सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख

समयको सदुपयोग कसरी गर्ने?

समयको सदुपयोग कसरी गर्ने?

“लौ न, कत्ति छिटो समय बितेको।” तपाईं कतिचोटि यसो भन्नुहुन्छ? समयले कसैलाई काखा कसैलाई पाखा गर्दैन। धनी-गरिब सबैले पाउने समय उत्ति नै हो। न त धनीले समय बचत गर्न सक्छ न त गरिबले नै। बगेको खोला फर्केर आउँदैन; एकचोटि समय बितेपछि बित्यो-बित्यो। त्यसैले जति समय पाएका छौं त्यसको सदुपयोग गर्नु नै बुद्धिमानी हो। तर समयको सदुपयोग कसरी गर्ने? चार तरिका विचार गरौं। यी तरिकाहरूले थुप्रैलाई मदत गरेको छ।

तरिका १: व्यवस्थित हुनुहोस्

प्राथमिकता: ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, पक्का गर’ भनी बाइबलमा सल्लाह दिइएको छ। (फिलिप्पी १:१०) तुरुन्तै गरिहाल्नुपर्ने काम वा पछि गरे पनि हुने काम के-के छन्‌, त्यसको सूची बनाउनुहोस्। जस्तै किनमेल गर्नुपर्ने त होला तर तुरुन्तै जानु नपर्ने पनि हुन सक्छ। अर्कोतिर आफूलाई मनपर्ने टिभी कार्यक्रमको लागि तुरुन्तै समय छुट्टयाउनुपर्ने जस्तो देखिन सक्छ तर त्यो महत्त्वपूर्ण नहुन सक्छ। *

पहिल्यै सोच्नुहोस्: बाइबलको एउटा पदमा यस्तो लेखिएको छ: “बन्चरो बोधो छ र त्यो उध्याएको छैन भने ज्यादै बल प्रयोग गर्नुपर्छ। बुद्धिमान्‌ मानिसलाई सफलता पाउने ठूलो मौका हुन्छ।” (उपदेशक १०:१०) यो पदबाट हामी कस्तो पाठ सिक्न सक्छौं? जसरी काठ काट्‌नुअघि ‘बन्चरो उध्याइन्छ’ त्यसरी नै कुनै काम गर्नुअघि योजना बनाउनुपर्छ। यसो गर्नुभयो भने तपाईंले समयको सदुपयोग गर्न जान्नुहुनेछ। समय-शक्ति खाने अनावश्यक कामलाई थन्काउनुहोस्। कुनै काम समयभन्दाअघि नै सकाइसक्नुभएको छ भने पछि गर्नु पर्ने काम पनि अहिल्यै गरे कसो होला? पहिल्यै विचार पुऱ्याउनुभएको छ भने तपाईंले थुप्रै काम भ्याउनुहुनेछ। तपाईं बन्चरो उध्याउने बुद्धिमान्‌ मानिस हुनुहुनेछ।

जीवन सरल बनाउनुहोस्: अनावश्यक वा समय धेरै खाने कुराबाट परै बस्नुहोस्। एकैचोटि थुप्रै कुरामा हात हाल्न खोज्नुभयो वा थुप्रै जिम्मेवारी लिन खोज्नुभयो भने त्यसले तपाईंको आनन्द खोस्नेछ; तपाईं निराशाको भुमरीमा पर्नुहुनेछ।

 तरिका २: समय चोरदेखि सावधान!

आलेटाले नगर्नुहोस्-दोमनको नहुनुहोस्: “बतासको विचार गर्नेले कहिल्यै छर्दैन, औ बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।” (उपदेशक ११:४) यसबाट के सिक्न सक्छौं? आलेटाले गऱ्यौं भने समय खेर जान्छ र काम पनि थाती रहन्छ। मौसम राम्रो भएपछि बाली लगाउँला भनेर पर्खने किसानले कहिल्यै पनि बीउ छर्दैन अनि अन्न पनि भित्र्याउँदैन। भोलि ‘के होला, कसो होला’ भन्ने कुरा थाह नभएकोले हामीलाई कहिलेकाहीं दोमन हुन सक्छ। यसले हामीलाई निर्णय गर्न पनि गाह्रो बनाउन सक्छ। यस्तो बेला राम्ररी कुरा बुझिसकेपछि मात्र निर्णय गरौंला भन्ने लाग्न सक्छ। हो, निर्णय गर्नुअघि सोध-खोज गर्नु, विचार पुऱ्याउनु धेरै राम्रो हो। बाइबलमा पनि “चतुर मानिसले चाहिं प्रमाणको आवश्यकतालाई बुझ्छ” भनेर लेखिएको छ। (हितोपदेश १४:१५) तर जुनसुकै निर्णय गर्दा पनि पछि के हुन्छ, त्यो त पूरै थाह हुँदैन नि, हैन र?—उपदेशक ११:६.

