सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छोराछोरी शोकमा डुब्दा

छोराछोरी शोकमा डुब्दा

परिवारको सदस्यको मृत्युको कारण शोक गर्दै हुनुहुन्छ कि? तपाईं कसरी यसको सामना गर्न सक्नुहुन्छ? बाइबलले यी तीन युवायुवतीलाई कसरी मदत गऱ्यो, विचार गर्नुहोस्।

डेमीको अनुभव

डेमी

पहिला त साधारण टाउको दुखाइ मात्र हो जस्तो लागेको थियो। तर बुबाको पीडा झन्‌-झन्‌ बढ्‌दै गयो। त्यसपछि आमाले एम्बुलेन्स बोलाउनुभयो। स्वास्थ्यकर्मीहरूले बुबालाई लगेको मलाई अझै याद छ। उहाँलाई फेरि भेट्‌न पाइँदैन भनेर मैले सोचेकै थिइन। रक्तनली सुन्निएकोले तीन दिनपछि उहाँको मृत्यु भयो। त्यतिबेला म छ वर्षकी मात्र थिएँ।

बुबाको मृत्यु भएकोमा म नै जिम्मेवार छु जस्तो लागिरहन्थ्यो। स्वास्थ्यकर्मीहरूले उहाँलाई लगेको घटना सम्झँदै आफैलाई यस्तो प्रश्न गर्थें: ‘म किन त्यहाँ ठिङ्‌ग उभिरहें? किन केही गरिनँ?’ रोग लागेका बूढाबूढीहरूलाई देख्दा मनमा यस्तो प्रश्न आउँथ्यो, ‘उनीहरू जीवित छन्‌ तर मेरो बुबाचाहिं किन जीवित हुनुहुन्न?’ समय बित्दै जाँदा आमाले मेरा भावनाबारे खुलेर कुराकानी गर्न मदत गर्नुभयो। यहोवाको साक्षी भएकोले मण्डलीबाट धेरै सान्त्वना र सहयोग पायौं।

कसैको मृत्यु हुँदा सुरुमा शोकमा डुबे तापनि पछि चोट सहन सकिन्छ भनेर कोही-कोही सोच्छन्‌। तर मेरो सन्दर्भमा भने कुरा फरक थियो। किशोरावस्थामा पुगेपछि मात्र मैले शोक गर्न थालें।

मृत्युको कारण आफ्नो बुबा वा आमा गुमाएका युवायुवतीहरूलाई म यस्तो सल्लाह दिन चाहन्छु, “आफूले भोगिरहेको गाह्रो अवस्थाबारे अरूलाई बताउनुहोस्। जति चाँडो आफ्नो भावना व्यक्त गर्नुहुन्छ, त्यति नै चाँडो तपाईंले सजिलो महसुस गर्नुहुन्छ।”

जीवनका महत्त्वपूर्ण घटनाहरूमा बुबालाई सामेल गराउन नपाएकोमा साह्रै दुःख लाग्छ। तर बाइबलको प्रकाश २१:४ मा बताइएको यो प्रतिज्ञाले मलाई सान्त्वना दिएको छ, ‘परमेश्वरले हाम्रा आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।’

डेरिकको अनुभव

डेरिक

मेरो जीवनका सबैभन्दा मीठा सम्झनाहरू भनेको बुबासँगै माछा मार्न गएको र पहाडहरूमा उहाँसँगै रात बिताएका क्षणहरू हुन्‌। उहाँलाई पहाडहरू एकदमै मन पर्थ्यो।

बुबालाई मुटुको समस्या थियो। म सानो छँदा उहाँलाई एक-दुई पटक अस्पतालमा भेट्‌न गएको याद आउँछ। तर उहाँको रोग कत्तिको गम्भीर थियो भनेर मैले बुझेकै थिइनँ। म नौ वर्षको हुँदा बुबा मुटु रोगको कारण बित्नुभयो।

उहाँ बित्नुभएपछि म धेरै रोएँ। सास फेर्नै गाह्रो भयो अनि कसैसँग पनि कुरा गर्न मन लागेन। जीवनमा कहिल्यै पनि यस्तो नराम्रो लागेको थिएन। केही गर्नै मन लागेन। म जाने गरेको चर्चको युवा समूहले सुरुमा त मलाई चासो देखाएजस्तो गऱ्यो तर केही समय नबित्दै उनीहरूको चासो सेलाएर गयो। त्यहाँका मानिसहरू यसो भन्थे, “तिम्रो बुबाको दिन आइसकेको थियो” वा “ईश्वरले उहाँलाई बोलाउनुभयो”  अथवा “उहाँ अहिले स्वर्गमा हुनुहुन्छ।” यी जवाफहरूले मलाई कहिल्यै सान्त्वना दिएन। यस सन्दर्भमा बाइबलले के भन्छ भनेर मलाई थाहै थिएन।

