शोकमा परेकाहरूका लागि मदत
कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?
मानिसहरूको व्यक्तित्व फरक-फरक हुन्छ। त्यसैले शोक गर्ने तरिका पनि व्यक्तिपिच्छे फरक हुन्छ। प्रियजनको मृत्यु हुँदा दुःख लागे पनि कसै-कसैले आफ्नो पीडा व्यक्त गर्दैनन् वा आफूलाई कति पीडा भइरहेको छ त्यो देखाउन चाहँदैनन्। आफ्नो पीडा व्यक्त गर्दा मन हल्का त हुन्छ तर “यसरी नै” गर्नुपर्छ भन्ने छैन। आफू हुर्केको समाज, आफ्नो व्यक्तित्व र अनुभव अनि प्रियजनको मृत्यु कसरी भयो भन्ने कुराले शोक गर्ने तरिकामा फरक पार्न सक्छ।
शोकका असरहरू के-के हुन्?
प्रियजन गुमाएपछि कस्तो अवस्थाको सामना गर्नुपर्छ, शोकमा परेकाहरूलाई थाह नहुन सक्छ। यस्तो बेला भावनात्मक रूपमा सम्हालिन गाह्रो हुनु र चुनौतीहरू आइपर्नु स्वाभाविकै हो। निम्न कुराहरू विचार गरौँ:
मन भक्कानिनु: यस्तो बेला रुन मन लाग्न सक्छ, मरेको व्यक्तिलाई भेट्ने तीव्र इच्छा जाग्न सक्छ र एक्कासि मुड परिवर्तन हुन सक्छ। मृत व्यक्तिको याद आउँदा र तिनको सपना देख्दा मन भक्कानिन सक्छ। तिनको मृत्यु भएको कुरा सुरुमा स्विकार्नै गाह्रो लाग्न सक्छ। पतिको अचानक मृत्यु हुँदा रीनाले कस्तो महसुस गरिन्? तिनी भन्छिन्: “सुरुमा त केही सोच्नै सकिनँ। रुन पनि सकिनँ। असह्य पीडा भएकोले सासै फेर्न गाह्रो हुन्थ्यो। उहाँ बित्नुभएको कुरा पत्याउनै सकेकी थिइनँ।”
निराश हुनु, रिसाउनु र दोषी महसुस गर्नु। सन्तोस भन्छन्: “हाम्रो २४ वर्षीय छोरा रोजन बितेको केही समयसम्म हामीलाई विनाकारण रिस उठ्थ्यो। यो अचम्मलाग्दो कुरा थियो किनभने हामी शान्त स्वभावका थियौँ। छोरालाई बचाउन अझ केही गर्न सकिन्थ्यो कि जस्तो लागेर दोषी महसुस गर्थ्यौँ।” दीर्घकालीन रोगले गर्दा निकेसकी पत्नीको मृत्यु भयो। तिनले पनि दोषी महसुस गरे। तिनी भन्छन्: “म नै खराब मान्छे भएकोले ईश्वरले मलाई सजाय दिँदै हुनुहुन्छ जस्तो सुरु-सुरुमा लागेको थियो। ईश्वरलाई आरोप लगाएकोमा दोषी महसुस गर्न थालेँ।” यसअघिको लेखमा उल्लिखित सन्जय भन्छन्: “कहिलेकाहीँ रीतादेखि नै रिस उठ्थ्यो। यस्तो सोच्न पुगेकोमा दोषी महसुस गर्थेँ। हुन पनि उसको केही दोष थिएन।”
मानसिक तनाव हुनु: शोकमा परेको व्यक्तिलाई बेलाबेलामा अनौठो सोचाइ आउन सक्छ। आफूले गुमाएको व्यक्तिको कुरा सुन्न, तिनलाई महसुस गर्न र देख्न सकिन्छ जस्तो लाग्न सक्छ। तिनलाई काममा ध्यान दिन वा कुनै कुरा सम्झन गाह्रो लाग्न सक्छ। रीना भन्छिन्: “अरू मसँग कुरा गरिरहेका हुन्थे तर मेरो ध्यान भने अन्तै हुन्थ्यो। सरदको मृत्यु हुँदाको घटना घरिघरि मनमा खेल्थ्यो। मन लगाएर कुनै काम गर्न नसक्दा दिक्क लाग्थ्यो।”
अरूसित सङ्गत गर्न मन नलाग्नु: शोकाकुल व्यक्तिलाई अरूसित सङ्गत गर्नु झिजो वा अप्ठेरो लाग्न सक्छ। सन्जय भन्छन्: “विवाहितहरूसित सङ्गत गर्दा आफू एक्लो भएको महसुस हुन्थ्यो। अविवाहितहरूसित हुँदा पनि त्यस्तै लाग्थ्यो।” सन्तोसकी पत्नी सन्जिता विगतको कुरा सम्झँदै यसो भन्छिन्: “हाम्रो समस्याको तुलनामा सानोजस्तो देखिने समस्याहरू पनि सुनाएको सुन्यै गर्ने मानिसहरूको अगाडि बस्न असाध्यै गाह्रो हुन्थ्यो। अनि कसैले आफ्नो छोराछोरीको प्रगतिबारे सुनाउँदा खुसी त लाग्थ्यो तर उनीहरूको कुरा खासै सुन्न मन लाग्दैन थियो। हाम्रो जीवन यत्तिकैमा सिद्धिदैन यो चलिरहन्छ भनेर थाह त थियो। तैपनि अरूको कुरा सुन्न हामीमा इच्छा र धैर्य नै थिएन।”
