱ्याइमा आफ्ना मानव प्रजाले सिद्धता प्राप्त गरून् भन्ने यहोवा चाहनुहुन्छ। त्यसैकारण त परमेश्वरले येशू ख्रीष्टलाई छान्नुभयो, जसलाई उहाँले ती गहन जिम्मेवारीहरू वहन गर्न पवित्र आत्मामार्फत योग्य बनाउनुभयो। परमेश्वरले दिएको जिम्मेवारीहरू पूरा गर्न येशू सक्षम हुनुका केही कारण विचार गरौं।
५ परमेश्वरबारे येशूसित जत्तिको ज्ञान अरू कसैसित छैन। येशूसित परमेश्वरबारे गहिरो ज्ञान छ। येशूले पितासित सम्भवतः अरबौं वर्ष बिताउनुभएको हुँदा उहाँले जत्तिको राम्ररी अरू कसैले पितालाई चिनेको छैन। त्यस समयको दौडान येशूले यहोवाबारे अत्यन्तै विस्तृत ज्ञान लिएकोले गर्दा उहाँलाई “अदृश्य परमेश्वरको प्रतिरूप” भन्न सकिन्छ। (कल. १:१५) येशू आफैले भन्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।”—यूह. १४:९.
६ मानिसजातिलगायत सम्पूर्ण सृष्टिबारे सबैभन्दा विस्तृत ज्ञान भएको यहोवापछिको व्यक्ति येशू नै हुनुहुन्छ। कलस्सी १:१६, १७ यसो भन्छ: “उहाँमानै [अर्थात् परमेश्वरका पुत्रमानै] सबै थोक सृष्टि भएका थिए स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, . . . सबै कुराभन्दा अगाडि उहाँनै हुनुहुन्छ, र उहाँमानै सबै कुरा जम्मा भएर रहेका छन्।” एकछिन सोच्नुहोस् त! परमेश्वरको मुख्य “कारीगर”-को हैसियतमा येशूले सबै थोक सृष्टि गर्ने काममा भाग लिनुभयो। त्यसकारण उहाँलाई अतिसूक्ष्म कणदेखि अचम्मको मानव मस्तिष्कसम्म ब्रह्माण्डका एक-एक कुराबारे विस्तृत ज्ञान छ। साँच्चै, ख्रीष्ट बुद्धिको मूर्तरूप हुनुहुन्छ!—हितो. ८:१२, २२, ३०, ३१, NRV.
७, ८. सेवाको काममा येशूलाई परमेश्वरको आत्माले कसरी मदत गऱ्यो?
७ येशूलाई परमेश्वरको पवित्र आत्माद्वारा अभिषेक गरिएको थियो। येशूले भन्नुभयो: “परमप्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्त गर्नुभयो, उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिनलाई पठाउनुभएको छ, अत्याचारमा परेकाहरूलाई अमलेख गराउनको निम्ति परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नलाई!” (लूका ४:१८, १९) येशूले बप्तिस्मा लिंदा सम्भवतः पवित्र आत्माले उहाँलाई पृथ्वीमा आउनुअघि स्वर्गमा सिकेका कुराहरूलगायत मसीहको रूपमा उहाँले पृथ्वीमा पूरा गर्नुपर्ने परमेश्वरको इच्छाबारे सम्झना गरायो।—यशैया ४२:१; लूका ३:२१, २२; यूहन्ना १२:५० पढ्नुहोस्।
८ उहाँलाई पवित्र आत्माले शक्ति प्रदान गरेको थियो। उहाँको शरीर र दिमाग त्रुटिरहित थियो। त्यसैले उहाँ पृथ्वीमा बाँचेकाहरूमध्ये सबैभन्दा महान् पुरुष मात्र होइन महान् शिक्षक पनि हुनुहुन्थ्यो। भनौं भने उहाँको कुरा सुन्नेहरू “उहाँका शिक्षाले छक्क परे।” (मत्ती ७:२८) किन? एउटा कारण हो, येशूलाई मानिसजातिले भोगिरहेका समस्याको जड पाप, असिद्धता र परमेश्वरबारे ज्ञानको कमी हो भनेर थाह थियो। साथै उहाँ मानिसको मनमा के छ, सो बुझ्नुका साथै त्यसैअनुसार व्यवहार गर्न सक्नुहुन्थ्यो।—मत्ती ९:४; यूह. १:४७.
