अन्तरवार्ता | पाओला क्योत्से
जीवरसायन शास्त्री आफ्नो विश्वासबारे बताउँछिन्
जीवरसायन शास्त्री (बायोकेमिस्ट) डा. पाओला इटालीको फेरारा विश्वविद्यालयमा २० वर्षभन्दा बढी समयदेखि अणुजीव विज्ञको रूपमा कार्यरत छिन्। ब्यूँझनुहोस्! पत्रिकाले तिनको काम र विश्वासबारे केही प्रश्न सोधेको थियो।
तपाईंको पृष्ठभूमिबारे केही बताइदिनुहुन्छ कि?
मेरो बुबा जुत्ता सिलाउने काम गर्नुहुन्थ्यो; आमा खेती-किसानी गर्नुहुन्थ्यो, तर मचाहिं वैज्ञानिक बन्न चाहन्थें। घर वरपरका सुन्दर फूल, चरा अनि किराहरू देखेर म मन्त्रमुग्ध हुन्थें। यी सृष्टि हेर्दा मानिसभन्दा बुद्धिमान् कोही छ भन्ने लाग्थ्यो।
त्यसोभए तपाईं सानैदेखि सृष्टिकर्तामा विश्वास गर्नुहुन्थ्यो?
अहँ, गर्दिनथें। म सानो छँदा हृदयघातले गर्दा मेरो बुबा अचानक बित्नुभयो। त्यतिबेलादेखि परमेश्वरको अस्तित्वमाथि शङ्का लाग्न थाल्यो। सोच्थें, ‘यत्ति सुन्दर कुरा सृष्टि गर्ने भगवान्ले किन दुःखकष्ट र मृत्यु हुन दिनुभएको होला?’
विज्ञान विषय अध्ययन गरेपछि यसको जवाफ पाउनुभयो त?
सुरुमा त पाइनँ। तर अणुजीव विज्ञ भएपछि चाहिं प्राकृतिक रूपमा कोषहरू मर्ने प्रक्रियाबारे [शरीरमा भएका अनावश्यक कोषहरू मरेर त्यसको ठाउँमा नयाँ कोषहरू बन्ने स्वाभाविक प्रक्रियाबारे] अध्ययन गरें। यो प्रक्रिया शरीरका कोषहरू अनियन्त्रित रूपमा मर्ने [शरीरका तन्तुहरूमा अक्सिजन र रगतको मात्रा कम हुँदा स्वस्थ कोषहरू नाश हुने] प्रक्रियाभन्दा एकदमै फरक छ। अनियन्त्रित रूपमा कोषहरू मर्दा शरीरका अङ्गहरू सुनिन्ने र कुहिने गर्छन् तर प्राकृतिक रूपमा कोषहरू मर्दा त्यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मदत गर्छ। तर केही वर्षअघिसम्म पनि वैज्ञानिकहरूले यस विषयमा गम्भीरतासाथ अध्ययन गरेका थिएनन्।
प्राकृतिक रूपमा कोषहरू मर्ने प्रक्रियाले हाम्रो शरीरलाई कसरी स्वस्थ राख्छ?
हाम्रो शरीर खरबौं कोष मिलेर बनेको छ। कोषको किसिमअनुसार त्यसको आयु पनि भिन्नाभिन्नै हुन्छ; कुनै-कुनै कोष केही हप्ताभित्रै विस्थापित हुन्छन् भने कुनै-कुनै कोष विस्थापित हुन केही वर्ष लाग्न सक्छ। त्यसैले ती कोष समय पुगेपछि मर्नु अनि त्यसको ठाउँमा नयाँ कोष
उत्पन्न हुनु नितान्त जरुरी छ। प्राकृतिक रूपमा कोषहरू मर्ने प्रक्रिया एकदमै सन्तुलित हुने भएकोले हाम्रो शरीरमा पुरानो कोष मर्ने र नयाँ कोष जन्मने प्रक्रियाबीच पनि एकदमै तालमेल मिलेको हुन्छ।त्यसोभए कुरा कहाँनिर बिग्रियो त?
स्वाभाविक रूपमा मर्नुपर्ने कोषहरू मरेनन् भने बाथ वा क्यान्सर हुन सक्छ भनी केही अध्ययनले देखाएको छ। तर अर्कोतर्फ कोषहरू मर्नुपर्ने समयभन्दा अघि नै मरे भने पार्किन्सन वा अल्जाइमर भन्ने रोगहरू लाग्न सक्छ। अहिले म यस्तै रोगहरूको उपचार पत्ता लगाउने विषयमा अध्ययन गरिरहेकी छु।
कोषहरू मर्ने प्रक्रियाको अध्ययनले तपाईंमा कस्तो असर पाऱ्यो?