स्वास्थ्य समस्या हुनु: भोक नलाग्नु, वजन घट्नु र निद्रा नलाग्नुजस्ता समस्या हुनु सामान्य हो। बुबा बितेको एक वर्षपछि राजुलाई कस्तो समस्या भएको थियो? तिनी भन्छन्: “राम्ररी निद्रै लाग्दैनथ्यो। प्रायजसो रातको एउटै समयमा ब्युझिन्थेँ अनि बुबाको मृत्युको कुरा मनमा खेल्थ्यो।”
आफ्नो स्वास्थ्य समस्याबारे निकेस भन्छन्: “डाक्टरकहाँ थुप्रै पटक जचाउन गएँ तर ममा कुनै समस्या भेटिएन। त्यसैले शोकले गर्दा नै विभिन्न लक्षणहरू देखा परेको हो भन्ठानेँ।” समय बित्दै जाँदा ती लक्षणहरू हराए। निकेसले डाक्टरलाई देखाएर बुद्धिमानी कदम चालेका थिए। शोकले गर्दा शरीरको रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुन्छ, लागिरहेको रोग बल्झिन वा नयाँ रोग देखा पर्न सक्छ।
महत्त्वपूर्ण काम गर्न गाह्रो हुनु। सन्तोस भन्छन्: “रोजनको मृत्युपछि हामीले नातेदार र साथीहरूलगायत उसको हाकिम र घरबेटीलाई खबर दिनु पऱ्यो। थुप्रै कानुनी कागजात भर्नु पऱ्यो। त्यसपछि रोजनसित के-कस्तो सरसामान थियो, त्यो पनि हेर्नुपर्ने भयो। मानसिक, शारीरिक र भावनात्मक तवरमा लखतरान भए तापनि यी सबै काम गर्न निकै ध्यान पुऱ्याउनुपर्ने थियो।”
प्रियजनको मृत्यु हुनुअघि तिनले सम्हालेको काम अहिले आफैले गर्नुपर्दा कसै-कसैलाई गाह्रो लाग्न सक्छ। त्यस्तै अनुभव गरेकी रीना भन्छिन्: “बैङ्कसित सम्बन्धित र यस्तै अरू काम सधैँ सरदले सम्हाल्नुहुन्थ्यो। अब भने मैले गर्नुपर्ने भयो। मेरो तनाव झनै बढ्यो। सबै काम म एक्लैले गर्न सक्दिनँ जस्तो लाग्थ्यो।”
माथिका उदाहरणहरूले देखाएझैँ शोकमा परेको बेला भावनात्मक, मानसिक र शारीरिक रूपमा सम्हालिन निकै गाह्रो हुन्छ। वास्तवमा प्रियजन गुमाउँदाको पीडा असह्य हुन्छ। तर यस्तो कुरा पहिल्यै थाह पायौँ भने शोकमा पर्दा सहन बल पाउन सक्छौँ। नबिर्सनुहोस्, शोकको सम्भावित सबै असर सबैमा देखा पर्छ भन्ने छैन। शोकले गर्दा असह्य पीडा हुनु स्वाभाविकै हो भनी थाह पाउँदा प्रियजन गुमाएकाहरूले सान्त्वना पाउन सक्छन्।
के म फेरि खुसी हुन सक्छु?
कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ? प्रियजन गुमाउनुपर्दाको असह्य पीडा सधैँभरि रहँदैन। पीडाको घाउ पूर्णतया “निको” हुन्छ वा आफूले माया गरेको व्यक्तिलाई चटक्कै बिर्सन्छौँ भन्न खोजिएको होइन। तर पीडा बिस्तारै कम हुँदै जान्छ। कहिलेकाहीँ कुनै-कुनै क्षण जस्तै: विवाह वार्षिकी वा यस्तै कुनै विशेष दिन आउँदा पीडा फेरि बल्झिन सक्छ। तर प्रायजसो मानिसहरू आफूलाई सम्हालेर केही समयपछि फेरि आफ्नो दिनचर्यामा फर्कन सक्छन्। यदि प्रियजन गुमाएको व्यक्तिले परिवारका सदस्य वा साथीभाइको मदत पाउँछन् र आवश्यक कदम चाल्छन् भने तिनलाई सम्हालिन त्यति समय लाग्दैन।
कति समय लाग्छ? कसै-कसैलाई पीडा कम गर्न केही महिना लाग्न सक्छ तर धेरैजसोलाई एक वा दुई वर्ष लाग्न सक्छ। अरूलाई भने अझ धेरै समय लाग्छ। a निकेस भन्छन्, “शोकले गर्दा लगभग तीन वर्षसम्म मलाई असह्य पीडा भयो।”
धीरजी हुनुहोस्। आफूलाई सजिलो लाग्ने गतिमा दैनिक कामकुरा गर्नुहोस्, भोलिको चिन्ता नगर्नुहोस्, अनि शोक सधैँभरि रहँदैन भनेर पनि नबिर्सनुहोस्। अहिल्यै आफ्नो शोक कम गर्न र पछि पनि शोकमा नडुब्न के गर्न सक्नुहुन्छ?
शोकले गर्दा असह्य पीडा हुनु स्वाभाविकै हो
a केही मानिसहरू लामो समयसम्म शोकमा डुब्न सक्छन्, जसलाई “जटिल” वा “दीर्घकालीन” शोक भनिन्छ। यस्तो अवस्थामा मानसिक चिकित्सकको मदत लिनु लाभदायी हुन्छ।