अचाक्ली माग नगर्नुहोस्: सृष्टिकर्ता यहोवाले दिएको “बुद्धि पाउने मानिस . . . व्यावहारिक . . . हुन्छ।” (याकूब ३:१७) कुनै पनि काम राम्रोसित गर्न खोज्नु नराम्रो त होइन। तर कहिलेकाहीं काम राम्रो गर्ने धुनमा हदै गर्न सक्छौं। चाहिनेभन्दा बढी आशा गर्दा निराशा र असफलताबाहेक अरू केही हात लाग्दैन। जस्तै, अर्को भाषा सिक्दै गरेको मान्छेलाई विचार गरौं। उसले आफूबाट गल्ती नै हुँदैन भनेर सोच्नु त व्यावहारिक हुँदैन नि, हैन र? आखिर त्यस्तै गल्तीबाट सिक्ने त हो नि। तर अव्यावहारिक मान्छेले भने आफूले बोल्दा गल्ती होला कि भनेर सोच्छ। फलस्वरूप उसले कहिल्यै प्रगति गर्दैन। यस्तो बेला नम्र हुनु कत्ति राम्रो! “नम्रताले बुद्धि ल्याउँछ” भनी बाइबल बताउँछ। (हितोपदेश ११:२, NRV) नम्र मान्छे गल्ती गर्दा निरुत्साहित हुँदैन। बरु उसले आफ्नो गल्तीमा हाँस्न सिकेको हुन्छ।

“कुनै कुरा किन्दा तपाईंले पैसा होइन समय तिरिरहनुभएको हुन्छ।”—जन्मेदेखि नमरेसम्म के गर्ने? (अङ्‌ग्रेजी)

 तरिका ३: सन्तुलित अनि व्यावहारिक हुनुहोस्

काम अनि आराम: “दुवै मुठी भएर व्यर्थको परिश्रम गरेको भन्दा एक मुठी भरिएको औ मनमा शान्ति भएको असल हो।” (उपदेशक ४:६) अनावश्यक रूपमा काममा जोतिने मानिसहरू “दुवै मुठी”-मा काम लिएर “व्यर्थको परिश्रम” गरिरहेका हुन्छन्‌। तिनीहरूसित न समय बाँकी रहन्छ न त शक्ति नै। अर्कोतर्फ अल्छी मान्छेहरू भने “दुवै मुठी”-मा आराम लिएर समय खेर फाल्छन्‌। तर बाइबलले हामीलाई सन्तुलित हुने सल्लाह दिएको छ: ‘काम पनि गर, माम पनि खाऊ।’ परिश्रमको फलबाट आनन्द लिनु यहोवाको “वरदान हो।”—उपदेशक ५:१९, NRV.

मजाले सुत्नुहोस्: बाइबलका एक जना लेखक यसो भन्छन्‌: “शान्तिमा म पल्टूँला र निदाऊँला।” (भजन ४:८) सामान्यतया वयस्क मानिसहरू औसतमा आठ घण्टा सुत्नु राम्रो हो। निद्रा पुगेको छ भने शारीरिक, भावनात्मक र मानसिक तवरमा तन्दुरुस्त रहन मदत मिल्छ। साथै, ध्यान दिन, कुनै कुरा याद गर्न अनि सिक्न पनि सजिलो हुन्छ। तर निद्रा पुगेन भने सिक्न गाह्रो हुन्छ, दुर्घटना हुने सम्भावना धेरै हुन्छ, काम बिग्रिन्छ अनि चिढचिढाहट हुन्छ।

व्यावहारिक लक्ष्य राख्नुहोस्: “आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनु . . . असल छ।” (उपदेशक ६:९) मतलब? बुद्धिमान्‌ मान्छे खोक्रो चाहनाको पछि लाग्दैन। अझ त्यस्तो चाहना पूरा गर्न असम्भव छ भने त त्यसमा आँखा पनि लगाउँदैन। आकर्षक विज्ञापन वा लोन लिने पासोमा पर्दैन। बरु ‘आफूसित भएको कुरामा सन्तुष्ट हुन्छ’; ‘घाँटी हेरी हाड निल्छ।’

