पीडादायी इतिहास बोकेको दाँतको दुखाइ
पीडादायी इतिहास बोकेको दाँतको दुखाइ
झकिझकाउ लुगा लगाएको नक्कली डाक्टर मध्ययुगीन सहरको व्यस्त बजारमा बसेर विना कुनै पीडा दाँत उखेलिदिने कुरा जोडतोडका साथ सुनाउँदैछ। यत्तिकैमा दाँत उखेल्न डराएको अभिनय गर्दै उसको साथी अघि सर्छ। दाँत उखेल्ने व्यक्तिले छिनभरमै रगतैरगत लतपतिएको बङ्गारा निकालेर सबैलाई देखाउँछ। तर वास्तवमा त्यो त नक्कली बङ्गारा हुन्छ, बङ्गारा उखेलिएकै हुँदैन! तर यो देखेर दाँतको दुखाइले हायलकायल भएकाहरू भने पैसा तिरेर आफ्नो दाँत निकाल्न हौसिन्छन्। दाँत उखेल्न लागेको व्यक्ति पीडाले चिच्याएको आवाज अरूले सुनेमा ग्राहकहरू भड्केलान् भन्ने डरले कानै खाने आवाजमा ढोल र तुहरी बजाइन्छ। कहिलेकाहीं केही दिनभित्रै घाउ पाक्छ तर यतिन्जेलमा ठग कुम्लो बोकेर टाप कसिसकेको हुन्छ।
अहिले दाँतको दुखाइ भोगिरहेकाहरूमध्ये कमैले मात्र यस्ता ठगाहाहरूको मुख ताक्नुपर्छ। अहिलेका डेन्टिस्टहरूले दाँतको दुखाइको उपचार गर्न सक्छन् अनि अक्सर दाँत झर्नबाट जोगाउन पनि सक्छन्। तैपनि थुप्रै मानिसहरू डेन्टिस्टकहाँ जानदेखि डराउँछन्। डेन्टिस्टहरूले आफूकहाँ आउने बिरामीहरूको दुखाइ कम गर्न सुरुमा कसरी सिके भन्ने कुरा बुझ्दा आधुनिक दन्तचिकित्साप्रति हाम्रो कृतज्ञता अझै बढ्न सक्छ।
भनिन्छ, रुघाखोकीपछि मानिसहरूलाई सबैभन्दा सताउने रोग दाँतको दुखाइ हो। यो अहिले आएर मात्र देखा परेको नौलो रोग होइन। राजा सुलेमानले रचेको कविताले देखाएअनुसार प्राचीन इस्राएलमा वृद्धहरूको दाँत झरेर उनीहरूलाई हुनसम्मको दुःख हुन्थ्यो।—उपदेशक १२:३.
राजारानीलाई समेत छोडेन
एलिजाबेथ प्रथम इङ्गल्यान्डकी महारानी थिइन्। तैपनि तिनी दाँतको दुखाइबाट बच्न सकिनन्। महारानीको कालो दाँत देखेका एक जना जर्मन पर्यटकले बताएअनुसार “गुलियो धेरै खाने भएकोले अंग्रेजहरूमा यस्तो हुनु सामान्य” थियो। डिसेम्बर १५७८ मा दाँतको दुखाइले महारानीलाई दिनरात सताउन थाल्यो। उनका डाक्टरहरूले उनलाई दुखेको दाँत उखेलेर फाल्न सल्लाह दिए तर उनले मानिनन्। दाँत उखेल्दा हुने पीडाको कारण उनी डराएकी हुनुपर्छ। दाँत उखेल्न महारानीलाई मनाउन लन्डनका विशप जोन आल्मरले महारानीकै अगाडि आफ्नो एउटा दाँत निकाल्न लगाए। सायद कुनै बिग्रेको दाँत निकाल्न लगाएको हुनुपर्छ। विचरा बूढा, बचेखुचेका दुई-चारवटा दाँतमा पनि एउटा त गइहाल्यो!
