सीधै सामग्रीमा जाने

ईश्‍वरमा विश्‍वास गर्नु व्यावहारिक छ?

ईश्‍वरमा विश्‍वास गर्नु व्यावहारिक छ?

ईश्‍वरमा विश्‍वास गर्नु व्यावहारिक छ?

के तपाईँले कहिल्यै परमाणुका कणहरूदेखि लिएर विशाल तारापुञ्जहरूले कसरी व्यवस्थित तरिकामा काम गरिरहेको छ भनेर सोच्नुभएको छ? एकछिन पृथ्वीमा भएका जीवजन्तुलाई पनि ध्यान दिनुहोस्‌। तिनीहरूको विविधता, जटिल बनौट र अचम्मको डिजाइनबारे कहिल्यै सोच्नुभएको छ? धेरैजसो मानिसले यो ब्रह्‍माण्ड अन्तरिक्षमा भएको एउटा ठूलो विष्फोटको उपज हो र सम्पूर्ण जीवजीवातको सुरुवात क्रमविकासबाट भएको हो भन्‍ने गर्छन्‌। कसै-कसैले चाहिँ यी सब बनाउने एक जना बुद्धिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने गर्छन्‌। तपाईँलाई चाहिँ कस्तो लाग्छ? कुन तर्क व्यावहारिक होला?

हो, यी दुवै तर्कलाई स्विकार्न विश्‍वास चाहिन्छ। ईश्‍वर हुनुहुन्छ भनेर मानिलिन विश्‍वास चाहिन्छ। बाइबल यसो भन्छ, “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (युहन्‍ना १:१८) त्यसैगरि कसैले पनि ब्रह्‍माण्डको उत्पत्ति वा जीवनको सुरुवात भएको देखेको छैन। न त कसैले कुनै एउटा साधारण जीव विकसित भएर अझ जटिल भएको वा अर्कै जीव बनेको नै देखेको छ। जीवावशेषले देखाएअनुसार जनावरहरूको खास समूहहरू अचानक अस्तित्वमा आए र यति लामो समय बितिसक्दा पनि तिनीहरूमा खासै परिवर्तन आएको छैन। * त्यसैले यस्तो महत्त्वपूर्ण प्रश्‍न खडा हुन्छ: क्रमविकासमा विश्‍वास गर्नु सही हो या सृष्टिकर्तामा? यीमध्ये कुनचाहिँ विश्‍वास ठोस प्रमाणहरूमा आधारित छ?

के तपाईँको विश्‍वास ठोस प्रमाणहरूमा आधारित छ?

साँचो “विश्‍वास” भनेको “अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो” भनी बाइबल बताउँछ। (हिब्रू ११:१) संशोधित संस्करण बाइबल-मा यस पदलाई यसरी अनुवाद गरिएको छ: “विश्‍वासचाहिं . . . नदेखेका कुराको प्रमाण हो।” तपाईँ पक्कै पनि यस्ता थुप्रै कुरा सम्झन सक्नुहुन्छ, जुन तपाईँ देख्न सक्नुहुन्‍न तर त्यो अस्तित्वमा छ भनेर पूर्णरूपमा विश्‍वस्त हुनुहुन्छ।

उदाहरणको लागि, महान्‌ सिकन्दर, जुलियस सिजर र येसु ख्रिष्ट कुनै समय अस्तित्वमा थिए भनेर थुप्रै प्रसिद्ध इतिहासकार विश्‍वास गर्छन्‌। के ती इतिहासकारहरूको विश्‍वास आधारहीन छ? त्यसो त होइन किनकि तिनीहरूले यस कुराको थुप्रै भरपर्दा ऐतिहासिक प्रमाणहरू दिन सक्छन्‌।