पछि मेरी आमाले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थाल्नुभयो। म र मेरो दाइले पनि बाइबल अध्ययन सुरु गऱ्यौं। हामीले मरेकाहरूको अवस्थाबारे र ईश्वरले उनीहरूलाई दिनुभएको पुनर्जीवनको आशाबारे थाह पायौं। (यूहन्ना ५:२८, २९) मलाई एकदमै मदत गरेको बाइबल पदचाहिं यशैया ४१:१० हो, त्यहाँ ईश्वरले यसो भन्नुभएको छ: “नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु।” यहोवा मसँग हुनुहुन्छ भन्ने कुरा थाह पाउँदा निकै सान्त्वना पाएको थिएँ र यसले अहिले पनि मन हलुका बनाउँछ।

जिनीको अनुभव

जिनी

म सात वर्षकी हुँदा मेरी आमा क्यान्सरको कारण बित्नुभयो। त्यो दिन एउटा नमीठो सपना जस्तो लागेको थियो। आमाको निधन हुँदा हजुरबुबा हजुरआमा पनि घरमा सँगै हुनुहुन्थ्यो। त्यहाँ सन्नाटा छाएको कुरा अझै याद छ। त्यस रात हामीले खाएको खानेकुरा पनि याद छ। मेरो जीवन अब भताभुङ्‌ग हुँदै जान्छ जस्तो लाग्यो।

मलाई आफू बलियो हुनुपर्छ र बहिनीको ख्याल राख्नुपर्छ भन्ने लाग्यो। त्यसैकारण आफ्ना सबै भावना आफूभित्रै गुम्साएर राखें। हुन त पीडादायी अनुभवहरू आफैभित्र राख्नु फाइदाजनक छैन भनेर मलाई थाह छ, तर अहिलेसम्म पनि त्यस्तो झुकाव मसँग छ।

यहोवाका साक्षीहरूको स्थानीय मण्डलीबाट माया र सहयोग पाएको कुरा याद आउँछ। हामी राज्यभवनका सभाहरूमा उपस्थित हुन थालेको धेरै भएको थिएन। तैपनि सङ्‌गी दाजुभाइ दिदीबहिनीहरूले हामीलाई लामो समयदेखि चिनेको आफ्नै परिवारको सदस्यजस्तै गरी माया गर्नुभयो। उहाँहरूले सधैं हाम्रो लागि खाना ल्याइदिनुहुन्थ्यो, त्यसैले मेरो बुबाले झन्डै एक वर्षसम्म रातीको खाना पकाउनै परेन।

मलाई मन पर्ने एउटा बाइबल पद भजन २५:१६, १७ हो। त्यहाँ यस्तो लेखिएको छ: “तपाईं मतिर फर्कनुहोस्, र ममाथि अनुग्रह गर्नुहोस्। किनकि म एक्लो र दुःखित छु। मेरो हृदयका दुःखहरू बढेका छन्‌। मलाई मेरा कष्टहरूबाट तपाईंले नै छुटाउनुहोस्।” म एक्लो छैन, ईश्वर मेरो साथमा हुनुहुन्छ भनेर थाह पाउँदा निकै सान्त्वना पाउँछु। बाइबलका प्रतिज्ञाहरूले मलाई अघि बढ्‌न र सकारात्मक कुराहरूमा ध्यान दिन मदत गरेको छ, जस्तै: पुनर्जीवनको आशाले। आमालाई फेरि भेट्‌ने र बगैंचारूपी पृथ्वीमा उहाँ पूर्ण रूपमा स्वस्थ हुनुभएको हेर्ने आशा राखेकी छु।—२ पत्रुस ३:१३.

शोकमा डुबेकाहरूको लागि बाइबलले दिने सान्त्वनादायी सन्देशको बारेमा अझ बुझ्न चाहनुहुन्छ? “तपाईंको प्रियजनको मृत्यु हुँदा” भन्ने पुस्तिका निश्शुल्क डाउनलोड गर्नुहोस्। त्यसको लागि www.jw.org/ne मा जानुहोस् अनि प्रकाशनहरू > पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्।