आवरण लेख | राम्रो बानी कसरी बसाल्ने

१ व्यावहारिक हुनुहोस्‌

१ व्यावहारिक हुनुहोस्‌

तपाईंलाई सबै कुरा एकै चोटि परिवर्तन गरिहालौं जस्तो लाग्छ होला। तपाईं यसो भन्‍नुहोला, ‘म यही हप्तादेखि चुरोट खान, छाडा बोली बोल्न छोड्‌छु। अनि चाँडै सुत्छु, व्यायाम पनि सुरु गर्छु। स्वस्थ खानेकुरा खान्छु अनि हजुरबुबा-हजुरआमालाई फोन गर्छु।’ तर यसरी सबै कुरा एकै चोटि गर्न खोज्नु दुइटा डुङ्‌गामा खुट्टा राख्नुजस्तै हो।

बाइबलको सिद्धान्त: “नम्रताले बुद्धि ल्याउँछ।”हितोपदेश ११:२, NRV.

नम्र मानिस व्यावहारिक हुन्छ। उसलाई आफ्नो समय, शक्‍ति अनि स्रोतसाधन कतिसम्म खर्च गर्न सक्छु भनेर थाह हुन्छ। त्यसैले सबै कुरा एकै चोटि गर्न खोज्दैन। बरु क्रमिक रूपमा उन्‍नति गर्दै जान्छ।

सबै कुरा एकै चोटि गर्न खोज्नु दुइटा डुङ्‌गामा खुट्टा राख्नुजस्तै हो

तपाईं के गर्न सक्नुहुन्छ?

एक चोटिमा एउटा वा दुइटा मात्र लक्ष्य राख्नुहोस्‌। यसो गरेर हेर्नुहोस्‌:

  1. १. आफूले बसाल्न चाहेको अनि छोड्‌न चाहेको बानीको दुइटा सूची बनाउनुहोस्‌। प्रत्येक सूचीमा आफूलाई याद भएको जति सबै बानी लेख्नुहोस्‌।

  2. २. सुरुमा के-के गर्न चाहनुहुन्छ, क्रमअनुसार लेख्नुहोस्‌।

  3. ३. सूचीबाट आफूले बसाल्न चाहेको अनि छोड्‌न चाहेको एउटा वा दुइटा बानी छान्‍नुहोस्‌। अनि त्यसअनुसार गर्ने कोसिस गर्नुहोस्‌। त्यसपछि फेरि अर्को एउटा वा दुइटा बानी छान्‍नुहोस्‌ अनि त्यसैअनुसार गर्नुहोस्‌।

नराम्रो बानीको ठाउँमा राम्रो बानी बसाल्दै जानुहोस्‌। यसो गर्दा छिटो-छिटो उन्‍नति हुन्छ। उदाहरणको लागि, तपाईंको सूचीमा एउटामा धेरै टिभी हेर्ने अनि अर्कोमा परिवार अनि साथीभाइसित सम्पर्कमा रहिरहने बुँदा छ होला। अब तपाईंले के गर्नुपर्छ? बेलुका कामबाट फर्कनेबित्तिकै टिभी खोल्नुको सट्टा साथी वा आफन्तलाई फोन गर्नुहोस्‌। (g16-E No. 4)