आवरण लेख
असल बुबा कसरी बन्ने?
“मबाट कहाँनिर गल्ती भयो?” यस प्रश्नले दक्षिण अफ्रिकाका माइकल * नाम गरेका बुबालाई पिरोल्छ। तिनले असल बुबा बन्न धेरै प्रयास गरे। तर तिनको १९ वर्षीय छोरा विद्रोही भए। त्यसैले प्रत्येक चोटि आफ्ना ती छोराबारे सोच्दा असल बुबा बन्न अझै केही गर्न सकिन्थ्यो कि भन्ने तिनलाई लाग्छ।
स्पेनमा बस्ने टेरीचाहिं असल बुबा बन्न सफल भएजस्तो देखिन्छ। तिनको छोरा एन्ड्रीउ यसो भन्छन्: “सानो छँदा बुबासँग बिताएका थुप्रै पलहरूमध्ये केही भन्नुपर्दा उहाँ मलाई पढेर सुनाउनुहुन्थ्यो, मसित खेल्नुहुन्थ्यो। विभिन्न ठाउँमा घुमाउन पनि लैजानुहुन्थ्यो, त्यसरी जाँदा उहाँसित प्रशस्त समय बिताउन सक्थें। बुबा मलाई रमाइलो गरी सिकाउनुहुन्थ्यो।”
हो, असल बुबा बन्न सजिलो छैन। तर बाइबलमा पाइने सल्लाहहरूले तपाईंलाई मदत गर्न सक्छ। बाइबलमा पाइने बुद्धिमानी सल्लाह मान्दा आफू अनि आफ्नो परिवारलाई फाइदा भएको कुरा थुप्रै बुबाहरूले अनुभव गरेका छन्। आउनुहोस्, बुबाहरूलाई मदत गर्ने बाइबलका केही व्यावहारिक सुझावहरू विचार गरौं।
१. परिवारसित समय बिताउनुहोस्
छोराछोरी तपाईंको लागि प्यारा छन् भनेर तपाईं कसरी देखाउनुहुन्छ? निश्चय पनि तिनीहरूका लागि तपाईं थुप्रै कुरा गर्नुहुन्छ। तिनीहरूको गाँस, बासको लागि धेरै त्याग गर्नुहुन्छ। तिनीहरू प्यारा नभएको भए यी कुराहरू गर्नुहुन्न थियो होला। तर छोराछोरीसित प्रशस्त समय बिताउनुभएन भने अरू कुरा जस्तै तपाईंको काम, साथीहरू वा सोखहरू नै तपाईंको लागि महत्त्वपूर्ण छ जस्तो तिनीहरूलाई लाग्न सक्छ।
बुबाले कहिलेदेखि छोराछोरीसित समय बिताउन थाल्नुपर्छ? आमाको कुरा गर्नुपर्दा बच्चा गर्भमा रहेदेखि नै तिनले बच्चासित सम्बन्ध गाँस्न थाल्छिन्। गर्भवती भएको करिब १६ हप्तापछि बच्चाले सुन्न थाल्छ। यही समयदेखि बुबाले पनि बच्चासित न्यानो सम्बन्ध गाँस्न सुरु गर्न सक्छन्। बुबाले बच्चाको मुटुको धड्कन सुन्न सक्छन्, खुट्टा चलाएको महसुस गर्न सक्छन्, तिनीसित कुरा गर्न सक्छन् र तिनलाई गाएर सुनाउन सक्छन्।
बाइबल सिद्धान्त: बाइबल समयमा छोराछोरीलाई बुबाहरूले नै शिक्षादीक्षा दिन्थे। छोराछोरीसित नियमित रूपमा समय बिताउन बुबाहरूलाई प्रोत्साहन दिइएको थियो। यो कुरा व्यवस्था ६:६, ७ का यी शब्दहरूबाट प्रस्ट हुन्छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठ्दा तिनको चर्चा गर।”
२. असल बुबा ध्यान दिएर कुरा सुन्छन्
छोराछोरीसित राम्ररी कुरा गर्न तपाईंले तिनीहरूको कुरा ध्यान दिएर सुन्नै पर्छ। पड्किहाल्नुको सट्टा धीरजी भएर कुरा सुन्ने गर्नुहोस्।
तपाईं झनक्क रिसाइहाल्नुहुन्छ वा यसो गरेको भएन/उसो गरेको भएन भनेर टिकाटिप्पणी गर्नुहुन्छ भन्ने तपाईंका छोराछोरीलाई लाग्छ भने तिनीहरूले आफ्ना भित्री भावनाहरू हतपती पोखाउँदैनन्। तर शान्तपूर्वक कुरा सुन्नुभयो भने तपाईंले साँचो चासो देखाइरहनुभएको हुनेछ। यसो गर्दा तिनीहरूले भित्री भावना र विचारहरू व्यक्त गर्ने सम्भावना धेरै हुन्छ।
बाइबल सिद्धान्त: बाइबलमा पाइने व्यावहारिक बुद्धि दैनिक जीवनका थुप्रै पक्षमा लाभदायी साबित भएको छ। उदाहरणको लागि बाइबल यसो भन्छ: “हरेक मानिसले चनाखो भई सुन्नुपर्छ, बोल्न हतार गर्नुहुँदैन अनि झट्टै रिसाइहाल्नुहुँदैन।” (याकूब १:१९) बाइबलको यो सिद्धान्त लागू गर्ने बुबाहरूले आफ्ना छोराछोरीसित राम्ररी कुरा गर्न सक्छन्।
