शोकमा परेकाहरूका लागि मदत
शोकमा पर्दाको पीडा
“रीतासँग a विवाह भएको ३९ वर्षभन्दा धेरै भइसकेको थियो। तर दीर्घकालीन रोगको कारण उसको मृत्यु भयो। एक वर्षसम्म मलाई उसको यादले पिरोलिरह्यो। हुनत साथीहरूबाट धेरै मदत पाएँ र आफूलाई पनि व्यस्त बनाइराखेँ। तैपनि आफ्नो भावनालाई काबूमा राख्न असाध्यै गाह्रो हुन्थ्यो। उसलाई गुमाएको अहिले तीन वर्ष भइसक्यो तैपनि कहिलेकाहीँ एक्कासि उसको याद आएर असाध्यै पीडा हुन्छ।”—सन्जय
के मृत्युको कारण तपाईँले प्रियजन गुमाउनुपरेको छ? छ भने तपाईँले सन्जयले जस्तै महसुस गर्नुभयो होला। जीवनसाथी, आफन्त वा मिल्ने साथी गुमाउँदा असाध्यै चिन्ता र पीडा हुन्छ। कसैको मृत्युले गर्दा हुने पीडाबारे अध्ययन गरेका विशेषज्ञहरू पनि यस कुरामा सहमत छन्। यसबारे मनोचिकित्सासम्बन्धी एउटा अमेरिकी पत्रिकाले (दि अमेरिकन जरनल अफ सायकायट्रि) यस्तो टिप्पणी गऱ्यो, “प्रियजनको मृत्यु हुँदा तिनलाई सधैँको लागि गुमाएकोले असाध्यै पीडा हुन्छ।” यस्तो असह्य पीडा महसुस गरिरहेकाहरूको मनमा यी कुराहरू खेल्न सक्छ: ‘यस्तो भावना कहिलेसम्म रहन्छ? म फेरि खुसी हुन सकुँला? सान्त्वना कहाँ पाउन सक्छु?’
यी प्रश्नहरूबारे यस अङ्कको ब्यूँझनुहोस्!-मा छलफल गरिनेछ। हालसालै तपाईँले प्रियजन गुमाउनुभएको छ भने कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ, त्यसबारे यसपछिको लेखमा छलफल गरिनेछ। यी शृङ्खलाबद्ध लेखहरूमा शोकको पीडा कम गर्न चाल्न सकिने कदमहरूबारे छलफल गरिनेछ।
शोकमा परेकाहरूले यी लेखहरूबाट सान्त्वना र व्यावहारिक मदत पाउनेछन् भनेर हामी आशा गर्छौँ।
a यी शृङ्खलाबद्ध लेखहरूमा केही नामहरू परिवर्तन गरिएका छन्।