त्यति बेला, साधारण जनताहरू दाँत उखेल्न हजाम वा फलामको काम गर्नेहरूकहाँ जान्थे। तर गुलियो पदार्थहरू किन्न सक्ने मानिसहरूको औकात भएपछि दाँतको समस्या पनि बढ्न थाल्यो। अनि त्यसले गर्दा दाँत उखेल्न सिपालु व्यक्तिहरूको आवश्यकता पनि बढ्यो। त्यसैले केही डाक्टर र सर्जनहरूले दाँतको उपचारमा चासो देखाउन थाले। तथापि, उनीहरूले आफ्नै बलबुत्तामा सिक्नुपर्थ्यो। कसैले कुनै नयाँ तरिका पत्ता लगायो भने पनि आफ्नो व्यापार घट्ने डरले अरूलाई सिकाउँदैनथ्यो। दाँतको उपचारबारे लेखिएका किताबहरू पनि त्यत्ति धेरै थिएनन्।
एलिजाबेथ प्रथमको समयदेखि लगभग एक शताब्दीपछि फ्रान्समा लुइस चौधौंले राज्य गरिरहेका थिए। दाँतको दुखाइले तिनलाई जिन्दगीभर कहिल्यै छोडेन। सन् १६८५ मा तिनले माथिपट्टिको सबै दाँत उखेल्न लगाए। कसैकसैले दाबी गरेअनुसार दाँत दुखेकै सुरमा राजाले त्यस वर्ष उपासनाको स्वतन्त्रतासम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए, जुन निर्णय वास्तवमा अत्यन्तै विनाशकारी थियो। यसको कारण धार्मिक
तवरमा अल्पसंख्यकहरूमाथि क्रूर सतावटको लहड चल्यो।आधुनिक दन्तचिकित्साको जन्म
लुइस चौधौंको विलासी जीवनशैलीले पेरिसको समाजमा पारेको प्रभावले गर्दा नै दन्तचिकित्साको विकास सम्भव भयो। भाइ-भारदारबीच र समाजमा सफल हुन हेर्दामा पनि चिटिक्क देखिनुपर्थ्यो। चपाउनको लागि भन्दा पनि राम्रो देखिनको लागि नक्कली दाँतको माग बढ्न थाल्यो। यसले गर्दा धनीमानीहरूको लागि काम गर्ने डेन्टिस्टहरूको समूह बन्न थाल्यो। पेरिसका प्रमुख डेन्टिस्ट पायर फोसार थिए। तिनले फ्रान्सको सेनामा छँदा चिरफारसम्बन्धी काम सिकेका थिए। दाँत उखेल्ने काम केही सीप नभएका हजाम र नक्कली डाक्टरहरूको हातमा छोडेकोमा तिनले सर्जनहरूको आलोचना गरे। आफूलाई डेन्टल सर्जन भनेर चिनाउने पहिलो व्यक्ति पनि तिनी नै थिए।
आफूले जानेको सीप गूपचूपमै राख्ने प्रचलनलाई तोड्दै, सन् १७२८ मा फोसारले एउटा किताब लेखे र आफूलाई थाह भए जति सबै प्रकिया सार्वजनिक गरे। त्यसैले तिनलाई “दन्तचिकित्साको पिता” भनिन्छ। आफ्ना बिरामीहरूलाई भुँइमा बस्न लगाउनुको सट्टा दाँतको उपचार गर्दा प्रयोग गरिने विशेष खालको कुर्सीमा बसाउने पहिलो व्यक्ति पनि तिनी नै थिए। तर फोसार दाँत उखेल्ने व्यक्ति मात्र थिएनन्, तिनले दाँत उखेल्ने पाँच प्रकारका साधनसमेत विकास गरे। तिनले डेन्टिस्टहरूले चलाउने ड्रिलको विकास गरे अनि दाँत भर्ने तरिका पनि तिनैले निकालेका थिए। तिनले दाँतको जरा (रूट क्यानल) भर्ने र जरामा नक्कली दाँत अड्काउने तरिका पनि थाह लगाए। तिनले हस्तिहाडबाट नक्कली दाँत बनाउँथे अनि माथिपट्टिको दाँतलाई ठीक ठाउँमा अड्याउन स्प्रिङ प्रयोग गर्थे। फोसारले दन्तचिकित्सालाई पेसाको रूपमा विकास गरे। तिनको ख्याति समुद्रपारि अमेरिकासम्म फैलियो।