वैज्ञानिकहरूसमेत नदेखिने कुराहरूमा विश्‍वास गर्छन्‌ किनकि तिनीहरूले ती कुराहरू अस्तित्वमा छन्‌ भन्‍ने कुराको “स्पष्ट प्रमाण” पाएका छन्‌। उदाहरणको लागि, उन्‍नाइसौँ शताब्दीका रूसी रसायनशास्त्री डिमिट्रि मेन्डेलेभ विभिन्‍न तत्त्वहरूबीच भएको आपसी तालमेल देखेर छक्क परे, जुन तत्त्वहरूले यो ब्रह्‍माण्ड बनेको छ। ती तत्त्वहरूबीच केही समानता छन्‌ र तिनीहरूलाई पारमाणविक भार र रासायनिक गुणहरूको आधारमा वर्गीकरण गर्न सकिन्छ भनेर तिनले पत्ता लगाए। ती तत्त्वहरूलाई समूह-समूहमा वर्गीकरण गर्न सकिन्छ भनेर मेन्डेलेभलाई पूर्ण विश्‍वास थियो। त्यसैले तिनले तत्त्वहरूको पेरियोडिक तालिका तयार पारे र त्यतिबेलासम्म पत्ता लागिनसकेको थुप्रै तत्त्व अस्तित्वमा छन्‌ भनेर सही अनुमान गरे।

पुरातत्त्वविद्‌हरू हजारौँ वर्षदेखि जमिनमुनि पुरिएर बसेका चिजबिजहरू हेरेर पहिले-पहिलेका सभ्यताहरूबारे खोज-अनुसन्धान गर्छन्‌। मानौँ एक जना पुरातत्त्वविद्‌ले जमिनमुनि खनेर हेर्दा यस्ता थुप्रै ढुङ्‌गा भेट्टाउँछन्‌, जुन ढुङ्‌गाहरू एउटै नापको छ र एउटामाथि अर्को खप्टाएर राखिएको छ। त्यति मात्र नभई ती ढुङ्‌गाहरूलाई यत्ति राम्ररी मिलाएर राखिएको छ कि त्यसमा सुन्दर आकृति देख्न सकिन्छ, जुन आफसेआफ हुन असम्भव छ। अब ती पुरातत्त्वविद्‌ कस्तो निष्कर्षमा पुग्छन्‌? के तिनले यो संयोगवश भएको हो भन्छन्‌? सायद भन्दैनन्‌ होला। बरु तिनी यो पुरातन समयका मानिसहरूको कलाकृति हो भन्‍ने निष्कर्षमा पुग्छन्‌ र त्यस्तो निष्कर्षमा पुग्नु व्यावहारिक पनि छ।

त्यसोभए सृष्टिमा पाइने विविध थोकहरूको बनौटबारे गहिरिएर विचार गर्दा हामी कस्तो निष्कर्षमा पुग्नुपर्छ? थुप्रै मानिस, यहाँसम्म कि प्रख्यात वैज्ञानिकहरूसमेत यी सब कुरा सृष्टि गर्ने कोही हुनुहुन्छ भनेर स्विकार्छन्‌।

संयोगवश आएको वा सोचविचार गरेर डिजाइन गरिएको?

वर्षौँअघि बेलायती गणितज्ञ, भौतिकशास्त्री र खगोलविद्‌ सर जेम्स जिन्स्‌ले विज्ञानको क्षेत्रमा भइरहेको उन्‍नति-प्रगतिलाई विचार गर्दै “यो ब्रह्‍माण्ड केवल एउटा विशाल मेसिन होइन, बरु यसलाई राम्ररी सोचविचार गरेर डिजाइन गरिएको देखिन्छ” भनेर लेखे। तिनले यस्तो पनि लेखे: “यस ब्रह्‍माण्डलाई एक जना महान्‌ गणितज्ञले राम्ररी नाप-तौल गरेर डिजाइन गरेको जस्तो देखिन्छ।” साथै ब्रह्‍माण्डले “यसलाई डिजाइन र नियन्त्रण गर्ने हाम्रोजस्तै बौद्धिक क्षमता भएको कोही छ भन्‍ने प्रमाण पनि दिन्छ।”

जिन्स्‌ले यी शब्दहरू लेखेपछि अरू वैज्ञानिकहरू पनि त्यस्तै निष्कर्षमा पुगे। भौतिकशास्त्री पल डेभिसले यस्तो लेखे: “ब्रह्‍माण्डमा भएका सम्पूर्ण कुरा व्यवस्थित ढङ्‌गमा चलेको देख्दा आधुनिक समयका थुप्रै खगोलविद्‌ यी सब कुरा रचिएको हो भनेर मानिलिन बाध्य भएका छन्‌।” अहिलेसम्मकै सबैभन्दा प्रख्यात भौतिकशास्त्री र गणितज्ञ अल्बर्ट आइन्स्टाइनले यस्तो लेखे: “[सृष्टिमा पाइने विविध कुराहरूलाई] बुझ्न सक्नु एउटा चमत्कार हो।” थुप्रैको विचारमा मानव शरीरमा हुने सानो कोषदेखि लिएर बेजोड मस्तिष्क पनि त्यस्तै एउटा चमत्कार हो।