३. मायालु भई अनुशासन दिनुहोस् र प्रशंसा गर्नुहोस्
तपाईंलाई दिक्क लाग्दा वा रिस उठ्दासमेत छोराछोरीको हितलाई विचार गर्दै मायालु भई अनुशासन दिनुपर्छ। यसमा सल्लाह दिनु, सुधार्नु,
शिक्षा दिनु र आवश्यक परेमा सजाय दिनु पनि समावेश छ।बुबाले छोराछोरीको प्रशंसा गर्छन् भने यस्ता बुबाहरूको अनुशासन स्वीकार्न छोराछोरीलाई सजिलो हुन्छ। एउटा पुरानो हितोपदेश यसो भन्छ: “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।” (हितोपदेश २५:११) छोराछोरीको प्रशंसा गर्दा तिनीहरूले आफ्नो व्यक्तित्व तिखार्न मदत पाउँछन्। आमाबाबुले छोराछोरीलाई स्याबासी दिंदा र मोल गर्दा तिनीहरूले फक्रिने मौका पाउँछन्। मौका मिल्नेबित्तिकै छोराछोरीको प्रशंसा गर्ने बुबाहरूले तिनीहरूलाई विश्वस्त हुन मदत गरिरहेका हुन्छन्। सही काम गर्नदेखि हरेस नखान पनि उत्प्रेरित गरिरहेका हुन्छन्।
बाइबल सिद्धान्त: “हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, ताकि तिनीहरू हताश नहोऊन्।”—कलस्सी ३:२१.
४. पत्नीलाई प्रेम र आदर गर्नुहोस्
बुबाले आमासित गर्ने व्यवहारले छोराछोरीमा गहिरो छाप पार्छ। बच्चाहरूको विकासबारे अध्ययन गर्ने विशेषज्ञहरूको एउटा समूह यसो भन्छ: “बुबाले आफ्ना छोराछोरीलाई लगाउन सक्ने एउटा राम्रो गुण भनेको तिनीहरूको आमालाई आदर गर्नु हो। . . . आमाबाबुले एकअर्कालाई आदर गर्छन् र यो छोराछोरीले पनि महसुस गर्छन् भने छोराछोरीलाई सुरक्षित अनुभूति हुन्छ।”—बच्चाको स्वस्थकर विकासमा बुबाको भूमिका (अङ्ग्रेजी)। *
बाइबल सिद्धान्त: “हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो . . . तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर।”—एफिसी ५:२५, ३३.
५. परमेश्वरको व्यावहारिक बुद्धि लागू गर्नुहोस्
परमेश्वरलाई हृदयदेखि प्रेम गर्ने बुबाहरूले
छोराछोरीलाई एउटा अमूल्य सम्पत्ति दिन सक्छन्। त्यो हो, स्वर्गमा बस्नुहुने बुबासित घनिष्ठ सम्बन्ध।आन्टोनियो नाम गरेका एक जना यहोवाको साक्षीले छ जना छोराछोरी हुर्काए। छोराछोरी हुर्काउन निकै मेहनत गरेका आन्टोनियोले आफ्नी छोरीबाट यस्तो चिठ्ठी पाए: “प्यारो बुबा, तपाईंले मलाई यहोवा परमेश्वर, छिमेकी र आफैलाई प्रेम गर्न सिकाउनुभयो। अर्को शब्दमा भन्नुपर्दा सन्तुलित व्यक्ति हुन मदत गर्नुभयो। म तपाईंलाई धन्यवाद भन्न चाहन्छु। यहोवालाई प्रेम गरेको र ममा व्यक्तिगत चासो लिएको कुरा तपाईंले देखाउनुभयो। यहोवालाई आफ्नो जीवनमा प्रथम स्थान दिनुभएकोमा र हामीलाई परमेश्वरको उपहारको रूपमा व्यवहार गर्नुभएकोमा, धन्यवाद बुबा!”
बाइबल सिद्धान्त: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर। मैंले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख।”—व्यवस्था ६:५, ६.
कुरा स्पष्ट छ, असल बुबा बन्न यी पाँच बुँदाहरू मात्र त पर्याप्त छैन। साथै जतिसुकै प्रयास गरे तापनि तपाईं शतप्रतिशत सफल हुन सक्नुहुन्न। तर यी सिद्धान्तहरू मायालु र सन्तुलित भई लागू गर्नुभयो भने तपाईं साँच्चै एक असल बुबा बन्न सक्नुहुन्छ। * (g13-E 03)
^ यस लेखमा नामहरू परिवर्तन गरिएका छन्।
^ पत्नीसित सम्बन्धविच्छेद भइसकेको भए तापनि बुबाले तिनलाई आदर र मर्यादापूर्वक व्यवहार गर्छन् भने छोराछोरीलाई आमासित राम्रो सम्बन्ध राख्न सजिलो हुन्छ।
^ पारिवारिक जीवनबारे थप डोऱ्याइको लागि www.jw.org वेब साइटमा भएको पारिवारिक आनन्दको रहस्य किताब हेर्नुहोस्।