९. पृथ्वीमा येशूको अनुभवलाई विचार गर्दा तपाईं किन अझ ढुक्क भएर उहाँलाई शासकको रूपमा स्वीकार्न सक्नुहुन्छ?
९ येशूले मानिसको रूपमा जीवन बिताउनुभएको थियो। येशूले मानिसको रूपमा जीवन बिताउनुभएकोले अनि असिद्ध मानिसहरूसित घनिष्ठ सङ्गत गर्नुभएकोले उहाँ राजाको भूमिका निर्वाह गर्न योग्य हुनुभयो। प्रेरित पावलले लेखे: “मानिसहरूको पापको प्रायश्चित गर्नलाई परमेश्वर सम्बन्धको कुरामा [येशू] कृपालु र विश्वासयोग्य प्रधान पूजाहारी हुनलाई, सबै कुरामा आफ्ना भाइहरूजस्तै उहाँलाई बनिनुपऱ्यो। किनकि आफै परीक्षित भई शासना भोग्नुभएकोले परीक्षित हुनेहरूलाई उहाँले सहायता गर्नसक्नुहुन्छ।” (हिब्रू २:१७, १८) येशू आफै “परीक्षित” भएको हुँदा परीक्षा भोगिरहेकाहरूप्रति उहाँ सहानुभूति देखाउन सक्नुहुन्छ। पृथ्वीमा सेवाको दौडान उहाँको दया प्रस्ट देखियो। बिरामी, अपाङ्ग, थिचोमिचोमा परेका अनि केटाकेटीसमेत उहाँको नजिक आउन हिचकिचाउँदैन थिए। (मर्कू. ५:२२-२४, ३८-४२; १०:१४-१६) नम्र तथा परमेश्वरबारे सिक्न उत्कट चासो राख्नेहरू पनि उहाँप्रति आकर्षित हुन्थे। अर्कोतर्फ घमन्डी, अहंकारी अनि ‘परमेश्वरप्रतिको प्रेम नहुनेहरूले’ भने उहाँलाई तिरस्कार गरे, घृणा गरे अनि उहाँको विरोध गरे।—यूह. ५:४०-४२; ११:४७-५३.
१०. येशूले कुन महान् तरिकामा हामीप्रतिको प्रेम प्रमाणित गर्नुभयो?
१० येशूले हाम्रो खातिर आफ्नो जीवन दिनुभयो। सायद, येशू हाम्रो लागि मर्न इच्छुक हुनु नै उहाँ शासक हुनको लागि सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ भन्ने सशक्त प्रमाण हो। (भजन ४०:६-१० पढ्नुहोस्) ख्रीष्टले भन्नुभयो: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनुभन्दा बढ्ता प्रेम कसैको हुँदैन।” (यूह. १५:१३) असिद्ध मानव शासकहरू आफ्ना प्रजालाई शोषण गरेर अक्सर विलासी जीवन बिताउँछन् तर येशूले भने त्यसो नगरी मानिसजातिको लागि आफ्नो ज्यानै दिनुभयो।—मत्ती २०:२८.
फिरौतीको बलिदानका लाभहरू लागू गर्न येशूले शक्ति पाउनुभएको छ
११. फिरौती दिने व्यक्तिको हैसियतमा हामी येशूमाथि किन पूर्ण भरोसा राख्न सक्छौं?
