नेपाली
चराको पखेटाको टुप्पो
https://cms-imgp.jw-cdn.org/img/p/102015048/univ/art/102015048_univ_sqr_xl.jpg

सृष्टि या संयोग?

चराको पखेटाको टुप्पो

चराको पखेटाको टुप्पो

जेट विमान उड्दा त्यसको पखेटाको टुप्पोमा एक प्रकारको भुमरी पैदा हुन्छ। यस्तो भुमरीले विमानको गतिलाई कम गराउँछ र इन्धनको खपत बढाउँछ। साथै भुमरीले नजिकै उडिरहेको अर्को विमानलाई पनि हुत्याउँछ। त्यसैले एउटै धावनमार्गबाट उड्ने विमानहरूलाई पर्याप्त समयको अन्तरालमा उडाइन्छ। यसो गर्दा भुमरी बिलाउन प्रशस्तै समय हुन्छ जसले गर्दा त्यसपछि उड्ने विमानहरूलाई भुमरीले कुनै असर गर्दैन।

विमान बनाउने इन्जिनियरहरूले यो समस्यालाई कम गर्ने तरिका पत्ता लगाएका छन्‌। त्यो के हो? बाज, चील र सारस जस्ता चराहरूको पखेटाको टुप्पो अनुकरण गर्दै बनाइएको विमानको पखेटा।

विचार गर्नुहोस्: यी ठूला चराहरू उड्दा त्यसको पखेटाको टुप्पोको प्वाँख माथितिर फर्कन्छ। यस्तो आकारले गर्दा चराको पखेटा छोटो भए तापनि त्यो धेरै माथिसम्म उड्न सक्छ। साथै चराको उड्ने क्षमता पनि बढ्छ। इन्जिनियरहरूले यस्तै आकारमा विमानका पखेटाहरू डिजाइन गरेका छन्‌। यसरी डिजाइन गरिएको विमानको कार्य क्षमतामा १० प्रतिशत वा सोभन्दा बढी सुधार आएको कुरा एउटा परीक्षणबाट पत्ता लागेको छ। यसको कारण के हो? इन्साइक्लोपीडिया अफ फ्लाइट का अनुसार टुप्पो माथि फर्काइएका पखेटाले स-साना भुमरी मात्र पैदा गर्छ जसले गर्दा विमानको गति कम हुँदैन र विमानलाई अघि बढ्न मदत पुऱ्याउँछ।

यसरी डिजाइन गरिएको पखेटाले विमानलाई टाढासम्म उड्न र अझ धेरै भार उठाउन मदत गर्छ। यस्ता विमानमा पखेटा छोटो हुने भएकोले पार्किङ् गर्न सजिलो र इन्धनको बचत हुन्छ। उदाहरणको लागि, सन्‌ २०१० मा “संसारभरि विमानहरूले ७ अरब ६० करोड लिटर इन्धन बचाउन सकेको थियो।” साथै विमानले निकाल्ने धुवाँ कम गर्न पनि मदत पुगेको थियो भनेर नासा समाचारमा उल्लेख गरिएको छ।

तपाईंलाई कस्तो लाग्छ? चराको पखेटाको टुप्पो विकासवादको उपज हो या सृष्टि? (g15-E 02)