नेपाली
‘तपाईंहरूलाई सूर्यमुनि भएका कुनै पनि कुराले नरोकोस्‌!’
https://cms-imgp.jw-cdn.org/img/p/2015848/univ/art/2015848_univ_sqr_xl.jpg
w15 ११/१५ पृ. ३१-३२

हाम्रो अभिलेखालयबाट

‘तपाईंहरूलाई सूर्यमुनि भएका कुनै पनि कुराले नरोकोस्‌!’

‘तपाईंहरूलाई सूर्यमुनि भएका कुनै पनि कुराले नरोकोस्‌!’

सन्‌ १९३१ को कुरा हो। पेरिसको निकै चर्चित प्लेयल कन्सर्ट हलमा २३ वटा देशका अतिथिहरू आउने क्रम चलिरहेको थियो। रङ्‌गीचङ्‌गी पोसाकमा सजिएका ती अतिथिहरू धमाधम ट्याक्सीबाट हल अगाडि ओर्लंदै थिए। एकै छिनमा ३ हजार मानिसले मुख्य हल खचाखच भरियो। तिनीहरू कुनै कन्सर्टका लागि नभई त्यतिबेला प्रचारकार्यको नेतृत्व लिइरहेका भाइ जोसेफ एफ. रदरफोर्डको भाषण सुन्‍न आएका थिए। जोसले भरिएर उहाँले दिनुभएको भाषण फ्रान्सेली, जर्मन र पोलिश भाषामा पनि अनुवाद गरिएको थियो। भाइ रदरफोर्डको बुलन्द आवाजले हल गुन्जिरहेको थियो।

पेरिसमा भएको अधिवेशनपछि फ्रान्समा प्रचारकार्यले नयाँ मोड लियो। भाइ रदरफोर्डले देश-विदेशबाट आएका दाजुभाइ दिदीबहिनीलाई, विशेषगरि युवायुवतीलाई फ्रान्समा आएर अग्रगामी (पहिले कल्पोर्टर भनिन्थ्यो) सेवा गर्न जोडदार आग्रह गर्नुभयो। बेलायतबाट आएका किशोर जन कुकको मनमा भाइ रदरफोर्डको यी शब्दहरूले अमेट छाप पाऱ्‍यो: “तपाईं युवायुवतीलाई सूर्यमुनि भएका कुनै पनि कुराले अग्रगामी सेवा गर्न नरोकोस्‌!” a

पछि मिसनरीको रूपमा सेवा गरेका जन कुकले जस्तै अरू धेरैले यो आग्रह स्वीकारे। पावलको दर्शनमा म्यासिडोनियाली पुरुषले म्यासिडोनिया आएर मदत गर्नुहोस्‌ भनेर बिन्ती गरेजस्तै फ्रान्सका मानिसहरूले पनि आफूलाई बोलाइरहेको तिनीहरूले महसुस गरे। (प्रेषि. १६:९, १०) सन्‌ १९३० मा फ्रान्समा अग्रगामीहरू जम्मा २७ जना थिए। तर सन्‌ १९३१ मा अग्रगामीहरूको सङ्‌ख्या ह्वात्तै बढेर १०४ पुग्यो। एक वर्ष भित्रै यति धेरै वृद्धि हुनु अचम्मै लाग्ने कुरा थियो। ती अग्रगामीहरू मध्ये धेरैजसोलाई फ्रान्सेली भाषा बोल्न आउँदैनथ्यो। त्यसमाथि तिनीहरूलाई अभाव र एक्लोपनले पनि सतायो। यी सबै समस्याहरूको तिनीहरूले कसरी सामना गरे?