११ फिरौतीको बलिदानका लाभहरू लागू गर्न येशूले नै प्रधान पूजाहारीको रूपमा नेतृत्व लिनु कत्ति उपयुक्त! वास्तवमा पृथ्वीमा आफ्नो सेवाको दौडान उहाँले जे-जति गर्नुभयो, त्यो फिरौती दिने व्यक्तिको हैसियतमा उहाँले हजार वर्षीय शासनको दौडान गर्नुहुने कुराको पूर्वझलक थियो। तर त्यस शासनले दिने लाभहरू पाउन हामी विश्वासी रहिरहनुपर्छ। उहाँले बिरामी र अपाङ्गलाई निको पार्नुभयो, मरेको मानिसलाई ब्यूँताउनुभयो, ठूलो भीडलाई खुवाउनुभयो अनि प्राकृतिक शक्तिलाई समेत आफ्नो नियन्त्रणमा राख्नुभयो। (मत्ती ८:२६; १४:१४-२१; लूका ७:१४, १५) उहाँले यी कुराहरू आफ्नो अख्तियार र शक्ति प्रदर्शन गर्न होइन तर मानिसहरूप्रतिको दया र प्रेम देखाउन गर्नुभयो। निको पारिदिनुहोस् भनी बिन्ती गर्ने कोरीलाई उहाँले भन्नुभयो: “म इच्छा गर्छु।” (मर्कू. १:४०, ४१) येशूले हजार वर्षीय शासनको दौडान यस्तै दया विश्वव्यापी तवरमा देखाउनुहुनेछ।
१२. यशैया ११:९ कसरी पूरा हुनेछ?
१२ येशूले मानिसहरूलाई परमेश्वरबारे सिकाउन करिब २,००० वर्षअघि सुरु गरेको शैक्षिक कार्यक्रमलाई ख्रीष्ट र उहाँका सह-शासकहरूले निरन्तरता दिनेछन्। यसरी यशैया ११:९ का यी शब्दहरू पूरा हुनेछन्: “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” पृथ्वी र यसमा भएका अनगिन्ती जीवजीवात्हरूको हेरचाह गर्ने सन्दर्भमा सुरुमा आदमलाई सुम्पिएको काम पूरा गर्न पनि ईश्वरीय निर्देशन दिइनेछ। हजार वर्षीय शासनको अन्तमा, उत्पत्ति १:२८ मा लिपिबद्ध परमेश्वरको सुरुको उद्देश्य पूरा हुनेछ अनि फिरौतीको बलिदानले गर्दा सम्भव हुने लाभहरू पूर्णतया लागू गरिनेछ।
येशूले न्याय गर्ने अख्तियार पाउनुभएको छ
१३. येशूले धार्मिकताप्रतिको प्रेम कसरी देखाउनुभयो?
१३ “परमेश्वरले ठहराउनुभएका, जिउँदा र मरेकाहरूका न्यायकर्त्ता” ख्रीष्ट नै हुनुहुन्छ। (प्रेरि. १०:४२) येशू अविनाशी हुनुहुन्छ, उहाँको कम्मरको पटुका धार्मिकता र उहाँको जाङको बन्धन सत्यता हो भनेर थाह पाउनु कस्तो सान्त्वनादायी! (यशै. ११:५) उहाँले लोभ, कपट तथा अन्य दुष्कर्मलाई घृणा गर्नुभयो अनि अरूको दुःखको वास्तै नराख्ने कठोर मानिसहरूको भर्त्सना गर्नुभयो। (मत्ती २३:१-८, २५-२८; मर्कू. ३:५) साथै येशूले उहाँ बाहिरी रूपको भ्रममा पर्नुहुन्न भनेर पनि देखाउनुभयो, “किनकि मानिसको हृदयमा के छ, सो उहाँ आफै जान्नुहुन्थ्यो।”—यूह. २:२५.
१४. येशूले धार्मिकता र न्यायप्रतिको प्रेम अहिले कसरी देखाइरहनुभएको छ र हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
१४ संसारमा भइरहेको अहिलेसम्मकै सबैभन्दा व्यापक प्रचार तथा शिक्षणकार्यको सुपरिवेक्षण गरेर येशूले अहिले पनि धार्मिकता र न्यायप्रतिको प्रेम देखाइरहनुभएको छ। परमेश्वरलाई चित्त बुझ्ने हदसम्म त्यो कार्य पूरा गर्नदेखि कुनै मानिस, मानव सरकार वा दुष्ट स्वर्गदूतले रोक्न सक्दैन। त्यसैले आरमागेडोनको युद्ध अन्त भएपछि ईश्वरीय न्याय विजयी हुनेछ भनेर हामी पूरा विश्वस्त हुन सक्छौं। (यशैया ११:४; मत्ती १६:२७ पढ्नुहोस्) आफैलाई सोध्नुहोस्: ‘प्रचारकार्यमा भेट्ने मानिसहरूप्रति के म येशूको जस्तै मनोवृत्ति देखाउँछु? स्वास्थ्य अवस्था वा व्यक्तिगत परिस्थितिले गर्दा मैले गर्न सक्ने कुरा सीमित भए तापनि के म यहोवालाई सर्वोत्तम सेवा चढाउँछु?’