अमेरिकाका प्रथम राष्ट्रपतिले भोगेको पीडा
लुइस चौधौंको समयदेखि एक शताब्दीपछि अमेरिकामा जर्ज वाशिङ्टनलाई पनि दाँतको दुखाइले सताएको थियो। तिनी २२ वर्षको भएदेखि हरेक वर्षजसो एउटा-एउटा दाँत उखेल्नुपरेको थियो। बेलाइती सेना विरुद्ध लडिरहेको कन्टिनेन्टल आर्मीको नेतृत्व गरिरहेका वाशिङ्टन कत्ति दयनीय अवस्थामा थिए होला, कल्पना गर्नुहोस् त! सन् १७८९ मा अमेरिकाको प्रथम राष्ट्रपति बन्ने बेलासम्ममा त तिनी पूरै थोते भइसकेका थिए।
थोते भएको कारण कुरूप हुँदै गएको र नक्कली दाँत टम्म नमिलेकोले गर्दा वाशिङ्टनलाई मानसिक तनाव पनि थियो। नयाँ मुलुकको राष्ट्रपतिको रूपमा राम्रो छवि बनाउन संघर्षरत तिनी आफ्नो रूपरङबारे अत्यन्तै सजग थिए। त्यति बेला नक्कली दाँत बनाउँदा, दाँत बनाउने साँचो प्रयोग नगरी हस्तिहाडबाट सीधै बनाइन्थ्यो। त्यसैले ठीकसँग मिलाएर राख्न गाह्रो हुन्थ्यो। अंग्रेजहरू पनि वाशिङ्टनजस्तै अप्ठ्यारोमा परेका थिए। भनिन्छ, आफ्नो नक्कली दाँत देखिएला भनेर नै अंग्रेजहरू मुख खोलेर मजाले हाँस्न छोडेका हुन्।
वाशिङ्टनको नक्कली दाँत काठबाट बनेको थियो भन्ने कथा छ तर यो कुरा साँचो होइन जस्तो देखिन्छ। तिनीसित मान्छेको दाँत, हस्तिहाड र सीसाबाट बनेका नक्कली दाँतहरू थिए तर काठबाट बनेको चाहिं होइन। सम्भवतः राती-राती सुटुक्क गएर चिहान खन्नेहरूबाट तिनका डेन्टिस्टहरूले दाँत लिन्थे। व्यापारीहरू सेनाको पछि-पछि पनि लाग्थे अनि युद्धमा मरेका वा मर्नै आँटेका सिपाहीहरूको दाँत निकाल्थे। नक्कली दाँत राख्नु भनेको धनाढ्यहरूको विलासी जीवनमा पर्थ्यो। सन् १८५० को दशकमा रबरलाई सल्फरसित पकाएर गन्धरहित बनाउने भल्कनाइजेसन प्रक्रियाको आविष्कार भएपछि नक्क्ली दाँत अड्याउन यही रबर प्रयोग गर्न थालियो। यसपछि मात्र नक्कली दाँत जनसाधारणको लागि सर्वसुलभ भयो। वाशिङ्टनका डेन्टिस्टहरूले दाँतको उपचारमा निकै दक्षता हासिल गरिसकेको भए तापनि दाँत दुख्नुको कारण तिनीहरूले राम्रोसित बुझिसकेका थिएनन्।
दाँत दुख्नुको कारण
कीराले खाएपछि दाँत दुख्छ भन्ने धारणा पुरातन समयदेखि नै थियो। अनि १८ औं शताब्दीसम्म यस्तै विश्वास रहिरह्यो। सन् १८९० मा जर्मनीको बर्लिन विश्वविद्यालयमा काम गरिरहेका अमेरिकी डेन्टिस्ट विल्बी मिलरले दाँत बिग्रनुको कारण
