मधुमेह​—⁠यसबाट कसरी बच्न सक्नुहुन्छ?

मधुमेह​—⁠यसबाट कसरी बच्न सक्नुहुन्छ?

मधुमेह रोग तीव्र गतिमा विश्वभरि नै महामारीको रूपमा फैलिरहेको छ। मधुमेह विशेषगरि दुई प्रकारका हुन्छन्‌। पहिलो प्रकारको मधुमेह बाल्यकालदेखि नै लाग्छ र डाक्टरहरूलाई यसको रोकथाम कसरी गर्ने भनेर थाह छैन। नब्बे प्रतिशत मधुमेह रोगीहरू भने दोस्रो प्रकारको मधुमेहबाट पीडित छन्‌। यो लेखमा विशेषगरि दोस्रो प्रकारको मधुमेहको विषयमा छलफल गरिएको छ।

धेरै पहिले दोस्रो प्रकारको मधुमेह उमेर ढल्केका व्यक्तिहरूलाई मात्र लाग्छ भन्ने गरिन्थ्यो। तर आजभोलि यो रोग बच्चाहरूमा पनि देखा परेको छ। विशेषज्ञहरूका अनुसार यस प्रकारको मधुमेहको खतरा कम गर्न सकिन्छ। चालै नपाई लाग्ने यो डरलाग्दो रोगको विषयमा केही जानकारी लिनुभयो भने तपाईंलाई पक्कै फाइदा पुग्नेछ। *

मधुमेह भनेको के हो?

मधुमेह रोग लाग्नु भनेको रगतमा चिनीको मात्रा अचाक्ली बढ्‌नु हो। सामान्यतया शरीरमा ऊर्जा तयार पार्नको लागि रगतबाट कोषहरूमा चिनी पठाइन्छ। तर मधुमेह रोग लागेमा यो प्रक्रियाले राम्ररी काम गर्न सक्दैन। परिणामस्वरूप शरीरका अत्यावश्यक अङ्‌गहरू र रक्तसञ्चारमा क्षति पुग्छ। यसले गर्दा मृगौलामा समस्या देखा पर्ने, आँखा नदेख्ने, खुट्टाका औंलाहरू वा खुट्टा नै काट्‌नु पर्ने पनि हुन सक्छ। थुप्रै मधुमेह रोगीहरूको मृत्यु हृदयघात वा मस्तिष्कघात भएर हुने गर्छ।

दोस्रो प्रकारको मधुमेह लाग्नुको मुख्य कारण शरीरमा बोसोको मात्रा धेरै हुनु पनि हो। विशेषज्ञहरूका अनुसार पेट र कम्मरको वरपर धेरै बोसो छ भने यसले मधुमेह हुन सक्ने खतराको सङ्‌केत गर्छ। विशेषगरि पाचन ग्रन्थी (प्यानक्रियाज) र कलेजोमा बोसो जमेको छ भने शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने प्रणालीमा समस्या आउँछ। त्यसोभए तपाईं मधुमेहबाट कसरी बच्न सक्नुहुन्छ?

मधुमेहबाट बच्ने तीन तरिका

१. तपाईंलाई मधुमेह लाग्ने खतरा बढी छ भने रगतमा चिनीको मात्रा कति छ भनेर जाँच गराउनुहोस्। रगतमा चिनीको मात्रा सामान्यभन्दा अलि बढी हुनुलाई मधुमेहको पूर्व अवस्था भनिन्छ। यो अवस्थाले पछि गएर दोस्रो प्रकारको मधुमेहलाई निम्त्याउँछ। दुवै अवस्था खतरा मुक्त नभए तापनि यी दुई अवस्थाबीच भिन्नता छ। मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ तर यसलाई पूर्णतया निको पार्न भने सकिंदैन। अर्कोतर्फ मधुमेहको पूर्व अवस्थामा भएका केही व्यक्तिहरूले भने रगतमा भएको चिनीको मात्रालाई घटाएर सामान्य अवस्थामा पुऱ्याउन सफल भएका छन्‌। मधुमेहको पूर्व अवस्थाका लक्षणहरू स्पष्ट नदेखिने भएकोले मानिसहरूलाई यो अवस्थामा पुगेको पत्तै नहुन सक्छ। रिपोर्टहरूले देखाएअनुसार संसारमा झन्डै ३१ करोड ६० लाख मानिसहरू मधुमेहको पूर्व अवस्थामा पुगेका छन्‌। तर तिनीहरूमध्ये धेरैलाई यसको पत्तै छैन। जस्तै: अमेरिकामा मधुमेहको पूर्व अवस्थामा भएका ९० प्रतिशत वयस्कहरूलाई आफू यो अवस्थामा पुगेको पत्तै छैन।

त्यसो भन्दैमा मधुमेहको पूर्व अवस्थालाई बेवास्ता गर्न मिल्दैन। यसले दोस्रो प्रकारको मधुमेहलाई निम्त्याउनुका साथै डाइमेन्सिया भन्ने एक किसिमको बिर्सने रोग लाग्ने सम्भावना पनि बढाउँछ भनी हालसालै पत्ता लागेको छ। यदि तपाईंको तौल धेरै छ, तपाईं खासै शारीरिक व्यायाम गर्नुहुन्न वा तपाईंको परिवारमा कसैलाई मधुमेह लागि सकेको छ भने तपाईं मधुमेहको पूर्व अवस्थामा हुने सम्भावना धेरै छ। रगत जाँच गरेर तपाईं यो अवस्थामा हुनुहुन्छ कि हुनुहुन्न भनेर पत्ता लगाउन सक्नुहुन्छ।

२. स्वस्थकर खाना खानुहोस्। सम्भव छ भने तल दिइएका केही सुझावहरू लागू गर्नुहोस्: सदाभन्दा थोरै मात्रामा खाना खाने गर्नुहोस्। चिनीयुक्त फलफूलको जुस र पेय पदार्थको सट्टा पानी, चिया वा कफी पिउनुहोस्। प्रशोधित खानेकुरा भन्दा ननिफनेको अन्नको रोटी, भात र पास्टा सन्तुलित मात्रामा खानुहोस्। ओखर, काजु, बदाम जस्ता काष्ठफलहरू, गेडागुडी, माछा र बोसो कम भएको मासु खाने गर्नुहोस्।

३. नियमित रूपमा व्यायाम गर्नुहोस्। व्यायामले रगतमा भएको चिनीको मात्रा कम गर्नुका साथै तौल सन्तुलित राख्न पनि मदत गर्छ। एक जना विशेषज्ञले टिभी हेर्ने केही समयलाई व्यायामको लागि प्रयोग गर्न सल्लाह दिए।

तपाईं वंशानुगत रोगलाई टार्न त सक्नु हुन्न। तर आफ्नो जीवनशैली भने परिवर्तन गर्न सक्नु हुन्छ। आफ्नो स्वास्थ्य राम्रो बनाउन तपाईंले गर्नुहुने जुनसुकै प्रयास पनि खेर जाने छैन। (g14-E 09)

^ अनु. 3 ब्यूँझनुहोस्! पत्रिकाले कुनै खास किसिमको आहार वा व्यायाम तालिकाको सिफारिस गर्दैन। स्वास्थ्यसम्बन्धी कुनै पनि निर्णय गर्नुपर्दा हरेकले उपलब्ध विकल्पहरूलाई होसियार भई केलाउनुपर्छ र आवश्यकता अनुसार आफ्नो डाक्टरसित सल्लाह लिनुपर्छ।