१५. हामीले कुन कुरा मनमा राख्यौं भने परमेश्वरलाई सर्वोत्तम सेवा चढाउन सक्नेछौं?
१५ हामीले गर्ने प्रचारकार्य परमेश्वरको काम हो भनेर मनमा राख्यौं भने तनमनले उहाँको सेवा गरिरहन सक्नेछौं। उहाँले हामीलाई यो काम गर्ने आज्ञा दिनुभएको हो। यो काम गर्नको लागि डोऱ्याइ पनि उहाँले नै आफ्नो छोरामार्फत दिनुहुन्छ। अनि यस कार्यमा भाग लिनेहरूलाई उहाँले पवित्र आत्माद्वारा बल दिनुहुन्छ। के तपाईं परमेश्वरको सहकर्मीको हैसियतमा उहाँको आत्माको डोऱ्याइअनुसार चल्ने छोरासँगसँगै सेवा गर्ने सुअवसरको कदर गर्नुहुन्छ? अहिले ७० लाखभन्दा धेरै मानिस, जसमध्ये प्रायजसो “अपठित र अजान” गनिएका छन्, तिनीहरूले २३६ मुलुकमा परमेश्वरको राज्यको सन्देश सुनाइरहेका छन्। यस्तो काम गर्ने उत्प्रेरणा यहोवा परमेश्वरबाहेक अरू कसले दिन सक्छ र?—प्रेरि. ४:१३.
ख्रीष्टद्वारा आशीर्वादी हुनुहोस्!
१६. परमेश्वरले दिनुहुने कस्तो आशिष्बारे उत्पत्ति २२:१८ मा सङ्केत गरिएको छ?
१६ यहोवाले अब्राहामलाई भन्नुभयो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।” (उत्प. २२:१८) यसको अर्थ हो—परमेश्वर र उहाँको छोराको सेवा गर्न पाउनुलाई सम्मान ठान्नेहरूले मसीही सन्तानद्वारा प्राप्त हुने आशिष्को बाटो हेर्न सक्छन्। अनि ती आशिष्हरू मनमा राख्दै अहिले तिनीहरू परमेश्वरको सेवामा व्यस्त भई लागिरहेका छन्।
१७, १८. हामी व्यवस्था २८:२ मा यहोवाले गर्नुभएको कुन प्रतिज्ञा पाउँछौं अनि यसले हाम्रो लागि कस्तो अर्थ राख्छ?
१७ परमेश्वरले अब्राहामको सन्तान अर्थात् इस्राएल राष्ट्रलाई एक चोटि यसो भन्नुभएको थियो: “परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गऱ्यौ भने यी सबै आशिष तिमीहरूलाई लाग्नेछन्, र तिमीहरू आशिषित हुनेछौ।” (व्यव. २८:२) आज परमेश्वरका सेवकहरूलाई पनि यही कुरा लागू हुन्छ। तपाईं यहोवाको आशिष् पाउन चाहनुहुन्छ भने उहाँको वचन ‘पालन गरिरहनुहोस्।’ यसो गर्नुभयो भने उहाँको आशिष् ‘तपाईंलाई लाग्नेछ, र तपाईं आशिषित हुनुहुनेछ।’ तर वचन ‘पालन गर्नुको’ अर्थ के हो?