भाषाको तगारो पार गर्दै

विदेशबाट आएका अग्रगामीहरू राज्यको सुसमाचार सुनाउन सन्देश कार्डमा भर पर्थे। पेरिसमा जोसका साथ प्रचार गरेका एक जर्मन भाइले यसो भने: “हामीलाई परमेश्‍वर सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ भनेर थाह थियो। तैपनि प्रचार गर्ने बेला हाम्रो मुटुको धड्‌कन एक्कासि बढ्‌थ्यो, ओठ तालु सुक्थ्यो। तर मान्छे देखेर डराएको त होइन, बरु फ्रान्सेली भाषामा ‘कृपया, यो कार्ड पढ्‌नुहोस्‌’ भन्‍ने वाक्य बिर्सने हो कि भन्‍ने चिन्ताले गर्दा त्यस्तो भएको हो। हाम्रो काम निकै महत्त्वपूर्ण छ भनेर हामीले बुझेका थियौं।”

सुरु-सुरुका अग्रगामीहरूले साइकल र मोटर साइकल चढेर फ्रान्सको कुना-कुनामा सुसमाचार पुऱ्‍याए

ठूला-ठूला भवनमा प्रचार गर्न जाँदा कहिलेकाहीं भवनको गार्डले अग्रगामीहरूलाई लखेट्‌थे। फ्रान्सेली भाषा त्यति राम्ररी बोल्न नजान्‍ने दुई बेलायती अग्रगामी एकदिन त्यस्तै इलाकामा प्रचार गर्दै थिए। त्यस दिन भवनको गार्डसित तिनीहरूको जम्काभेट भयो। ती बहिनीहरूलाई देखेपछि गार्ड असाध्यै रिसाए अनि ‘कसलाई खोजेको’ भनेर हप्कीदप्की गर्न थाले। त्यत्तिकैमा एउटी बहिनीले ढोकामा फ्रान्सेली भाषामा यस्तो लेखिएको देखिन्‌: “घण्टी बजाउनुहोस्‌!” त्यो घरधनीको नाम होला भन्‍ने सोचेर मुस्कुराउँदै तिनले यस्तो जवाफ दिइन्‌: “हामी ‘घण्टी बजाउनुहोस्‌!’ दिदीलाई भेट्‌न आएको।” नम्र भई राम्ररी सोचविचार गरेर बोल्दा यी जोसिला अग्रगामीहरू सफल हुन सके।

अभाव र एकाकीपनले तिनीहरूलाई रोक्न सकेन

सन्‌ १९३० को दशकमा धेरैजसो फ्रान्सेलीहरूको आर्थिक अवस्था निकै कमजोर थियो। विदेशबाट सेवा गर्न आएका अग्रगामीहरू पनि पानी माथिको ओबानो हुने कुरै भएन। बेलायतबाट सेवा गर्न आएकी मोना ब्रस्काले तिनी र तिनकी अग्रगामी साथीको अनुभव यसरी सुनाइन्‌: “हामी साधारण घरमा बस्थ्यौं। सबैभन्दा ठूलो समस्या, जाडोको बेला कोठा अति नै चिसो हुन्थ्यो; हामीसित कोठा तातो बनाउने केही पनि थिएन। बिहान उठ्‌दा त जगमा राखेको पानी पूरै जमेको हुन्थ्यो। त्यही जमेको पानी फुटाएर हातमुख धुन्थ्यौं।” त्यतिबेला ती अग्रगामीहरूलाई सान्त्वना दिने कोही पनि थिएन। तर के तिनीहरू निराश भए त? पटक्कै निराश भएनन्‌। तिनीहरू मध्ये एक जनाले सबैको भावना समेट्‌दै यसो भने: “हामीसित केही पनि थिएन तर कुनै कुराको अभाव महसुस पनि भएन।”—मत्ती ६:३३.