साँच्चै भन्ने हो भने म त एकदम अन्योलमा परें। हामी सधैं स्वस्थ रहेको चाहने व्यक्तिले नै यस्तो अद्भुत प्रक्रिया राखिदिनुभएको हो भनेर स्पष्ट थियो। त्यसैले ‘मानिसहरू किन दुःख भोग्छन् र मर्छन्?’ भन्ने प्रश्नले मलाई निकै सताइरहेको थियो; अझै जवाफ पाइसकेकी थिइनँ।
तर प्राकृतिक रूपमा कोषहरू मर्ने प्रक्रिया डिजाइन गरिएको हो भनेर तपाईंले मानिलिनुभयो नि।
हो। यो सम्पूर्ण प्रक्रिया एकदमै जटिल छ। तर जेहोस् यसको संरचना हेर्दा त्यसमा कसैको असामान्य बुद्धि झल्किन्छ। यो सबै परमेश्वरको बुद्धिले गर्दा भएको हो भनी म विश्वास गर्छु। कोषहरूको जटिल संरचना र त्यसको प्रक्रिया बुझ्न मैले शक्तिशाली माइक्रोस्कोपहरू प्रयोग गरेर हेरें। कोषहरूको संरचना यत्ति जटिल छ कि आवश्यक परेको खण्डमा यसले पुराना कोषहरू सेकेन्डभरमै नष्ट गर्न सक्छ। अचम्मको कुरा, पुराना कोषहरू नष्ट गर्ने प्रक्रियामा, नष्ट हुने कोष आफैले पनि भाग लिन्छ। साँच्चै, यो प्रक्रिया एकदमै व्यवस्थित तरिकामा डिजाइन गरिएको छ।
हाम्रो कोषहरू नियमित रूपमा नयाँ कोषहरूद्वारा विस्थापित हुने भएकोले सधैंभरि बाँच्न सम्भव छ भन्ने कुरामा म विश्वस्त छु।
तपाईं परमेश्वर अनि दुःख-कष्टबारे अन्योलमा हुनुहुन्थ्यो नि। कसरी जवाफ पाउनुभयो?
सन् १९९१ मा दुई जना यहोवाको साक्षी मेरो घरमा आउनुभयो। मैले उहाँहरूलाई ‘हामी किन मर्छौं’ भनेर सोधें। उहाँहरूले मलाई बाइबलबाट यस्तो जवाफ देखाउनुभयो: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु।” (रोमी ५:१२) परमेश्वरप्रति अनाज्ञाकारी भएको कारण पहिलो मानिसले सधैंभरि बाँच्ने आशा गुमाए। यो शिक्षा र मैले अनुसन्धान गरेको कुरा मेल खान्छ भनी तुरुन्तै बुझें। अनि मानिसहरू मरोस् भन्ने परमेश्वरको उद्देश्य थिएन भनेर पनि थाह पाएँ। हाम्रो कोषहरू नियमित रूपमा नयाँ कोषहरूद्वारा विस्थापित हुने भएकोले सधैंभरि बाँच्न सम्भव छ भन्ने कुरामा म विश्वस्त छु।
बाइबल परमेश्वरको वचन हो भनेर कसरी विश्वस्त हुन सक्नुभयो?
परमेश्वरबारे भजन १३९:१६ मा यस्तो लेखिएको थियो: “तपाईंका आँखाले मलाई देखेका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” हरेक जीवको वंशानुगत गुण निर्धारण गर्ने कुरा त्यसका कोषहरूमा लेखिएका हुन्छन् भनेर मैले जीव रसायनको अध्ययन गरेर थाह पाएँ। तर भजनहारले कसरी थाह पाए? बाइबलको ज्ञान लिंदै गएपछि यो परमेश्वरको वचन हो भनेर विश्वस्त हुँदै गएँ।
बाइबलको कुरा बुझ्न तपाईंले कसरी मदत पाउनुभयो?
यहोवाको एक जना साक्षीले मलाई बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुभयो। परमेश्वरले दुःख-कष्ट हुन दिनुको कारण अन्ततः मैले बुझें। परमेश्वरको उद्देश्य “मृत्युलाई सदाको निम्ति निल्नु” हो भनेर पनि बुझें। (यशैया २५:८) कहिल्यै मर्नुनपर्ने गरी हाम्रो शरीरमा भएका संरचनाहरू फेरबदल गर्नु सृष्टिकर्ताको लागि कुनै गाह्रो काम होइन।
अरूलाई मदत गर्न बाइबलबाट पाउनुभएको शिक्षा कसरी प्रयोग गर्दै हुनुहुन्छ?
सन् १९९५ मा यहोवाको साक्षी भएदेखिन् मौका पाउनेबित्तिकै अरूलाई बाइबलबाट सिकेको कुरा बाँड्दै आएकी छु। एकचोटिको कुरा हो, मेरो एक जना साथीको भाइले आत्महत्या गरेपछि तिनलाई सहिनसक्नु चोट पऱ्यो। तिनी गइरहेको चर्चले आत्महत्या गर्नेलाई परमेश्वर क्षमा गर्नुहुन्न भनेर सिकाउँथ्यो। तर मैले तिनलाई बाइबलले दिने पुनर्जीवनको आशाबारे बताएँ। (यूहन्ना ५:२८, २९) सृष्टिकर्ताले हाम्रो चासो राख्नुहुन्छ भन्ने कुरा बुझेर तिनले निकै सान्त्वना पाइन्। त्यस्ता परिस्थितिमा बाइबल सत्य बाँड्न पाउँदा निकै सन्तुष्टि महसुस गरें। विज्ञानले पनि यत्तिको सन्तुष्टि दिएको थिएन। (g13-E 01)