डि एन ए र मानव मस्तिष्क

डि एन ए सबै जीवजीवातमा पाइन्छ र यसमा वंशाणुको सम्पूर्ण जानकारी हुन्छ। * यी नै वंशाणुले वंशानुगत गुणहरू एउटा वंशबाट अर्को वंशमा सार्ने काम गर्छ। डि एन ए एउटा जटिल रासायनिक एसिड हो, जसलाई एउटा नक्सासित तुलना गर्न सकिन्छ। नक्सामा जस्तै यसमा पनि थुप्रै जानकारी हुन्छन्‌। ती जानकारीहरू रासायनिक रूपमा अणुभित्र भण्डार भएर बसेको हुन्छ। अणुले ती जानकारीहरू पढेर त्यसअनुसार काम गर्छ। डि एन ए-मा कति जानकारी अटाउँछ? एउटा स्रोतसामग्रीले बताएअनुसार यसको एउटा आधारभूत एकाइ, जसलाई न्युक्लिओटाइड भनिन्छ, त्यसलाई अक्षरहरूमा रूपान्तरण गरेर “एउटा किताबमा लेख्ने हो भने दस लाखभन्दा धेरै पाना भरिन्छ।”

धेरैजसो जीवजीवातको डि एन ए धागोजस्तै देखिन्छ र आपसमा बेरिएर बसेको हुन्छ, जसलाई क्रोमोजोम भनिन्छ। क्रोमोजोम कोषको न्युक्लियसभित्र सुरक्षित हुन्छ। न्युक्लियसको व्यास औसतमा करिब ०.०००२ इन्च हुन्छ। यसबारे सोच्नुहोस्‌: तपाईँको शरीर बन्‍न चाहिने सम्पूर्ण जानकारी एउटा सूक्ष्म वस्तुभित्र पाइन्छ, जसलाई हेर्न माइक्रोस्कोपको आवश्‍यकता पर्छ। एक जना वैज्ञानिकले भनेझैँ कोषहरू “अत्यन्तै सानो भए पनि यो एउटा यस्तो भण्डार हो, जसमा थुप्रै जानकारी अटाउँछ र आवश्‍यक परेको खण्डमा ती जानकारीहरू निकाल्न पनि सकिन्छ।” आज उपलब्ध कम्प्युटर चिप्स, डि भि डि र अन्य त्यस्तै साधनहरूको तुलनामा डि एन ए-मा कैयौँ गुणा धेरै जानकारी अटाउनु साँच्चै अचम्मलाग्दो छ। तर अझ भन्‍नुपर्दा, डि एन ए-बारे कतिपय कुरा त अझै पनि रहस्यकै विषय हो। न्यु साइन्टिस्ट पत्रिकाले बताएअनुसार डि एन ए-को विषयमा “जति धेरै कुरा पत्ता लाग्यो, त्यति नै जटिल प्रश्‍नहरू खडा हुन्छन्‌।” *

त्यसोभए डि एन ए जुन तरिकामा बनिएको छ र यसले जुन तरिकामा काम गर्छ, त्यसलाई विचार गर्दा के यो आफसेआफ आएको हो भन्‍नु तर्कसङ्‌गत छ? मानौँ तपाईँले दस लाख पाना भएको एउटा मेसिनसम्बन्धी किताब भेट्टाउनुभयो, जसमा त्यो मेसिन चलाउने तरिका जटिल कोड प्रयोग गरेर लेखिएको छ। के तपाईँ त्यो किताब आफै लेखिएको हो भन्‍नुहुन्छ र? त्यसमाथि त्यो किताब अत्यन्तै सानो भएकोले त्यसमा लेखिएका कुराहरू पढ्‌न तपाईँलाई एउटा शक्‍तिशाली माइक्रोस्कोप नै चाहिन्छ भने नि? यसबाहेक त्यस किताबमा हजारौँ पार्टपुर्जा भएको त्यस मेसिनको बारेमा सानोभन्दा सानो जानकारी पाइन्छ, जुन मेसिन आफसेआफ मर्मत हुन्छ र आफैले नयाँ पार्टपुर्जा पनि बनाउँछ। त्यति मात्र होइन, त्यस मेसिनको पार्टपुर्जालाई ठ्याक्कै एउटै समयमा र खास तरिकामा जडान गर्नुपर्छ। अब तपाईँ त्यस्तो किताबको विषयमा के भन्‍नुहुन्छ? त्यो किताब आफै लेखिएको हो भनेर हामी सोच्न पनि सक्दैनौँ।