सन्‌ १९३१ मा पेरिसको अधिवेशनमा उपस्थित भएका बेलायती अग्रगामीहरू

यी जोसिला अग्रगामीहरूले एकाकीपनसित पनि जुध्नुपऱ्‍यो। सन्‌ १९३० को दशकको सुरुतिर फ्रान्समा प्रकाशकहरूको सङ्‌ख्या ७०० को हाराहारीमै सीमित थियो। त्यसमाथि पनि धेरैजसो प्रकाशकहरू देशका विभिन्‍न भागमा छरिएर बसेका थिए। मोना र तिनकी अग्रगामी साथीले कहिलेकाहीं एक्लो महसुस गर्थे। यी अग्रगामीहरूले कसरी एकाकीपनको सामना गरे? मोना यसो भन्छिन्‌: “एक्लो महसुस हुँदा हामी सोसाइटीको प्रकाशनहरू अध्ययन गर्थ्यौं। त्यतिबेला अहिलेको जस्तो पुनःभेट र बाइबल अध्ययन गराउनु पर्दैनथ्यो। त्यसैले हामी साँझको समयमा परिवार र अरू अग्रगामी साथीहरूलाई चिठी लेखेर आफूले बटुलेको अनुभवहरू बाड्‌थ्यौं। यसो गरेकोले हामी आफ्नो सेवामा आनन्दित हुन सक्यौं।”—१ थिस्स. ५:११.

अरूको भलाइको लागि काम गर्ने यी जोसिला अग्रगामीहरूको जीवनमा समस्याहरू आए। तर तिनीहरू कहिल्यै हताश भएनन्‌। यो कुरा ती अग्रगामीहरूले शाखा कार्यालयमा पठाएको चिठीबाट स्पष्ट हुन्छ। यसरी चिठी पठाउनेहरूमध्ये कोही-कोही त दशकौंदेखि फ्रान्समा सेवा गरिरहेकाहरू पनि थिए। एक अभिषिक्‍त बहिनी आन्‍नी क्राजेनलाई विचार गर्नुहोस्‌। सन्‌ १९३१ देखि १९३५ सम्म उहाँले आफ्नो श्रीमान्‌सँगै फ्रान्सको एउटा कुनादेखि अर्को कुनासम्म यात्रा गर्नुभयो। ती दिनहरू सम्झँदै उहाँले यस्तो लेख्नुभएको थियो: “हामीले निकै रमाइला क्षणहरूको आनन्द उठाएका थियौं। हामी अग्रगामीहरू मायाको न्यानो बन्धनमा बाँधिएका थियौं। यसरी वर्षौसम्म अग्रगामी गर्दा हामीले पावलले भनेको यो कुरा आफैले अनुभव गऱ्‍यौं: ‘मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्‍वरले त्यसलाई हुर्काउनुभयो।’”—१ कोरि. ३:६.

प्रचारकहरूको आवश्‍यकता परेको ठाउँमा सेवा गर्ने लक्ष्य राखेका सबैका लागि ती अग्रगामीहरूले धीरज र जोसको राम्रो उदाहरण छोडेर गएका छन्‌। अहिले फ्रान्समा १४ हजार नियमित अग्रगामी सेवक छन्‌। धेरैले विदेशी भाषाका समूह र मण्डलीहरूलाई सघाइरहेका छन्‌। b तिनीहरूका अग्रजलाई जस्तै तिनीहरूलाई पनि सूर्यमुनि भएका कुनै पनि कुराले रोक्न सक्दैन।—फ्रान्सको हाम्रो अभिलेखालयबाट।

a पोल्याण्डबाट फ्रान्समा बसाइँ सरेर आएकाहरूले प्रचारकार्यमा कसरी योगदान दिए भनेर बुझ्न अगस्त १५, २०१५ को प्रहरीधरहरा-बाट “यहोवाले तपाईंहरूलाई सत्य सिकाउन फ्रान्समा ल्याउनुभएको हो” भन्‍ने लेख पढ्‌नुहोस्‌।

b सन्‌ २०१४ को रिपोर्टअनुसार फ्रान्स शाखाले ९०० वटा विदेशी भाषाका मण्डली तथा समूहलाई मदत दिइरहेको छ। यी मण्डली तथा समूहले ७० वटा विभिन्‍न भाषामा प्रचार गरिरहेका छन्‌।