अन्तरवार्ता | फान यू

एक सफ्टवेयर डिजाइनर आफ्नो विश्‍वासबारे बताउँछन्‌

एक सफ्टवेयर डिजाइनर आफ्नो विश्‍वासबारे बताउँछन्‌

डा. फान यूले बेइजिङ नजिकैको एक संस्थामा a गणितज्ञको रूपमा आफ्नो करिअर सुरु गरे। त्यतिबेला तिनी नास्तिक थिए र क्रमविकासको शिक्षामा विश्‍वास गर्थे। तर अहिले भने जीवनको रचनाकार र सृष्टिकर्ता ईश्‍वर नै हुनुहुन्छ भनेर डा. यू विश्‍वास गर्छन्‌। तिनले आफ्नो विश्‍वासबारे ब्यूँझनुहोस्‌! पत्रिकालाई यसरी बताए।

तपाईंको विगतबारे केही बताइदिनुहुन्छ कि?

म सन्‌ १९५९ मा चीनको ज्याङ्‌सी प्रान्तको फुजो सहरमा जन्मिएँ। म आठ वर्षको छँदा देशमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो। यसले मेरो परिवारलाई पनि असर गऱ्‍यो। मेरो बुबा जो सिभिल इन्जिनियर हुनुहुन्थ्यो, उहाँलाई विकट ठाउँमा रेलमार्ग बनाउन खटाइयो। उहाँ हामीलाई वर्षको एक पटक मात्र भेट्‌न आउनुहुन्थ्यो। त्यतिबेला म आफ्नी आमासँगै बस्थें। उहाँ प्राथमिक स्कुलमा पढाउनुहुन्थ्यो र हामी त्यही स्कुलमा बस्थ्यौं। सन्‌ १९७० मा हामी लिन्च्‌वानको यूफानमा बसाइँ सऱ्‍यौं। त्यतिबेला त्यो ठाउँ त्यति विकसित थिएन र त्यहाँ खानेकुराको अभाव थियो।

तपाईंको परिवारको धार्मिक आस्था कस्तो थियो?

मेरो बुबालाई धर्म र राजनीतिमा चासो थिएन। आमाचाहिं बौद्ध धर्म मान्‍नुहुन्थ्यो। जीवन क्रमविकासबाट आएको हो भनेर स्कुलमा सिकाइन्थ्यो अनि म पनि त्यही विश्‍वास गर्थें।

तपाईंलाई गणितमा चासो लाग्नुको कारण के होला?

मलाई तार्किक ढङ्‌गबाट सत्यतथ्य पत्ता लगाउन मन पर्ने भएकोले गणितमा चासो लाग्यो। सन्‌ १९७६ मा क्रान्तिको नेतृत्व लिइरहेका माओ त्से तुंगको मृत्यु भयो। त्यसको केही समयपछि विश्‍वविद्यालयमा भर्ना भएँ र मुख्य विषयको रूपमा गणित रोजें। स्नातकोत्तर सिद्धिएपछिको मेरो पहिलो जागिर आणविक ऊर्जा केन्द्रमा थियो। त्यहाँ म आणविक ऊर्जा निकाल्नको लागि गणितसम्बन्धी अनुसन्धान गर्थें।

पहिला तपाईं बाइबलबारे के सोच्नुहुन्थ्यो?

सन्‌ १९८७ मा विद्यावारिधि (पि. एच. डि.) हासिल गर्न अमेरिकाको एउटा विश्‍वविद्यालय आएँ। अमेरिकाका थुप्रै मानिस ईश्‍वरमा विश्‍वास गर्छन्‌ र बाइबल पढ्‌छन्‌ भनेर मलाई थाह थियो। अनि बाइबलमा थुप्रै व्यावहारिक सल्लाह पाइन्छ भनेर पनि सुनेको थिएँ। त्यसैले बाइबल पढ्‌नै पर्ने किताब हो जस्तो मलाई लाग्यो।

हुन त बाइबलको शिक्षा व्यावहारिक छ जस्तो लागेको थियो तर कुनै-कुनै कुरा बुझ्न गाह्रो भयो। त्यसैले केही समयपछि पढ्‌न छोडिदिएँ।

तपाईंलाई फेरि बाइबल पढूँ जस्तो किन लाग्यो?

सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा मेरो लागि अनौठो थियो त्यसैले यसबारे अनुसन्धान गर्ने निर्णय गरें

सन्‌ १९९० मा एक जना यहोवाको साक्षी मेरो घर आउनुभयो र भविष्यको सुन्दर आशाबारे बाइबलले सिकाउने कुरा बताउनुभयो। पछि उहाँले मलाई एक दम्पतीसँग भेट गराइदिनुभयो र मैले उहाँहरूसँग बाइबल अध्ययन सुरु गरें। मेरी श्रीमती लिपीङ चीनको एउटा हाइ-स्कुलमा भौतिक विज्ञान पढाउँथिन्‌। उनी पनि म जस्तै नास्तिक थिइन्‌। पछि उनले पनि बाइबल अध्ययन सुरु गरिन्‌। जीवनको सुरुवातबारे बाइबलले सिकाउने कुरा हामीले थाह पायौं। सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा मेरो लागि अनौठो थियो त्यसैले यसबारे अनुसन्धान गर्ने निर्णय गरें।

अनुसन्धान कसरी सुरु गर्नुभयो?

