सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अन्तरवार्ता | राजेश कलारिया

मस्तिष्क रोग विशेषज्ञ आफ्नो विश्वासबारे बताउँछन्‌

मस्तिष्क रोग विशेषज्ञ आफ्नो विश्वासबारे बताउँछन्‌

इङ्‌गल्यान्डको न्यु क्यासल विश्वविद्यालयका प्राध्यापक राजेश कलारियाले मानव मस्तिष्कबारे अध्ययन गरेको ४० वर्षभन्दा धेरै भइसक्यो। तिनी क्रमविकासको शिक्षामा विश्वास गर्थे। तर पछि तिनले सृष्टिकर्तामा विश्वास गरे। तिनले आफ्नो काम र विश्वासबारे ब्यूँझनुहोस्! पत्रिकालाई यसरी बताए।

तपाईंको धार्मिक पृष्ठभूमिबारे केही बताइदिन सक्नुहुन्छ कि?

मेरो बुबाको जन्म भारतमा भएको थियो। आमा पनि भारतीय मूलको त हुनुहुन्थ्यो तर उहाँको जन्म चाहिं युगान्डामा भएको थियो। उहाँहरू हिन्दू परम्परामा चुर्लुम्मै डुब्नु भएको थियो। दाजुभाइमध्ये म माहिलो हुँ। हामी केन्याको नाइरोबीमा बस्थ्यौं। हाम्रो वरपर हिन्दू धर्म मान्ने अरू थुप्रै मानिसहरू पनि थिए।

तपाईंलाई विज्ञानमा चासो लाग्नुको कारण के होला?

मलाई जनावर र चराचुरुङ्‌गीहरू पहिल्यै देखि मन पर्थ्यो। म वन्यजन्तुहरू हेर्न साथीहरूसँगै हाइकिङ र क्याम्पिङ जाने गर्थें। म पशुको डाक्टर बन्न चाहन्थें। नाइरोबीको कलेजबाट स्नातकोत्तर गरिसकेपछि म लन्डन विश्वविद्यालयमा प्याथोलोजी अध्ययन गर्न गएँ। पछि मैले मानव मस्तिष्कलाई आफ्नो अध्ययनको मुख्य विषय बनाएँ।

के यस्तो अध्ययनले तपाईंको धार्मिक आस्थामा कुनै असर गऱ्यो?

हो, गऱ्यो। मैले जत्ति धेरै विज्ञानबारे अध्ययन गर्दै गएँ त्यत्ति नै हिन्दू किंवदन्ती तथा परम्पराबाट मेरो विश्वास हराउँदै गयो। जस्तै, जनावर अनि मूर्तिको उपासना गर्ने कुरा।

तपाईं क्रमविकासको शिक्षामा किन विश्वास गर्नुहुन्थ्यो?

म सानो छँदा वरपरका मानिसहरूले मानव क्रमविकासको सुरुवात अफ्रिकामा भएको थियो भनेर विश्वास गर्थे। अनि स्कुलमा पनि यही कुरा सिकाइन्थ्यो। साथै शिक्षक अनि प्राध्यापकहरूले पनि ठूलठूला वैज्ञानिकहरू क्रमविकासको शिक्षामा विश्वास गर्छन्‌ भनेर सिकाउँथे।

तर पछि गएर क्रमविकासको शिक्षामाथि तपाईंलाई किन शङ्‌का लाग्न थाल्यो?

मैले जीवविज्ञान अनि मानव शरीरको अध्ययन गरेको केही वर्ष भइसकेको  थियो। सँगै पढ्‌ने एक जना साथीले ऊ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेको कुरा बतायो। म पनि बाइबलबारे बुझ्न चाहन्थें। त्यसैले साक्षीहरूले हाम्रो कलेजको हलमा सम्मेलन आयोजना गर्दा म पनि त्यहाँ उपस्थित भएँ। पछि दुई जना मिसनरी दिदीले मलाई बाइबलका कुराहरू सिकाउन थाल्नुभयो। उहाँहरूले सृष्टिकर्ताबारे बताउनुभएको कुरा अनि जीवनका महत्त्वपूर्ण प्रश्नहरूबारे दिनुभएको जवाफ मलाई तर्कसङ्‌गत लाग्यो।

चिकित्सासम्बन्धी तपाईंको अध्ययनले सृष्टिकर्तामाथि विश्वास गर्न तपाईंलाई गाह्रो बनायो कि?

त्यस्तो त भएन! मानव शरीरबारे अध्ययन गर्दै जाँदा जीवित प्राणीहरूलाई राम्रोसँग डिजाइन गरिएको छ र यो डिजाइन असाध्यै जटिल छ भन्ने कुरा सिक्न सकें। यस्तो अद्‌भुत डिजाइन स्वतः अस्तित्वमा आउने कुरा पत्यारै गर्न सकिनँ।

कुनै उदाहरण दिन सक्नुहुन्छ?