 तरिका ४: नैतिक स्तरअनुसार चल्नुहोस्

नैतिक स्तरलाई ध्यानमा राख्नुहोस्: यसो गर्नुभयो भने तपाईंले सही-गलत अनि आवश्यक-अनावश्यक कुरा छुट्‌याउन मदत पाउनुहुनेछ। मानौं तपाईंको जीवन एउटा तीर हो। यो तीरलाई सही ठाउँमा निसाना लगाउन नैतिक स्तरले मदत गर्छ। हो, नैतिक स्तरअनुसार चल्दा सही कुरालाई प्राथमिकता दिन मात्र होइन, घण्टा-घण्टा, सेकेन्ड-सेकेन्डको हिसाब राख्न पनि मदत मिल्छ। तर सही नैतिक स्तर कहाँ पाउन सकिन्छ? थुप्रैले बाइबलमा पाएका छन्‌। तिनीहरू बाइबलको शिक्षा देखेर तीनछक परेका छन्‌।—हितोपदेश २:६, ७.

प्रेमलाई जीवनको अभिन्न भाग बनाउनुहोस्: बाइबल भन्छ, “प्रेम . . . सिद्धताको गाँठो हो।” (कलस्सी ३:१४) प्रेम भएन भने खुसी-आनन्द केही पनि हुँदैन। विशेषगरि परिवारमा। हामीले देखेकै छौं, जो मान्छे पैसा अनि करियरको पछि लाग्छ, उसले आफ्नो आनन्द बेचिरहेको हुन्छ। त्यसैले बाइबलमा प्रेमको महत्त्वलाई एकदमै जोड दिइएको छ। यो गुणबारे सयौं पटक चर्चा गरिएको छ।—१ कोरिन्थी १३:१-३; १ यूहन्ना ४:८.

साँचो सृष्टिकर्ता चिन्न समय निकाल्नुहोस्: जेफ भन्ने व्यक्तिलाई विचार गरौं। तिनको जीवनमा केही कमी थिएन। तिनले सहयोगी श्रीमती, माया गर्ने छोराछोरी (२ जना) अनि सुख-दुःखमा साथ दिने साथीहरू पाएका थिए। कम्पाउन्डरको रूपमा राम्रै जागिर खाइरहेका थिए। तर कामको सिलसिलामा तिनले आफ्नै आँखाअगाडि थुप्रै मान्छेले दुःख पाएको, मरेको देखेका थिए।” तिनी सोच्ने गर्थे: “जीवनको उद्देश्य यही हो त?” पछि तिनले यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलआधारित साहित्यहरू पढेर सन्तोषजनक जवाफ पाए।

तिनले आफूले पढेको कुरा श्रीमती र छोराछोरीलाई पनि बताए। तिनीहरूले पनि चासो देखाए। त्यसपछि त परिवारै मिलेर बाइबल अध्ययन गर्न थाले। अनि त तिनीहरूको जीवनमा खुसीको बहार आयो। जीवन अर्थपूर्ण भयो अनि तिनीहरूले अझै महत्त्वपूर्ण कुराहरूको लागि समय खर्च गर्न सिके। त्यतिमात्र होइन, दुःखकष्ट अनि मृत्यु नै नहुने समयमा सधैंभरि जीवनको आनन्द उठाउने आशा पनि तिनीहरूले बाइबलबाट पाए।—प्रकाश २१:३, ४.

जेफको अनुभवले हामीलाई येशू ख्रीष्टको यो कुरा याद दिलाउँछ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।” (मत्ती ५:३) के तपाईं साँचो सृष्टिकर्तालाई चिन्न समय निकाल्न इच्छुक हुनुहुन्छ? यसो गर्नुभयो भने तपाईंले एकदिन मात्र होइन तर जीवनभरि बुद्धिमानी कदम चाल्न सक्नुहुनेछ। (g14-E 02)

^ अनु. 5 अप्रिल, २०१० अङ्‌कको अङ्‌ग्रेजी ब्यूँझनुहोस्! पत्रिकामा भएको “समय निकाल्ने २० तरिका” भन्ने लेख हेर्नुहोस्।