एक गणितज्ञ भएकोले कुनै घटनाको सम्भावना पत्ता लगाउने विषयमा बुझेको थिएँ। यदि जीवन स्वतः आउने हो भने प्रोटिन अस्तित्वमा आइसकेको हुनुपर्थ्यो। त्यसैले प्रोटिन स्वतः अस्तित्वमा आउन कत्तिको सम्भव छ भनेर पत्ता लगाउन खोजें। प्रोटिन एकदमै जटिल अणुहरूमध्ये एक हो। जीवित कोषमा हजारौं किसिमको प्रोटिन हुन्छ। यिनीहरूले एक-आपसमा मिलेर काम गर्ने तरिका बेजोड छ। प्रोटिन स्वतः अस्तित्वमा आउन असम्भव छ भन्‍ने कुरा बुझें। यस्तो जटिल अणु आफै अस्तित्वमा आउन सक्छ भन्‍ने कुराको चित्तबुझ्दो प्रमाण क्रमविकासको शिक्षामा पाइनँ। जीवनको लागि प्रोटिन अत्यावश्‍यक छ त्यसैले जीवित प्राणीहरू आफै अस्तित्वमा आउने कुरा त अझ कल्पना पनि गर्न सकिंदैन। यी तथ्यहरूले नै सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त भएँ।

बाइबल ईश्‍वरले दिनुभएको किताब हो भन्‍ने कुरामा कसरी विश्‍वस्त हुन सक्नुभयो?

यहोवाको साक्षीहरूसँग अध्ययन गर्दै जाँदा बाइबलमा उल्लेख गरिएका भविष्यवाणीहरूबारे थाह पाएँ। ती भविष्यवाणीमा लेखिएको एक-एक कुरा पूरा भए। साथै बाइबल सिद्धान्तअनुसार चल्दा विभिन्‍न लाभ उठाउन थालें। हजारौं वर्ष अगाडिका बाइबल लेखकहरूले हाम्रो समयको लागि व्यावहारिक हुने ज्ञान कसरी थाह पाए भनेर सोच्न थालें। अन्तमा बाइबल ईश्‍वरकै वचन हो भन्‍ने कुरामा विश्‍वस्त हुन सकें।

सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा तपाईं कसरी विश्‍वस्त हुनुभयो?

प्रकृतिमा भएका कुरालाई नियालेर हेर्ने हो भने सृष्टिकर्तामा विश्‍वास गर्न बाध्य हुन्छु। अहिले म कम्प्युटर सफ्टवेयरहरू डिजाइन गर्छु। मानिसले बनाउने सबै कम्प्युटर प्रोग्रामभन्दा हाम्रो मस्तिष्क कता हो कता उत्कृष्ट छ। यो कुरा सोच्दा साह्रै अचम्म लाग्छ। उदाहरणको लागि आवाज चिन्‍न सक्ने हाम्रो क्षमता साँच्चै आश्‍चर्यजनक छ। हामीमध्ये थुप्रैले अपूरो वाक्यहरू, हाँस्दै, खोक्दै, हक्लाउँदै वा थरी-थरीको उच्चारणमा बोलेको आवाज अनि प्रतिध्वनि, होहल्लामा वा फोनमा कुरा गर्दाको आवाज पनि सजिलै ठम्याउन सक्छौं। तपाईंलाई यो कुरा साधारण लाग्ला तर सफ्टवेयर डिजाइनर भएकोले मैले यसबारे सोच्ने तरिका फरक छ। राम्रो भन्दा राम्रो आवाज पहिचान गर्ने सफ्टवेयर पनि मानव मस्तिष्कको तुलनामा फिक्का छ।

हाम्रो मस्तिष्कले कुनै व्यक्‍तिको बोल्ने शैलीबाट उसको आवाजमा कस्ता भावनाहरू लुकेका छन्‌, त्यो कस्तो उच्चारणमा बोलिएको हो वा कसले बोलेको हो भनेर पत्ता लगाउन सक्छ। तर कुनै पनि अत्याधुनिक कम्प्युटरसँग यस्तो क्षमता छैन। अहिले सफ्टवेयर डिजाइनरहरू कम्प्युटरले पनि कसरी मानव मस्तिष्कले जस्तै आवाज ठम्याउन सक्छ भनेर अनुसन्धान गर्दै छन्‌। यसरी उनीहरू ईश्‍वरले सृष्टि गर्नुभएको अद्‌भुत कुराबारे अध्ययन गर्दै छन्‌।

a China Institute of Atomic Energy