कुनै समय नास्तिक विचारधाराको समर्थन गर्ने बेलायती दार्शनिक एन्टोनि फ्लुले कोषबारे पत्ता लागेको नयाँ जानकारीहरूलाई राम्ररी जाँचेपछि यसो भने: “कुनै (जीवको) अचम्मलाग्दो र जटिल बनौटबारे विचार गर्दा यसको पछाडि एक जना बुद्धिमान्‌ व्यक्‍तिको हात छ भन्‍ने कुरा [स्पष्ट हुन्छ]।” फ्लुको धारणा यस्तो थियो: “कुनै पनि विषयबारे आफ्नो धारणामा अडिग रहनुहोस्‌, चाहे नतिजा जस्तोसुकै होस्‌।” तर फ्लुको सोचाइ पूर्णरूपमा परिवर्तन भयो। अहिले तिनी ईश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्‌।

मानव मस्तिष्कले पनि थुप्रै वैज्ञानिकलाई आश्‍चर्यचकित पारेको छ। डि एन ए-को एउटा उपज, हाम्रो मस्तिष्कलाई “ब्रह्‍माण्डकै सबैभन्दा जटिल वस्तु” भन्‍ने संज्ञा दिइएको छ। खैरो-गुलाबी रङ्‌गको हाम्रो मस्तिष्कको तौल लगभग १.३ किलोग्राम मात्र हुन्छ। तैपनि अहिलेको अत्याधुनिक सुपर कम्प्युटरसमेत यसको दाँजोमा आउन सकेको छैन। मस्तिष्कसम्बन्धी अध्ययन गर्ने एक वैज्ञानिकको विचारमा वैज्ञानिकहरूले मस्तिष्क र यसको सोच्ने क्षमताबारे जत्ति धेरै बुझ्दै जान्छन्‌, त्यत्ति नै यसबारे “आफूलाई एकछेउ पनि थाह नभएको र यो साँच्चै अद्‌भुत छ भनेर महसुस गर्छन्‌।”

यो कुरा विचार गर्नुहोस्‌: मस्तिष्कले हामीलाई सास फेर्न, हाँस्न, रुन, हिसाब सुल्झाउन, कम्प्युटर बनाउन, साइकल चलाउन, कविता लेख्न मदत गर्छ अनि रातको अन्धकारमा आकाशलाई नियाल्दा हाम्रो मनमा श्रद्धाभाव जगाउँछ। त्यसोभए हाम्रो मस्तिष्क र यसको सोच्ने क्षमताको श्रेय कुनै आधारै नभएको क्रमविकासको सिद्धान्तलाई दिनु जायज होला र?

प्रमाणहरूमा आधारित विश्‍वास

हामीले आफैलाई राम्ररी बुझ्न के हामीले क्रमविकासमा विश्‍वास गर्नेहरूले जस्तो बाँदर वा अरू कुनै जनावरलाई हेर्नुपर्छ र? अथवा हामीले जवाफको लागि ईश्‍वरतर्फ हेर्नुपर्छ? हो, हामी र जनावरबीच केही कुरा समान छन्‌। जनावरजस्तै हामी पनि खान्छौँ, पिउँछौँ, सुत्छौँ र छोराछोरी जन्माउँछौँ। तर हामी थुप्रै तरिकामा जनावरभन्दा उत्कृष्ट छौँ। प्रमाणहरूले देखाएअनुसार हामी मानिसजातिमा जस्तो स्वभाव तथा गुणहरू छन्‌, त्यो हामीले हामीभन्दा महान्‌ व्यक्‍ति अर्थात्‌ ईश्‍वरबाट पाएका हौँ। बाइबलले पनि ईश्‍वरले मानिसजातिलाई “आफ्नै स्वरूपमा” सृष्टि गर्नुभयो भनेर स्पष्ट रूपमा बताएको छ। (उत्पत्ति १:२७) त्यसैले ईश्‍वरका गुणहरूबारे मनन गर्नुभए कसो होला? तीमध्ये केही गुणबारे व्यवस्था ३२:४; याकुब ३:१७, १८; र १ युहन्‍ना ४:७, ८ मा रेकर्ड गरिएको छ।