पत्ता लगाए अनि यही नै दाँतको दुखाइको प्रमुख कारण थियो। विशेष गरी गुलियो पदार्थमा हुर्कने एक प्रकारको ब्याक्टेरियाले एसिड उत्पादन गर्छ र यसैले दाँत बिगार्छ। दाँतलाई बिग्रनदेखि कसरी जोगाउन सकिन्छ? यसको जवाफ संयोगले पत्ता लागेको थियो।अमेरिकाको कोलोराडोका डेन्टिस्टहरू त्यहाँका मानिसहरूको दाँतमा किन छिर्काछार्की भएको होला भनेर पत्ता लगाउन नसकेर दशकौंसम्म रनभुल्लमा परेका थिए। त्यहाँको पानीमा अत्यधिक फ्लोराइड भएकोले पो यस्तो भएको रहेछ भनेर पछि गएर पत्ता लाग्यो। उक्त समस्याको अध्ययन गर्दा अनुसन्धाताहरूले दाँतको दुखाइबाट जोगिन विश्वकै लागि काम लाग्ने एउटा तथ्य फेला पारे: पर्याप्त फ्लोराइड नभएको पानी पिएर हुर्केका मानिसहरूमा दाँत बिग्रने समस्या अधिक हुँदो रहेछ। हामीले पिउने पानीमा प्रायजसो प्राकृतिक रूपमै हुने फ्लोराइड, दाँतको इनामेलमा पनि पाइन्छ। पर्याप्त फ्लोराइड नभएको पानी पिउने मानिसहरूलाई ठिक्क मात्रामा फ्लोराइड दिंदा दाँत बिग्रने समस्यामा ६५ प्रतिशतसम्म कमी आउँछ।
यसरी दाँतको दुखाइको रहस्य सुल्झियो। प्रायजसो अवस्थामा दाँत बिग्रेको कारण दाँत दुख्छ। अनि गुलियो पदार्थले दाँत बिगार्छ। फ्लोराइडले दाँत बिग्रनबाट जोगाउँछ। तर बिर्सन नहुने कुरा, राम्रोसित दाँत माझ्नु र फ्लस गर्नुको विकल्प फ्लोराइड भने होइन भन्ने कुरा कुनै शंका नरहने गरी प्रमाणित भइसकेको छ।
पीडारहित दन्तचिकित्साको खोज
दुखाइ कम गर्ने एनेस्थेसिया पत्ता लाग्नुअघि दाँतको उपचार गर्नु भनेको बिरामीहरूलाई यातना दिएसरह थियो। डेन्टिस्टहरूले धारिलो यन्त्र चलाएर बिग्रिएको दाँत निकाल्दा कुनै लठ्ठयाउने औषधी प्रयोग गर्दैनथे अनि दाँत निकालेको खाली ठाउँमा तात-तातो धातु भरिदिन्थे। भित्रसम्मै बिग्रिसकेको दाँतको उपचार गर्दा भने रातो पारेर तताइएको फलामको रड दाँतको जरामा घुसाएर डामिन्थ्यो किनकि त्यति बेला योबाहेक अरू कुनै उपचार उपलब्ध थिएन। दाँतको उपचारमा प्रयोग गरिने विशेष औजारहरू र एनेस्थेसियाको विकास हुनुअघि दाँत उखेल्न पनि दह्रै मुटु चाहिन्थ्यो। दुखेको दाँत लिएर बाँच्न योभन्दा पनि गाह्रो हुने भएकोले मात्र मानिसहरू यत्तिको पीडा सहन तयार हुन्थे। अफिम, भाङ र दूधेफल जस्ता जडीबुटीहरू शताब्दीयौंदेखि प्रयोग गरिंदै आएको भए तापनि यसले अलिकता लट्ठ मात्र पार्थ्यो, पीडा कम गर्न खासै मदत पुऱ्याउँदैनथ्यो। त्यसोभए पीडारहित उपचार डेन्टिस्टहरूको लागि आकाशको फल नै रहिरहने थियो त?