सन्‌ १९७० को दशकको सुरुतिर मैले मानव मस्तिष्कबारे अध्ययन गर्न थालें। अझै पनि मस्तिष्कबारे अनुसन्धान गर्न मलाई मन पर्छ। सोच्ने, स्मरण गर्ने र शरीरले गर्ने विभिन्न कामको नियन्त्रण मस्तिष्कले गर्छ। मस्तिष्कलाई हाम्रो शरीरको केन्द्रबिन्दु भन्न सकिन्छ। किनभने यसले शरीर भित्र वा बाहिरबाट आएका विभिन्न जानकारीअनुसार कदम चाल्न हाम्रा अङ्‌गहरूलाई निर्देशन दिन्छ।

हाम्रो मस्तिष्कले यस्तो काम गर्न सक्नुको कारण यसमा हुने जटिल रासायनिक प्रक्रिया अनि न्युरोनहरूको व्यापक सञ्जालले गर्दा हो। मानव मस्तिष्कमा अरबौंको सङ्‌ख्यामा न्युरोन हुन्छन्‌ जसले एक-अर्कासँग लामा रेसाहरूमार्फत्‌ सञ्चार कायम गर्छन्‌। ती लामा रेसाहरूलाई एक्सन भनिन्छ। साथै न्युरोनमा अझै स-साना हाँगामा बाँडिएका रेसाहरू पनि हुन्छन्‌, जसलाई डेन्ड्राइट्‌स भनिन्छ। यिनीहरूको मदतद्वारा एउटा न्युरोनले अन्य हजारौं न्युरोनसँग सम्पर्क राख्न सक्छ। न्युरोनहरू र डेन्ड्राइट्‌सहरूको सञ्जाल यत्तिको व्यापक भए तापनि यिनीहरू गज्याङमज्याङ हुँदैनन्‌ बरु एकदमै व्यवस्थित हुन्छन्‌।

अझै व्याख्या गरिदिनुस् न।

बच्चा गर्भमा हुँदादेखि नै न्युरोनहरूको यो सञ्जाल व्यवस्थित तरिकाले बढ्‌न थाल्छ अनि बच्चा जन्मिसकेपछि पनि यसरी बढ्‌ने क्रम जारी रहन्छ। रेसाहरूमार्फत एउटा न्युरोनले केही सेन्टिमिटरको दूरीमा रहेको अर्को न्युरोनसँग सम्पर्क राख्छ। यी रेसाहरू कुनै एउटा खास कोषमा मात्र नभई त्यो कोषको खास भागसम्म पुग्नुपर्ने हुन सक्छ।

न्युरोनहरूबाट निस्किएका नयाँ रेसाहरू आफ्नो गन्तव्यमा नपुगेसम्म यिनीहरूलाई विभिन्न सङ्‌केतले डोऱ्याउँछ। जस्तै, “रोक,” “जाऊ,” र “घुम”। यस्ता स्पष्ट निर्देशनहरू नदिइने हो भने रेसाहरू बाटैमा हराउँछन्‌। यी सबै प्रक्रिया हाम्रो डिएनए-मा लेखिएको निर्देशनअनुसार एकदमै व्यवस्थित तरिकाले चल्छ।

हाम्रो मस्तिष्क कसरी विकास हुन्छ, मस्तिष्कले कसरी स्मरण, भावना अनि सोचाइजस्ता कुराहरूलाई नियन्त्रण गर्छ भन्ने कुरा हामी कहिल्यै पूर्ण रूपले बुझ्न सक्दैनौं। मस्तिष्कले काम गर्ने अद्‌भुत तरिकालाई विचार गर्दा यसलाई डिजाइन गर्ने पक्कै कोही बुद्धिमान्‌ सृष्टिकर्ता हुनुपर्छ भन्ने निष्कर्षमा पुग्न सकेको छु।

तपाईंले किन यहोवाको साक्षी बन्ने निर्णय गर्नुभयो?

बाइबल परमेश्वरकै वचन हो भनेर बुझाउन साक्षीहरूले मलाई विभिन्न प्रमाणहरू देखाए। उदाहरणको लागि, बाइबल कुनै विज्ञानको किताब होइन तर विज्ञानसम्बन्धी यसमा लेखिएका कुराहरू सधैं सही साबित भएका छन्‌। यसमा लेखिएका भविष्यवाणीहरू पनि अचूक छ। अनि बाइबलको सल्लाह पालन गर्नेहरूले आनन्दित भई जीवन बिताउन सकेका छन्‌। मैले पनि त्यस्तै अनुभव गरेको छु। म सन्‌ १९७३ मा यहोवाको साक्षी बनें। त्यसबेलादेखि जीवनमा चाहिने आवश्यक निर्देशन सधैं बाइबलबाट नै खोज्ने गरेको छु। यसले मेरो जीवन साँच्चै सन्तोषजनक अनि अर्थपूर्ण बनाएको छ।