हाम्रो सृष्टिकर्ताले हामीलाई आफूवरपर भएको संसारलाई राम्ररी बुझ्न र मनमा उठेका प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ खोज्न “बौद्धिक क्षमता” दिनुभएको छ। (१ युहन्‍ना ५:२०, फुटनोट) यस सन्दर्भमा भौतिकशास्त्री र नोबेल पुरस्कार विजेता विलियम डि. फिलिप्सले यस्तो लेखे: “ब्रह्‍माण्डमा सबै कुरा कत्ति व्यवस्थित ढङ्‌गमा चलिरहेको छ, यसलाई बुझ्न कत्ति सजिलो छ र सबै कुरा कत्ति सुन्दर छन्‌ भनेर राम्ररी विचार गर्दा आफूले देखिरहेको सबै कुरा सृष्टि गर्ने एक जना बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ भनेर स्विकार्न बाध्य हुन्छु। एक जना वैज्ञानिक भएको नाताले ब्रह्‍माण्डमा भएका सम्पूर्ण कुराको आपसी तालमेल र सरलताबारे विचार गर्दा ईश्‍वरमाथिको मेरो विश्‍वास झनै बलियो हुन्छ।”

करिब दुई हजार वर्षअघि प्रकृतिको सुन्दरता नियालेका एक बाइबल लेखकले यस्तो लेखे: “[परमेश्‍वरका] अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएको” छ। (रोमी १:२०) ती लेखक प्रेषित पावल थिए र तिनी एक जना ख्रिष्टियन थिए। तिनी बुद्धिमान्‌ थिए र मोसाको व्यवस्थामा पोख्त थिए। तिनको विश्‍वास प्रमाणहरूमा आधारित भएकोले तिनी ईश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए। त्यसैले तिनी सबै असल कुराको श्रेय ईश्‍वरलाई दिन उत्प्रेरित भए।

ईश्‍वरको अस्तित्वमा विश्‍वास गर्नु अव्यावहारिक कुरा होइन भनेर तपाईँले पनि बुझेको हामी चाहन्छौँ। पावलले जस्तै तपाईँले पनि ईश्‍वरको अस्तित्वमा विश्‍वास गरेको मात्र होइन, उहाँप्रतिको कृतज्ञता पनि बढाएको हामी आशा गर्छौँ। यसो गर्नुभयो भने तपाईँ पनि ती लाखौँ मानिसमध्ये एक हुनुहुनेछ, जसले यहोवा थुप्रै मनमोहक गुणहरू भएको एक जना वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर विश्‍वास गर्छन्‌। उहाँका ती मनमोहक गुणहरूले हाम्रो मन छुन्छ र हामीलाई उहाँसँग अझ नजिक बनाउँछ।—भजन ८३:१८; युहन्‍ना ६:४४; याकुब ४:८.

[फुटनोटहरू]

^ अनु. 3 अक्टोबर २००६ अङ्‌कको ब्यूँझनुहोस्‌!-मा भएको “के क्रमविकास तथ्य हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 14 डि एन ए-को पूरा रूप डिअक्सिराइबो न्युक्लेइक एसिड हो।

^ अनु. 15 चार्ल्स डार्बिनले क्रमविकासको सिद्धान्त प्रतिपादन गर्दा तिनलाई जैविक कोष कत्ति जटिल हुन्छ भन्‍ने विषयमा कुनै हेक्का थिएन।

[पृष्ठ २३-मा भएको चित्र]

पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका पुरातन समयका चिजबिजहरूको श्रेय मानिसलाई दिन्छौँ भने सृष्टिमा पाइने कुराहरूको श्रेयचाहिँ कसलाई दिनुपर्छ?

[पृष्ठ २३-मा भएको चित्र]

अल्बर्ट आइन्स्टाइन

[पृष्ठ २४-२५-मा भएको चित्र]

डि एन ए एउटा सानो किताबजस्तै हो, जसमा कुनै जीवबारे एक-एक जानकारी हुन्छ

[पृष्ठ २५-मा भएको चित्र]

हाम्रो मस्तिष्कलाई “ब्रह्‍माण्डकै सबैभन्दा जटिल वस्तु” भन्‍ने संज्ञा दिइएको छ

[पृष्ठ २२-मा भएको चित्र]

© The Print Collector/age fotostock