सन् १७७२ मा बेलाइती रसायनविद् जोसेफ प्रिस्ट्लीले पहिलो पटक नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्याँस पत्ता लगाए। यसको लगत्तै यसमा भएको लठ्ठयाउने क्षमता पनि पत्ता लागेको थियो। तर सन् १८४४ सम्म कसैले पनि यसलाई एनेस्थेसियाको रूपमा प्रयोग गरेन। त्यस वर्षको डिसेम्बर १० मा, अमेरिकाको कनेटिकट राज्यको हार्टफोर्डका डेन्टिस्ट होरस वेल्स एउटा कार्यक्रममा भाग लिन गए, जहाँ उपस्थित सबैलाई लाफिङ ग्याँस सुँघाएर मनोरञ्जन गराइएको थियो। यो ग्याँस सुँघेको सुरमा एउटा मान्छेको नलीखुट्टा गह्रौं बेन्चमा ठोकिएर नराम्रोसित कोतरिए तापनि उसलाई अलिकता पनि पीडा नभएको उनले याद गरे। उनी अरूप्रति सहानुभूति देखाउने खालका व्यक्ति थिए। त्यसैले उपचारको दौडान आफ्नै हातले आफ्ना बिरामीहरूलाई पीडा दिएको उनी देख्न सक्दैनथे। उनले तुरुन्तै त्यो ग्याँस एनेस्थेसियाको रूपमा चलाउने विचार गरे। तर अरूको उपचारमा प्रयोग गर्नुअघि उनले आफैमाथि परीक्षण गर्ने निधो गरे। त्यसको भोलिपल्ट, बिरामीलाई बसाइने कुर्सीमा उनी आफै बसे र बेहोस नहोउन्जेलसम्म उक्त ग्याँस सुँघे। त्यसपछि उनको सहयोगीले उनको दुखिरहेको बुद्धि बङ्गारा उखेलिदियो। यो एउटा ऐतिहासिक घटना थियो। बल्ल, पीडारहित दन्त उपचार सम्भव भयो! a
त्यस बेलादेखि यता दन्तचिकित्साको क्षेत्रमा निकै प्रगति हासिल भइसकेको छ। त्यसैले, हिजोआज डेन्टिस्टकहाँ जाँदा पहिलेको जस्तो नमीठो सम्झना बोकेर फर्कनु पर्दैन। (g 9/07)
[फुटनोट]
a हिजोआज नाइट्रस अक्साइड सुँघाउनुको सट्टा दुखेको ठाउँलाई मात्र असर गर्ने लोकल एनेस्थेसिया धेरै प्रयोग गरिन्छ।
[पृष्ठ २८-मा भएको चित्र]
अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिङ्टनको नक्कली दाँत, जुन हस्तिहाडबाट बनेको थियो
[स्रोत]
Courtesy of The National Museum of Dentistry, Baltimore, MD
[पृष्ठ २९-मा भएको चित्रको स्रोत]
नाइट्रस अक्साइड प्रयोग गरिएको पहिलो दन्तशल्यक्रियाबारे कोरिएको एउटा चित्र, सन् १८४४
[स्रोत]
Courtesy of the National Library of Medicine
[पृष्ठ २७-मा भएको चित्र]
Courtesy of the National Library of Medicine