१८ वचन पालन गर्नु भनेको परमेश्वरको वचनमा भनिएका कुरा अनि उहाँले दिने आध्यात्मिक भोजनलाई गम्भीरतापूर्वक विचार गर्नु हो। (मत्ती २४:४५) वचन पालन गर्नु भनेको परमेश्वर र उहाँको छोराको आज्ञा मान्नु पनि हो। येशूले भन्नुभयो: “मलाई प्रभु! प्रभु!! भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।” (मत्ती ७:२१) साथै परमेश्वरको वचन पालन गर्नुको अर्थ उहाँले गरेको प्रबन्धको अधीनमा राजीखुसीले बस्नु पनि हो। त्यो प्रबन्ध नियुक्त प्राचीनहरू अर्थात् “पुरुषहरूमध्ये वरदान” भएको ख्रीष्टियान मण्डली हो।—एफि. ४:८, NW.
१९. आशिष् पाउन हामीले के गर्नुपर्छ?
१९ परिचालक निकायका सदस्यहरू पनि ती “पुरुषहरूमध्ये वरदान” हुन्, जसले सम्पूर्ण ख्रीष्टियान मण्डलीको प्रतिनिधिको रूपमा काम गर्छन्। (प्रेरि. १५:२, ६) भनौं भने ख्रीष्टका आध्यात्मिक भाइहरूप्रति हामीले राख्ने मनोवृत्तिले आउँदै गरेको महासङ्कष्टमा हामीले कस्तो न्याय भोग्ने हो, त्यसलाई फरक पार्छ। (मत्ती २५:३४-४०) त्यसैले आशिष् पाउने एउटा तरिका परमेश्वरका अभिषिक्त जनहरूप्रति वफादार भई तिनीहरूलाई समर्थन गरिरहनु हो।
२०. (क) “पुरुषहरूमध्ये वरदान”-को मुख्य जिम्मेवारी के हो? (ख) यी भाइहरूको कदर गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?
२० शाखा समितिका सदस्य, परिभ्रमण निरीक्षक तथा मण्डलीका प्राचीनहरू पनि “पुरुषहरूमध्ये वरदान” हुन्। तिनीहरू सबै पवित्र आत्माद्वारा नियुक्त भएका हुन्छन्। (प्रेरि. २०:२८) यी भाइहरूको मुख्य जिम्मेवारी परमेश्वरका जनको उत्थान गर्नु हो, ‘जबसम्म सबै जनाले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनन्, अर्थात् ख्रीष्टको पूर्णताको कदको नापसम्मको पूरा पाको मानिस हुँदैनन्।’ (एफि. ४:१३) हुनत तिनीहरू पनि हामीजस्तै असिद्ध मानिसहरू हुन्। तैपनि तिनीहरूले मायालु ढङ्गमा गोठालोको काम गर्दा कृतज्ञ भई तिनीहरूको कुरा सुन्यौं भने हामीले आशिष् पाउनेछौं।—हिब्रू १३:७, १७.
२१. हामीले परमेश्वरको छोराको आज्ञा पालन गर्नु किन जरुरी छ?
२१ चाँडै ख्रीष्टले शैतानको दुष्ट रीतिरिवाज विरुद्ध कदम चाल्नुहुनेछ। त्यतिबेला हाम्रो जीवन येशूको हातमा हुनेछ किनभने भविष्यवाणी गरिएको “ठूलो भीड”-लाई “जीवनका पानीहरूका फोहोरासम्म” डोऱ्याउन परमेश्वरले उहाँलाई नै अख्तियार दिनुभएको छ। (प्रका. ७:९, १६, १७) त्यसैले यहोवाको आत्माद्वारा डोऱ्याइएको राजाको अधीनमा राजीखुसीले बस्न अनि उहाँप्रति कृतज्ञ हुन अहिल्यै यथाशक्य गरौं। (w10-E 12/15)
तपाईंले निम्न पदहरूबाट के सिक्नुभयो . . .
• यशैया ११:१-५?
[प्रश्नहरू]
[पृष्ठ २५-मा भएको चित्र]
येशूले याइरसकी छोरीको पुनरुत्थान गर्नुहुँदा उहाँको दया प्रस्ट देखियो
[पृष्ठ २६-मा भएको चित्र]
येशू ख्रीष्टले अहिलेसम्मकै सबैभन्दा व्यापक तवरमा भइरहेको प्रचारकार्यको सुपरिवेक्षण गरिरहनुभएको छ